Friday, March 20, 2015

सोचे जस्तो हुन्न जिवन

सोचे जस्तो हुन्न जिवन
सम्झे जस्तो हुन्न जिवन
बास्तवमा अरुणा दिदी को यो गित म गलत छैन भने सधै र सवैको लागि प्रयोग योग्य नै होला ।

हामी के सोच्छौ र समयको साथ बहदै जाँदा के भै दिन्छ कसैलाई थाहा हुन्न । हुन त मानिस आफ्नै लापरवाही र अरुले देखाएको प्रलोभनमा परेर दगुर्दा मात्र यी दुनिया दु:ख भोग्नु पर्छ कि तै पनि ......थाहा छैन मलाई पनि । मलाई आज अचानक यो कुराहरु लेख्न मन लाग्नुको पछाडी पनि एउटा कारण छ।

मेरो कलेजको पढाइ हप्तामा तीन दिन मात्र हुने हुनाले प्राय: अरुदिन म त्यतिकै रुममा अनलाइन बसेको हुन्छु । यस्तैमा गत हप्ता मेरो एक जना साथीसँग अनलाइन भेट भयो कुरा कुरामा निकै कुरा भयो। टाढा भएकाले हामी विच त्यति धेरै घनिष्टता थिएन र त्यति हामी बिचमा कुरा आदान प्रदान पनि तर केही कुराहरुको मेलो मेसो फुकाउदै गर्दा अचानक उनको मुखबाट निस्क्यो । अरे........तिमी त्यै राज नै हो त जस्लाइ मैले काठमाण्डौमा भेटेको थिए, त्यो राज..... अनि अहिले त्यस ठाउँमा ......साथीले कुन सेन्समा भनेको थियो त्यो त थाहा भएन तर मलाई यसरी नै छोयो जुन कुरा काठमाण्डौको साथीले फेसबुकको नोटमा हालेका थिए । त्यो नोटवाला कुरा तल राख्नेछु ।

लण्डनका कलेजहरु धमाधम निलम्वनमा पर्न थालेका छन र टाएर फोर भिसा पाएका हजारौ नेपाली विधार्थीहरु बिचल्लिमा पर्न थालेका छन । साच्चै नढाटि भन्नु पर्दा केही दिन देखी मेरो पनि दैनिकी यस्तै दु:ख लाग्दा समाचार खोज्दै र हेर्दैमा कटि रहेको छ । साथै हे भगवान हाम्रो कलेज निलम्वनमा नपरोस् भन्दै भगवान सम्झदै बसेको छु ।

मानव प्राणी जातै ले पनि अली महत्वाकाँक्षी र लोभी हुन्छन । त्यस मध्यमा म पनि पर्छु र अरुलाई जस्तो दु:ख मलाई नपरोस् भन्ने पाप मनमा आइ हाल्छ र भन्छु अरुले जे भोगे हामीले भोग्न नपरोस्। मलाई आज भोली धेरै नै शङ्का लाग्न थालेको छ कतै हाम्रो पनि कलेज निलम्वनमा पर्ने त हैन? भनेर । किन भने कलेज निलम्वनमा पर्नुको मुख्य कारण भनेको होम अफिसले लाइसेन्स लिँदा गरेका सर्तहरू पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेजी गरिदिन सक्छ । मापदण्ड विपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाएको, कलेजमा गैरकानुनी बसिरहेका शिक्षक राखेको, कक्षाकोठा र भौतिक पूर्वाधार अपर्याप्त, कर छलेको आदि कारणहरु हुदा पनि निलम्वनमा पर्न सक्छ । हुनत अहिले सम्म हाम्रो कलेजमा खासै समस्या त परेको छैन। भौतिक पुर्वाधार पनि त्यतिको ठिकै छ अहिले सम्मलाइ तर दैनिक विधार्थीको चाप भने बढी रहेको छ यति कै चाप बढी रह्यो भने त......... कसलाइ के थाहा यता पनि मानिसले सधै सकारात्मक सोच राख्नु पर्छ रे केही हुने छैन भन्ने आशा र विश्वास एक ठाउँमा त छदै छ तै पनि वरिपरिका वातावरणमा घटि रहेको यी विभिन्न घटनाका कारण मन त्रसित त छदैछ ।

समय र कुनै कुनै बेला चलेको मुडका कारण आफैले यी बिविध कुरा पनि भोगी रहेको छु अहिले । हुन त मेरो सवै आफ्नै आफन्तका परिवार सँग सँगै रहँदा अरु साथीहरुले झै समस्या त भोग्नु परेको छैन र पनि मनमा एउटा खुड्कीलो कहिलै पुरा हुन्न । हुन त मानिस जातै असन्तोषी नभए पनि ठिकै भए जतिले पनि पुग्दैन । हुनत मैले धाक लगाए जस्तो हुन्छ तै पनि मलाई खासमा अभाव नेपाल मै पनि थिएन तर रहर जाग्यो मनमा एउटा प्रलोभन उत्पन्न भयो मनमा की मैले पनि कुनै न कुनै विषयमा युके बाट डिग्री लिन सके भने त ??? अरु केही भएन भने पनि केही बर्ष त्यहाँ बिताउन पाएँ भने त मेरो अंग्रेजी अलि सुध्रिन्छ र विश्व वजारमा म पनि सजिलै सँग बिक्न सक्छु ।

