Friday, January 22, 2016

भो अब जिवनमा ठाउँ खाली छैन....

तिमी बिना बाँच्न सक्दिन भन्नेहरु
साथ अन्तै खोजी पाइला मेट्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
साथ दिन्छु भनी रात अन्तै काट्नेहरु ।।

आँशु खस्दा पुछ्न अघि सर्नेहरु
खुशी अन्तै खोजी पाइला गन्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
बाचा कसम खाई घर अन्तै सजाउनेहरु ।।

साथ दिन्छु भनी अघि-पछि गर्नेहरु
हात अन्तै खोजी पाइला चाल्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
अँगालोमा बेरि चुरा पोते अन्तै लगाउनेहरु ।।

मन्दिरमा पुगी भगवान सामु माग्नेहरु
डोली अन्तै खोजी पाइला मोड्नेहरु
भो अब जिवनमा ठाउँ खाली छैन
तिम्रै हुन्छु भनी सिउँदो अन्तै भर्नेहरु ।।

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

No comments:

Post a Comment