Thursday, April 23, 2015

तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ ।

मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् । कोही मेरा गुणको चर्चा गरिरहेका छन् । बाचुञ्जेल मेरा अवगुण मात्र देख्नेले मरेपछि मेरा सबै गुणमात्र देखिरहेका छन् । "यति छिट्टै मर्ने मान्छे त होइन । भगवानले पनि राम्रै मान्छेलाई मात्र चाँडै लैजान्छ । विचरा आँखामा हाल्दा पनि नबिझाउने, साह्रै जाति ।" के–के हो के–के ?

मलामी आउने क्रम जारी छ । कोहि पुरेत खोज्न कुद्दै छन् त कोहि हरियो बाँस खोज्न । कोहि लाहा भुट्दैछन् त कोहि शंख बजाउँदैछन् । घाट लैजानने तयारी हुँदैछ । म आँगनको एक कुनामा बसेर आफैँलाई घाटमा लैजान लागेको दृश्य हेरिरहेछु ।

जसलाई हिजो म भन्थेँ, त्यो म त मेरो आत्मा रहेछ र म जसलाई माया गर्दथेँ, त्यो केवल मेरो शरीर रहेछ । यसबेला म बाँचेको र शरीर मरेको छ ।

हिजोसम्म मेरा आफ्ना र आफन्त अनि शुभचिन्तकले मलाई हैन म रुपधारण गरेको मेरो शरीरलाई माया गरेका रहेछन् । ख्याल गरेका रहेछन् । म आफैँले पनि मेरो शरीरलाई माया गरेको रहेछु । म को थिएँ र किन आएँ अहिले बुझ्दैछु । म हिजो पनि एउटा आत्मा रहेछु र आज पनि शेष आत्मामै रहे । म कहाँ मरेको छु ? तर के गर्नु यी बाँचेकाहले मलाई मरेको ठानी रुवाबासी गरिरहेका छन् ।

म सबैलाई देखिरहेको छु । छुन खोज्छु र बोल्न खोज्छु तर सुन्दैन कसैले । मलाई मर्नु र बाँच्नुमा केहि फरक छैन तर किनकी म त सबै देखिरहेकोछु र सबैसँग पहिले जस्तैगरी रमाइरहेकोछु । एउटा भौतिक शरीर पो छैन मेरो । आत्मा त मसँगै छ । बाँच्नेहरुले पो मलाई बिर्सनेछन् किनकी जीवित हुँदा आत्माको वास्ता हुने र मरेपछि शरीरको ।

बिस्तारै मेरो लाश हरिया बाँसमा कसिँदैछ । यसबेला सबै दुःखी देखिँदैछन् । हिजोका मेरा दुश्मन, शत्रु पनि शोकाकुल भएजस्ता देखिन्छन् । मलाई सत्तोसराप गर्ने पनि भावुक देखिन्छन् ।

यसबेला सबै भन्दा भावुक र पीडित मेरी प्रेमिका अनामिका देखिन्छे । ऊ पनि मेरो मृत्यु संस्कारमा मलामी जान आएकी छे । म उसको नजिक जान्छु र छुन खोज्छु तर उ भक्कानिएकी छे । भित्रभित्रै रोइरहेकी छे र कसैलाई आफ्नो प्रेमको अवसान भएको कुरा खुलेर व्यक्त गर्न सकेकी छैन । म भने एकतमास सबै दृश्य हेरिरहेको छु ।

मेरी अनामिका जस्तो लगाए पनि सुहाउने आज एकरत्ति सुहाउँदी लागिरहेको छैन । किन हो कुन्नि मलाई उसको बढी माया लागेर आयो । म उसलाई सँगै लिएर जान चाहन्छु । चिच्याउँछु, कराउँछु तर अहँ उसले सुन्ने हैन ।

विचरी अनामिका, म जीवित हुँदा बेहद माया गर्दथेँ । मलाई एउटा नकाटेको चिठ्ठा थिई अनामिका । मैले उसलाई मनभर माया दिएर आफू उसमा समर्पण गरेको थिएँ तर, उसले मेरो त्यो मायालाई वास्ता गरेकी थिई वा बेवास्ता मलाई कहिल्यै थाहा भएन तर मलाई ऊ मेरै हो लाग्दथ्यो । मप्रति नै समर्पित छे जस्तो लागेको थियो । नभनेकी मात्रै त होला भन्ने ठानेको थिएँ । तर आज एक्लै छु म र ऊ पनि एक्लै छे । हिजो जस्तै ।

आज म उसलाई देख्छु तर उसले म भनेर मेरो लाश मात्र देखिरहेकी छे । हरेक दृश्यमा मैले अनामिकालाई देखिरहेकोछु र अनामिकाको दृश्यबाट म हराइसकेको छु ।

