Sunday, October 04, 2015

मैले देखेको नेपाल

नेपाल!
सुन्दर शान्त विशाल!

लक्ष्मी प्रसाद देवकोटा आफैले एक दिन लेखेथे, “विशालको भावना कसरी आयो म भन्न सक्तिनँ ।” यति लेख्दै भावनात्मक रुपमा वहाँले सानो-ठुलो लाई दुई भेद ले व्याख्या गर्न मिल्ने बताए: भौतिक र आध्यात्मिक ।
मुलतः आध्यात्मिक रुपमा नेपाल अत्यन्त बिशाल भएको वहाँले तर्क गरे । वहाँको नेपाली भाषाको ज्ञान र अद्वितिय योगदानको मुक्त-कण्ठले प्रसंशा गर्छु । सानो छदा, स्कुलमा “के नेपाल सानो छ?” पढ्दा निकै आनन्द लागेको थियो, अहिले ठुलो भएर पुन: पढ्दा कता-कता यो अद्वितीय कृतिमा “मैले देखेको नेपाल” भेटिन । म विज्ञानको मान्छे, अझ कम्प्युटर साईन्स, न त भाषिक ‘स्किल’ छ, न त वहाँ जस्तो आफु अनुकुल नेपाली भाषाका शब्द आविस्कार गर्नसक्ने ‘अथोरीटी' । अतः लक्ष्मी प्रसाद देवकोटाको महानता स्वीकार्दै, वहाँको अपुरो लेखलाई पूर्णता दिने घ्रिस्टता गर्दै छु; साथै नेपाली भाषा लेखनमा हुनजाने केहि ह्र्श्व-दिर्घ तथा अन्य व्याकरणको गल्तिको लागि अग्रिम माफी माग्दछु!

लक्ष्मी प्रसाद देवकोटा अगाडी लेख्नु हुन्छ, “यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृस्टीले हेर्दछन;.. ” , सायद वहँले “धोति”, “मनु मखु मर्श्या ख:”, “काले”, “हृतिक रोशन काण्ड” आदि हाम्रो समाजको कुरुप पाटो हेरेको भए पक्कै पनि लज्जित हुँदै आफ्नो वाक्य फिर्ता लिनुहुन्थ्यो होल । वहाँ ले, “..पहाडका शिशुहरु सन्तोष अनुभव गर्छन, मैदानका ताता मगजहरु खाली असन्तोष उम्लिरहेछन” लेखेको पढ्दा मन केहि खिन्न भएको हो । वर्तमानमा केहि उदण्डता पक्कै देखिएको हो, तर ईतिहास सक्षि छ । यो वाक्य लेख्दा वहाले जनक, विदुषी र बुद्धलाई बिर्सुनु भयो होला| महान भएपनि मानव हुन, गल्ति हुन्छ| यदि वहाले, आज “..यहाँ के छैन? मलाई आश्चर्य लाग्छ, के छैन?” भन्दै ट्वीट गरेको भए, मैले पक्कै पनि, “पेट्रोल” भनेर ठठ्यौली पूर्ण जवाफ फर्काउथे होला । “हामी पूर्ण छौ, सम्पन्न छौ, केहि आभाव छैन” जस्तो सोच “रीटोरीक” को लागी ठिकै हो तर यथार्थ हैन । आफ्नो अभाव, अपूर्णता र पछौटे पन स्वीकार्दै प्रगतिशील बन्ने प्रयास गर्नुपर्छ । “मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आखाँलाई शीतलता दिने केहि पाइन्न; जता हेर्यो उस्तै … मैदान बोधो छ एकनासे लाटोजस्तो, मैदान चित्रकारी हुन सक्तैन.. ” लेखेको पढदा, लक्ष्मी प्रसाद जी को नेपाली भाषाको ज्ञान र पहाड प्रति को मोह जती छ, मैदान प्रति को सुझबुझ र ‘एनालाईसीस’ त्यत्ति नै फित्तलो भएको अनुभूति भयो, सायद म गलत हुला यहा, तर मैले देखेको मैदान वहाँ को परिभाषा भित्र समेटिएको छैन| हुन पनि हो, मैदानमा बसोबास नै नगर्ने को परिकल्पनामा मैदान को नियास्रो चित्र हुनु अस्वभाविक हैन; गुनासो छैन । मैदान चिच्याटलाग्दो छैन, शान्त छ । आखाँलाई शीतलता दिने खेतमा लहराऊदो बाली छ । कहिले मधेश गएको बेला धानको बाली हावामा तरंग बनाउदै लहरीएको हेर्दा मनमुग्ध हुन्छु । फरक खेतमा देखिने फरक बाली को सम्पन्नताले रंगीन चित्र कोर्छ, मेरो मनमा । एकनास लाटो छैन, कहि गाढा हरियो छ, कही तोरीको पहेलो, कही बुझ्ने नसकिने टाटे-पाटे खैरो-निलो, कही हल्का हरियो.. मौसम अनुसार बदलिरहने, रंगीन । निक्कै रंगीन छ मधेश!