हुन त म यहाँ आउने बित्तिकै पनि एक जना साथीले मेरो फेसबुकमा  'राज  पनि बेलायत गएछ' शिर्षकको एउटा नोट टाली दिनु भाथ्यो त्यसमा लेखिएको थियो कि "बेलायतमा विद्यार्थीको बेहाल भएका समाचारका अक्षरहरु पनि घुम्न थाले । सबैलाई त्यस्तो त नहोला तर किन किन एउटा सम्भावनाको पलायन ठानेँ । हुन त विदेशमा ज्ञान आर्जन गरेर देशमै काम गर्न पनि सकिन्छ गरेका पनि छन् । तर किन किन राज बेलायत गएको समय अलि मिलेन कि जस्तो लागिरह्यो । अरु केही वर्ष नेपालमा उसले लिइरहेको गति निरन्तर गरेको भए उसलाई,समाजलाई र देशलाई राम्रो हुन्थ्यो"। साच्चै हो की.... अहिले यता उताको समाचार पढ्दा खेरी साच्चै खराव समयमै पो मैले मातृभुमी छोडेको झै हुन थालेको छ। किन भने मैले कल्पना गरेको जस्तो कक्षाहरु छैनन् यहाँ।

हुन त मानिसले सबै सोचेको, चाहेको र रोजेको कुरा कहिल्यै पनि पुग्दैन। यो ध्रुव सत्यकुरा हो । कक्षामा धेरै मुलुकबाट आएका बिधार्थीहरुसँगै बस्छौ । हामीसँग बिभिन्न फरक फरक वातावरणको अनुभव छ । जस्तै हामी एसियन मुलुकबाट आएका विधार्थीहरु अलिकति भए पनि गुरुहरुलाई आदर गर्छौ तर युरोपियन मुलुकका बिधार्थीमा त्यो गुण थोरै पनि हुदैन रहेछ । हुन त सबै ठाउँका र सबै बिधार्थीमा यो लागु नहोला तर मैले मेरै कक्षाकोठाको बातावरण मात्र कुरा गरी रहेको छु । कक्षा चालु छ अगाडी होस् वा पछाडि जहाँ सुकै बसे पनि उनीहरु आफ्नै धुनमा रमाउन चाहन्छन्। पाठ जे सुकैको होस मतलव हुन्न तिनीहरुलाई । हाम्रो नेपालमा कक्षा कोठा भित्र खान मनाहि हुन्छ तर यहाँ शिक्षक कै अगाडी झोलाबाट खानेकुरा झिकेर कच्याक कच्याक पार्छन् । आइफोन झिकेर फोटोको पोज मिलाई मिलाई खिच्छन । गाली गरेर साध्य छैन तिनीहरुलाई । सजाय दिनलाई उभ्याउँदा सम्म म ठिक छु भनेर उभिदैनन् । उभिइ नै हालेमा पनि कुर्सीको माथिल्लो भागमा चढेर उल्टै मुख फर्काउछन । हुनत सबै यस्ता छैनन् तर पनि धेरै जसो बिधार्थीहरुको दैनिकी उस्तै उस्तै हुन्छ । युरोपीयन मुलुकका बिधार्थी त त्यस्ता भए हामीलाइ खासै चासोको कुरा भएन तर हाम्रै नेपाली साथीहरुले पनि उस्तै ब्यवहार प्रस्तुत गर्दा भने ज्यादै दु:ख र नराम्रो लागेको छ । यहाँ नाम उल्लेख नगरौ केही पोखरेली साथीहरु छन् जस्को ब्यवहारले गर्दा हामी अन्य नेपालीलाइ पनि भारतिय र अन्य देशका साथीहरुले हेप्न थालेका छन् । जस्को प्रतिवाद गर्न हामीलाइ निकै सँघर्ष गर्नु परेको छ । केही साथीहरु कविता फुराउन थालेका छन् भने कति पय साथीहरु धमाधम फर्कन् ।
अझ कान्तिपुरमा प्रकाशित समाचारले त झन् मन निकै खिन्न बनाएको छ । जसमा यि मुनिका सबै हरफहरु छन् 'के गर्ने, कसो गर्ने, मैले त सोच्नै सकेको छैन,' कलेजमा 'ओटीएचएम डिप्लोमा' पढ्न सेप्टेम्बर १७ मा बेलायत आएकी अनुष्का (नाम परिवर्तन) ले भनिन्, 'सुरुमा कलेज व्यवस्थापनले समस्या हाम्रो हो, छिट्टै मिलाउँछौं भनेर आशा देखाइरह्यो तर अन्तिममा कलेजमा ताला नै लागेपछि हामी बिचल्लीमा पऱ्यौ ।' यूके बोर्डर एजेन्सी पदाधिकारीले अघिल्लो साता कलेजमा ताला लगाइसकेपछि 'विद्यार्थीलाई ६० दिनभित्र अर्को विकल्प खोज्न सुझाव दिँदै' सूचना टाँसेको उनले जनाइन् । नेपालमा बार्षिक कलेज शुल्क बापत २५ सय पाउन्ड र बेलायत आइसकेपछि रजिस्ट्रेसन र परीक्षा शुल्क भनी थप २ सय ४० पाउन्ड तिरिसकेकी उनलाई अब बुझाएको रकम फिर्ता होला भन्ने आशा मरेको छ । 'कलेज ताला लागेपछि अब कसलाई कहाँ गएर समात्ने,' उनको दुःखेसो छ, 'काम अझै पाएको छैन, नेपालबाट ल्याएको दुई हजार डलरको ट्राभल चेक सकिएपछि थप २ सय पाउन्ड मगाइसकें, स्थिति दयनीय छ ।' उनको अगस्ट पहिलो सातामै भिसा लागेको थियो । तर दुर्भाग्य, अगस्ट अन्तिम साता कलेज 'सस्पेन्ड' भयो भन्ने खबर आए पनि उनी यूके आइन् समस्या सुल्झिने आसमा । भन्छिन्, 'परिस्थितिले अहिले खान मन लाग्दैन, निद्रा लाग्दैन । यतिसम्म कि कहिलेकाहीं त दिमागले नै काम गर्न छोडे जस्तो लाग्छ ।' तर पनि म आफ्नो बारेमा भन्नु पर्दा जे जस्तो सुकै भए पनि भोलीको दिनमा केही राम्रो गर्न सक्छु । म र मेरो भविष्यमाथी भगवानले र कलेज संस्थापकहरुले यस्तो खेलवाड गर्नुहुने छैन भन्नेमा विश्वस्त हुन बाध्य छु । केही यस्तै नराम्रै भै हालेमा पनि सामना गर्ने धैर्यता र साहस म मा राखेको छु ।