एकहोरो शंख बजिरहेको छ र मलाई सेतो कपडाले बेरिसकिएको छ हरियो बाँसमा । अब पुरेतले केही विधिहरु गरेपछि मलाई घाटतर्फ लाने छन् र म हेर्दा हेर्दै खरानी हुनेछु । तब मेरो आत्मा एक्लो हुनेछ । म उनैलाई पछ्याउँदै आउन सक्छुकि सक्तिनँ थाहा छैन । एकपटक मर्ने हो । मरेको छु । बाँचेकासँग छुट्टिएर एक्लै वन बुट्टामा बस्ने होला यो आत्मा । भौतारिँदै । मेरो आत्मारुपी मन चसक्क भयो । अब म मेरी प्रेमिकाको साथमा रहन नपाउँने भएँ भनेर ।

कलेज पढ्दा भेट भएको थियो अनामिकासँग । गुलाबी रंगको कुर्ता, सेतो सुरुवाल र सेतै सलमा अत्यन्तै खुलेकी थिई । कपाल लामो थियो र एक फन्को फनक्क माथितिर बटारेर बाँधेकी हुन्थी । गोलो, बाटुलो अनुहार थियो र चिउँडोमा सानो खत थियो । हाँस्दा खोपिल्टो पर्ने देब्रे गाला साँच्चै मनमोहक लाग्दथ्यो उसको त्यो रुप । यति राम्री केटी जीवनमा पहिलोपटक देखेको थिएँ ।

म पहाडबाट आएको गाँउले केटो । खुट्टामा हात्तीछाप चप्पल । जडौरी पाइन्ट र सर्ट मेरो आङमा कतै मिलेका थिएनन् । त्यो समयमा उसलाई मन पराएको थिएँ । उसले के गर्दथी थाहा थिएन । हातमा २ वटा कुटको गाता भएको कापी बोकेर उसको पछि लाग्थेँ र उसको नजिक हुन खोज्थेँ । ऊ भने तर्की तर्की हिँड्थी ।

उ केटी साथीको संगतबाट छुट्दिन थिई र छुट्नेबित्तिकै आफ्नै घर पुग्थी । प्रेम भन्ने चीज कस्तो अव्यक्तताबाट शुरु हुन्छ र कहिलेकाहिँ अव्यक्ततामै अन्त पनि हुँदोरहेछ । दुईटै आत्माले चाहँदा चाहँदै पनि प्रेम अनायस गुम्न पुग्दोरहेछ । यस्तो कठिन परिस्थितिबाट म पनि गुज्रिरहें । उनलाई के हुन्थ्यो मलाई थाहा नहुने । साँच्चै म कति माया गर्दथेँ उनलाई तर आज ऊ मेरो मृत्युको खबर सुनेर दौडेर अब्यक्त प्रेमको खातिर आँशुको बलिदानी दिन आइपुगेकी छे । चिउँडोमा हात राखेर सुँक्कसुँक्क गरिरहेकी छे ।

सबैको ध्यान मेरो लाश माथि र म मरेको प्रति भएकाले ऊ को हो ? र किन रोई कसैलाई मतलब थिएन । मैले कलेजको एउटा कार्यक्रममा भनेको थिएँ ‘जब तिमीलाई कसैले धेरै चाहन्छ, त्यतिबेला तिमीले बुझ्न सक्दिनौ, जब तिमीले बुझ्न थाल्छेउ त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ र ऊ तिमीबाट धेरै टाढा भइसकेको हुनेछ । फेरि तिम्रो जीवनमा आउनै नसक्ने गरी ।’ त्यो तिमी तिनै अनामिका थिइन् र कसै म स्वयं थिएँ । उसले विद्यार्थीको अघिल्लो पंक्तिमा बसेर मलाई नै सुनिरहेकी थिई । मनमा के लिएकी थिई, मलाई कहिल्यै भनिनँ । मैले त्योबेला भनेको थिएँ, ‘तिमी भन्दा पहिला म मरेँ भने मर्नु भन्दा पहिले १ चम्चा पानी पिलाइदिनु, सम्सान घाटमा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु है प्रिय, तिमीलाई शुभकामना छ ।’ यसरी मैलै जिन्दगीदेखि साह्रै बिरक्तिएर त्यो भनाई राखेको थिएँ । उसले कति बुझी या बुझिनँ, थाहा भएन तर आज हामीबीच समयले निकै खाडल बनाइदियो । निकै ढिलो भयो अब ।

म अनामिकालाई धेरै माया गर्दथेँ र थाहा भयो विचरी अनामिका पनि मप्रति हुरुक्कै हुँदिरैछे । अनामिकाको त्यति राम्रो आँखाबाट आँशु बगिरहेको छ । सब मलाई हेरिरहेका छन् । म अनामिकालाई हेरिरहेको छु ।

