Showing posts with label बिगतका पाना. Show all posts
Showing posts with label बिगतका पाना. Show all posts

Saturday, January 16, 2016

धरहराको टुप्पोबाट खसेर पनि बाँच्न सफल एक जोडिको रमाइलो कथा

बा मान्छेहरू सबै वामपुड्का छन्। टाउका मात्र देखिन्छन्। हात–गोडा छन् तर छुट्टिन्नन्। झुलुक्क देखापर्छन्, मिलिक्कै बिलाइहाल्छन्। टाउकाहरू बढी गतिशील हुँदा रैछन्। बाक्लो कपालको बीचमा जुम्रा जस्तो खुर्रर दौडिन्छन्। कोही उपियाँझैं फुत्तफुत्त उफ्रन्छन्। कोही जुकासरी यहाँबाट उहाँ फड्किन्छन्। केही स्थिर टाउका पनि छन्, मैदानमा थुपारिएका फुटबलजस्ता। अनेकथरी टाउकाको यो झुन्डसँगै कमिलाहरू ताँती लागेर कुदिरहेका छन्। त्यो गाडीको लश्कर हो।‘आम्मामामा! तिरिमिरी हुँदो रैछ,' रमिला कहालिइन्।

धरहराको माथिल्लो गोलो झ्यालबाट पुलुक्क बाहिर नियालेकी रमिलाले हत्तपत्त नजर हटाइन्। मन थर्थराएर होला, आँखा चिम्म गरेकी थिइन्। ‘मैले कहाली लाग्छ भनेको हैन,' धरहराको साँघुरो भर्याङमा असिनपसिन हुँदै उक्लिरहेका सञ्जीवले भने। तलैदेखि छ–सात खुट्किला पछि परेका सञ्जीवले यहाँ बल्लतल्ल उनलाई भेट्टाएका थिए। रमिलाले सुस्तरी आँखा उघारिन्। उनको निधारबाट पसिना चुहिरहेको थियो। गाला रातो भएको थियो। घाँटीको छालामा पसिनाको धाराले एक धर्सो डोब खनेको थियो। नबाटेको लामो कपाल पसिनाले भिजेर चिल्लो देखिएको थियो। उनी लामो–लामो सास तानिरहेकी थिइन्।

माथिबाट एक हुल केटा–केटी हाँस्दै तल झरे। भर्याङ साँघुरो थियो। रमिला र सञ्जीवले भित्तामा अडेसिएर बाटो खोलिदिए।‘जाऊँ जाऊँ माथि,' सञ्जीव अघि बढ्न खोजे।‘म त हेर्छु के!' व्यग्र रमिला थामिइनन्। फेरि उही गोलो झ्यालतिर टाउको घुसारिन्। बाहिर घाम मलिन छ। बेस्कन स्याँठ चल्दैछ। आकाशमा काला बादलका छिटा पर्न थालिसके। आज बिहानैदेखि काठमाडौं उघ्ररेको छैन। दिन चढ्दै जाँदा धुम्म मौसमले सहर अझ ढाकिँदैछ। ‘अग्ला घरहरू पनि यहाँबाट हेर्दा त कति फुच्चे देखिँदा रैछन् हगि,' रमिलाले फेरि मुन्टो भित्र लगिन्। ‘हो हो, ल माथि जाऊँ अब,' सञ्जीव हतारिए। ‘पख न कस्तो मान्छे होला!' रमिलाले झर्किंदै भनिन्, ‘भर्याङ चढ्न मात्र धरहरा आ'को हो र! एकछिन हेर्न देऊ न। 'सञ्जीव चुप लागे। रमिलाले फेरि बाहिर नियालिन्।

पर घन्टाघरमा ११ बजेर ५० मिनेट गएको छ। वरिपरि झुरुप्प घरैघरको उकुसमुकुसमा निस्सासिएझैं लाग्छ सहर। धन्न बीचमा टुँडिखेल छ, तैबिसेक सास फेर्न पाइएको छ। त्यही टुँडिखेल किनारमा झ्याम्म–झ्याम्म रुखहरू छन्। त्यसैमा फुलेका नीला फूलले सहरलाई नै शीतल दिइरहेझैं लाग्छ।

‘आहा कति राम्रो शिरीष फुलेको!'