यस्तै छ लण्डन आउने को कथा ब्यथा त्यसैले जो साथीहरु आउनलाइ तम्सी रहनु भएको छ उहाँहरुलाइ पनि यस्ता सम्पुर्ण समस्याको समाधान गर्ने साहस बोकेर आउने अनुरोध छ । नत्र यदि तयारी मात्रै छ भने कृपया यो भन्दा अन्य नै मुलुक रोज्नुस् जहाँ तपाईहरु सबैलाइ राम्रो हुने छ भन्ने मेरो सन्देश पनि ।

राजन थापा

Saturday, March 14, 2015

चार दिनको चांदनी हो जिन्दगी


जति बुझ्दै गयो त्यति कठिन जिन्दगी, न त
जिन्दगीका पिरब्यथालाई अंकगणितिय सुत्र लगाई
छोट्याउनै सकियो न त
पाएका तिलका दानाजत्रा खुशीहरुलाई पहाड जत्रै
बनाउन सकियो, सकियो त केबल
जिन्दगीमा कमाएका सुख दु:खलाई
मनको बहिखातामा सम्झनाको मसीले रंगाउन !

जिन्दगी पनि अचम्मको, सबै छ तर पनि केही नभए
जस्तो ! न माया गर्नेको कमी छ न त खुट्टा तान्ने
कै ! जब सानो थिएं अनि अरुले हात समातेर उभ्याउन
खोज्दा रहर जागेर आउंथ्यो कहिले
आफ्नो खुट्टामा उभिएर यि कोमल पैंतालाका डोबहरु
ति गोरेटोमा सजाउने होला भनेर, अहिले
गोरेटोमा डोब त बसे पैंतालाका तर डोराउने हातहरु
छैनन् , चौबाटोमा पुग्दा संधै अलमलिन्छु !

सानो छंदा सरले भन्नुहुन्थ्यो जीवन
सुख दु:खको संगम हो भनेर, सांच्चै नै जीवन सुख र
दुखको सगंम नै रहेछ तर सुखको संगीलाई
दुखको चौतारीमा कहिल्यै नभेटिने !

सबै बलेकै
आगो ताप्छन थाहा छ तर पनि कसैले खरानीकै
न्यानोपनमा खुशी महशुस गर्दै खरानीलाई
हावको झोकाले उडाउनबाट बचाउन् भन्ने
ईच्छा जाग्दो रहेछ !

हरेक मोडमा सम्बन्ध थपिंदै जाने , अनि हरेक
बस्ति बस्तिमा सम्बन्धको मुल्याङ्कन हुंदै जाने !

जब सफलताले शिखर चुम्न खोज्छ, एक्कासी खुशीहरु
बसांई सर्दिन्छन मनको दैलोबाट,
अनि फेरि निराशाको बादल छाउन थाल्छ,
मुटूको ढुकढुकी गर्जंदै परेली एक्कासी बर्सातले
भिजीदिन्छ !

मन पनि कति कमलो, प्रहार बोलीले हुन्छ ,
मनको घाउमा हतियारको डोब बस्छ ! कहिलेकाहीं त
यस्तो लाग्छ यो दुखीरहने मन कसैसंग साट्न पाए
हुनेथियो ! जति चाहाना उति धेरै जिउने बहाना बन्ने
रहेछ जिन्दगी पनि !

सोचेजस्तो, सम्झेजस्तो कहां हुंदो रहेछ र जीवन !
पलको खुशी आंखा झिम्काउन नपाउंदै गायब भै सक्ने
तर दुख ज्यानमै गढेर रहिरहने !
तरपनि अझै हांस्नै छ जिन्दगी,
पाईला पाईलामा माया सांच्नै छ जिन्दगी, सुखलाई
ओछ्यान अनि दुखलाई ओढ्नी बनाई बांच्नै छ
जीन्दगी ।

Monday, March 02, 2015

हामीले बुझ्नै पर्ने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि,१९५० (INDO-NEPAL TREATY OF PEACE AND FRIENDSHIP 1950)

२००७ साल साउन १६ गते सोमबार नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि सम्पन्न भयो। १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि 'महाराज' मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने रे, 'मैले मेरो मुलुकको सम्प्रभूता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।' यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरुलाई भोज खुवाउन पैसा पनि बाँडे।

नेपालको राजनीतिमा वाम पार्टीहरुले सबैभन्दा धेरै 'भिलिफाई' गरेको १९५० को सन्धि त्यही नै हो। नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सार्वजनिक समारोहमा राम्रो बोले र धेरै नेपालीको मन जिते। बन्द कोठामा भने उनी १९५० को सन्धिलाई लिएर 'झोँक्किए।' नेपालले आवश्यक ठाने आफू सन्धि फेर्न तयार रहेको जनाउ दिए। तर, सन्धिमा राजनीति नगर्न भने। सन्धिमा राजनीति नगरौँ भन्ने आगन्तुक प्रधानमन्त्रीको भनाइमा कुटनीतिक मर्यादा थिएन। भावमा एक किसिमको बडप्पन थियो।

