Friday, February 20, 2015

"आमालाई भनिदिनुस् म गएँ। अब नयाँ नेपाल ... !"

पुर्णिमाको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म
थकित भएर घर फर्के। सामान्यतया यसरी साँझपख घर
फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीन वटा गाईको स्याहार
सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य
त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। घर पनि शून्य
थियो। मलाई मनमा चिसो पस्यो। के भयो? पक्कै कतै
गोलमाल छ। यस्तै प्रश्न गर्दै भर्याङ उक्लिएँ र
बार्दलीमा पुगें।
बार्दलीमा रहेको खाटमा निर्मला आँखाभरि आँसु लिएर
बसिरहेकी थिइन्।

'किन रोएर बसेकी,' मैले आश्चर्य मानेर सोधें।
'हाम्री छोरी कमला र मीना विक माओवादीमा भर्ना भए
रे,' उनले भनिन्। मेरो तालु चिसो भयो। 'त्यो कसरी सम्भव छ
र यो सत्य हो भने कसरी भयो?' मैले प्रश्न गरें।
छोरी माओवादी लडाकु जत्थामा भर्ना भई भन्ने
कुरो विश्वास गर्न मेरो मन मानिरहेको थिएन।

निर्मलाले एक टकले मतिर हेरिन् र भनिन्, 'खोइ म के जानूँ।
आज दिउँसो स्कुलबाट आई र अब म र
केही मेरा साथी नयाँ नेपाल बनाउन माओवादीमा भर्ना हुने
भनी।'

मैले सोधें, 'के हो यो नयाँ नेपाल भन्ने जन्तु?'
बलिन्द्रधारा आँसु बगाउँदै निर्मलाले भनिन्, 'मलाई के
थाहा।'

अब के गर्ने? मैले सोच्न सकिनँ। निर्मलालाई सम्झाउने शब्द
पनि पाइनँ। म आफै विलखबन्दनमा थिएँ।

समय बित्दै थियो। कमलाको बारेमा केही कुरा थाहा भएन।
थाहा पाउन पनि कहाँ जानु। एक दिन एउटा खबर आयो।
कमला बन्दुक बोकेर अरू छापामारासँगै
देउराली भन्ज्याङको जंगलमा छ रे। फेरि अर्कै खबर आयो जुन
मेरा लागि अझै दुःखदायी थियो।
देउराली भन्ज्याङका पुराना मित्र कालुजंग
गुरुङको घरमा माओवादीले हमला गरेछन्। माल सामान
लुटेपछि घर जलाइदिएछन्। कालुलाई जासुस भन्दै लिखु
खोलाको बगरमा लगेर उनको घुँडामाथि बन्चरो हानेर
हिँडेछन्। कालु मरेनन् तर अपांग भए।

सुनेँ, 'त्यस ठाउँको माओवादी छापामार कमान्डर
कमला हो रे।' यस्तो कुरो पनि के साँचो होला र? कालु
हाम्रो घरमा आउँदा काका आउनुभयो भनेर
कमला खुसी हुन्थी। कसरी उनको टोलीले
कालुमाथि त्यस्तो निर्दयी प्रहार गर्यो होला?
मेरो कमला यस्तो काममा कसरी संलग्न भइहोली?
कल्पना गर्दा पनि जीउ काम्न थाल्यो।

त्यसको केही दिनपछि बेलुकी खाना खाएर सुत्ने तयारी गर्दै
थिएँ। अचानक तल ढोकामा जोडदारसँग
ढक्ढक्याएको आवाज खायो। डराईडराई मैले झ्यालबाट
बाहिर हेरें र भनें, 'को हो?
यसबेला राति अर्काको घरमा ढोका किन घचघच्याएको?'
बोल्दा आवाज दरो गरे
पनि मेरो निधारमा पसिना आइसकेको थियो।
त्यो अँध्यारोमा मैले कति मान्छे थिए भन्ने देख्न सकिनँ।
१०/१२ जना थिए होलान्।
यत्तिकैमा तलबाट एउटा कठोर आवाज आयो, 'वासु पण्डित
भनेको तैं होस्?'
कसैले मलाई गाउँमा तँ भनेको थिएन।
तर मसँग रिसाउने तागत थिएन। जवाफ दिएँ,
'हो यो गाउँमा पण्डित भनेको मै हुँ।'
तलबाट आवाज आयो, 'ल ठीक छ, तुरुन्त तल ओर्ली।
हाम्रो तँसँग कुरा गर्नु छ।'

डरले ओठ तालु सुक्दै गइरेको थियो। तैपनि भनेँ, 'होइन
यस्तो मध्यरात छ। तपाईहरू को हो र म तल आउने?'
बहादुरीका साथ यति भने पनि मैले जे परे पनि तल ओर्लिन
नहुने देखिसकेको थिएँ।
त्यसपछि तलबाट बन्दुकजस्तै गरी आवाज पड्कियो, 'ए
पण्डित तैंले नखोले हामी ढोका फोरेरै भित्र पस्छम्।
अनि तैंले दुःख पाउँछस्। ढोका खोल्दैनस् भने
तेरो जीउको भाँचिएको हाडखोर यही घरको छ फिट तल
गाडी दिन्छम्।'
मैले कुरो बुझें। ढोका नखोली नहुने भो भनेर तल ओर्ले। 'ल ल
हुन्छ। मेरो हाडखोर तिमीहरूले गाड्नु पर्दैन, म ओर्लं,'
बहादुरीका साथ यस्तो घोषणा गर्दै ढोका खोलेँ।

मेरो अगाडि बीस वर्ष जतिको एउटा अग्लो केटो थियो।
उसले नेपाली सेनाको ड्रेस लगाएको थियो र
उसको हातमा बन्दुक थियो। उसको अनुहार गम्भीर थियो।
उसले डरलाग्दो किसिमले हेर्यो र सोध्यो,
'तेरो छोरीको नाम कमला हो?'
'हो, तर मेरो छोरीको नाम किन सोध्दै छौ,' भित्र डराए
पनि बाहिर दरै आवाजमा मैले भनें।
'अब धेरै बुज्रुगी कुरा नगर। तँलाई खुब थाहा छ। अब
सिंगो जीउ राखेर बाँच्ने हो भने भन् तेरो छोरी कहाँ छे?'
उसले बन्दुकमा हात राखेर भन्यो।

अब मलाई पनि झोंक चल्यो। अघिसम्मको डर पनि हरायो।
मर्नै पर्ने भए किन डराउनु? म पनि कस्सिएँ र चिच्याएँ,
'एउटा नागरिकलाई मध्यरातमा आएर गाड्छु भन्ने?
कमला मेरी छोरी हो र ऊ घर छोडेर गएको चार
महिना भयो र म आफै उसको खोजी गर्दै छु। तिमीहरू
सरकारका मान्छे हौ भने मेरो छोरी कहाँ छ मलाई
बताइदेऊ।' यति भन्दा भन्दै मलाई कमलाको हँसिलो अनुहार
आफ्नै अघिल्तिर देखेजस्तो लाग्यो। अनि मैले आफूलाई रोक्न
सकिनँ। मेरो आँखाबाट खोलै जसरी आँसु बग्न थाल्यो।

