संसारमा सबैभन्दा बढी प्रयोग हुने शब्द नै माया हो । अचम्मको कुरा यति धेरै प्रयोग हुँदा पनि सबभन्दा कम बुझिएको शब्द पनि माया नै हो । हुन त यो संसार मायाकै बिस्तार हो । यहाँ जे जति छन्, ती सबैसँग माया छ । जस्तै जब मनले कुनै चीज देख्छ, तब ती चीज आफ्नो बनाउनको लागि चित्त सक्रिय बन्छ । त्यतिखेर इच्छाहरु जन्मिन्छ यी इच्छाहरुलाई बुद्धले तृष्णा भनेका छन् भने अरु सन्त पुरुषले मनको वासना भनेका छन् । यो मनको बासना नै माया हो । यसै मायाले नै माकुराले जस्तै जालो बुन्छ । त्यही जालोमा आफू पनि फस्छ र अरुलाई पनि फसाउँछ । मान्छे माया जालमा फस्छ ।
भनिन्छ जे देखे पनि माया लाग्ने, जसलाई देखे पनि माया लाग्ने, यो माया भन्ने चीज के होला ? मलाई लाग्छ माया भनेको लोभ हो अर्थात् लोभको सभ्य भाषा नै माया हो । मोह भनेको आशक्ति हो । यसर्थ माया मोहको अर्थ हुन्छ, लोभप्रतिको आशक्ति एउटा नेपाली गीत छ, “नदेखे को हो, को हो ? देखे पछि माया मोह ।” अचेल आई लभ यु भन्ने शब्द निकै नै प्रयोग गरेको पाइन्छ । जति धेरै पटक आई लभ यु भने पनि व्यवहारिक जिन्दगीमा वास्तविक मायाको खडेरी देखिन्छ । माया भन्ने चीज आई लभ यु भन्दैमा पुच्छर ठाडो पारेर दगुर्दै आउने कुरा होइन । माया भन्ने चीज हृदयको गहिराईबाट आउने चीज हो । आई लभ यु भन्ने शब्द उन्मादले मातिएको मनबाट आउने शब्द हो । जस्तै उदाहरणको लागि कुनै राम भन्ने केटाले आफ्नो छिमेकका सीता भन्ने सुन्दरी केटीलाई देख्यो, मनपर्यो भने तब उसको लोभ जाग्छ, मन परेको चीजलाई पाउनको लागि चित्त तड्पिन थाल्छ, सक्रिय हुन थाल्छ, यसै बीचमा अनेकअनेक इच्छाहरु जन्मिँदै जान्छ, कुनै न बहानाले सीता भन्ने केटीको नजिक पुग्ने जुक्ति निकाल्छ, त्यहाँ पुग्छ, त्यस केटीलाई बोलाउने, त्यस केटीलाई गलाउने उपायमा कम्मर कसेर लागी पर्छ र एकदिन बोलाउँछ, मन गलाउँछ अनेक अनेक उपायहरु जुटाएर केटीको मन पनि गलाउँछ । मन गले पछि केटीले पनि केटाको आग्रहमा झिनो स्वीकृति दिँदै जान्छ । केटीको यही खुकुलोपनमा केटाले आई लभ यु भन्न हतारिएको हुन्छ र छिट्टै नै आई लभ यु भन्नमा पनि सफल हुन्छ । अचेलका प्रगतिशील केटीहरु पनि के कम, उनीहरु पनि भनिदिन्छन् आई लभ यु टु ।