१९५० को सन्धि नेपालमा सबैभन्दा कम बुझिएको र सबैभन्दा धेरै राजनीति गरिएको विषय भने पक्कै हो। विगत ६४ वर्षमा यो सन्धिको जजसले धुवाँधार विरोध गरे, तीमध्ये अधिकांशले यो सन्धि पढेका पनि छैनन्। जसले पढ्नेसम्म प्रयत्न गरेनन्, तिनले त्यो सन्धि भएको कालखण्ड, त्यसको ऐतिहासिकता र तत्कालीन महत्व बुझ्ने कुरै भएन।

१९५० को सन्धिका बारेमा वाम राजनीतिज्ञ र बुद्धिजिवीहरूले एक किसिमको 'मिथ' निर्माण गरेका छन्। यो 'मिथ' भित्र सन्धिको ऐतिहासिकता, त्यो कालखण्डको परिवेश र आजको दिनमा सन्धिको महत्व सबै छोपिएका छन्। मोहन शमशेरले सन्धिमा हस्ताक्षर भएपछि देशको सम्प्रभूता जोगाएँ भन्नु र भोज खुवाउनुको अर्थ छ। मोहन शमशेरले सम्प्रभूता जोगाएँ भनेको नेपालको लिखित इतिहासमा भने कहिँ कतै भेटिन्न। पुस्तैनी हस्तान्तरण हुँदै आएको 'मौखिक इतिहास' मा भने त्यसको चर्चा छ। सत्ता जोगाएको खुसियालीमा मोहन शमशेरले भोज खुवाएको अर्थमा मात्र धेरैले यसलाई बुझेका छन्। राणा शासन अन्तिम प्रहरमा आइपुग्दा सत्ता जोगाउने ध्येय उनीहरूमा पक्कै थियो।

कतिपयको बुझाइमा १९५० को सन्धि मोहन शमशेरका कान्छा छोरा (तत्कालीन मुन्सीखानाका डाइरेक्टर जनरल) विजय शमशेर जबराले गरेको राणा शासनको सुरक्षित अवतरण हो।

१९५० को सन्धिलाई लिएर नेपालको राजनीतिक/बौद्धिक 'लेफ्ट' एकांकी निर्ष्कषमा पुग्नुका पछाडिको अर्को कारण हो चीन। चीनमा कम्युनिष्ट शासन भर्खरै आएको थियो। यो सन्धि हुँदासम्म तिब्बतको चीनमा औपचारिक विलय भइसकेको थिएन। तिब्बतमाथि चीनले धावा बोल्न भने थालिसकेको थियो। त्यसैले भारत संशकित थियो। पश्चिमा राष्ट्रहरु पनि सचेत थिए। नेपाल- भारत बीचको १९५० को सन्धिमा पश्चिमा मुलुकहरुको पनि समर्थन थियो। चीन तिब्वतमा आउँदा राणाहरुलाई पनि नेपालको अस्तित्व र स्वतन्त्रताको चिन्ता नहुने कुरा थिएन। तर, राणा शासन नेपालको इतिहासको यति ठूलो 'खलनायक' हो कि यसप्रति सहानुभूतिशील भएर हेर्ने कोही तयार थिएन। 'लेफ्ट' ले त हेर्ने कुरै भएन। 'विस्तारवादी' भारतले 'प्रगतिशील' चीनविरुद्ध 'उक्साएर' नेपालसँग गरिएको १९५० को सन्धिप्रति त्यो पक्ष सुरूदेखि नै नकारात्मक थियो।

मानिसको सर्वकालीन कमजोरी के हो भने उसका धारणा निजी आग्रहले तय हुन्छन्। १९५० को सन्धि, त्यो बेलाको परिवेश र यो सन्धिमा राणाहरूको भूमिकामाथि न्याय गर्ने हो भने सन्धिका धाराहरुको वस्तुगत व्याख्या हुनुपर्छ। त्यो सन्धि हुँदाका घटनाक्रम र वार्ताहरुको विश्लेषण हुनुपर्छ।

दशबुँदे १९५० को सन्धिको पहिलो धारामा भनिएको छः भारत सरकार र नेपाल सरकारबीच सदैव शान्ति र मित्रताको सम्बन्ध रहने छ। दुवै सरकारहरू एक अर्काको पूर्ण सम्प्रभूता, भु-अखण्डता र स्वतन्त्रता स्वीकार्छन् र त्यसको सम्मान गर्छन्। वास्तवमा यो दुई देशबीचको सन्धिले पहिलोपटक प्रष्ट भाषामा नेपाल र भारतले एक अर्काको सम्प्रभूता, स्वतन्त्रता र भू-अखण्डता स्वीकार गरेका थिए। त्यसको सम्मान गर्ने बताएका थिए।

१९५० सम्म आइपुग्दा नेपाल एउटा स्वतन्त्र राष्ट्रका रूपमा स्थापित त थियो। तर, बेलायत र अमेरिकाबाहेकका अर्को मुलुकसँग हाम्रो दौत्य सम्बन्ध थिएन। धेरैले नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा चिन्दैन थिए। नेपाललाई औपचारिक रुपमा यो हैसियत प्राप्त थिएन। यस्तो अवस्थामा स्वतन्त्र भारतसँग नेपालको सावैभौमिकता, भू- अखण्डता र स्वतन्त्रता स्थापित भएको थियो।