'धेरै नखरा नपार। तँलाई थाहा छ तेरो छोरीले कति मान्छे
मारी? हामीलाई थाहा छ, यो लामिछाने
गाउँको पारिपट्टि कोल्टी डाँडामा माओवादी छन्।
नाटक नगरी त्यो डाँडामा हामीलाई बाटो देखाएर हिँड्,'
त्यो सिपाही निर्देशनात्मक रूपमा गर्जियो। मलाई जान मन
थिएन। भनें, 'यो मध्यरातमा कसरी जाने? बाटो असाध्यै
गाह्रो छ।'
सिपाही साँच्चिकै रिसाएर गर्जियो, 'रात छ भन्ने मलाई
पनि थाहा छ। अब खुरुक्क हिँड्।' म अगाडि लागें।

मेरो घरबाट पारि कोल्टी पुग्न ओरालो थियो।
बाटो सानो थियो र अलिकति खुट्टा चिप्लिए सिधै सिधुरे
खोलाको बगरमा पुगिन्थ्यो। भाग्यले पूर्ण चन्द्रमाको रात
थियो। बिस्तारै हामी सबै ओर्लिएर सिधुरे र डाँफे
खोलाको दोभानमा पुगेम्। वरिपरिको वातावरण शान्त
थियो। खालि खोलाको कलकल मात्र सुनिन्थ्यो।
चन्द्रमाको उज्यालोमा देखिएको जंगल पनि शान्त थियो।
दोभान तरेर कोल्टीपट्टि उकालो चढ्न थालेम्। म
अगाडि थिएँ। मेरो पछाडि बन्दुक बोकेका सिपहीहरू थिए।
माथिबाट अचानक बन्दुक चलेको आवाज आयो। मकै
भुट्दाजस्तो गोलीको पर्रा छुट्यो। मैले कहिल्यै
बन्दुकको आवाज सुनेको थिइनँ। आवाज सुन्दा मेरो होसै
उड्यो। ज्यान जोगाउन म दौडन थाले। कता दौडने भन्ने
पनि मलाई याद भएन। दक्षिणपट्टिको गोरेटोमा म
भएभरको बल निकालेर दौडें।

अलि पर एउटा युवकको शरीर गोरेटोमै तेर्साे परेर
लडेको थियो। म रोकिएँ र त्यो मान्छेको मुख हेरें।
त्यसको छातीमा गोलीले ठूलो भ्वाङ पारेको थियो।
भर्खरको युवक कलिलो र सुन्दर थियो। उसको छातीबाट अझै
रगत बगिरहेको थियो र उसका आँखाहरूले एकनास आकाशतिर
हेरिरहेका थिए। तिनमा कुनै आवेग थिएन।
म त्यो युवकको शरीरनिर गएर उभिएँ र घुँडा टेकेर सोधें,
'तिम्रो घर कहाँ हो?' अनि मैले झल्यास्स सम्झें, यो त
त्यही युवक हो जसले दुई
घन्टाअघि मेरो घरको ढोका घच्घच्याएको थियो।
युवकले मुस्किलले मुख खोल्यो र आँखाभरि आँसु लिएर
बिस्तारै भन्यो, 'मेरो नाम रामकृष्ण मगर हो, घर रोल्पा।'
त्यसपछि ऊ केही क्षण रोकियो र भन्यो, 'बाजे अब
मेरो आखिरी आयो। घरमा बा आमा छन्। मेरो आमालाई
तपाईंले भनिदिनु...।' यति भन्दाभन्दै उसको स्वर बन्द भयो।
मैले उसको नाडी समातें, ऊ मरिसकेछ।
अब के गर्ने? म अन्योलमा परें। उसको आँखा बिस्तारै बन्द
गरिदिएँ। उसको अनुहार फेरि हेरें। यो होनहार
भर्खरको नौजवानको आज किन यस्तो गति? मसँग उत्तर
थिएन। म के गर्न सक्थें र ! एकछिन रोएँ।

मलाई लाग्यो त्यो गोली उसको छातीमा मात्र नभएर
मेरो छातीमा पनि पस्यो।
चारैतिर गोली चलेको आवाज थियो। म फेरि दौडें।
मेरो खुट्टाले भुइँको कुनै ठोस पदार्थसँग ठक्कर खायो। म
भुइँमा लडें। उठें र फेरि दौडिएँ। अचानक मलाई लाग्यो,
त्यो ढुंगा थिएन। त्यो अलि नरम थियो। मेरो मुटु
चिसो भयो। म टक्क रोकिएँ र फर्किएँ। बिस्तारै नजिक गएँ।
त्यो मान्छेको शरीर रहेछ। शरीर घोप्टिएको थियो र
अनुहार देखिंदैन थियो। मलाई लाग्यो यो मैले देखेको र
चिनेको मानिस हो। डराई-डराई मैले त्यसलाई उत्तनो परें र
अनुहार हेरें।

म स्तब्ध भएँ मानौं मेरै मृत्यु भयो।
त्यो अनुहार मेरी छोरी कमलाको थियो। उसको कुम र
पेटमा गोली लागेको थियो। दुवै ठाउँबाट रगत
बगिरहेको थियो र पीडाले ऊ बिस्तारै
ऐया ऐया भनिरहेकी थिई। कमलाले मतिर हेरी।
एकक्षणका लागि मलाई लाग्यो, उसको अनुहारमा मन्द
मुस्कान देखियो। त्यो रातको सुनसानमा म चिच्याएँ।
'बाबा तिमीलाई यो कसले गर्यो?'
मेरो छोरीको टाउको मैले दुई हातले उठाएँ र
आफ्नो काखमा राखें। कमलाको सास अझै थियो।
उसको आँखाको चमक अझै गएको थिएन।

उसले मतिर हेरेर भनी,
'बाबा हजुरलाई मैले धेरै दुःख दिए, अनि आमा...'
यति भन्दाभन्दै उसको आवाज रोकियो र आँखाबाट आँसु
बग्न थाल्यो।
'आमालाई के भन्न खोजेकी छोरी तिमीले?' मैले
पीडाको आगोमा दनदनी बलेर यो प्रश्न गरें। बडो मुस्किलले
कमलाले भनी, 'आमालाई भनिदिनुस् म गएँ। अब नयाँ नेपाल...'
त्यसपछि कमलाको दुई आँखा आकाशतिर फर्किए।
उसका गालामा बगेका आँसु बिस्तारै उसको शरीरको रगतले
भिजेको माटोमा एक हुँदै थियो।

(कथा: त्यो पूर्ण चन्द्रको रात
लेखक: प्रकाश चन्द्र लोहनी)

Sunday, February 15, 2015

युद्धभित्र हुर्केको प्रेम अनि विवाह

कठोर जनयुद्धभित्र फौजी र
गैरफौजी जहाँ पनि प्रेमका रूप देखापरे । सांस्कृतिक
मोर्चामा खटेका कलाकारले पनि गीत/
सङ्गीतसँगै आफ्ना भावना साटासाट गरे । मिल्न सक्ने
मन मिलाए, आपसमा । लुक्दै/छिप्दै अङ्कुराएका प्रेम
फूलका थुँगासरी फुल्दै गएँ ।
यस्तै रोचक प्रेमकथा रचेका थिए, कलाकार किशोर विकले ।

उनको अन्तरजातीय प्रेमकथाले विवाहको रूप लियो ।
हाल एकीकृत
माओवादी महिला सङ्घको रूपन्देही अध्यक्ष रहेकी कमरेड भावनासँगको प्रेम प्रसङ्ग र विवाहबारे
कलाकार किशोरका शब्द :

