‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ ।
मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् । कोही मेरा गुणको चर्चा गरिरहेका छन् । बाचुञ्जेल मेरा अवगुण मात्र देख्नेले मरेपछि मेरा सबै गुणमात्र देखिरहेका छन् । "यति छिट्टै मर्ने मान्छे त होइन । भगवानले पनि राम्रै मान्छेलाई मात्र चाँडै लैजान्छ । विचरा आँखामा हाल्दा पनि नबिझाउने, साह्रै जाति ।" के–के हो के–के ?
मलामी आउने क्रम जारी छ । कोहि पुरेत खोज्न कुद्दै छन् त कोहि हरियो बाँस खोज्न । कोहि लाहा भुट्दैछन् त कोहि शंख बजाउँदैछन् । घाट लैजानने तयारी हुँदैछ । म आँगनको एक कुनामा बसेर आफैँलाई घाटमा लैजान लागेको दृश्य हेरिरहेछु ।
जसलाई हिजो म भन्थेँ, त्यो म त मेरो आत्मा रहेछ र म जसलाई माया गर्दथेँ, त्यो केवल मेरो शरीर रहेछ । यसबेला म बाँचेको र शरीर मरेको छ ।
हिजोसम्म मेरा आफ्ना र आफन्त अनि शुभचिन्तकले मलाई हैन म रुपधारण गरेको मेरो शरीरलाई माया गरेका रहेछन् । ख्याल गरेका रहेछन् । म आफैँले पनि मेरो शरीरलाई माया गरेको रहेछु । म को थिएँ र किन आएँ अहिले बुझ्दैछु । म हिजो पनि एउटा आत्मा रहेछु र आज पनि शेष आत्मामै रहे । म कहाँ मरेको छु ? तर के गर्नु यी बाँचेकाहले मलाई मरेको ठानी रुवाबासी गरिरहेका छन् ।
म सबैलाई देखिरहेको छु । छुन खोज्छु र बोल्न खोज्छु तर सुन्दैन कसैले । मलाई मर्नु र बाँच्नुमा केहि फरक छैन तर किनकी म त सबै देखिरहेकोछु र सबैसँग पहिले जस्तैगरी रमाइरहेकोछु । एउटा भौतिक शरीर पो छैन मेरो । आत्मा त मसँगै छ । बाँच्नेहरुले पो मलाई बिर्सनेछन् किनकी जीवित हुँदा आत्माको वास्ता हुने र मरेपछि शरीरको ।
बिस्तारै मेरो लाश हरिया बाँसमा कसिँदैछ । यसबेला सबै दुःखी देखिँदैछन् । हिजोका मेरा दुश्मन, शत्रु पनि शोकाकुल भएजस्ता देखिन्छन् । मलाई सत्तोसराप गर्ने पनि भावुक देखिन्छन् ।
यसबेला सबै भन्दा भावुक र पीडित मेरी प्रेमिका अनामिका देखिन्छे । ऊ पनि मेरो मृत्यु संस्कारमा मलामी जान आएकी छे । म उसको नजिक जान्छु र छुन खोज्छु तर उ भक्कानिएकी छे । भित्रभित्रै रोइरहेकी छे र कसैलाई आफ्नो प्रेमको अवसान भएको कुरा खुलेर व्यक्त गर्न सकेकी छैन । म भने एकतमास सबै दृश्य हेरिरहेको छु ।
मेरी अनामिका जस्तो लगाए पनि सुहाउने आज एकरत्ति सुहाउँदी लागिरहेको छैन । किन हो कुन्नि मलाई उसको बढी माया लागेर आयो । म उसलाई सँगै लिएर जान चाहन्छु । चिच्याउँछु, कराउँछु तर अहँ उसले सुन्ने हैन ।