१९५० को सन्धिमा नेपाली पक्षको नेतृत्व गरेका थिए मोहन शमशेरका कान्छा छोरा विजय शमशेरले। त्यसबेला विजय शमशेरले नै नेपालको परराष्ट्र सम्बन्धको अड्डा सम्हालेका थिए। उनी मुन्सीखानाको डाइरेक्टर जेनरल थिए। उनी राणाहरुमा पढेलेखेका मध्ये थिए। कलकत्तामा बसेर राजनीतिशास्त्रमा एमए गरेका थिए। उनको वरिपरि त्यो समयका काविल र विद्धान सहयोगी थिए। सरदार भीमबहादुर पाँडे, सरदार गुञ्जमानसिंह (काजी रत्नमानको छोरा जोपछि नेपाल सरकारका मुख्य सचिव भए) र नरेन्द्रमणि आचार्य (१९४८ देखि १९५० सम्मका परराष्ट्रसचिव) सहितको बलियो टिम थियो उनको।

मोहन शमशेर पुरानो सोचका थिए। जन्मिँदैका जर्नेल र राणा शासनका उत्तराधिकारी उनी बाँचेको युग अर्कै थियो। विजय शमशेरले देखेको दुनियाँ र युग अर्कै थियो। भारतमा ब्रिटिस साम्राज्यविरूद्धको आन्दोलन र त्यो साम्राज्यको पतन उनले देखेका थिए। बाउ-बाजेले आर्जेको सत्ता जोगाउने ध्याउन्न उनको पक्कै थियो। तर मुलुक जोगाउने चेत पनि उनीमा भएको देखिन्छ। विजय शमशेरको स्वतन्त्र भारतका सत्तासीन नेताहरूसँग सम्पर्क स्थापित थियो।

१९४७ मा भारत स्वतन्त्र हुनुअघि नै इण्डियन काउन्सिल अफ वर्ड एफियर्सले दिल्लीमा 'एसियन रिलेसन्स कन्फ्रेन्स' आयोजना गरेको थियो। सरोजिनी नायडु कन्फ्रेन्सको आयोजक थिइन्। महात्मा गान्धी, जवाहरलाल नेहरू वक्ता थिए। आठ सदस्यीय नेपाली टोलीको नेतृत्व गरेर विजय शमशेर दिल्ली गएका थिए। त्यो बेलाजस्तो काबिल मानिसहरुको डेलिगेसन आजसम्म नेपालबाट विदेश नगएको दाबी एक पूर्व परराष्ट्र सचिव गर्छन्। त्यो नेपाली टोलीका अन्य सदस्यमा रत्नबहादुर विष्ट (जो पछि प्रधान न्यायाधीश बने), सरदार गुन्जमान सिंह, सरदार नरेन्द्रमणि आर्चाय, सरदार रुद्रराज पाँडेय, सुवर्ण शमशेर राणा, सूर्यबहादुर उपाध्याय र कलेन्द्र नरसिंह राणा थिए। टोलीमा हरेक सदस्य पढेलेखेका थिए। अंग्रेजी राम्रो बोल्थे। नेपाली टोलीका तर्फबाट विजय शमशेरले दिल्लीमा अंग्रेजीमा 'धाराप्रवाह' भाषण गरे। अरु नेपाली सदस्यको सहभागिता र प्रस्तुति पनि राम्रो थियो। नेहरु 'प्रभावित' भए। सम्बन्ध स्थापित भयो। यही बेलाको सम्बन्ध बढाएर विजय शमशेरले १९५०को सन्धिको नेगोसिएसन भारतीय सत्ता पक्षसँग गरेका थिए।

भारतलाई पक्कै सन्धि चाहिएको थियो। चीनमा कम्युनिष्ट शासनको शुरूवातपछि तिब्बतमाथि उसको आँखा लागि सकेको थियो। भारतलाई उत्तरी 'फ्रन्टियर' जोगाउन र नेपाललाई आफ्नो स्वतन्त्रता जोगाउन सन्धि आवश्यक थियो। दुवैको स्वार्थ मिल्यो। नेपालको स्वतन्त्रता र सम्प्रभूताप्रति विजय शमशेर सम्वेदनशील रहेको र त्यसलाई जोगाउन प्रशस्त प्रयास गरेको १९५० भन्दा अघिको एउटा र पछिको दुईवटा घटनाले प्रमाणित गर्छन्।

पहिलो, १९४९ मा मेजर पदमबहादुर खत्री लण्डनस्थित नेपाली राजदूतावासमा सैनिक सहचारीको काम गर्थे। उनले म्याट्रिक मात्र पढेका थिए। तर ज्ञान सर्टिफेकेटले हैन, स्वअध्ययनले ल्याउने हो। त्यसैको उदाहरण थिए खत्री। 'टेबल टक'मा उनी अब्बल थिए। मानिसहरूलाई तुरून्त प्रभावित पार्न सक्थे। विजय शमशेरले खत्रीलाई सैनिक सहचारीबाट राजीनामा गर्न लगाए र उनलाई नयाँ पद दिए-- लियाजन अफिसर अफ किङडम अफ नेपाल फर एडमिसन टु यूएन। नियुक्ति भएदेखि नै खत्री न्युयोर्क जानआउन शुरू गरे। कागजपत्र तयार भएपछि संयुक्त राष्ट्र संघमा सदस्यताका लागि निवेदन दिए। लबिङ गरे। तर, नेपाललाई यूएनको सदस्य हुन अर्को ६ वर्ष कुर्नुपर्यो।

दोस्रो, १९५० को सन्धि भन्नेबित्तिकै हामी सबै भारतसँग भएको सन्धि मात्र सम्झन्छौं। किनभने बदनाम यही सन्धि भएको छ। भारतसँग भएको जस्तै शान्ति र मैत्री सन्धि ठ्याक्कै तीन महिनापछि बेलायतसँग पनि भएको छ।