असमानताका खाडलभित्र छन्, नेपाली जनता ।
त्यसमा पनि आर्थिक र जातीय असमानता प्रमुख
रूपमा पर्दछन् । विभिन्न कालखण्डमा असमानता विरुद्ध लड्ने र
परिवर्तनलाई आत्मसात गर्ने प्रयत्न भएका छन् ।
तैपनि असमानता र उत्पीडनले गरिब र दलित समुदाय
बढी प्रभावित भएका छन् । सङ्घर्षका बाबजुद
यो समुदाय परनिर्भर भएर बाँच्नुपर्ने अवस्था भयो । श्रम र
सीपअनुसारको उचित मूल्य पाउन त झन्
अप्ठ्यारो भयो ।
यो वर्गले समाजमा आफ्नो अधिकार र अस्तित्व स्थापित गराउन
बलिदानपूर्ण सङ्घर्षलाई पनि आत्मसात  गर्दै आयो । तर
यस्ता सङ्घर्षले सोचेजस्तो परिवर्तन गरेनन् ।
पछिल्लो पटक
आर्थिक, सामाजिक, राजनीतिक
उत्पीडनविरुद्ध अलि भिन्नै तर सशक्त वर्ग
सङ्घर्षको उठान भयो । यो वर्ग सङ्घर्ष
जनयुद्धका रूपमा विकसित भयो । गाउँ–सहर
जहाँतहीं फैलँदै गयो । शोषित वर्गले उठान
गरेको जनयुद्धभित्र जातीय उत्पीडन र
शोषण भोगेका दलित समुदाय पनि गोलबन्द भए ।

म पनि एउटा दलित बस्तीको युवा थिएँ । जनयुद्धतर्फ
आकर्षित भएँ । युद्धमैदानमा हुँदा मेरो भेट भयो, एक महिलासँग ।
क्रमशः प्रेमसम्बन्ध विकसित हुँदै गयो र वैवाहिक
बन्धनमा पनि बाँधियौं । विवाह अन्तरजातीय थियो ।
वैचारिक एकतामा आधारित थियो, हाम्रो बिहे । जातीय
विभेदविरुद्धको सङ्घर्षमा एक इँट्टाका रूपमा सहयोग गर्दथ्यो ।

म भारतको कलकत्तामा जन्में, सन् १९८१ अर्थात् २०३८ मा । तर
पछि कपिलवस्तु आयौं । पढाइ सुरु गर्न थाल्यौं ।
खेती किसानी गरेर
जीविका चलाउने अनुभव थिएन । भएको जमिन
पनि बेच्नुपऱ्यो । एक बिगाहबाट पाँच कट्ठामा झऱ्यो, जमिन ।
पारिवारिक अवस्था कमजोर बन्दै गयो । भारतबाट नेपाल
आउँदा जातीय विभेदबारे पनि त्यति थाहा थिएन । तर
विभेद गाउँमा प्रत्यक्ष भोग्यौं । सामाजिक अबहेलना सह्यौं ।
विकल्प थिएनन् ।
धेरै जिज्ञासा उठ्थे के गर्ने भन्ने बारेमा ।

२०५० तिर हो ।
राजनीति, सङ्घर्ष, आन्दोलन, आमूल परिवर्तन
यी विषयमा परिचित थिएनौं ।
गाउँमा केही जागरुक युवा थिए । तिनीहरू
एमाले स्थानीय कार्यकर्ता रहेछन् । अलि पछि मात्र
थाहा पाएँ । उनीहरूकै
अग्रसरतामा तिहारमा भैलो खेल्ने योजना बनेछ ।
म पनि सहभागी भएँ । रमाइलो गर्न मात्र
सहभागी भएको थिएँ । भैलो खेल्दा सबै समान
हुन्थ्यौं । नाचगान गर्ने अधिकांश दलित समुदायका थिए । तर नेतृत्व
भने गाउँका तिनै युवाले गर्थे जो उच्च जातिका थिए ।
देउसीभैलो सकियो । वनभोजको आयोजना भयो । सबै
सहभागी भयौं । कपिलवस्तुको कुन्द्राखोला थियो,
वनभोजस्थल । सबै त्यही झऱ्यौं । र,
गाडीबाट सामान झार्न थाल्यौं ।
हातमा केही समान थियो, झट्ट एकजना युवा बोले,
‘तिमीले खाने कुरा नछुनू । अरू सबै काम गरे हुन्छ ।’
यो सुन्नेबित्तिकै मुटु नै चिसो भयो । मैले पनि कुरा बुभें । ‘म दलित
केटा हुँ । त्यसैले यसो भने ।’ मैले अड्कल काटें ।
भैलो खेलेका दलित दाजुभाइ पनि अलग्गै ठाउँमा जम्मा भएका थिए ।
सल्लाह गर्दै रहेछन् । म पनि जोडिएँ । के खाने ?
कुराकानी भइरहेको थियो । भैलो सँगै खेल्यौं तर
भोजमा हामीलाई राँगाको र
बाहुन/क्षेत्रीलाई खसीको मासु रहेछ ।
अलग–अलग चुलो बनाए, दलित र बाहुनका लागि ।
मनमा असहजता पैदा भयो । धेरै तरङ्ग उठे मनमा । खाना पाक्दै
थियो । नाचगान भयो । रमाइलो गऱ्यौ, सबै एकै ठाउँमा बसेर ।
सबैको रहर, इच्छा र भावना एउटै देखिन्थ्यो ।
कोही सानो ठूलो थिएन । यत्तिकैमा खाना खाने
बेला पनि भयो । फेरि त्यही अलग–अलग
स्थानमा गयौं । बाहुन/क्षेत्रीले दही,
मही, दूध ल्याएका थिए । हाम्रालागि जाँड,
रक्सी थियो । म जाँड, रक्सी खाँदिनथें ।
जिस्क्याउँथे र साथीभाइले भन्थे,
‘रक्सी पनि नखाने यो कस्तो कामी होला ?’
आफ्नै कुलका दाजुभाइबाट आएको कुराले अपमान भएजस्तो लागेन ।
खानपिनपछि फेरि नाचगान सुरु भयो । फेरि उस्तै सबै एकै ठाउँमा ।
खाना अलग अरू चाहिँ एकै ठाउँ ।

त्यतिबेलाको दलित
समुदायमाथिको हेराइ थियो, त्यो । साँझ पऱ्यो । घर फर्कने
बेला भयो । आकाश पहेँलो देखिँदैथ्यो । दिनभरि रमाइलो गऱ्यौं । तर
पनि घर फर्कंदा म उत्साहित भइनँ । निराशा र
अपमानका ती क्षण सम्झिएँ मात्र । तिनै क्षण
सम्झँदै घर पुगेछु ।
त्यसपछि निकै भिन्न रहे, दिनहरू । हिनताबोध भयो ।
साथीको घरमा पनि जान छाडें ।
यो समस्या स्कुलमा पनि थियो । कहिल्यै नमेटिने घाउ लाग्यो,
मनमा । दलितको छोराछोरी हुँदा यस्तो अपमानित
बन्नुपर्ने ? यस्तै यस्तै भावनाले मनभित्र कम्पन पैदा गऱ्यो ।