वास्तवमा यो आई लभ यु भन्ने शब्द उसको लोभी चित्तबाट आएको हुन्छ । हृदयबाट आएको हुँदैन । जब माया हृदयबाट आउन थाल्छ त्यतिबेला आई लभ यु भन्ने शब्दले दुःख पाउनु पर्दैन र शब्दद्वारा व्यक्त गर्न पनि आउँदैन । अव्यक्त रुपमा उसको मधुर मुस्कान र लोलाएका आँखाहरुबाट व्यक्त गरिरहेको हुन्छ र लोलाएकै आँखाहरुबाट अन्तरसम्वाद एवम् प्रेमका वार्तालाप भइरहेको हुन्छ । हृदयको असीम प्रेम आदानप्रदान भएको हुन्छ । त्यतिबेला न त चुम्बनको लागि आतुर हुन्छ न त सेक्सको लागि छटपटिएको हुन्छ, ऊ केवल हृदयको असीम प्रेममा लिप्त भएको हुन्छ । मानौं । यसै दिव्य प्रेमबाट नै उसले परम आनन्द लिएको हुन्छ । जन्म जन्मदेखि प्यासी आत्मा तृप्ति हुन थाल्छ । प्रेमको यही अवस्थालाई रजनीश ओशोले “Timelessness र Egolessness ” भनेका छन् । तब शुद्ध मानव बन्छ, शुद्ध चित्तमा पुग्छ । वास्तवमा चित्त शुद्ध हुनु नै बुद्ध हुनु हो । प्रेमको यही अवस्थालाई जिजसले “Love is God” भनेका छन् ।
यसरी सही माया गर्न जान्यौं भने मायाबाट प्रेमको यात्रा गर्न सकिन्छ । यदि माया गर्न जानेनौं भने अशुद्ध मायाको जालोमा फस्दै जान्छौं । यही अशुद्ध माया भित्र धेरै किसिमको खेल एवम् नाटक रचिन्छ । मायाको नाटक गरेर धनसम्म पुग्ने, मायाको नाटक गरेर सेक्ससम्म पुग्ने, मायाको नाटक गरेर अवसर लुट्ने, मायाको नाटक गरेर आफ्नो स्वार्थ लिने जस्ता खेलहरु पनि भएको देखिन्छ । मैंले एउटा पाँच वर्षको बालकलाई सोधेको थिएँ, बाबु आमालाई माया केमा लाग्छ ? ती बालकले तत्क्षण जवाफ दियो – माया गालामा लाग्छ हाहाहा………. । हाम्रो समाजमा गरिने माया भनेको गालासम्म पुग्ने माया हो । यो भन्दा अगाडि बढ्यो भने सेक्ससम्म । नत्र त्यो भन्दा अगाडि जाने सम्भावना देखिँदैन ।यदि कुनै कुनैले त्यो स्थितिलाई पार गर्यो भने माया मोहसम्म पुग्छ । त्यो भन्दा अगाडि ऊ जानै सक्दैन । त्यो स्थितिबाट अगाडि बढ्नको लागि उसले आफ्नो अहंकारलाई पगाल्न राजी हुनुपर्छ । सामान्यतया यति ठूलो साहस कसैले गर्न सक्दैन किनभने आफ्नो अहंकार पग्लेर तरल, सरल बन्न थाल्यो भने ऊ अत्तालिन थाल्छ । यो पग्लिने स्थितिले उसको स्वभावलाई बदलिदिन्छ, उसको स्वभावलाई शुद्ध मानवतातिर धकेलिदिन्छ यसपछि ऊ डराउन थाल्दछ । म भनेको त डक्टर पो थिएँ, आज म के भएँ । म भनेको त नेता पो थिएँ आज म के भएँ, म भनेको त उच्च पदाधिकारी पो थिएँ, आज प्रेमले गर्दा के भएँ, कहाँको मान्छे कहाँ पुगें । म आज प्रेमले गर्दा अचानक हारें हाहाहा ……….. । यसैले त अहंकारी मान्छे प्रेमदेखि डराउँछन् । वास्तवमा अहंकारबाट हार्नु भनेको जीवनबाट हार्नु होइन, बरु जित्नु हो । जसले अहंकारलाई जित्ने दुस्साहस गर्छ उसले मात्र प्रेमको अमृतरस लिन पाउँछ । जसले आफ्नो व्यक्तित्वलाई प्रेमको अस्तित्वमा सम्मिलित गराउने पुरुषार्थ जुटाउँछ । उसले मात्र प्रेमले परम आनन्दमा डुबुल्की मार्न पाउँछ । यसैले प्रेम जीवनको शिखर हो । यो शिखरमा पुग्नको लागि आफ्नो यात्राको शुरुवात माया, विश्वास र समर्पणबाट गर्न सिक्नुपर्दछ ।