तेस्रो, मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि भारतले नेपालको परराष्ट्र मामिला आफूले हेरिदिने भनेर लबिङ गर्यो। 'तिमीहरू सानो मुलुक छौ, संसारका विभिन्न मुलुकमा राजदूतावास राख्न सक्दैनौ' भन्ने उसको तर्क थियो। विजय शमशेर त्यसबेला दिल्लीका लागि नेपाली राजदूत थिए। उनी सन् १९५१ देखि १९५३ मा 'करेन्ट' लागेर नमरुन्जेल राजदूत रहे। विजय शमशेरले परराष्ट्र सचिव नरेन्द्रमणि आचार्यलाई चिठ्ठी पठाए, भारतको प्रस्ताव मान्नहुन्न भनेर। उनको तर्क थियो -- यसले हामीलाई भारतको प्रभावमा राख्छ, बरू विदेशमा राजदूतावास हामीसँग पैसा भएपछि खोल्दै जाउँला। आचार्यले विजय शमशेरको अडानको प्रसंशा गरेर चिठी लेखेका छन्।

१९५० को सन्धिबारे हाम्रो बुझाइ कतिसम्म अपुरो छ भने यो सन्धिसँगै भारतले थप दुईवटा सन्धि गर्न चाहेको थियो। व्यापार र सुपुर्दगी सन्धि। नेपालमा थौरैलाई मात्रै यो तथ्य थाहा छ। व्यापार सन्धिका प्रावधानहरू नेपालको हित विपरित थिए। विजय शमशेरले नेतृत्व गरेको वार्ता टोलीले त्यसलाई बदल्न धेरै प्रयास गरेको थियो। त्यसो त अहिलेको १९५० को सन्धिका धारा २, ५, ६ र ७ मा पनि संशोधन गर्नुपर्ने नेपाली वार्ता टोलीको माग थियो। भारत बलियो थियो। राणाहरु कमजोर थिए। भारतको हातमाथि पर्ने नै भयो। तर, भारतले सन्धिका मस्यौदा ल्याएको र राणाहरुले तिनमा सहि धस्काएर सत्ता जोगाएको जुन बुझाइ हाम्रो छ, त्यो इतिहासमाथि सरासर अन्याय हो।

१९५० को सन्धिका सवालमा नेपाल भारतबीच 'कम्प्रमाइज' भएको हो। नेपालले चाहेजस्तो १९५० को सन्धिका लागि तयार मस्यौदाका बुँदाहरु परिवर्तन भएनन्। भारतीय पक्ष यसमा भएका सबै शर्त दुबै पक्षलाई समान रूपले लागू हुन्छ भन्ने अडानमा कायम रह्यो। त्यसैले यो सन्धि समानतमा आधारित छ भन्ने तर्क उसले गरिरह्यो। अन्ततः नेपाल पक्षको भनाइ पनि छुट्टै 'लेटर- अफ- एक्सचेन्ज'का रुपमा सन्धि भएकै दिन दुई देशबीच आदान प्रदान हुने सहमति भयो। 'लेटर- अफ-एक्सचेन्ज' सन्धिकै अंग मानिन्छ, जसमा निम्न विषय समेटिएको वार्ता टोलीका सदस्य सरदार पाँडेको 'त्यसबेलाको नेपाल' पुस्तकमा उल्लेखित छः दुई सरकार सम्बन्धी कामकुरा पर्दा आपसमा छलफल गरेर मात्र निर्णय लिने, नेपालले तेस्रो राष्ट्रबाट आफ्नो सुरक्षालाई आवश्यक हात-हतियार पैठारी गर्न पाउने,नेपालले संयुक्त राष्ट्र संघ, उसका विषेश संस्था र भारतभन्दा बढी सहुलियत प्रदान गर्ने मुलुकबाट आर्थिक सहायता बिना रोकटोक लिन पाउने।

त्यसबेलाको व्यापार सन्धिको मस्यौदा भने साँच्चै नै असमान थियो। भारतले त्यसलाई संशोधन गर्न मानेन। त्यो असमान सन्धिको चर्चा भने नेपालमा हुने गरेको छैन। व्यापार सन्धिका धेरै प्रावधानहरू अहिले समानताका आधारमा संशोधन भैसकेका छन्. व्यापार सन्धि असमान छ भन्ने थाहा राणाहरुलाई थाहा थियो । तर 'शान्ति तथा मैत्री सन्धि 'समनाताका आधारमा' तय भएकाले त्यसमा सही गर्ने निर्णय राणाहरुले गरेको पाँडे आफ्नो पुस्तकमा लेख्छन्: मुक्तियारलगायत चार मुख्य जर्नेलको बैठकमा प्रस्तावित सन्धि, चिठी, र तिनमा निहित अवरोध र अड्चन छलफल हुँदा समानताको आधारमा तयार भएको नेपाल- भारतको नयाँ सन्धि र चिठ्ठीमा नेपाल सरकारले हस्ताक्षर गर्ने निर्णय भयो- दुई सरकार सम्बन्धी एकतर्फबाट मात्र एकोहोरो कुनै कुरा तय नहुने सन्धिको मुख्य ध्येयलाई आधार मानेर। सन्धि कार्यन्वयन हुदाँ दुवै सरकारको स्वीकृति लिनुपर्ने यही प्रावधानलाई समातेर नेपालका प्रधानमन्त्री बिपी कोइरालाले सन् १९५९ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले लोकसभामा दिएको वक्तव्यको विरोध गरेका थिए। नेताहरुले तुरुन्तै गल्ती स्वीकार गरे।