एक वर्ष यस्तैमा बित्यो । त्यही दौरानमा नयाँ–नयाँ युवा साथीको आवतजावत बढेको थियो, हाम्रो घरमा ।
घर आउने सबै उच्च जातिका नै हुन्थे । तर
तिनीहरूमा कुनै भेदभाव राख्दैनथे ।
उनीहरू मेरो साइँला दाइका साथी रहेछन् ।
डीबी थापा, जङ्गबहादुर
रेश्मी, राजेश, विमल, रमा, सुष्मा, डाक्टर
चौधरी, शङ्कर विक, हिमाल, चन्द्र खनाल
(जनसेनाका डेपुटी कमान्डर)) , उमाकान्त
खनाल लगायतका साथी निरन्तर आउँथे । सधैं उत्साह र
सङ्घर्षका कुरा सुनाउँथे र सिकाउने गर्थे ।
केही समयपछि थाहा पाएँ, उनीहरू
संयुक्त जनमोर्चा, नेपालका पूर्णकालीन
कार्यकर्ता रहेछन् । राजनीति गर्नु
उनीहरूको काम रहेछ ।
केही साथी कलाकारिता क्षेत्रमा पनि रहेछन्
। गाउँ–गाउँमा जाने र जनतासँगै रहेर जनताको मुक्ति र
समानताको गीत गाउने, भाषण गर्ने, सङ्गठन निर्माण
गर्ने र सङ्धर्ष गर्ने रहेछन् । मेरो साइँला दाइ
पनि त्यसैमा आंशिक कालीन हुनुभएछ । र,
नाचगानमा लाग्न थाल्नुभयो ।
हाम्रो घरमा आउने अन्य साथीबाट थाहा पाउँथ्यौं,
यी कुरा । मलाई पनि कलाकारिता क्षेत्रमा रुचि थियो ।
उहाँहरूसँग म पनि चाँडै प्रभावित भएँ ।
क्रमशः साथीहरूसँग मेरो हिमचिम बढ्दै गयो ।
उनीहरूको कार्यशैली धेरै सकारात्मक
थियो । उत्साहित बनें । त्यहाँ कुनै असमानता थिएन । भेदभाव
देख्नै पाइँदैनथ्यो । सबै अत्यन्तै सहज र सरल थिए । तर
विचारमा चाहिँ दृढ र कठोर । आफ्ना विचार स्पष्टसँग प्रस्तुत
गर्न सक्ने क्षमता र कला थियो उनीहरूमा ।
त्यति देखेपछि सोचेको थिएँ, ‘जे खोजेको थिएँ, पाएँ ।’

२०५२ तिर हो । घरमा निरन्तर आइरहने साथीहरूले
मलाई एउटा कलाकारहरूको सांस्कृतिक शिविरमा भाग लिन अनुरोध
गर्नुभयो । त्यो प्रशिक्षण कपिलवस्तुको गोरुसिङ्गे
बजारमा रहेको पार्टीको जिल्ला कार्यालयमा आयोजना गरिए
। गाउँकै एकजना दाजु टेकबहादुर विकले मलाई लिएर जानुभयो ।
प्रशिक्षण स्थलमा धेरै नयाँ साथीसँग भेट भयो ।
केही मैले पहिले नै चिनेका साथी पनि थिए
। धेरै राम्रा साथीसँग सहकार्य गर्ने मौका मिल्यो ।
बिस्तारै म व्यक्तिगत जीवन छाड्दै गएँ । सामूहिक
जीवनतिर प्रभावित हुँदै गएँ । प्रशिक्षणले
वर्गीय राजनीतितिर होमिन प्रेरित गऱ्यो ।
त्यसैमा अग्रसर बन्दै गएँ । साथीहरूको सरल
व्यवहार र दृढ विचारले मलाई पनि हौसला मिलेको अनुभूति भयो ।
त्यसैबेलादेखि सङ्गठनमा आवद्ध भएँ । मर्न परे
पनि खुसीसाथ मर्ने आँट पलायो । दिन बित्दै गए । म
स्कुल पनि जान छाडें । सात कक्षासम्म मात्रै पढें । २०५३ मा मैले
त्यस स्कुलबाट माध्यमिक शिक्षा हासिल नगरिकनै
क्रान्तिको निम्ति झोला बोकें ।

यसबीचमा घरायसी र सामाजिक
प्रतिकुलतासँग धेरै जुध्न पऱ्यो । यस्ता सबै कुरा यहाँ उल्लेख
गर्न सम्भव छैन ।
त्यतिबेलासम्ममा पार्टीको नाम पनि परिवर्तन भएर
नेकपा (माओवादी) भइसकेको थियो । म
राजनीतिक काममा झनै व्यस्त हुँदै गएँ र म
पार्टीको आधिकारिक सदस्यसमेत बनिसकेको थिएँ ।
कहिले फौजी मोर्चामा खटें । कहिले
पार्टीको गैरफौजी मोर्चामा ।
अनि कलाकारिता फाँटमा पनि सक्रिय हुँदै मेरो यात्रा अगाडि बढिरह्यो ।
काम गर्दे हिँडेपछि सङ्गठनमा जिम्मेवारी हेरफेर हुने
नै भयो ।

२०५४ मा बढुवा भएँ । र, पार्टीले
इलाका कमिटी सदस्य बनायो । बढुवा त भएँ तर
कार्यक्षेत्र परिवर्तन भयो । अब म रूपन्देही गएँ ।
स्क्वायड सदस्यसमेत बनायो । जसमा कमान्डर कमरेड प्रज्वलन
(वसन्त श्रेष्ठ) हुनुहुन्थ्यो ।
जनयुद्धका आँधीमय ६ वर्ष बिते । तर ६ वर्ष
बितेको पत्तै भएन मलाई । सधैं कामको चापले सयम
बितेको पनि थाहा पाइएन ।

२०५८ । वार्ताका लागि युद्धविराम भएको थियो । दैनिक
जीवन केही सहज भयो ।
युद्धविरामको मौका पारेर धेरै अध्ययन अनुसन्धान गऱ्यौं ।
आगामी तयारीमा केन्द्रित थिए
ती अनुसन्धान ।
युद्धविराम भङ्ग भयो । त्यतिबेलासम्म
पार्टी जिल्ला कमिटी सदस्य (डिसिएम)
भइसकेको थिएँ । त्यसैबेला म प्राविधिक
प्रशिक्षणका लागि कास्की गएँ ।
फर्केपछि रूपन्देहीको स्पेसल टाक्स फोर्स
(एसटीएफ) कमान्डर भएँ ।
मेरो जिम्मेवारी बढ्यो ।
क्रियाशीलता बढाउनुपर्ने भयो,
जिम्मेवारीअनुसार ।