आज हाम्रो समाजमा गरिने माया ढोंगी छन् र धोखा दिने खालका छन् । एकपटकको कुरा हो, आजभन्दा करिब पाँच वर्ष अगाडि योग शिविर सञ्चालनको सिलसिलामा म बुर्तिबाङ्ग पुगेको थिएँ । त्यहाँ १० दिने योग शिविर आयोजना गरिएको थियो । यसै क्रममा म एकदिन योग प्रशिक्षण सकेर अलि माथिको उकालो गएर बुर्तिबाङ्गको बजार राम्ररी हेर्नुपर्यो अनि फोटो पनि खिच्नुपर्यो भनी जाँदै थिए । यत्तिकैमा एउटा घरमा रुवाबासी सुनें । किन हो ? के भयो ? भनी सोधें । जवाफ आयो, विदेश गएको आफ्नो श्रीमान् विदेशमै मृत्यु भई श्रीमानको लाश काठमाडौं आएको दुःखद खबरले रुवाबासी भएको रहेछ । मलाई पनि दुःख लाग्यो । तर अचम्म लाग्ने कुरा के भयो भने ती श्रीमतीचाहिंले विभिन्न शब्दहरु निकालेर बिलौना गर्दै थिइन् । यसै क्रममा मैंले सुनें तिमी मर्यौ, अब मलाई कसले पाल्छ, बच्चाबच्ची कसले पाल्छ, म कसको सहाराले बाँच्ने हो ? पैसा कसले कमाउने आदि इत्यादि बिलौना गर्दै थिइन् । हामी जसरीतसरी बाँचौंला तर तिम्रो अपार जिन्दगीलाई गुमायौं । तिमीलाई सदाको लागि गुमायौं, अब तिम्रो माया पनि गुमायौं भन्नु पर्दथ्यो । खैर ! मैंले यो कुरा बुझ्नै सकिन । हामीले माया जिन्दगीलाई होइन उसले दिने सुविधा अनि पैसालाई पो माया गर्दा रहेछौं भन्ने शिक्षा त्यतिबेलाको घटनाबाट पाएको थिएँ ।
हरेक आमालाई आफ्नो सन्तानप्रति माया हुन्छ । चाहे ऊ जस्तोसुकै होस् तर अपवाद छोडेर हरेक बाबा आमा जस्तो शालीन हुँदैनन् । चोरेर होस् वा ढाँटेर जसरी भए पनि पैसा कमाएको हुनुपर्छ । अनि मात्र त्यस सन्तानले आफ्ना पिताबाट माया पाउँछ नत्र पाउँदैन । यदि पैसा कमाए मात्र पिताले माया दर्शाउँछ भने त्यो माया नक्कली हो । यस्तै आजकालका श्रीमतीहरु प्राय पैसामुखी भएको देखिन्छ । जस्तै उदाहरणको लागि काठमाडोंमा बस्ने नवजोडीको वैवाहिक सम्बन्धलाई म यहाँ पेश गर्न सान्दर्भिक ठानेको छु । उनीहरुको करिब एक वर्ष अघि विवाह भएको थियो । अहिले उनीहरुको सम्बन्ध विच्छेद जस्तै छ । केटा पक्षले केटी बोलाउन माइत जाँदा केटीले भन्छिन् अरे – जबसम्म तिमीले पैसा कमाउँदैनौं तबसम्म म तिम्रो घरमा आउँदै आउँदिन भनेर फिर्ता पठाइन अरे । यो पनि कोही तरिका हो र हाहाहा …………. ।