सुपर्दगी सन्धिमा भने अन्तिम समयमा आएर राणाहरुले सही गर्न मानेनन्। मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला सन् १९५३ मा उक्त सुपर्दगी सन्धिमा नेपाल-भारतबीच हस्ताक्षर भयो। भारतले तयार पारेको असमान सन्धिमा सत्ता ढल्न लागेका राणाहरुले दक्षिणकै स्वार्थअनुरुप हस्ताक्षर गरेको भन्ने तर्क २००६ सालमा मोहन शमशेरको दिल्ली भ्रमणसँग पनि मेल खाँदैन। नेपालस्थित भारतीय दूतावासलाई थाहै नदिई विजय शमशेरले नेहरूसँगको आफ्नो पुरानो सम्पर्क र चिनजान प्रयोग गरी २००६ साल फागुनमा दिल्लीमा नेहरू र मोहन शमशेरबीच गराए। उनीहरूबीच सन्धिका बारेमा ९० मिनेट कुरा भयो। भारतले सन्धिको मस्यौदा तयार गरेको थियो तर नेपालमा छलफल नगरी सही नगर्ने अडान लिएर मोहन शमशेर नेपाल फर्केको सरदार पाँडेको पुस्तकमा उल्लेख छ।

चीनमा माओको उदयपछि, विशेष गरी तिब्बतमाथि चीनले दागा धरेपछि नेपाल संशकित बनेको र सन्धिका लागि पहल गरेको कतिपय भारतीय लेखक तथा विश्लेषकको बुझाइ छ। केहि समय अघि मात्रै इन्डियन एक्सप्रेसमा प्रकाशित आफ्नो स्तम्भमा भारतीय परराष्ट्र र सुरक्षा मामिलाका जानकार सी राजामोहनले लेखेका छन्- चीनमा कम्युनिष्ट शासनको उदयपछि नेपालले तर्सिएर भारतसँग १९५० को सन्धिको पहल गरेको थियो। दाबी जे जे भए पनि १९५० को सन्धि नेपाल र भारत दुबैको चासो र स्वार्थका कारण सम्पन्न भएको देखिन्छ।

१९५० को सन्धि र आजको सन्दर्भ

१९५० को सन्धिको सधैँ विरोध गरिरहने धेरै वाम नेता-कार्यकर्तासँग यो सन्धि किन असमान छ भनी सोध्दा धेरैको जवाफ आलटाले हुने गरेको छ। केहीले सन्धिको भाव हेर्नुहोस् न भन्छन्। मानिस बिनाभिसा आवतजावत गर्न पाउने भएपछि नेपाल- भारत केको छुट्टै देश भन्छन्। यीमध्ये बहुसंख्यकले सन्धि कहिल्यै पढेका छैनन्। जनयुद्ध सुरु गर्नुअघि माओवादीले पेश गरेको ४० बुँदे मागका सुत्रधार बाबुराम भट्टराईसँग १९५० को सन्धि किन असमान छ, किन बदल्नुपर्यो भनी सोध्दा उनले भने -- हेर्नोस् न दुई देशबीचको सन्धिमा ककसले सही गरेका छन्, असमान भन्ने त्यसै थाहा हुन्छ।

हो, भारतका तर्फबाट उक्त सन्धिमा हस्ताक्षर राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहले गरेका थिए। नेपालको तर्फबाट मोहनशमशेरले। त्यसो त ब्रिटिश इन्डियासँग १८१६ मा भएको सुगौली सन्धि र १९२३ को सन्धिमा पनि इस्ट इन्डिया कम्पनीका प्रतिनिधिले नै सही गरेका थिए। असमानताको कुरा गर्दा एकजना परराष्ट्र सचिवले घतलाग्दो किस्सा सुनाएका थिए। इस्ट इन्डिया कम्पनीका नेपालस्थित आवासीय प्रतिनिधिलाई भेट्न लैनचौर जानुअघि जुद्धशमशेरले टुँडिखेलमा गर्वका साथ सुनाएका थिए रे, 'आज लैनमा बडाहाकिमलाई भेट्न जाँदै छौँ।' कोतपर्वको बेला आफूलाई मार्छन् भन्ने डरले राति नै गुहार माग्न राजेन्द्रबिक्रम शाह पुगेको ठाउँ पनि लैनचौर नै थियो। २००७ सालमा दिल्ली प्रस्थान गर्नुअघि राणाका आँखा छलेर राजा त्रिभुवन छिरेको पनि लैनचौर दूतावास नै हो।

२००७ सालमा मोहनशमशेरसँग सन्धि गर्न भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु आउने अपेक्षा गर्नु ठूलो आत्मरति सिवाय केही होइन। त्यो फरक कालखण्ड थियो। दुई मुलुकबीच शक्ति सन्तुलनको ठूलो खाडल थियो।

मूल कुरो, १९५० को सन्धिले आज हामीलाई हित गर्छ कि गर्दैन भन्ने हो। १९५० को सन्धिले हाम्रो प्रगति रोकेको छ कि छैन भन्ने हो। त्योभन्दा बढी महत्वपूर्ण प्रश्न हो-- सन्धि परिवर्तन नै गर्ने भए नेपाललाई अहिलेभन्दा धेरै लाभ हुने गरी सन्धि गर्ने हाम्रो सामर्थ्य छ कि छैन?

