Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Tuesday, February 07, 2017

सपना ओढेका रातहरू

मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ,
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओढेका रातहरू
मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ ।

म सपना ओढेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजुब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौँ
भूत, भविष्य र वर्तमानबाट मेटिन्छौँ
तिमी भन्छौ— यती खोज्न जाऔँ
सगरमाथा चढौँ,
म भन्छु— मान्छे खोज्न जाऔँ
मान्छेहरू बटुलेर अगाडि बढौँ
तर, हामी दुईको विचार मिल्दैन
आखिर हामी दुवै
विचार नमिलेरै समाजदेखि भागेका न हौँ,
विचारलाई बझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुवै
आजको समाज र समयका लागि सार्थक हो र ?

यती खोज्न सगरमाथाको शिखर चुमेको मान्छे
आज यती नभेटेरै दुःखी छ
तर, आशा गर्न सकिन्छ,
यती आउनेछ
र, हामी दुवैलाई धाप मार्दै सोध्नेछ—
तिमीहरूले मान्छेलाई देखेका छौ ?

म मान्छे भेट्न भौँतारिरहेछु
तर मान्छे भागिरहेछ,
के तिमीहरूले देखेका छौ
मान्छेका सुन्दर आवादहरू ?

हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू ।

Wednesday, December 21, 2016

सम्बन्ध

सगर र सागरको सामिप्यता
झरी र बिरुवाको आत्मियता
क्षितिज र पहाडको लचकता
मुटु र धड्कन बिचको प्रेम वा
नङ् र मासुको सुरक्षात्मकता
यो सम्बन्ध नरहे के होला??

फूल र सुबासको पवित्रता
पवनमा शितलताको आभास
आमामा प्रेम,स्नेह र मातृत्व
बाबामा सन्तानको दुरदर्शिता
सुर्य उँज्यालो र न्यानो
जून शितलता र प्रेम
यो सम्बन्ध नरहे के होला??

तिमी पल्मोनरी शिरा मेरो
कृष्ण म तिमी मीरा मेरो
जिन्दगीको कोहिनूर हीरा तिमी
मेरो जिन्दगीको हर जीत तिमी
म धुन मेरो प्रेमको गीत तिमी
तिमी र म बिचको यो
सम्बन्ध नरहे के होला??

Tuesday, December 13, 2016

आत्महत्या गर्न लागेका छन् कविताहरु

हतास र निराश छन् कविताहरु
लजाउँदै छन् आफैसँग
मसँग
सामाजसँग
कविताहरु जो उपज थिए
प्रेम या सन्त्रासका
घना अँध्यारोमा रोशनीको आसको
थाकेर बसिके
डराईसके
कुंठा र घुँटन नै बचेको छ
कविताहरु छुटिसके
टुटिसके
पिताको विवशलाई बुझ्ने छोरीजस्तै

हर उत्पीडनलाई चुपचाप झेल्दै
कविताहरु मौन भैसके
महानगरीय संघर्षहरुको एकान्तपनमा
कविताहरु कतै हराइसकेका छन्
कविताहरु जो गजल, गीत या छन्द हुनसक्थे
जिन्दगीको क्यानभासमा खुब सुन्दर स्टिकर
या व्यवस्थित तरिकाले लगाएको टालो हुनसक्थे
धुजा–धुजा भएर छितरी सके
महाकाव्यका कथानक लिएका कविताहरु
जिंगल का टुक्का भैसके
कविताहरु जो सती, सीता या सावित्री हुनसक्थे
साहित्यका कोठीहरुको
जुही, चम्पा, कमला या विमला भैसके
हो कविताहरु धेरै गहिरो निंद सुतिसके
सुत्नदेऊ यिनलाई