‘शिरीष हैन त्यो,' सञ्जीवले भने।

‘हैन!' रमिला छक्क परिन्, ‘अनि के त?'

‘पहिला मलाई पनि शिरीषजस्तै लाग्थ्यो,' सञ्जीवले जवाफ दिए, ‘ज्याकरान्डा भन्छन् रे त्यसलाई।'

‘होला, जे पायो त्यही, शिरीष नै हो,' रमिलाले जिद्दी गरिन्।

‘ल ल, शिरीष नै हो, अब जाऊँ माथि,' सञ्जीवले रमिलासँग बहस गर्न चाहेनन्। यसपालि चाहिँ रमिला राजी भइन्। सञ्जीव अघि बढे। रमिला उनलाई पछ्याउन थालिन्। ‘शिरीष पनि चिन्दिनँ भन्ठानेको,' उनी अझै बर्बराइरहेकी थिइन्।

केही खुट्किला मात्र बाँकी रहेछन् माथि पुग्न। उनीहरूलाई पाँच मिनेट पनि लागेन। दुवैले लामो सुस्केरा हाले। पसिनाले लुछुप्पै भिजेको ज्यान चिसो स्याँठले एकछिनमै ओभानो बनाइदियो। एकाध मिनेट थकाइ मारेपछि जसै रमिलाका आँखा फैलिए, उनी चिच्याउन मात्र सकिनन्। मौसम नउघ्रेए पनि काठमाडौंको त्यो दृश्य रमिलाको उत्तेजना बढाउन काफी थियो। यति ठूलो सहरलाई पहिलोचोटि यति फराकिलो आँखाले हेरिरहेकी थिइन् उनी। उनले धरहरा चढ्ने लालसा पालेको पनि कम्ती भएको थियो र! मुनि हेरिन्। वामपुड्का मान्छेहरू देखेर हाँसो उठ्यो। कमिलाझैं गाडीको लस्कर देखेर त खित्कै छुट्यो। चारैतिर आँखा डुलाइन्।

आकाशमा काला बादल बाक्लो हुँदै गएझैं लाग्यो। स्याँठ अझ जोडले चलेझैं भयो। त्यही बेला वसन्तपुरतिरबाट चराहरूको हुल चिँ चिँ चिँ गर्दै बेतोड आकाशमा उड्न थाल्यो। कागहरूको काँ काँ ले कोलाहल मच्चियो। कताकता टाढाबाट कुकुरहरू एकोहोरो रोइरहेको सुनियो। तल टुँडिखेलमा शिरीष हो कि ज्याकरान्डाका फूल पत्रपत्र हावामा उडेझैं लाग्यो। रमिलाको मन झस्याङ्ग गर्यो।
पर घन्टाघरमा ११ बजेर ५६ मिनेट गएको थियो। रमिलाको मन अझै झस्याङ्ग छ। म
बिहीबार दिउँसो सवा १ बजे उनलाई भेट्न ट्रमा सेन्टर गएको थिएँ। छैटौं तलामा वार्डभित्र छिर्ने बित्तिकै दाहिने मोडिएपछि झ्यालनिर उनको बेड छ। बेड नम्बर १९। सिरानीमा जिउ अढेस लगाएर पल्टिएकी थिइन् रमिला। सुन्तला रङमा कालो बुट्टेदार पहिरन उनलाई निकै खुलेको थियो। बेडको दाहिनेछेउ डन्डीमा सलाइन बोतल झुन्डिएको थियो। तपतप चुहिइरहेको सलाइन पानी मसिनो पाइप हुँदै नाडीबाट उनको शरीरमा छिरिरहेको थियो। लामा कपाल खुलै राखेकी थिइन् उनले। सायद उनलाई बाटेको भन्दा खुलै कपाल मन पर्छ! सुहाउँछ पनि! उनको भाँच्चिएको देव्रे खुट्टा तिनिक्क तन्काएर राखिएको छ। दाहिने आँखामाथि छ टाँका लगाउनुपरेको थियो। अहिले टाँका फुकाइसक्यो, ब्यान्डेज भने बेरिएकै छ।

मैले उनलाई बधाइ र शुभकामना दिँदै भनेँ, ‘सञ्जीव खै त?

