Friday, May 05, 2017

जीवनबारे एउटा रोचक ‘भट्टी गफ’


जिग्री पाटीले छातीको चौडा फुलाउँदै भन्छ, ‘निर्धक्क विग्रन पाउँनु पर्छ ।’

‘तेरो बाऊले रोकेको छ त नि, विग्रन ।’ अर्को साथीले पानी निख्रने बेलाको तोङ्बाको गेडा नै निचोरिने गरी तान्दै सन्केर भन्छ ।
स्केचः नागरिक दैनिक

बफ चिल्ली चपाउँदै गरेको पहिलोले चिल्ली नै भैंमा थुकेर भन्छ, ‘हो मलाई विग्रन मेरो बाऊले रोक्न खोजे, मेरो बाऊ मेरो स्वतन्त्रताको बर्खिलापमा गएका छन् । यस्तै हो भने म बाऊविरुद्ध मानव अधिकार आयोगमा मुद्दा हाल्छु ।’

‘क्या ठीस गफ दिन्छ यार, तलाई तेरो बाऊले नराम्रो होस् भनेर भनेका छन् त केही ?’ एउटा झ्याँस आदर्शवादी बन्न खोज्यो । सोचविचार गरेरै निर्धक्क विग्रन पाउँनु पर्छ भन्ने निश्कर्षमा पुगेको उसलाई कुनै परम्परावादी आदर्शको कुराले ‘कम्भिन्स’ गर्न सक्ने अवस्था नै थिएन ।

‘तलाई तेरो बाऊले पढ्न पठाएका कि, रक्सी खान ? आफू रक्सीले मातेर अरुलाई सिकाउँन खोज्छ यार ।’ विग्रन पाउनु पर्नेवालाले उसको मुख टाल्न खोजेको जस्तो गऱ्यो । तर, तोङ्बाको पानीले खोलेको मुख हत्तपत्त टालिनेवाला छैन । अल्कोहलको पानी तल गएर माथि आएको गफमा हारजितको फैसला त निन्द्रा बाहेकले गर्न सक्ने स्थिति नै हुँदैन । ‘मैले त विग्रन पाउँनु पर्छ भनेको छैंन नि !’ उसले एउटा सूर्यको ठुटोमा अर्को झोस्दै लुज तर्क ठेल्यो ।

‘विग्रन पाउँनु पर्छ भने पनि, नभने पनि विग्रेकै छस् क्यारे । उल्टै सिकाउँन खोज्छ यार ।’ उसले आफ्नै टाइपको तर्क तेर्सायो । र भन्यो, ‘हेर केटाहरु तिमरुले बुझेका छैनौं । फेरि मलाई परे जस्तो तिमरुलाई प¥या पनि छैन होला । म त निर्धक्क विग्रन पाउँनु पर्छ भन्ने अभियान नै चलाउँने प्लानमा छु ।’ गम्भीर तरिकाले लास्ट पप चुरोट तानेर स्टे«मा निभाउँदै भन्छ, ‘म मैले चाहेर जन्मेर हो र ! जन्मनँ पनि अरुकै चाहनाअनुसार, बाँच्ने पनि अरुकै चाहना अनुसार, अनि कसरी भयो मेरो जीवन ? के म ठ्याक्कै अरुले चाहेजस्तो हुन त म तिनरुको कर्मचारी वा मेसिन हूँ र !’

‘यो पनि के के भन्छ, के के ? एउटै बुझिने कुरा गर्दैन, ठीस । ‘साईको’ नै हुने भो यार यो त ।’ त्यतिन्जेलसम्म नबोलको अर्कोले मुख खोल्यो । ‘अरु केही कुरा पाइनस् ? बरु अर्को एउटा तोङबा भन् न ! सितन पनि…।’

सबैको दिमागमा गडेकै छ, ‘निर्धक्क विग्रन पाउँनु पर्छ ।’ तर, अरु कुरा गर्ने मन किन हुन्छ ? ‘आफैले चाहेर विग्रेको विग्राइले मान्छे विग्रदैन । अरुले खोजेको कुरामा मात्रै मान्छे विग्रन्छ । बिना कुनै कारण मान्छेले नराम्रो गर्दैन । आफ्नै लागि मात्रै मान्छे नराम्रो गर्दैन । बरु, बहुलाउँछ । जब अरु, अरु, अरुहरु जोडिन्छन्, मान्छे विग्रन्छ ।’ अर्को एउटाले ‘विग्रनु दर्शन’ छाँट्यो । विग्रनु सभ्यता भित्रको बहश चल्छ, भट्टीमा ।
एकपल्ट माहोल उत्तेजित हुन्छ ।

विग्रनु पक्षको नाइकेले बाऊ आमाले रामाइलो गर्दा आफू जन्मेकोले ‘मलाई बाऊ आमाप्रति केही मतलब छैन ।’ भनेर भनेपछि ‘त्यस्ताको गफ के सुन्नु भन्दै साथीहरु बाहिरिन खोजे । साथीहरु बाहिरिने बेलामा पनि उसले भन्यो, ‘मलाई विग्रन तिमरुले पनि रोक्न सक्दैनौं केटा हो । जाओ तिमरु, म अझैं झ्याप हुन्छु ।’ उसले होटल साहुजीलाई बोलाउँछ र मगाउँछ, ‘एक क्वाटर खुकुरी रम ।’ अब ऊ रम र तोङ्बाको कक्टेलमा निर्धक्क विग्रने भयो ।