विभिन्न नेपाली भाषाका लेखकले मधेश/मैदान लाई कु-प्रस्तुत गरेका छन, यो प्रवृति नौलो हैन । “काला” का बारेमा “गोरा”ले लेख्ने साहित्य हेर्नुस, उस्तै ‘ट्रेन्ड’ पाउनु हुन्छ । जस्तै: ध्रुव चन्द्र गौतमले “अलिखित”मा चित्रण गरे जस्तो घृणापुर्ना, असभ्य र संस्कार बिहिन पनि छैन, मैले देखेको मधेश । अलि, पछौटेपन छ, जाती प्रथाले ग्रसित पनि छ; ” बाँकि नेपाल जस्तै”, तर “आलिखित” जस्तो “ईभील” छैन । गरीब छ, तर दयावान छ, भुकम्प जाँदा, पुरै पहाड हल्लिदा, मधेशले गरेको अद्वितीय सहयोगलाई झट्ट बिर्सेर पराई व्यबहार गर्ने काठमाडौँको अदुरदर्शिताले पृथ्वी नारायण शाहलाई लज्जित बनाउदो हो ।

मैले देखेको नेपालमा, पहाड छैन्न्, हजुर; केवल छन् त पहाडका प्रतिबम्ब र छाया.. टाढा छन्, एउटा रहस्य जस्तो हाम्रो शिर माथि दक्षिणबाट सुरक्षा गर्दिने अनुभूति दिने अटल भौतिक संरचना| एउटा अलौकिक भेद बोकेको अचल दैवी रचना जस्तो.. मैले देखेको नेपाल समतल छ, सामान्य छ, सरल छ, अबोध छ तर रीसाएको छ । मैले देखेको नेपाल…

मैले देखेको नेपाल रंगीन छ!
कृषकले रंग भर्दिने, रंगीन!
मैले देखेको नेपाल गरीब छ!
शितलहरीमा कठ्यांग्रिने, गरीब!
मैले देखेको नेपाल बिरोधाभाषी छ!
हकको लागी लड्दै गर्दा आफैमा भेदभावपूर्ण, बिरोधाभाषी!
मैले देखेको नेपाल मानवीय छ!
पहाड हल्लिएर दु:खमा हुँदा दु:ख बाड्ने, मानवीय!
मैले देखेको नेपाल अनन्त: छ!
आखाँले क्षितिज सम्म देखिने, अनन्त:!

मैले देखेको नेपालमा भाषिक विविधता छ, संस्कृतिक विविधता छ.. राजनैतिक बिबिधता छ, मैले देखेको नेपाल, प्रचलित नेपालको परिभाषा बाट पृथक छ । मैले देखेको नेपाल, ‘एनाक्रोनिस्टिक’ छ । माफ गर्नु होला, लक्ष्मी प्रसाद देवकोटा जती नेपाली भाषालाई नयाँ शब्द दिनसक्ने हैसियत छैन मेरो, त्यसैले अंग्रेजीका शब्दावलीको सहयोग लिएको छु । हिन्दि भाषा प्रयोग गरे, आफ्नो रस्त्रवाद माथि प्रश्न उठाउनेहरु संग अनावस्यक विवाद ‘एभोआईड’ गर्ने नीति अनुरुप, अंग्रजीलाई सहायक भाषाको रुपमा प्रयोग गरेको छु । भाषै त हो, भाषा लाई रास्त्रियता संग जोड्नु दुर्भाग्य पूर्ण देख्छु म । भाषा भनेको आफ्नो भावहरु अरु संग तरंगित गर्न सक्ने मध्यम हो, मेरो भाव तपाईसामु स्पस्ट पुग्न सके म आफुलाई सफल ठान्ने छु । भाषिक रुपमा पनि मधेश विविध छ| खैर, यो भाषाको यो विवादलाई यही थाती राखौ । अगाडी बढौ..

मैले देखेको नेपालको समस्याहरु ठुला छैनन् हजुर, तपाईले दुई दिन पेट्रोल नपऊँदा जत्रो पनि छैनन् त्यहाँको समस्या.. रीप्रजेन्टेटिव डेमोक्रेसीमा आफ्ना जनसंख्या अनुरुप रीप्रजेन्टेटिव पुर्याउन् पाउ, समावेसी राज्य संरचनामा आफ्नो अनुहार हेर्न पाउ, नेपाललाई कर्म भुमि बनाईसके पछि नेपाली भएको परिचयपत्र अर्थात् नागरीकता लिन पाउ, अन्तत्: नेपाली हुन पाउ भन्ने मात्र न हो । कुनै पनि देशको सामान्य नागरिकले मांग्ने, आधारभूत मांगहरु भन्दा केहि बढी मंगेका छन् र? नेपाली हुनु को परिभाषा यस्तो होस्, हरेक मधेशीले आफुलाई त्यो परिभाषा मा आफुलाई पाओस, मुलभूत रुप मा यत्ति नै हो माग!

मैले देखेकोको नेपालमा नेपाली भाषा बोल्लिन, लेखिन्न, र धेरै सुनिन्न पनि; दौरा-सुरुवाल लगईन्न, डाँफे परिकल्पना को चरा हो, लालीगुराँस कस्तो फुल हो धेरैले कल्पना मात्र गर्न सक्छन, मैले देखेको नेपाल मा केहि ले गाईको मासु पनि मनपराउछन!
रोटि-बेटी को संबन्ध कसैको लागी आधुनिक राज्य मा अव्याबहारीक होला, अकल्पनीय होला तर यथार्थ यही छ; स्विकर्नुस । राष्ट्रियता री-डिफाईन हुँदै गरेको युग हो यो । राष्ट्रियता को परिभाषा को परिधि व्यापक बनाउन जरुरि छ, ढिलो नगरौँ.. राउटे ले पनि नेपाली महसुस गर्न सक्ने राष्ट्रियता को परिधि बनोस । मैले देखेको नेपाल लाई पनि नेपाल हुने मौका दिनुस, वर्तमान समय निकै जटिल छ, तपाईले उदारता देखाउनु भएन भने, भबिष्यले हामीलाई धिक्कार्ने छ ।