'उनले लजाउँदै भनिन्, ‘डिस्चार्ज भइसक्यो।

‘ला... तिमी एक्लै पर्यौ‘?' मैले जिस्क्याएँ, ‘यस्तो विपद सँगसँगै झेल्नेले एक्लै छाडेर जान हुन्छ त, रोकिनौ?'

उनले जवाफ दिनै सकिनन्। खालि, मुसुक्क हाँसिन्। छेउमा उनकी दिदी थिइन्, रमा। उनी पनि लाजले अनुहार छोपेर हाँस्न थालिन्।

‘हामी सँगै डिस्चार्ज हुन्छौं भन्नुपर्दैन त डाक्टरहरूलाई,' मैले रमिलालाई फेरि जिस्क्याएँ।
खासमा म कुराकानी सुरु गर्नुअघि उनको मन अलि हलुका पार्न चाहन्थेँ।

‘अस्ति (मंगलबार) भेट्न आएको थियो,' उनले लजाउँदै भनिन्।

‘ओहो! डिस्चार्ज भएर भेट्न पनि आइसक्यो?,' मैले थपेँ।

‘हैन, मलाई नै भेट्न आएको हैन,' उनले कुरा मिलाउन खोजिन्, ‘अस्पताल आउनुपर्ने रैछ, त्यही बेला यहाँ छिरेको।'

‘कि तिमीलाई भेट्नुपर्ने रैछ, त्यही बेला अस्पताल छिरेको?' उनले अनुहार रातो पार्दै मुन्टो फर्काइन्। जति लुकाउन खोजे पनि उनको धपक्क बलेको अनुहार प्रस्टै देखिन्थ्यो।
‘हो कि हैन?' मैले कोट्ट्याएँ।

गाह्रो मान्दै भनिन्, ‘हैन।'

‘ल ठिक छ, के भन्यो त भेट्दा,' मैले सोधेँ।
‘केही भनेन।'

‘केही नभनेर उभिइरह्यो त?'

‘हैन।'

‘अनि?'

‘त्यसै।'

‘केही त भन्यो होला, तिमीलाई कस्तो छ रमिला भन्यो होला?'

‘अँ।'

‘तिमीले पनि उसलाई कस्तो छ सोधिनौ त?'

‘सोधेँ।'

‘के भन्यो त?'

‘केही भनेन।'

‘लौ, बोल्दैन कि क्या हो?'

‘बोल्छ नि।'

‘अनि के बोल्यो त?'

‘मेरो हात दुख्छ भन्यो।'

‘हो, त्यसो भन न त।' उनी भुतुक्कै भइन्।
‘अनि?' फेरि सोधेँ।

‘मैले मेरो खुट्टा दुख्छ भनेँ।'

‘अनि?'

‘उसले तिमी आफ्नो ख्याल राख्नु है भन्यो।'

‘अनि?'

‘त्यत्ति, अनि गयो।'

त्यही बेला एक जना नर्स उनको बेडनजिकै आइपुगिन्। फाइल पल्टाउन थालिन्। प्लास्टिक फोडेर नयाँ सिरिन्ज झिकिन्। सिरिन्जमा औषधि भरिन्। सलाइन बगिरहेकै पाइपबाट सिरिन्जको औषधि उनको जिउभित्र पठाइन्। हाम्रो कुराकानी एकछिन ठ्याप्पै भयो।

उनी एकोहोरो झ्यालबाहिर टोलाइरहिन्। मैले उनको अनुहार नियालिरहेँ। मैले महसुस गरेँ, त्रास, खुसी र आशाको रंगीविरंगी भावले रमिलाको अनुहारमा इन्द्रेणी बनेको छ। खुसी र आशाको चमक त छ, घरिघरि त्रासको अन्धकारले पनि छोप्न आइपुग्छ। सञ्जीवको नाम लिनेबित्तिकै फक्रेको फूलझैं देखिन्छिन्। धरहराको घटना सम्झाउने बित्तिकै फतक्क ओइलाइ हाल्छिन्।

प्रकृतिको इन्द्रेणी र मान्छेको अनुहारको इन्द्रेणीमा एउटा समानता छ। यी दुवैले एकसाथ र एकै समयमा हुने विपरीत परिस्थितिको सम्मिश्रण बुझाउँछ। घाम र झरीको सम्मिश्रणले आकाशमा इन्द्रेणी छाउँछ, अनुहारमा छाउने इन्द्रेणीले मान्छेको अस्थिर मन झल्काउँछ। जहाँ त्रासका काला बादल पनि छाँट्टिएका हुन्नन्, आशाका झुल्का पनि पोखिन थालिसकेका हुन्छन्। यस्तै दोसाँधको बेला हो मान्छेको मन झस्याङ्ग गर्ने! घरि बर्खामा हुन्डरी मच्चेजस्तो महशुस गर्ने, घरि वसन्तमा मन्द बतास चलेजस्तो !