नजगाऊ
धेरै जतन र सावधानीसँग
भरखरै त सुताइएको छ
पत्रिकाको किनारामा ललीपप नथमाऊ
किनकि ललीपपको सहारामा जिन्दगी कट्नसक्दैन
ललीपपले क्षणिक मिठाससँगै
मुखको स्वाद नमीठो पार्नसक्छ
वितृष्णा, घृणा र क्षोभले भर्नसक्छ
कविताहरु बच्चाहरुझैं निश्छल हुन्छन्
यदि उठाउन सक्दैनौ यिनको जिम्मेवारी
छैन यदि शाहस र क्षमता
यिनलाई पालन–पोषण गर्ने
र घर जम गरिदिने
भने भ्रुणहत्या नै राम्रो हो आत्महत्याभन्द
नत्र यी मरेर पनि सपनामा आउनेछन्
गाउनेछन्, रुनेछन्, सताउनेछन्
यसैले जन्मिन नदेऊ कविताहरुलाई
सामुहिक बलात्कारको समय हो यो
निर्दोष कविताहरु बाँच्दा बाँच्दै मर्नेछन्
लाश हुन पुग्नेछन् ।

Friday, January 22, 2016

भो अब जिवनमा ठाउँ खाली छैन....

तिमी बिना बाँच्न सक्दिन भन्नेहरु
साथ अन्तै खोजी पाइला मेट्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
साथ दिन्छु भनी रात अन्तै काट्नेहरु ।।

आँशु खस्दा पुछ्न अघि सर्नेहरु
खुशी अन्तै खोजी पाइला गन्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
बाचा कसम खाई घर अन्तै सजाउनेहरु ।।

साथ दिन्छु भनी अघि-पछि गर्नेहरु
हात अन्तै खोजी पाइला चाल्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
अँगालोमा बेरि चुरा पोते अन्तै लगाउनेहरु ।।

मन्दिरमा पुगी भगवान सामु माग्नेहरु
डोली अन्तै खोजी पाइला मोड्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
तिम्रै हुन्छु भनी सिउँदो अन्तै भर्नेहरु ।।

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

Sunday, January 10, 2016

थाहा छैैन किन मलाई......


पवनसंगै चारैतिर घुम्न मन लाग्छ
हरियाली वसन्तसंगै हाँसी खेली रमाउन
थाहा छैैन किन मलाई
सधैभरि तिम्रै सामु आउन मन लाग्छ ।।

गित गुनगुनाउन मन लाग्छ पन्क्षीसंगै
झरना जस्तै झर्न मन लाग्छ तिम्रै वस्ती
थाहा छैैन किन मलाई
चारैतिर मधुमास छाउँदा मुस्काउन मन लाग्छ।।

देख्दा तिम्लाई आफ्नो नजर सामु
भित्र-भित्रै मन त्यसै रमाएर आउँछ
थाहा छैैन किन मलाई
तिम्रै घरको मुल बाटो हिड्न मन लाग्छ ।।

भेट हुँदा पँघेरीमा पनि तिमीसंग
बोल्न त्यसै बन्द भएर आउँछ ओठ पनि
थाहा छैैन किन मलाई
तिमी नुहाउने पँधेरीको पानी बन्न मन लाग्छ ।।

सजाउन मन लाग्छ तिम्रो त्यो सिउँदो
भरिदिन मन लाग्छ तिम्रो त्यो आँचल
थाहा छैैन किन मलाई
मनभित्र लुकाएका कुरा पनी भन्न मन लाग्छ ।।

कस्ती देखिन्छौं भनी सम्झी बस्छु त्यो दिन
देख्दा सपनीमै भए पनि बेहुलीको भेषमा
थाहा छैैन किन मलाई
जिवनसाथी तिमीलाई नै बनाउन मन लाग्छ ।।

भनी दिन मन लाग्छ,तिम्रै सामु आई
बिर्सेर पनि भुल भएं,माफि दिनु भनी
थाहा छैन किन मलाई
तिमीलाई बेहुलीको भेषमा देख्न मन लाग्छ ।।

थाहा छैन किन मलाई
तिम्रै घरको मुल बाटो हिड्न मन लाग्छ
तिमी नुहाउने पँधेरीको पानी बन्न मन लाग्छ
जिवनसाथी तिमीलाई नै बनाउन मन लाग्छ ।।

राजन थापा (अभिराज)
बनेपा-४, काभ्रे

Friday, January 08, 2016

राजनिती

तिमीले सोचे जस्तो हैन यो राजनिती
आफ्नालाई नै रुवाउने खेल हो राजनिती
नपाएसम्म खुट्टा ढोग्न पछि नपर्नेहरुको
पाए पछि सबै भुलिदिने खेल हो यो राजनिती