आज म मरिसकेको छु र म मरेकोमा ज्यादै खुसी पनि छु । म मरेर दाम्लोबाट फुकेको गाई, सर्पको मुखबाट उम्केको भ्यागुतो र जेलबाट छुटेको कैदी जस्तो भएको छु ।

मेरा आफन्त एकतमास रोईरहँदा म भने खुशी भएको क्षण सायदै यही होला । दृश्य हेरेर मलाई पटकपटक जन्मन र मर्न मन लाग्यो । वास्तवमा मान्छे कहाँ मर्दो रहेछ र मेरो शरीरमात्र मरेको छ । म सब देखिरहेछु तर पनि यस्तो नाथे शरीर छाडन मानिस किन डराउँछ ? यतिखेर मेरो लाश कति शान्त छ ।

रेडियोबाट नारायण गोपालको "म मुर्दा भएको तिमी आज हेर" गीत बजिरहेको सुनिन्छ । मृत्युमा के मिसिएको हुँदैन ? मरेको मान्छेको अनुहारबाट मायाका किरण निस्कन्छ । त्यसैले मृत्युमा माया हुन्छ । करुणा निस्कन्छ । त्यसैले सबै मेरा आफन्त रोइरहेका छन् र बिलौना गरिरहेका छन् । मलाई भने यो संसारको कुनै तनावरहित मानिस कोही छ भने ममात्र छु, जस्तो लागिरहेछ ।

मेरो लाशको डोली घाटतर्फ लगिंदैछ । मलाई जलाउँन । कसैले मेरो डायरीमा जतनसाथ राखेको मान्यता हुमागाईले लेखेको एउटा गजलको कागज अनामिकालाई दिइरहेको छु । त्यहाँ लेखिएको थियो…

भोलि बिहानैको समाचार हुनेछ
मेरो लाश तिमिलाई उपहार हुनेछ ।

पक्कै यादहरुले सताउन खोज्ला
आँशुहरुको वर्षात लगातार हुनेछ ।

म हुनेछैन तिम्रो साथमा तर पनि
तिम्रा अधुरा सपना साकार हुनेछ ।

कोही अंगाल्नै पर्ने समय आइदेला
भनन प्रिय तिम्रो के विचार हुनेछ र?

तिमी रोउला सायद अरु रमाउलान्
मलामीलाई आगो लगाउन हतार हुनेछ ।

@राजन थापा

Saturday, April 18, 2015

मेरो आखाँको दृष्टि हुन् मेरी आमा

आमा शब्द सुन्दैमा आफैमा अवर्णनीय छ, पवित्र र धन्य हुन्छ ।
यसैले आमाको सम्मान र प्रतिष्ठा अतुलनीय मानिएको हो ।
शास्त्रमा वर्णन गरे अनुसार आमाको गौरब गुरुभन्दा दश लाख आचार्यभन्दा
लाख तथा पिताभन्दा हजार गुना बढी भएको बताइन्छ ।

वास्तवमा नारीको अस्तित्व विशेषतः मातृत्वमा नै समाहित हुन्छ ।

गर्भधारणपछि नौ महिनासम्म आफ्ना कोखमा राखेर शिशुलाई जन्म दिने आमा वास्तवमा नै भगवान् हुन् ।

गर्भधारणदेखि जन्मसम्म र त्यसपछि पनि निरन्तर हेरविचार, स्याहार, सुसार
गरेर पूर्ण मनुष्य बनाउन आफुले खाएका खानेकुरा अन्न जलबायु तथा आफूभित्र
भएको स|स्कारजन्य छाप आफ्नो शिशुलाई दिएर आमाले जानीनजानी सन्तानको
शृष्टि गरेकी हुन्छिन ।

आफ्नो ज्यानको प्रवाह नगरी सन्ततिलाई जन्म दिने आमाभन्दा पूजनीय यो संसारमा अरु कोही हुदैन ।

आमाको गुनगान शब्दमा व्यक्त गर्न सकिदैन,यसका लागि भावनात्मक तथा
आत्मीय भाषाको जरुरत पर्दछ,किनभने आमा जगदात्री, जगत जननीकी साकार
स्वरूप हुन् ।

आमाहरुको त्याग, तपस्या र बलिदानबाट नै यस शृष्टिले निरन्तरता पाएको छ । आमा बिना श्रृष्टि हुँदैन,त्यसैले हामी सबैले सदैव
आमाप्रति उदार हुनुपर्छ ।