ट्रमा सेन्टरमा डेढ–दुई घन्टा कुराकानी गर्दा मलाई लाग्यो, रमिलाको मन पनि त्यसैगरी झस्याङ्ग गर्दैछ।

वैशाख १२, शनिबारको दिन पर घन्टाघरमा ११ बजेर ५६ मिनेट जाँदा हो, रमिलाको मन पहिलोपटक झस्याङ्ग गरेको। भुइँमा सल्बलाइरहेका वामपुड्का र कमिलाको ताँतीमा रमाइरहेकी रमिलालाई एक्कासि सिंगो आकाश डगमगाएजस्तो भयो। वेगले हावा चलेझैं लाग्यो। काग र चराहरूको कोलाहलले कानै खायो। आकाश चिरा परेझैं घटटटट, चरररर आवाज आयो।

सामुन्ने उभिएका सञ्जीवलाई पनि तिरिमिरी देखिन् उनले। यस्तो लाग्यो, धरहराको टुप्पोमा हैन, बाँसको लिंगोमा झुन्डिएका छन् उनीहरू र कसैले मुनिबाट जोडसँग बाँस हल्लाउँदैछ।रमिलाको एक हातमा मोबाइल र धरहरा चढ्न काटेको टिकट थियो। अर्को हातले धरहराको रेलिङ बेस्कन अँठ्याएकी थिइन्। मुठ्ठी जति कसे पनि रेलिङमा अडिन उनलाई सकस भइरहेको थियो। मुठ्ठीबाट बालुवा फुस्केझैं फलामको रेलिङ हातबाट खुस्कँदै गएझैं लाग्यो। एकछिन अघिसम्म आफूलाई उडिरहेको पन्छी ठानेकी रमिला पखेटा काटिएको पन्छीझैं फड्फडाइरहेकी थिइन्। कम्पन चर्कंदै थियो, उनको फड्फडाहट बढ्दै थियो। घरि हुर्रर दायाँ घचेटिन्थिन्, घरि बायाँ तानिन्थिन्। कहिले त्यहाँ भएका सबै एक डल्लो पर्न आइपुग्थे, कहिले चामलका दानाझैं छरिन्थे।

सञ्जीवले चिच्याउँदै भने, ‘भुइँमा बस भुइँमा। 'रमिला सञ्जीवले भनेजस्तै भुइँमा थुचुक्क बसिन्। दुवैका आँखा एकअर्कासँग ठोक्किइरहेका थिए। उनी सञ्जीवसम्म पुग्न चाहन्थिन्। सकिनन्। आँसुले भिजेका त्रसित आँखाले सञ्जीवलाई नियालिरहिन्। सञ्जीवको हालत उस्तै थियो। उनी रमिलाको अनुहारमा छट्पटीको भाव पढ्न सक्थे, तर चाहेर पनि साथ दिन सकिरहेका थिएनन्। उनी एक कदम अघि सर्दै रमिलाको हात च्याप्प समातेर भन्न चाहन्थे– नडराऊ रमिला, बाँचे सँगै बाचौंला, मरे सँगै मरौंला! तर, उनका पाइलै सरेनन्। चार पाउ टेकेर अगाडि बढ्न खोज्थे, कम्पनले अघि सर्नै दिएन। त्यहाँ डर थियो। त्रास थियो। मृत्युको भय थियो र उनीहरू दुई थिए। वरिपरिका चित्कार उनीहरूका कानमा बिस्तारै फिका हुँदै गए। उनीहरू केवल एकअर्कालाई हेरिरहेका थिए। मौन। निःशब्द। जब प्रेम असीमित हुन्छ, शब्द गौण बन्छ, आँखाले नै मनको गहिराइ नाप्न सक्छ।