२०५९ को मध्यतिर रूपन्देहीमा चितवन जिल्लाबाट
कमरेड समरको नेतृत्वमा एउटा टिम सरुवा भएर आयो । त्यस
टिमसँग मेरो सहकार्य खुब जम्यो । सरुवा भएर
आउनेमा एकजना कमरेड भावना (लक्ष्मी कोइराला)
नामको महिला कमरेड पनि हुनुहुन्थ्यो । योजना कार्यान्वयनकै
क्रममा उहाँसँग भेट भयो । रूपन्देहीको मणिग्राम गाउँ
विकास समितिको एउटा भित्रीगाउँमा भेटघाट र सम्पर्क
भएको थियो । उहाँले मेरोबारे पहिला नै सुन्नुभएको रहेछ । मलाई
एकजना कलाकारका रूपमा चिन्नुभएको रहेछ ।
पहिलो भेटमा त मेरो उहाँसँग त्यति छलफल भएन । तर
पछिल्लो समयमा उहाँले मैले गाएको गीतको प्रसङ्ग
उठाउनुहुन्थ्यो । खुसी व्यक्त गर्दै हौसला प्रदान
गर्नुहुन्थ्यो । जनयुद्धकै क्रममा क्षितिज परिवारले
गीतिएल्बम बाहिर ल्याएको थियो । जसको पहल
कमरेड रामप्रसाद बन्जाडे (टङ्कमणि, हाल
माओवादी केन्द्ररीय सदस्य) ले
गर्नुभएको थियो । र, नेतृत्व कमरेड
डीबी थापाले । त्यतिबेला मैले
गाएको ‘डोल्पाको धक्काले, हाम्रो छापामार’ भन्ने गीत
चर्चित थियो । भावनाले त्यो गीत सुन्नुभएको रहेछ ।

२०६० मा युद्धविराम भङ्ग भयो । जिल्ला पार्टीले
दक्षिण सीमावर्ती क्षेत्र
मर्चवारमा सांस्कृतिक अभियान चलाउने योजना तय गऱ्यो ।
यो अभियानको नेतृत्व मैले गर्नुपर्ने निर्देशन भयो । जसमा सदस्य
कमरेड किरण (युवराव पाण्डे) कमरेड विवेक, कमरेड विश्वास,
कमरेड वसन्त, कमरेड भावना, कमरेड शारदा, कमरेड
अमरलगायतका एसटीएफका अन्य
साथीसहितको टोली थियो । कमरेड
भावनासँग त्यही अभियानमा अन्तरङ छलफल चल्यो ।
हाम्रो बीचको प्रम प्रसङ्गका कुरा पनि भए ।
सुरुसुरुमा आफ्ना भावना, विचार, समाज, क्रान्ति र
जनयुद्धको विषयमा कुरा भए । क्रमशः हाम्रो जीवनबारे
पनि धेरै कुरा हुन थाले । कुरा गर्दै हिँड्ने र काम गर्ने दौरानमै
हामीले एक–अर्कालाई राम्ररी बुझ्ने
मौका पायौं । छलफल गर्ने समय सधैं पाइँदैनथ्यो ।

दोस्रो युद्धविराम भङ्ग पनि भयो । त्यसपछि फेरि हाम्रो निरन्तर
सङ्घर्ष र लडाइँको काम सुरु भयो । हेडक्वार्टर (एचक्यू) बाट
तत्कालै एउटा चौकी कब्जा गर्ने निर्देशन आयो ।
त्यही योजना अनुसार
रूपन्देहीको छपिया प्रहरी चौकी
गऱ्यौं । कारबाही कमरेड सागर (चन्द्रबहादुर थापा)
हाल सभासद एवम वाईसीएल
नेताको नेतृत्वमा भएको थियो । कारबाही सुरु गरेको १०
मिनेटमै चौकी कब्जा भयो । त्यहाँ कमरेड
भावना जानुभएको थिएन । २०६०
मा भएको यो चौकी आक्रमणमा हामीतर्फ
कुनै क्षति भएन । दुईजना प्रहरी मरे । १३ थान
राइफल कब्जा भयो ।

आक्रमणको दुई दिनपछि मेरो कार्यक्षेत्र फेरिएको खबर पाएँ ।
मेरो कार्यक्षेत्र भारत (प्रवास) मा पऱ्यो । त्यसबेला सप्लाई र
प्राविधिक विभागमा काम गर्नुपर्ने भयो । निकै
संवेदनशील थियो । काम अत्यन्त खतरा मात्र थिएन,
हरेक विषय गोप्य हुन्थ्यो । म कहाँ सरुवा भएँ ? भन्ने
कुरा पार्टीको सम्बन्धित निकायबाट थाहा पाएँ ।
त्यसबेला रूपन्देहीको इन्चार्ज कमरेड सरोज
हुनुहुन्थ्यो । उहाँलाई बाहेक कसैलाई थाहा थिएन,
मेरो कार्यक्षेत्र परिवर्तनबारे ।
गोपनियतालाई ख्याल गरें । कसैसँग भनिनँ । कमरेड भावनासँग
पनि भनिनँ । प्रवासतिर लागें । प्रवास (लखनउ) । कमरेड
टङ्कमणिको सम्पर्कमा पुगें । मेरो जिम्माबारे दुई/तीन
दिन ‘ब्रिफिङ’ गर्नुभयो । सबै हिसाबले तयार भएपछि म
आफ्नो कामतिर लागें ।

यसबीचमा कति समय मेरो र भावनाबीच
सम्पर्क हुन सकेन । सुरक्षा र गोपनियताले फोन गर्न र
चिट्ठी पत्र पठाउन वर्जित थियो । नेपाल र भारत
दुवैतिरको स्थिति त्यस्तै थियो । यो परिस्थिति लगभग सात/आठ
महिनासम्म रह्यो । सप्लाई सामान (युद्ध सामग्री )
ओसारपसार भइरहन्थे । २०६० तिर नै नेपालबाट रामपलट
(त्यतिबेलाका एसटीएफ सदस्य)
लखनउमा हाम्रो सम्पर्कमा आउनुभयो । उहाँको कायक्षेत्र
पनि रूपन्देही नै थियो । उहाँले भावनालाई
चिन्नुहुन्थ्यो । मसँग भेट हुन्छ भन्ने थाहा भएर नै उहाँले
भावनासँग सम्पर्क हुने एउटा फोन नम्बर ल्याएर मलाई दिनुभयो ।
त्यही माध्यमबाट मैले भावनासँग सम्पर्क गर्ने
मौका जुराएँ ।
फोनमा भेट भयो । तर छोटो कुरा गऱ्यौं । लामो कुरा गर्न
ठीक हुँदैनथ्यो ।
फोनमा नेपाली भाषामा कुरा गर्दा शङ्का हुन्थ्यो ।
त्यसैले हिन्दीमा नै कुरा गरें । तर
भावना नेपालीमै बोल्नुहुन्थ्यो । छोटो समयमा पनि धेरै
कुरा गरें । एक–अर्काप्रतिको विश्वास र भावनाका कुरा दोहोर्याइयो ।
पार्टी सङ्गठनका कुरा बढी भए ।
फोनमा माया प्रेमका कुरा गर्न लाजजस्तो हुन्थ्यो ।
फेरि क्रान्तिकारी ‘स्पिरिट’ भन्दा दायाँबायाँ भइयो कि ?
भन्ने हुन्थ्यो आफैलाई पनि मायाप्रेमका विषयमा कुरा गर्दा ।
मनभित्रका सबै भावना पोख्न र राख्न दिँदैनथ्यो, त्यतिबेलाको विचार र
परिस्थितिले । बडो गाह्रो हुने प्रेमका कुरा गर्न ।
यतिबेलाको कुराकानीपछि हामी विवाहको टुङ्गो
तर, कहिले गर्ने ? निश्चित थिएन । फरक–फरक कार्यक्षेत्र र
युद्धको चाप । समय मिलाउनै गाह्रो थियो । ‘जहिले अनुकूल
हुन्छ, त्यतिबेला नै विवाह गर्ने’ सहमति भयो । सल्लाहअनुरूप
नै आ–आफ्नो पार्टी कमिटीसमक्ष
पुनः जानकारी गरायौं ।
त्यतिबेला भावनाको जिम्मेवारी रूपन्देहीमै
थियो । उहाँ महिला सङ्घको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।
हामीले फोनमा गरेको कुराकानी अनुसार
आ–आफ्नो पार्टी निकायमा हाम्रो प्रेम सम्बन्धबारे
जानकारी गरायौं । मैले टङ्कमणिलाई
जानकारी गराएँ । उहाँले यसलाई क्रान्तिको स्पिरिटमै
आफ्नो प्रेमलाई अगाडि बढाउन सल्लाह दिनुभयो ।
भावनासँग फोन सम्पर्क
भएको केही समयपछि सप्लाइकै
सामग्री लिएर म रूपन्देही गएँ ।
त्यसको केही दिनपछि पाल्पामा राजनीतिक
वैचारिक प्रशिक्षण थियो । स्याउलाले छाएर बनाइएको सानो प्रशिक्षण
हलमा हाम्रो वैवाहिक कार्यक्रम सम्पन्न भयो । जैलुङ, २०६१
चैत ३१ । रातिको समय थियो, विवाह हुँदा । कार्यक्रममा अध्यक्ष
बन्नुभयो कमरेड निर्मल (हाल  जनसेनाको ब्रिगेड सहकमान्डर)
। त्यहाँ सागर र रूपक कमरेड पनि थिए । कमरेड मिलन पनि थिए ।
प्रतिबद्धता मन्तव्य राख्नुपर्ने भयो । तर मलाई बडो कठिन भयो ।
तैपनि क्रान्तिप्रति सधैं दृढ भएर लाग्न हाम्रो विवाहले
भूमिका खेलोस् भन्ने प्रतिबद्धता राखें । भावना कमरेडले पनि त्यस्तै
भावको प्रतिबद्धता राख्नुभयो । शुभकामना दिनेले ‘क्रान्ति र
पार्टीप्रति जिम्मेवार बन्न प्रेरणाायी बनोस्’
भन्ने शुभकामना दिनुभयो ।