आमा मानव जीवनकी श्रृष्टि हुन् । आमा धर्ति
हुन् जसले सन्ततिलाई आफ्नो गर्भमा राखेर अन्कुराउछिन । उनले धर्ति झैँ
सहनशील भएर अनेकौ दुख र कष्ट सहेर आफ्ना बालबच्चाको पालनपोषण तथा सुरक्षा गरेकी हुन्छिन् । दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन् ।

समयको परिवर्तनसँगै हरेक कुरामा परिवर्तन भएको छ । आजको प्रतिस्प्रधात्मक
युगमा बाँच्नको लागि सबैले संघर्ष गनु परेको हुन्छ ।

आफ्नो भविष्य बनाउने दौड धुपमा जहाँजहाँ पुगे पनि आमा आफ्ना छोराछोरीको बीचको शारीरिक सम्बन्ध टाढा हुनु पर्ने वाध्यता हुन्छ, तर पनि उनीहरु मानसिक रुपमा टाढा
भएका हुँदैनन् ।

समय जति फेरिए पनि हाम्रो संस्कृति अनि
परम्परागत चाडपर्व मनाई रहेका हुन्छौ । यही रीतको एउटा चाड हो- मातातीर्थ औंसी पनि ।

आजको संचारको युग भएकोले छुन नपाए पनि पनि इन्टरनेटको सहायताले धेरथोर
बोलेर आफ्ना भावनाहरु कोरेर वा उपहार पठाएर भए पनि छोराछोरीले आमाको
सम्झना गरिरहेका हुन्छन् ।

समय फेरिए पनि आमाप्रतिको
श्रद्धा उही उचाईमा देखिन्छ,र रहिरहने छ ।
जन्म दियौ आमा तिमी धन्य छौ, सारा जगमा तिमी नै मान्य छौ ।

बैशाख कृष्ण अमवाश्यमा हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिन पर्छ ।
यसै दिन आमासँगै बस्न नपाएको पनि बर्षौ बितेछ । जहाँ भए पनि आमासँग
भलाकुसारी गर्न पाउँदा मन प्रफुल्ल हुन्छ ।
मेरी आमा आफ्नो बाबा आमाको एक्ली सन्तान हुनुहुन्छ ।

माइतीको प्रशस्त धन, सम्पति भए पनि मेरी आमाले आफ्नै परिश्रले कमाएको
आफ्नो गाउँको जमिन र घरलाई आफूभन्दा धेरै माया गर्नुहुन्छ । उहाँ घरबाट बाहिर
जता गए पनि फूलहरु वा फलफुलका बिरुवाहरु एउटा न एउटा लिएर फर्किनु
हुन्छ । आफ्नो घर वरीपरि बगैचामा थरिथरिका फूलहरु रोप्नु करेसामा
बिभिन्न फलका बोटहरु रोपर
बगैचा बनाउन उहाँ सौकिन हुनुहुन्छ । आफ्ना घरमा आएका कुनै पनि मान्छेलाई
खाली हात नपठाउने उहाँको बानी छ । घर वरिपरी लगाएका रुख बिरुवाहरुमा ,
करेसाबारीमा खेतका कान्लामा आफूले रोपेको बर पिपल र धुलाम्मे गोरेटो
भित्रको परिवेशमा मेरी आमा मनमौजी आत्मादेखि नै रमाउनु हुन्छ ।

मलाई मेरो आमा संसारको सबै भन्दा प्रिय लाग्छ । My mom is the best mom of the world .

आज आमाको मुख हेर्ने दिन भन्न चाहन्छु ।
आमा म हजारौ बर्ष हजुरको कोखबाट जन्मन पाँउ ।

मेरी आमा
मेरो आखाँको दृष्टि हुन् मेरी आमा
मेरो जिन्दगीको शृष्टि हुन् मेरी आमा
अर्थहीन जिन्दगीमा अर्थ पहिल्याई दिने
सुगन्धिला बिचारले मस्तिष्क रंग्याई दिने
अँध्यारोलाई हटाएर शब्दको भाषा होइन
मनको भाव बुझिदिने
अप्ठ्यारा सुस्ताका उकालीमा धैर्य गर्न सिकाउँदै
सहासिलो र दृढ निश्चय गर्ने हिम्मत दिलाउने
आफू दु:खले भरिएर पनि
मेरो खुसीमा रमाउने
धर्यताको प्रतिमूर्ति नारीको सच्चा रुप
ममताकि खानी
मेरी आमा...

गुम्यो, बिछोडियो,सबै थोक
र पनि
सहँदै आफनै
निचोरिएर पीडाहरु आफैमा सिमित गरेर
आफ्ना सन्ततिलाई खुशी दिने
दु:खको सागरमा डुबुल्की मार्दै
फेरि प्रेमको सागरमा उठ्दै
अथाह सुखारुपी सागर हुन्
मेरी आमा !

राजन थापा