रमिला र सञ्जीवलाई त्यतिबेला त्यस्तै भइरहेको थियो। एउटै मुद्रामा एकअर्कालाई हेरेर मूर्तिवत बसिरहेकै बेला रमिलालाई लाग्यो, धरहरामाथिको आकाश अझ माथि–माथि सर्दैछ। मानौं, बाँसको लिंगोमा झुन्डिएका उनीहरूलाई घिर्नीमा बेरेर कसैले तल झार्दैछ। बिस्तारै। हलुका–हलुकासँग।

एक छिन टुप्पोबाट खसेजस्तो मात्र भएको थियो, वेग थामियो। उनीहरू टक्क अडिए। कसैले च्याप्प रोकेजस्तो लाग्यो। भुर्रर उडिरहेको चरा रुखको हाँगोमा थकाइ मार्न बसेजस्तो। दायाँबायाँ कम्पन भने उस्तै थियो। सम्हालिन पाएकै थिएनन्, आकाश फेरि माथि उचालियो। भुइँतिर त हेर्नै सकेनन्। एक पल त यस्तो पनि लाग्यो, उनीहरू चराझैं बेतोडले खसिरहेका छन्। कहाँ? कसरी? मेलोमेसो केही छैन।

आकाश जतिजति उचालिँदै थियो, कोलाहल उति बढ्दै थियो। घटटटट, कटटटट, चररररजस्ता अनेक आवाज कानका जाली फुट्ने गरी सुनिन थालेका थिए। काग र चराको कोलाहल भने सुनिन छाडे। बरु मान्छेका कोलाहल मिसिन आइपुगे।
आकाशको गति कहिले थामिएजस्तो हुन्थ्यो, कहिले बढ्दै जान्थ्यो। दुवै एकछिन शून्यतामा हराए। कति सेकेन्ड? कति मिनेट? उनीहरूलाई पत्तो छैन। कताकता टाढा सुनिएको मसिनो कल्याङमल्याङले रमिला बौरिइन्। पिर्लिक्क आँखा उघारिन्। मुन्टो दायाँबायाँ घुमाइन्। चारैतिर बुङबुङती धुलो उडिरहेको थियो। उनी ढुंगा, माटोमाथि यस्तरी पसारिएकी थिइन्, जसरी साना केटाकेटी माटोमा लडिबुडी खेल्छन्।

उनले चाल पाइन्, अघि आकाश डगमगाएको भान त मनकम्पनले सिर्जना गरेको भ्रम रहेछ। खासमा आकाश हैन, धर्ती डगमगाएको रहेछ। उनले यो त्यसबेला चाल पाइन् जब सिंगो धरहरा भग्नावशेष बनिसकेको थियो। उनी धरहराको टुप्पोबाट सिधै फेदमा झरेर रक्ताम्मे पछारिएकी थिइन्। बेहोसीबाट बौरिनेबित्तिकै उनका आँखाले सबभन्दा पहिला सञ्जीवलाई खोज्यो। सञ्जीव उही ठाउँमा थिए। उनकै सामुन्ने। उनी पनि कति सेकेन्ड, कति मिनेटको शून्यतापछि बिस्तारै पिर्लिक्क आँखा उघारेर रमिलालाई नै नियालिरहेका थिए। रमिलाले देखिन्, सञ्जीव पूरै माटोमा पुरिएका छन्। उनको अनुहार रगतले रातो भएको छ। उनले आफ्नो अनुहार छामिन्। रगतले हात लुछुप्पै भिज्यो। बिस्तारै उठ्न खोजिन्। गोडा चलाउनै सकिनन्। देव्रे खुट्टा त चल्दै चलेन। जति बल लगाउँथिन्, पीडा उति तिखो भएर मुटु छेड्न आउँथ्यो। वरिपरि हेरिन्, मान्छेका अचेत शरीर छरिएका छन्। कसैका हातगोडा उछिट्टिएका। कोही रक्ताम्मे भएर घिसि्रँदै भग्नावशेषबाट बाहिर निस्कन खोजिरहेका।