विवाहपछि पाल्पा र रूपन्देहीमा दुई-दुई दिन बस्यौं ।
बडो पृथक अनुभूति भयो, विवाहपछिका ती दिनमा ।
हामीलाई लाग्यो, ‘युद्धभित्र हुर्केको प्रेम र
अनि विवाह कसरी अगाडि जाने हो ?’ यस्तै–यस्तै
कुरा खेलेका थिए, मनमा । तैपनि आफ्नो यात्रा अगाडि बढाउनुपर्ने नै
थियो । मानवीय रुचि र आवश्यकता जे भए
पनि ती छाडेर पार्टी कामलाई नै
प्राथमिकता दियौं ।
विवाह गरेको चार दिनपछि आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन
आयो । विवाहपछि भएका कुराकानीलाई विचारमा परिणत
गर्दै र सम्झना गर्दै म हिँडे ।
विवाहपछिका ती अन्तरङ कुराकानी सबै
शब्दमा उतार्न पनि गाह्रो पर्दोरहेछ । माया ह्वात्तै बढेर
जाँदोरहेछ । क्रान्तिमा लागेको नितान्त
एक्लो जीवनमा अरू
जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ ।

विवाहपूर्व भारतमा बसेर काम गर्दा र पछि काम गर्दा भावनात्मक
रूपले फरक पर्दो रहेछ । बीचमा फोन सम्पर्क
वा अन्य कुराकानी भए । कार्यक्षेत्र
रूपन्देही नै थियो, भावनाको । छ/सात
महिनापछि सप्लाई विभागमा काम गर्ने सबै नेपाल जाने र
त्यही काम गर्ने निर्देशन भयो । त्यसैअनुसार
हामी फेरि नेपाल आयौं । हाम्रो टिममा सुरज, विक्रान्त
र एकजना घाइते साथी सोनाम सँगै थियौं ।
नेपाल आएपछि मलाई सैन्य फर्मेसनमा जाने निर्देशन भयो ।
त्यसैअनुरूप मैले
जनमुक्ति सेनाको चौथो ब्रिगेडको एउटा डिसी कमिट र आफ्नो काम अगाडि बढाउन थालें । त्यसको करिब दुई
महिनापछि हामी रोल्पा हिँड्यौं ।

गुल्मी पुग्दा जिम्मेवारी नयाँ आयो । कमरेड
जीतवीर (डा. बाबुराम भट्टराई) सँग
रोल्पा जानुपर्ने भयो । त्यसैक्रममा कमरेड प्रज्वलनसँग पनि भेट
भयो, गुल्मीमा । अलि लामो समयपछिको भेट थियौं,
यो प्रज्वलनसँगको । करिब आठ वर्षपछि भेट भएका थियौं ।
हामीबीच धेरै छलफल पनि भयो ।
उहाँ कमरेड जीतवीरसँगै हिँड्नुहुन्थ्यो ।
प्रज्वलनले भन्नुभयो, ‘तपाईं त कलाकार फिल्डमा सुहाउने मान्छे
। कसरी सैन्य मोर्चामा ?’
‘दाइ, यो युद्धको आवश्यकता हो ।’ मैले छोटो जवाफ दिएँ ।
त्यतिबेला खुबै चल्तीको शब्द थियौं, ‘आवश्यकता ।’
तर कमरेड प्रज्वलनले मलाई कलाकार फाँटमै काम गर्न
भन्नुभयो । भित्रभित्र मलाई पनि त्यही इच्छा थियो ।
तर आवश्यकता फौजी मोर्चामा आएको भनेर ओंठे
जवाफ दिइहालेछु । तैपनि ‘मेरो भावना बुझिदिए हुन्थ्यो’ भन्ने
सोचेको थिएँ ।
मेरो सोचाइजस्तै भयो । प्रज्वलनले कुरा बुझेझैं गरेर भन्नुभयो,
‘मैले कुरा चलाउँ त ?’ जवाफ दिएँ, ‘त्यसो गर्दा ठीक
हुन्छ भने कुरा चलाऔं न त ।’ कमरेड
जीतवीर त्यतिबेला मध्य कमान्ड इन्चार्ज
हुनुहुन्थ्यो । प्रज्वलनले उहाँसँग कुरा राख्नुभएछ ।
त्यसपछि उहाँले मलाई कलाकारमा सरुवा गर्ने विषयमा जान्न
खोज्नुभएछ । उहाँले बोलाएर धेरै कुरा सोध्नुभयो । मेरो इच्छा र
रुचिबारे जानकारी माग्नुभयो । मैले आºनो पृष्ठभूमि र
रुचि बताएँ । मेरो भावना बुझ्नुभएछ । कमरेड
जीतवीरले भन्नुभयो, ‘तपाईंलाई अब
कलाकारमा जाने कुरा मिलाइदिएको छु । तनुहुँ जानु पऱ्यो ।’ म
त्यहींबाट तनहुँतिर लागें । रोल्पा हिँडेको थिएँ म
फौजीमोर्चाका लागि तर
गुल्मी जाँदा नयाँ निर्णय भयो । म त्यहाँबाट तनहुँ
हिँडे । त्यहाँ अखिल नेपाल जनसांस्कृतिक सङ्घको गण्डक
भेला रहेछ । म पनि त्यहाँ पुगें ।