गरिबको आँशुमा रमाउँदै पौडि खेल्ने
तिम्ले सोचे भन्दा फरक हो यो राजनिती
जनताको रगतलाई सोमरसमा मिलाई
आफु हाँसि दुनियाँ रुवाउने खेल हो यो राजनिती

जनताको हरपल सेवा गर्ने कसम खाई
गरिब जनताको इमान बेच्ने हो राजनिती
चप्पल लगाएर बाटोमा हिड्नेहरुको
महल बनाई कार चद्ने खेल हो यो राजनिती

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

मेरो संसार


अरुले सोचे भन्दा धेरै फरक मेरो संसार
कसैले बुझ्न नचाहेको कथा मेरो संसार
सम्झनेले सधै सम्झनाका यादमा राखेका
बिर्सिनेले चटक्कै माया मारि गएका - मेरो संसार

चारैतिर चाहनाका फुली बसेका फुलहरु
बिचमा पौडि रहेका स्मृतिका पानाहरु
फुलै फुलले दुलहिको रुपमा सजिएर
पहुनाको स्वागत गर्न तम तयार - मेरो संसार

सपनाले भएपनि सजिएर बसेको
बिपनामा चाहनाके मोहले बेरिएको
सपना र चाहनाको संगम बनेको
कस्तो अनौठो अनि फरक - मेरो संसार

देख्नेहरुको नजरमा रम्न बनेको
बिपनामा नभई सपना मिलि बनेको
उहि गोरेटो,घुम्ती र मोड मिलेको
अरुले सोचे भन्दा धेरै फरक - मेरो संसार

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

Tuesday, December 23, 2014

चे को सम्झनामा

मेरो घरको
बाटो भएर हिँड्छ देश
चे ग्वेभारा अंकित टोप लगाएर

युवा जोशमा कस्सिएका मुठीहरु उचालेर
क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर
दौडिन खोज्छ देश ।

चैतको मौसममा आउने आँधी
क्रान्तिका ज्वालाहरु
समाप्त हुन्छ सम्झौताका हरफहरुमा
क्रान्तिको रातो गुलाब ओइलाउँछ
मन्त्री कमरेडको कालो कोटमा ।

सपनाको इन्द्रेणी सधैँ जस्तो उदाउँछ
गोलो रोटीबाट भोकको बास्ना बोकेर हिँड्छ
युग हाँक्न खोज्ने मान्छे
क्रान्तिकारीहरुको देशमा
सहिदको रातो रगत ह्वीस्कीजस्तो कालो बन्छ
र बाँडिन्छ महामहिमका ओठहरुमा ।

आश्चर्य !
सभासद्हरुको कलममा अंकित छ
छिमेकी मुलुकको झन्डा
नानीहरुले पढ्ने पुस्तकमा घटिरहेछ
सगरमाथाको उचाइ
नवनियुक्त प्रधानमन्त्रीलाई थाहा छैन
सार्वभौम राष्ट्रको सिमाना ।

खुसीको तारा हराएको विरहमा
विक्षिप्त बनेको सहिद पिता आत्महत्या गर्छ
आफ्नै पार्टीको झण्डामा बेरिएर ।

भीमसेन थापाहरु कायर बनेको यो मुलुकमा
भीम मल्लहरु बेइमान ठहरिएको मेरो बस्तीमा
किन दौडिरहेछौ चे ग्वेभारा
मेरो घरको बाटैबाटो !

मेरो बस्ती छेउ
इँटाभट्टीको चिम्नीबाट
निस्किएको धूवाँको पर्वाह नगरी
माटो पकाइरहेको मजदुर
माघको रात चिर्ने गरी खोक्दै
गेट कुरिरहेको वृद्ध पाले
लाखौँ माइल टाढा मरुभूमिमा
आफन्तको भविष्य सुधार्न पसिना पोख्दै
गरेको युवा ।

को हो सबसे बडा क्रान्तिकारी ?
नयाँ क्रान्तिको
पुरानो सपना देख्ने हामी वा
चे ग्वेभारा
तिम्रो टोपीमा
चम्किरहेको रातो तारा ?