एकछिन अघि धरहरामाथिबाट देखेजस्तै मान्छे, वामपुड्का, कीराजस्ता।उनको मन दोस्रोचोटि झस्याङ्ग गर्यो। उनले आमाबाबुलाई सम्झिइन्। बा, आमा भन्दै बेस्कन च्याँटि्ठइन र, बेस्कन रोइन्। ‘म रोएको सुनेरै होला, कोही हामीनजिक आएजस्तो लाग्यो,' इन्जेक्सन लगाउन आएकी नर्स फर्केपछि वैशाख १२ को घटना सम्झन थालेकी रमिलाले सुनाइन्, ‘पुलिस होजस्तो लाग्छ। उसले मलाई बोकेसम्म याद छ, त्यसपछि थाहा पाइनँ। 'होस आउँदा रमिला वीर अस्पताल, आकस्मिक कक्षबाहिर सडकपेटीमा थिइन्। सञ्जीवलाई पनि त्यहीँ देखिन् उनले, आफूजस्तै हालतमा।

त्यतिबेलासम्म उनलाई ठम्याउन मुस्किल भइरहेको थियो– उनीहरू जिउँदै छन् कि मरिसके। रमिलाको मन तेस्रोचोटि झस्याङ्ग गर्यो। ...

रामेछाप, सालुपोखरीकी रमिला श्रेष्ठ १७ वर्ष पुगिन्। उनी स्थानीय सेतीदेवी उच्च मा.वि मा कक्षा ९ पढ्छिन्। सञ्जीव श्रेष्ठको उमेर २० वर्ष हो। रामेछापकै भीरपानेका सञ्जीव आफ्ना दाइ–भाउजूसँग काठमाडौंको वसन्तपुरमा बस्छन्। ललितपुर, कृष्णगल्लीको न्यु तन्दुरी फास्टफुड रेस्टुरेन्टमा काम गर्छन् ।

सालुपोखरी र भीरपानेबीच झन्डै छ–सात कोस दुरी छ। उनीहरूको भेट भएको २०७० मंसिरमा हो। रमिलाको ठूलोबुबाकी छोरीको बिहेमा जन्त आएका थिए सञ्जीव। दुलाहा सञ्जीवका दाइ पर्छन्। बिहेकै क्रममा उनीहरूले पहिलोचोटि एक-अर्कालाई देखे। बोलीचाली भयोअनि उनीहरू नजिकिए। कन्यादानपछि रमिलाकी दिदीलाई लिएर सञ्जीव जन्तसँगै भीरपाने फर्किए। केही दिनमै काठमाडौं आए। त्यसपछि पनि उनीहरूको सम्बन्ध टुटेन। टेलिफोनमा नियमित कुराकानी भइरह्यो। ‘तिमी राम्ररी पढ्नु है?,' फरासिलो स्वभावका सञ्जीव रमिलालाई सधैं यस्तै भनेर सम्झाउँथे। जवाफमा रमिला भन्थिन्, ‘तिमी पनि आफ्नो ख्याल राख्नू!'

उनीहरूको यो मित्रताबारे रमिलाकी दिदी रमालाई जानकारी थियो। रमिलाले नै दिदीसँग मनको कुरा साटेकी थिइन्। उनकी दिदी बिहेपछि काठमाडौंमा बसोबास गरिरहेकी छन्, जडीबुटीमा। रमिलाका बुबा पनि काठमाडौंमै बस्छन्। कीर्तिपुरको एउटा भाँडापसलमा काम गर्ने उनको बसोबास बल्खुमा छ। यसपालि जाँच सकिएपछि रमिलाले काठमाडौं आउने निधो गरिन्। उनको तिनटा इच्छा थियो– बुबा र दिदीलाई भेट्ने, सञ्जीवसँग काठमाडौं घुम्ने र धरहरा चढ्ने। स्कुल पढ्दा धरहराबाट पूरै काठमाडौं उपत्यका देखिन्छ भन्ने उनले सुनेकी थिइन् र, मनमनै ठानेकी थिइन्, कुनै दिन त्यहाँ अवश्य पुग्छु।