मलाई क्षितिज
परिवारको संयोजकको जिम्मा दिइयो । यो भेलामा भावना कमरेडसँग
पनि भेट भयो । उहाँ रूपन्देहीको मिलिसिया कमान्डर
हुनुभएको रहेछ । र, त्यहाँको कलाकारको टिमलाई लिएर
भेलामा आउनुभएको रहेछ । कार्यक्रम सकेर आ–
आफ्नो कार्यक्षेत्र फर्क्यौ ।
कामकै दौरानमा थियौं । भेटघाट पातालो नै थियो । तर करिब दस
महिनापछि फेरि मेरो र कमरेड भावनाबीच अचानक भेट
भयो, पाल्पा र रूपन्देहीको सीमामा पर्ने
हात्तीलुममा ।
पार्टीको सेल्टरन जिकैको पोस्टमा भेट भएको थियो ।
यसरी भेट भइहाल्छ भन्ने सोचेको पनि थिइनँ ।
एकदमै खुसी भएँ । आश्चर्यमा परें ।
भेटमा हाम्रो विवाहपछिका संस्मरण,अनुभूति र प्रतिक्रिया बुझ्ने
काम भयो । मायाका धेरै थुँगा गाँस्यौं । मनमा उठेका प्रश्न मेटायौं ।
हिँड्दा हिँड्दै
भएको भेटपछि हामी त्यहींबाट त्यसैदिन
नै छुट्टियौं ।
केही महिनापछि रोल्पामा आयोजना हुने सांस्कृतिक
प्रशिक्षण जानेबेला सँगै भयौं । त्यस समयमै
हामी अलि लामो समयसम्म बसेका थियौं । करिब एक
महिना सँगै बस्यौं । आधार इलाकाको बसाइ । निकै सजिलो थियो ।
अन्यन्त्रजस्तो आधार
इलाकामा बस्दा सुरक्षाको त्यति चिन्ता हुदैनथ्यो । त्यतिबेला नै
चुनवाङ बैठक बस्दै थियो । र,
हामी त्यही घेरामा थियौं । बैठक सकियो ।
त्यसपछि फेरि हामी पनि छुट्टियौं । आ–
आफ्नो कार्यक्षेत्रतिर लाग्यौं । चुनवाङ बैठकको समापनमा निकै
भावुक भयो, सांस्कृतिक कार्यक्रम ।

२०६२ को मध्यतिर (असोज/कात्तिक)
पार्टीको केन्द्रीय समितिले
‘गणतन्त्रका लागि मेची–
महाकाली अभियान’ तय गऱ्यौं । म
सामना परिवारको पश्चिमी टोलीमा जानुपर्ने
भयो । खुसीराम पाख्रिन दाइको नेतृत्वमा रहेको टिममा म
काजमा गएको थिएँ । अभियानको अवधि ६ महिना थियो ।
अभियानको सबै तयारी सकेर हिँड्यौं । हाम्रो अभियान
सुदूरपश्चिमबाट सुरु भएको थियो । दाङ आइपुदा दुई
महिना बितिसकेको थियो ।
त्यहाँ आएको बेला मेरो एकजना महिला नेतृ
विमला केसी (हाल सभासद्) सँग भेट भयो ।
उहाँले मलाई सोध्नुभयो, ‘तपार्इं भावनाको श्रीमान्
होइन ?’
मैले ‘हो’ भनें । तत्काल उहाँले थप्नुुभयो,
‘भावनाजी दुस्मनको पन्जामा पर्नुभयो ।’ खबरले
झसङ्ग भएँ । उहाँले अझै थप्नुभयो, ‘२०६२ पुस २२ गते
रूपन्देहीको खैरेनीबाट उहाँलाई दुस्मनले
समात्यो ।’ तर खबर अपूरै भयो ।
‘भावना कहाँ हुनुहुन्छ ? कस्तो हालतमा ? थाहा छैन,’ उहाँले
भन्नुभयो । विश्वास गर्न सकिनँ । दाङमा टेलिफोन सुविधा थियो ।
हाम्रो सम्पर्क गर्ने ६१३ कोड रहेको फोन नम्बर थियो । दाङबाट
सम्पर्क गरें । तर फोन लागेन । मैले
रूपन्देहीमा चिनेजानेको सबै ठाउँमा फोन सम्पर्क गरें ।
तर कतैबाट आसलाग्दो कुरा सुन्न पाइएन । पश्चिमबाट दाङ
आउँदा भावनालाई पठाउन चिट्ठी कोरेको थिएँ । तर
भावनाको गिरफ्तारीको खबरपछि चिठी त्यत्तिकै
खेर गयो ।
दाङबाट रूपन्देही नजिक थियो ।
‘दाङमा कोही न कोही भेटिएला र
चिट्ठी पठाउन पाइएला’ भन्ने मेरो सोच थियो ।
राजनीतिक अवस्था र
हाम्रो सम्बन्धबारेमा चिट्ठी कोरेको थिएँ ।
युद्धकालमा खुबै चिट्ठी लेख्थ्यौं । आठ/दस
पेजका चिट्ठी हुन्थे । आफ्ना विषयवस्तु खोल्ने
गतिला साधन बन्थे, पत्रहरू । बडो रोचक र
रमाइला चिट्ठी थिए ।
त्यतिबेला भावना रूपन्देहीमा महिला सङ्गठनमा अध्यक्ष
हुनुहुन्थ्यो । भावना गिरफ्तार भएको दुई महिना भएको रहेछ ।
जतिबेला मैले यो जानकारी पाएँ । यो खबर सुन्दा मैले
टेकेको भुइँ भासिएजस्तो भयो ।
जीवनको तीतो क्षण त्यतिबेला अनुभूति गरें
। कामको चापले र जिम्मेवारीले आँसु बगाउनेसमेत
फुर्सद थिएन । मनभित्र गहिरो चोट हुँदाहुँदै पनि काममै व्यस्त
भएँ । चिन्तामा हराइरहने कुरा पनि भएन । र,
सम्भावना पनि थिएन, त्यो परिवेशमा ।
भावनाको गिरफ्तारी भएको खबर पाएको अर्को दिन
गुल्मीकी कमरेड आस्था र दाङका कमरेड
विश्वासबीच विवाह हुँदैरहेछ, दाङमा । वैवाहिक
कार्यक्रम आयोजना गरिएको थियो । विडम्बना !
मुटुभरि पीडा राखेर उहाँहरूको दाम्पत्य
जीवनको सफलताको शुभकामनाका लागि गीत
पनि गाउनु पऱ्यो । ‘हाँस्दाहाँस्दै रुनुपर्ने र रुँदारुँदै हाँस्नुपर्ने’
भनाइ त्यहाँ व्यावहारिक रूपमै देखें ।