विचरी अनामिका, म जीवित हुँदा बेहद माया गर्दथेँ । मलाई एउटा नकाटेको चिठ्ठा थिई अनामिका । मैले उसलाई मनभर माया दिएर आफू उसमा समर्पण गरेको थिएँ तर, उसले मेरो त्यो मायालाई वास्ता गरेकी थिई वा बेवास्ता मलाई कहिल्यै थाहा भएन तर मलाई ऊ मेरै हो लाग्दथ्यो । मप्रति नै समर्पित छे जस्तो लागेको थियो । नभनेकी मात्रै त होला भन्ने ठानेको थिएँ । तर आज एक्लै छु म र ऊ पनि एक्लै छे । हिजो जस्तै ।
आज म उसलाई देख्छु तर उसले म भनेर मेरो लाश मात्र देखिरहेकी छे । हरेक दृश्यमा मैले अनामिकालाई देखिरहेकोछु र अनामिकाको दृश्यबाट म हराइसकेको छु ।
एकहोरो शंख बजिरहेको छ र मलाई सेतो कपडाले बेरिसकिएको छ हरियो बाँसमा । अब पुरेतले केही विधिहरु गरेपछि मलाई घाटतर्फ लाने छन् र म हेर्दा हेर्दै खरानी हुनेछु । तब मेरो आत्मा एक्लो हुनेछ । म उनैलाई पछ्याउँदै आउन सक्छुकि सक्तिनँ थाहा छैन । एकपटक मर्ने हो । मरेको छु । बाँचेकासँग छुट्टिएर एक्लै वन बुट्टामा बस्ने होला यो आत्मा । भौतारिँदै । मेरो आत्मारुपी मन चसक्क भयो । अब म मेरी प्रेमिकाको साथमा रहन नपाउँने भएँ भनेर ।
कलेज पढ्दा भेट भएको थियो अनामिकासँग । गुलाबी रंगको कुर्ता, सेतो सुरुवाल र सेतै सलमा अत्यन्तै खुलेकी थिई । कपाल लामो थियो र एक फन्को फनक्क माथितिर बटारेर बाँधेकी हुन्थी । गोलो, बाटुलो अनुहार थियो र चिउँडोमा सानो खत थियो । हाँस्दा खोपिल्टो पर्ने देब्रे गाला साँच्चै मनमोहक लाग्दथ्यो उसको त्यो रुप । यति राम्री केटी जीवनमा पहिलोपटक देखेको थिएँ ।
म पहाडबाट आएको गाँउले केटो । खुट्टामा हात्तीछाप चप्पल । जडौरी पाइन्ट र सर्ट मेरो आङमा कतै मिलेका थिएनन् । त्यो समयमा उसलाई मन पराएको थिएँ । उसले के गर्दथी थाहा थिएन । हातमा २ वटा कुटको गाता भएको कापी बोकेर उसको पछि लाग्थेँ र उसको नजिक हुन खोज्थेँ । ऊ भने तर्की तर्की हिँड्थी ।
उ केटी साथीको संगतबाट छुट्दिन थिई र छुट्नेबित्तिकै आफ्नै घर पुग्थी । प्रेम भन्ने चीज कस्तो अव्यक्तताबाट शुरु हुन्छ र कहिलेकाहिँ अव्यक्ततामै अन्त पनि हुँदोरहेछ । दुईटै आत्माले चाहँदा चाहँदै पनि प्रेम अनायस गुम्न पुग्दोरहेछ । यस्तो कठिन परिस्थितिबाट म पनि गुज्रिरहें । उनलाई के हुन्थ्यो मलाई थाहा नहुने । साँच्चै म कति माया गर्दथेँ उनलाई तर आज ऊ मेरो मृत्युको खबर सुनेर दौडेर अब्यक्त प्रेमको खातिर आँशुको बलिदानी दिन आइपुगेकी छे । चिउँडोमा हात राखेर सुँक्कसुँक्क गरिरहेकी छे ।