यो सन्धिका धेरै प्रावधान आजको भूराजनीतिक परिवेशमा असान्दर्भिक भइसकेका छन्। आज पनि सबभन्दा धेरै सान्दर्भिक भएको प्रावधान- नेपाल र भारतबीच दुई देशका नागरिकको बेरोकटोक आवागमन- नेपालको हितमा छ। एउटा समय थियो, जतिबेला कृषिदेखि व्यापार र अन्य रोजगारीका लागि धेरै भारतीयहरु नेपाल छिर्थे। वाम नेता कार्यकर्ताले १९५० को सन्धिको विरोध गर्नुको अर्को कारण यही थियो। त्यसैको सेरोफेरोमा नेपालमा वर्क परमिटको व्यवस्था गर्न लागिएको थियो। आज परिस्थिति बदलिएको छ। लाखौँलाख युवा भारतमा काम गर्छन्। रोजगारीका लागि नेपालमा आउने भारतीय र भारतमा जाने नेपालीहरुको संख्याको तुलनै हुन सक्दैन। हिजोसम्म भारतमा मूलत: शारिरिक परिश्रमको रोजगार गर्ने नेपालीहरु आज बन्दव्यापार गर्छन्, सरकारी तथा निजी क्षेत्रमा सम्मानित जागिर खान्छन्। लाखौँ भारतीय पर्यटकका रुपमा नेपाल आउँछन्। खुल्ला आवतजावतले यसलाई धेरै सघाउ पुर्यारएको छ। नेपालको आर्थिक सम्बृद्धिसँगै भारतको बजार र खुल्ला आवागमन हामीलाई थप चाहिन्छ। विकसित मुलुकहरुले 'फ्री ट्रेड' सहमतिको कुरा त्यसै गरेका होइनन्।

१९५० को सन्धिले सुनिश्चित गरेको नेपालको आर्थिक सम्भावनालाई दाउमा राखेर नयाँ सन्धिको पहल किन गर्ने?

Text of the Treaty

TREATY OF PEACE AND FRIENDSHIP BETWEEN THE GOVERNMENT OF INDIA AND THE GOVERNMENT OF NEPAL. SIGNED AT KATHMANDU, ON 31 JULY 1950

The Government of India and the Government of Nepal, recognizing the ancient ties which have happily existed between the two countries; Desiring still further to strengthen and develop these ties and to perpetuate peace between the two countries; Have resolved therefore to enter into a Treaty of Peace and Friendship with each other, and have, for this purpose, appointed as their plenipotentiaries the following persons, namely,

THE GOVERNMENT OF INDIA:
His Excellency Shri Chandreshwar Prasad Narain Singh, Ambassador of India in Nepal.

THE GOVERNMENT OF NEPAL:
Maharaja Mohun Shamsher Jang Bahadur Rana, Prime Minister and Supreme Commander-in-Chief of Nepal,
who having examined each other's credentials and found them good and in due form have agreed as follows:

Article 1

There shall be everlasting peace and friendship between the Government of India and the Government of Nepal. The two Governments agree mutually to acknowledge and respect the complete sovereignty, territorial integrity and independence of each other (नेपाल सरकार र भारत सरकार का बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् ।)

Article 2

The two Governments hereby undertake to inform each other of any serious friction or misunderstanding with any neighboring State likely to cause any breach in the friendly relations subsisting between the two Governments. (कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।)

Article 3

In order to establish and maintain the relations referred to in Article 1 the two Governments agree to continue diplomatic relations with each other by means of representatives with such staff as is necessary for the due performance of their functions. The representatives and such of their staff as may be agreed upon shall enjoy such diplomatic privileges and immunities as are customarily granted by international law on a reciprocal basis : Provided that in no case shall these be less than those granted to persons of a similar status of any other State having diplomatic relations with either Government. (कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्धारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।)

Article 4

The two Governments agree to appoint Consuls- General, Consuls, Vice-Consuls and other consular agents, who shall reside in towns, ports and other places in each other's territory as may be agreed to. Consuls-General, Consuls, Vice-Consuls and consular agents shall be provided with exequaturs or other valid authorization of their appointment. Such exequatur or authorization is liable to be withdrawn by the country which issued it, if considered necessary. The reasons for the withdrawal shall be indicated wherever possible. The persons mentioned above shall enjoy on a reciprocal basis all the rights, privileges, exemptions and immunities that are accorded to persons of corresponding status of any other State. (दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर , बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।)

Article 5

The Government of Nepal shall be free to import, from or through the territory of India, arms, ammunition or warlike material and equipment necessary for the security of Nepal. The procedure for giving effect to this arrangement shall be worked out by the two Governments acting in consultation. (नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।)

Article 6

Each Government undertakes, in token of the neighborly friendship between India and Nepal, to give to the nationals of the other, in its territory, national treatment with regard to participation in industrial and economic development of such territory and to the grant of concessions and contracts, relating to such development. (भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।)

Article 7

The Governments of India and Nepal agree to grant, on a reciprocal basis, to the nationals of one country in the territories of the other the same privileges in the matter of residence, ownership of property, participation in trade and commerce, movement and other privileges of a similar nature. (नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।)

Article 8

So far as matters dealt with herein are concerned, this Treaty cancels all previous Treaties, agreements, and engagements entered into on behalf of India between the British Government and the Government of Nepal. (जहा यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।)

Article 9

This Treaty shall come into force from the date of signature by both Governments. (हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।)

Article 10

This Treaty shall remain in force until it is terminated by either party by giving one year's notice. (यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।)

Done in duplicate at Kathmandu this 31st day of July 1950.

External links

Text of the 1950 Indo-Nepal Treaty of Peace and Friendship

References

1.  India willing to review the treaty

2. Nepal-India relations 

3. Tribune India

4. Dick Hodder, Sarah J. Lloyd, Keith Stanley McLachlan. Land-locked States of Africa and Asia . page 177. Routledge, 1998. ISBN 0-7146-4829-9

5. India-Nepal Treaty

6. Maoists to scrap 1950 Indo-Nepal treaty  

7. http://www.indianexpress.com/news/nepals- most-powerful-politico-prachanda-slapped-in- public/1032025