युद्धको खरो अनुभव भोगाइको यो पनि एउटा तीतोसत्य
बन्यो, मेरालागि । कसैको विवाह कसैको बिछोड ।
आफ्नो पीडालाई मनमा लुकाएर अरूसँगै हाँस्नु पऱ्यो ।
मन रोए पनि अनुहार चम्काउनुपर्ने कस्तो कठोर
थियो त्यो राजनीतिक परिवेश ? कलाकार थिएँ ।
आफ्नो जिम्मेवारी पूरा गर्नैपर्ने थियो । यसैमा चित्त
बुझाएँ ।
हामी अभियानमै थियौं । यता २०६२/६३
को जनआन्दोलन उत्कर्षमा पुग्दै थियो । अभियान अन्तिम–अन्तिम
हुन लागेको थियो । निरन्तर कार्यक्रमपछि विशेष
क्षेत्रको गुल्मी जिल्ला आइपुगेका थियौं ।
पार्टीसँग छलफल चलिरहेको थियो ।
केही समयपछि रेडियोबाट युद्धविराम भएको खबर
सुनियो । हाम्रो योजना अब सिधै सदरमुकाम तम्घास नै जाने तय
भयो । त्यसैअनुरूप अर्को दिन नै गुल्मी सदरमुकामतिर
लाग्यौं । युद्धविराम र नयाँ परिवेशमा नयाँ जोशका साथ भव्य
कार्यक्रम गऱ्यौं। हाम्रो अभियानको यो अन्तिम कार्यक्रम थियो ।
गुल्मी सदरमुकाममा अभियान समापन गरेर बुटवल झऱ्यौं । त्यहींबाट सबै आ–आफ्नो क्षेत्रका लागि छुट्टियौं । गण्डकको टिम बुटवलमै बस्यो ।

बुटवल झरेपछि भावनाको सम्झनाले अलि सताउन थाल्यो । दुस्मनले
पक्राउ गरे पनि मलाई
मेरो जीवन सङ्गिनीको आशा अझै
मरेको थिएन । बुटवलमा मैले
रूपन्देही पार्टीसँग तुरुन्तै सम्पर्क जोडें ।
पार्टीका तत्कालीन
रूपन्देही इन्चार्ज निर्मलकुमार र अर्का नेता दयाराम
न्यौपानेसँग आफ्ना कुरा राखें । भावनाको खोजी कार्य
तीव्र पारें । पार्टीले
उहाँको खोजी गऱ्यो र पत्ता लगायो पनि । उहाँलाई
चितवन जिल्लाको भरतपुर महिला कारागारमा राखेको रहेछ । यो खबर
पाएपछि भावनालाई भेट्न मन लाग्यो । मैले भावनालाई भेट्न जान
पार्टीसमक्ष प्रस्ताव राखें  र मलाई जाने निर्देशन
भयो ।

उहाँलाई भेट्न जाँदा रूपन्देहीकै
खैरेनीमा म मोटरसाइकल दुर्घटनामा परें ।
टाउकोमा गम्भीर चोट लाग्यो र म जान पाइनँ । सुजित
विक पनि सँगै थिए, त्यतिबेला । उनलाई एउटा घरमा राखेर म बजार
जाँदै गर्दा दुर्घटनामा परेको थिएँ ।
दुर्घटनामा परेको बेला भावनाकी दिदीले
सहयोग गर्नुभयो ।
कस्तो संयोग ! खैरेनीबाट नै भावनाको गिरफ्तार
भएको रहेछ । अनि त्यही ठाउँमा म दुर्घटनामा परें ।
बीचबाटै फर्किएँ । त्यसपछि म
आरामका लागि कपिलवस्तु गएँ ।
केही दिनपछि उहाँ छुट्नुभयो । मलाई भेट्न
पार्टीको सम्पर्क मार्फत कपिलवस्तु आउनुभयो ।
मेरो खुसीको सीमा रहेन । म आफूलाई
सम्हाल्न खोजिरहेको थिएँ । तर सकिनँ । एकछिन
अँगालोभरि भावनालाई बेरें । सबै गुमाएको चीज
पाएजस्तो भयो । खुसीका आँसु झरे ।

विगतका पीडा अल्झिएर बर्सिन थाले आँसु ।
दुःखको भन्दा सुखका आँसु धेरै झर्दारहेछन् ।
हाम्रो फेरि मिलन भयो । साँच्चै पुनर्मिलन । त्यसबेला भावना र म
घरमै बस्यौं, १० दिनसम्म । घरको बसाइ निकै रमाइलो भयो ।
मनमा शङ्का उठ्यो, ‘भावना दुस्मनका पन्जाबाट फुत्केर
आएकी छिन् । कतै
यी बिग्रिएकी छिन् कि ?’ यस्तै प्रश्न उठे
मनमा । अनि सोचें, ‘ओहो ! यी बिग्रिएर
आएकी भए त उनी र
मेरो राजनीतिक जीवन नै खत्तम होला ।’
हुन त मेरो सोचाइ गलत भयो । तर विगतमा दुस्मनबाट छुटेर
आएका केही व्यक्तिले
गरेको बदमासी सम्झेर मैले
पनि भावनामाथि शङ्का गरेको थिएँ ।
पार्टीको विगतका तीता अनुभवले
यस्तो सोच्न बाध्य पारेको थियो ।
त्यसपछि हामी खुसीखुसी फेरि
समाहित भयौं ।

त्यसको केही दिनपछि मेरो पनि ससुराली जाने
पालो आयो । म त्यतिबेलासम्म भावनाको घरमा गएको थिइनँ । तर कर
गरेपछि जानै पऱ्यो । जातीय विभेदका कारण मलाई
त्यहाँ जान अप्ठ्यारो लागेको थियो । तर सबै चीज
गुमाइसकेकालाई त्यसले केही असर गर्दैन भन्ने सोचें र ससुरालीतिर गएँ ।
साथमा भावनाको दाइ (जेठान) पनि हुनुहुन्थ्यो ।
अर्का एकजना साथी अब्दुल
मेरा साथी पनि थिए साथमा । उहाँहरूको सहयोगले
मलाई त्यस्तो कुनै अप्ठ्यारो परेन । सबै सहज भयो ।
ससुरालीमा आमाबाले पनि कुनै भेदभाव गर्नुभएन ।
आफ्नै घरजस्तै लाग्यो । अर्को दिन भावनाको आमाबाले
टीका लगाई बिदा गर्नुभयो ।
हामी खुसीखुसी कार्यक्षेत्र
फर्कियौं । आजसम्म हामी आ–आफ्नै
कार्यक्षेत्रमा खटिरहेका छौं ।
जनयुद्धमै भेट भयो । जनयुद्धमै आफ्नो जीवन
देख्यौं । दुस्मनका तमाम दमनलाई पार गर्दै हाम्रो प्रेम फुलायौं ।
क्रान्तिकारी रूप दियौं । विवाह गऱ्यौं ।

हामीले युद्धभित्र हुर्काएको प्रेमलाई सफल बनाउन
सक्यौं । विचारको जगमा भावनात्मक शिखर चुम्यौं ।
लाग्छ, क्रान्ति अझै सकिएको छैन । हामीजस्तै
अन्यहरू पनि यही आदर्शका साथ
आफ्नो सर्वश्व गुमाएर पनि निरन्तर लागिरहेका छन् ।
जनताको बलिदानबाट सिर्जित आदर्शलाई कहिल्यै ढल्न नदिने अझै
अठोट र आशा राखेका छन् । हाम्रो आदर्श
पनि त्यही हो र हामीले
आर्जेको आदर्श कुनै पनि हालतमा ढल्न दिने छैनौं । निरन्तर
सङ्घर्ष गरिरहने छौं ।

(२०६६ मा प्रकाशित ‘जनयुद्धमा प्रेम र यौन’ नामक पत्रकार नेत्र
पन्थीको पुस्तकवाट साभार र संम्पादित अंश)