होटलको पल्लो कुनामा एक्लै तोङ्बाको रस चुसिरहेको मलाई त्यो मान्छेको हर कुराले प्रभाव परिरहेको थियो । उसका कुरा ठीक लागेको त नभनौं । तर, कताकता प्रहार गरिहेकै थियो । उसले किन यस्तो कुरा गर्दैछ ? फोकटलाल वा औसत मान्छेले यस्तो कुरा गर्दैन भन्ने निष्कर्षका साथ तोङ्बाको ठेकी र भटमासको प्लेटसहित म पनि उ भएकै टेबलमा गएँ ।

ऊ निहुरिएर देव्रे हातका औंलाहरुले निदार निचोर्दै, घोत्लीरहेको थियो । रम आईसक्दा पनि ऊ घोत्ली नै रह्यो । म आएको पनि उसलाई कुनै मतलब थिएन । मैले नै कुरो पोयो फुकाउँन खोजें । ‘मित्र सिग्रेट लिनुहुन्छ ?’ सल्काएको चुरोट उप्रति देखाउँदै उसको एकाग्रता भंग गरें । कतै निर्धक्क विग्रन पाउँनु पर्छको मान्यता विपरित पो बोलें कि ठानेर हल्का डराएको म उसले ‘अँ लिन्छु’ भनेर समातेपछि डर भाग्यो । उसले सोध्यो, नचिनेकाले चिन्न खोजे झैं ‘तपाईं…?’ ‘म पनि यहाँको ग्राहक । तपाईको गफ सुन्दै थिएँ । मन पऱ्यो, त्यसैले ।’ मैले भनें ।

‘ओ के, के मन पऱ्यो तपाईलाई ? रम लिनुहुन्छ ?’ रम क्वाटरको बिर्को घुमाउँदै सोध्छ । मैले ‘रम नखाने’ भन्दै विग्रन पाउँनु पर्ने कुरा मन परेको वताउँछु । वताउँनुस् मित्र, ‘तपाईं किन निर्धक्क विग्रन चाहनुहुन्छ ? र, तपाईलाई विग्रन कसले रोक्यो ? म तपाईंको यही कुरा सुन्न नजिकिएको हुँ ।’ मैले भनिरहँदा ऊ रमको चुस्की लिंदै थियो ।

भटमास टोकेर सिग्रेट चान्दै उसले गम्भीर मुद्रामा भन्यो, ‘सुन्नुस् मित्र । मैले विग्रन पाउँनु पर्छ भनेर एकलौटी मेरो निजि कुरा गरेको होईन । समग्र प्रवृत्तिको कुरा गरेको हूँ । तर, यहाँ मान्छेले बुझ्दैनन्, बुझ्ने कोसिस गर्दैनन्, बुझे पनि बुझे जस्तो गर्दैनन् । किनकि यहाँ मान्छे आफू हिरो हुन राम्रो लागेको कुरा पनि ग्रहण गर्दैनन् ।’ उसले भनिरह्यो, मैले सुनिरहें । ‘वास्तवमै हामी स्वतन्त्र छैनौं, हामीलाई राम्रो लागेको काम निर्धक्क गर्न सक्दैनौं । जसका लागि हाम्रो समाज बाधक छ । समाजको आँखामा राम्रो देखिन परम्परागत किसिमको काम, जागिर गरेर पैसा कमाउँनु पर्छ । नत्र, उ समाजको नजरमा राम्रो हुदैन ।

समाजको आँखामा नराम्रो देखिने भयले उसले राम्रो, नवीन, फरक काम गर्न सक्दैन । राम्रो, नविन र फरक काम गर्न उ समाजको नजरमा विग्रनु पर्छ । परिवार, आफन्त र कथित शुभचिन्तनको नजरमा विग्रनु पर्छ । कतिपय मामलामा हामी धर्मको साँघुरो घेरा भित्र बाँधिएर बाँच्नु पर्छ । नत्र, विग्रिएको आरोप लाग्छ । हामी राजनीति, जातजाती, विभिन्न वर्गको घेरा भित्री कैद भएर बाँचेका छौं ।

कुनै पनि घेरा नाघेर फरक काम गऱ्यो भने विग्रिएको हुन्छ । हामी घेराबाट माथि उठेर काम गर्न सक्दैनौं । हामी आफूले चाहेको काम गर्न, आफूले चाहेजस्तै आफू हुन समाज, परिवार, आफन्त, धर्म, जाति, वर्गको बन्धनलाई तोड्न पर्छ ।

त्यसो गर्दा समाज, परिवार, आफन्त, धर्म, जाति, वर्गको नजरमा हामी विग्रनु पर्छ । त्यसैले म भन्छु, आफूले चाहे जस्तै आफू हुन निर्बाध विग्रनु पर्छ । स्वतन्त्र जीवनको पक्षमा निर्धक्क विग्रनु पाउँनुपर्छ ।’ यति भनेर उसले बाँकी रम ‘ग्याम्बे’ हान्यो । उसको कुराले गम्भीर भएको म, हतार भएको वताएर ‘सिग्रेट’ तान्दै बाहिरिएँ ।

स्केचः नागरिक दैनिक