सबैको ध्यान मेरो लाश माथि र म मरेको प्रति भएकाले ऊ को हो ? र किन रोई कसैलाई मतलब थिएन । मैले कलेजको एउटा कार्यक्रममा भनेको थिएँ ‘जब तिमीलाई कसैले धेरै चाहन्छ, त्यतिबेला तिमीले बुझ्न सक्दिनौ, जब तिमीले बुझ्न थाल्छेउ त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ र ऊ तिमीबाट धेरै टाढा भइसकेको हुनेछ । फेरि तिम्रो जीवनमा आउनै नसक्ने गरी ।’ त्यो तिमी तिनै अनामिका थिइन् र कसै म स्वयं थिएँ । उसले विद्यार्थीको अघिल्लो पंक्तिमा बसेर मलाई नै सुनिरहेकी थिई । मनमा के लिएकी थिई, मलाई कहिल्यै भनिनँ । मैले त्योबेला भनेको थिएँ, ‘तिमी भन्दा पहिला म मरेँ भने मर्नु भन्दा पहिले १ चम्चा पानी पिलाइदिनु, सम्सान घाटमा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु है प्रिय, तिमीलाई शुभकामना छ ।’ यसरी मैलै जिन्दगीदेखि साह्रै बिरक्तिएर त्यो भनाई राखेको थिएँ । उसले कति बुझी या बुझिनँ, थाहा भएन तर आज हामीबीच समयले निकै खाडल बनाइदियो । निकै ढिलो भयो अब ।
म अनामिकालाई धेरै माया गर्दथेँ र थाहा भयो विचरी अनामिका पनि मप्रति हुरुक्कै हुँदिरैछे । अनामिकाको त्यति राम्रो आँखाबाट आँशु बगिरहेको छ । सब मलाई हेरिरहेका छन् । म अनामिकालाई हेरिरहेको छु ।
आज म मरिसकेको छु र म मरेकोमा ज्यादै खुसी पनि छु । म मरेर दाम्लोबाट फुकेको गाई, सर्पको मुखबाट उम्केको भ्यागुतो र जेलबाट छुटेको कैदी जस्तो भएको छु ।
मेरा आफन्त एकतमास रोईरहँदा म भने खुशी भएको क्षण सायदै यही होला । दृश्य हेरेर मलाई पटकपटक जन्मन र मर्न मन लाग्यो । वास्तवमा मान्छे कहाँ मर्दो रहेछ र मेरो शरीरमात्र मरेको छ । म सब देखिरहेछु तर पनि यस्तो नाथे शरीर छाडन मानिस किन डराउँछ ? यतिखेर मेरो लाश कति शान्त छ ।
रेडियोबाट नारायण गोपालको "म मुर्दा भएको तिमी आज हेर" गीत बजिरहेको सुनिन्छ । मृत्युमा के मिसिएको हुँदैन ? मरेको मान्छेको अनुहारबाट मायाका किरण निस्कन्छ । त्यसैले मृत्युमा माया हुन्छ । करुणा निस्कन्छ । त्यसैले सबै मेरा आफन्त रोइरहेका छन् र बिलौना गरिरहेका छन् । मलाई भने यो संसारको कुनै तनावरहित मानिस कोही छ भने ममात्र छु, जस्तो लागिरहेछ ।
मेरो लाशको डोली घाटतर्फ लगिंदैछ । मलाई जलाउँन । कसैले मेरो डायरीमा जतनसाथ राखेको मान्यता हुमागाईले लेखेको एउटा गजलको कागज अनामिकालाई दिइरहेको छु । त्यहाँ लेखिएको थियो…
भोलि बिहानैको समाचार हुनेछ
मेरो लाश तिमिलाई उपहार हुनेछ ।
पक्कै यादहरुले सताउन खोज्ला
आँशुहरुको वर्षात लगातार हुनेछ ।
म हुनेछैन तिम्रो साथमा तर पनि
तिम्रा अधुरा सपना साकार हुनेछ ।
कोही अंगाल्नै पर्ने समय आइदेला
भनन प्रिय तिम्रो के विचार हुनेछ र?
तिमी रोउला सायद अरु रमाउलान्
मलामीलाई आगो लगाउन हतार हुनेछ ।
No comments:
Post a Comment