अब त आई लभ युको डायलगलाई बदल्नुपर्ने जस्तो भयो । अब आई लभ मनी देन यु । हुन त आजको जमाना भनेको पैसाको जमाना हो ? पैसाले नै सबै थोक गर्न सकिन्छ । पैसाले शक्ति दिन्छ, साहस दिन्छ र आत्मविश्वास, आत्मनिर्भर दिन्छ, अलिकति ईज्जत दिन्छ । यो एकदम सत्य कुरा हो । तर माया बेग्लै कुरा हो । संवेदनशील हृदयसँग सम्बन्धित कुरा हो । यसले जीवनलाई वास्तविक सुख दिएर उर्जाशील बनाउँछ । हृदयमा एक किसिमको अमृतरस रङ्ग भरिदिन्छ । जसले गर्दा जिन्दगी रङ्गीन भएको महसुस हुन थाल्दछ ।
यहाँ माया निम्न स्तरबाट हुने गर्दछ । कसैले सुन्दर रुप देखेर माया गर्छन् र ती मान्छेहरु रुप भन्दा गहिराईमा ओर्लेका हुँदैनन् । यसले गर्दा रुप कुरुपतिर जान लाग्यो भने उसले दिने माया पनि डगमगाउन थाल्छ, कसैले धन देखेर माया गर्छन् । एक दिन दुर्दशावश धन रित्तिने छाँट देखियो भने अन्तरसम्बन्धमा खटपट हुन थाल्छ । कसैले आदर्श व्यक्तित्वलाई माया गर्छन् । समिप्यता बढ्दै जाँदा उसका अवगुणहरु बिस्तारै बाहिर देखा पर्न शुरु गर्छ, तब उसले दिने माया दोधारमा पर्न थाल्छ ।
एउटा जगदीशसिंको हिन्दी गजल छ :-
” दुनियाँ जैसे कहते है
जादुका खेलौना
मिल जाये तो मित्ती
खो जाये तो सोना ” ।
मान्छेले नपाउँदाखेरि, हे प्रिय तिमीले भन मात्र म आकाशको तारा झारेर दिन सक्छ भन्नेले जब पाउँछ त्यसपछि दाह्रा झार्न तम्सिन्छ । यस्तो छ, हाम्रो मायाको हालत । अब त कसैले तिमीलाई भन्न आउला, हेर प्रिय तिमी विना त म एकदिन पनि बाँच्न सक्दिन भन्यो भने तिमी मख्ख नपर्नु । बरु उसलाई भन्नु यस्तो डायलग कतिलाई दियौ । कसैले आई लभ यु भन्यो भने उसलाई भन्नु तिम्रो यो आई लभ युको वारेन्टी कति दिनको हो ?
” जो पासपास रहते है
उससे हम बुरा कहते है
जो देखातक भी नही
उससे हम खुदा कहते है “।
मेरो आज्ञा मान्यौ भने माया गर्छु नत्र गर्दिन । मैंले भने जस्तै गऱ्यौ भने माया गर्छु नत्र गर्दिन । मेरो इच्छा बमोजिम काम गर्यौ भने माया गर्छु नत्र गर्दिन । मेरो विचार, मेरो सिद्धान्तमा चल्यौ भने माया गर्छु, नत्र गर्दिन । पैसा कमायौ भने माया गर्छु नत्र गर्दिन, म भन्छु यो शर्त सहितको माया माया नै होइन । निशर्त माया नै सत्य माया हो, सत्य प्रेम हो ।
हाम्रो समाजमा प्रचलित माया भनेको दिमाखबाट आएको माया हो । यो दिमाखी माया विचारहरुबाट सञ्चालित हुन्छ । यसैले जुन दिन विचारमा गडबड आउँछ त्यो दिनबाट माया संकटमा पर्दैै जान्छ । धरापमा पर्दै जान्छ । जुन माया हृदयबाट आएको हुन्छ, यो हृदय माया अन्तरात्माबाट निर्देशित हुन्छ । यो अन्तरात्मा अदलबदल हुने सम्भावना नै छैन, यसैले यस्तो माया दिगो हुन्छ, यस्तो माया मात्र अमर हुन्छ ।
No comments:
Post a Comment