काठमाडौं आएपछि उनले आफ्नो चाहना व्यक्त गरिन्। सञ्जीवले भने, ‘म लगिहाल्छु नि! 'यसबीच उनीहरू चिडियाखाना पुगे, स्वयम्भू गए, भृकुटीमण्डपको पार्क पनि घुमे। धरहरा चढ्ने साइत भने जुरेन। उनी हरेक दिन सञ्जीवलाई कचकच गरिरहेकी थिइन्, ‘हामी धरहरा कहिले चढ्ने? 'त्यस दिन सञ्जीवसँग घुम्ने योजना बनाएर घरबाट निस्केकी रमिला सुरुमै धरहरा चढ्न चाहन्थिन्। सञ्जीव भने ग्वार्कोको गुण सिनेमा हलमा फिल्म हेरेर अलि साँझतिर मात्र धरहरा जाऊँ भन्दै थिए तर, रमिला के मान्थिन्! आखिर उनकै जित भयो। उनीहरू लगभग साढे ११ बजेतिर टिकट काटेर धरहराभित्र छिरे। सिँढी चढ्न थालेदेखि नै रमिला यतिविधि उत्साहित थिइन्, त्यति साँघुरो र अग्लोअग्लो भर्याङमा पनि सञ्जीवलाई उछिनेर उक्लिरहेकी थिइन्। माथि चढ्दा प्वालजस्तो गोलो झ्याल ठाउँठाउँमा थिए।

रमिलाले प्रत्येकजसो झ्यालबाट चियाएर काठमाडौं हेरेकी थिइन्। उनीहरूले भर्यााङको बीचबीचमा उभिएर मोबाइलबाट थुप्रै फोटा पनि खिचेका थिए। धरहरासँगको स्मृति जोडिएका ती फोटाहरू मोबाइलको ग्यालरीमा गएर घरिघरि हेरेकी थिइन् रमिलाले र, खुब रमाएकी थिइन्।

११:५६ बजे चराहरूले कोलाहल मच्चाउँदा र आकाश टाढिँदै जाँदा पनि अन्तिम समयसम्म रमिलाले त्यो मोबाइल हातमा च्यापेरै राखेकी थिइन्, धरहराको टिकटसँगै। अहिले उनीसँग न मोबाइल छ न ती फोटाहरू छन्। धरहराको भग्नावशेषमा कतै पुरिएको उनको मोबाइलसँगै धरहरा स्मृति पनि दबिएको छ। ‘केही छैन,' उनी भन्छिन्, ‘त्यो सम्झना यति भयानक रह्यो, फोटै नहेरे पनि म एक–एक क्षण कहिल्यै बिर्सन्न होला। 'हुन पनि त्यस दिनदेखि उनको मन घरिघरि झस्याङ्ग जो गरिरहेछ! मनै झस्याङ्ग पार्ने सम्झना मान्छेले चाहेर पनि कहाँ बिर्सन सक्छ र!...

रमिला र सञ्जीवको मित्रताबारे रमाबाहेक अर्को एक जना व्यक्तिलाई पनि जानकारी थियो– रमिलाकी आमा भलाकुमारी। गत जेठमा रमिलाकी एक जना मिल्ने साथीले विष खाएर आत्महत्या गरिछन्। त्यो शोकमा रमिला मुर्छा परिछन्। सञ्जीवले सन्चो–बिसन्चो सोध्न फोन गरेपछि भलाकुमारीलाई उनीहरूको मित्रताबारे थाहा भएको रहेछ। थाहा पाउनेबित्तिकै उनले छोरीलाई खुब गाली गरिछन्। यो घटनापछि भने भलाकुमारीलाई लाग्न थालेको छ– ‘उनीहरूको जोडी भगवानले नै जुराइदिएको हो।' ‘अब गाली गरेर के गर्नु, छोरीले मन पराएपछि,' उनले भनिन्, ‘भगवानको पनि यही इच्छा रहेछ, त्यही भएर त यत्रो दुर्घटनामा पनि उनीहरू दुवैलाई सकुशल राखेर चमत्कार देखाए।'

भलाकुमारी अहिले रामेछापमै छिन्। छोरी दुर्घटनामा परेको सुन्ने बित्तिकै उनी मुर्छा परिन्। दिनहुँ फोनमा कुराकानी भइरहन्छ। तर, यहाँ आउन पाएकी छैनन्। ‘गाउँमा घर ढलेर परिवारको बिचल्ली छ, तीन जना नानीहरू छन्,' उनले भनिन्, ‘हामी त सबै घरबाहिरै बसिरहेका छौं। अब केही दिनमै छोरी डिस्चार्ज भएर यतै आउँछिन्।'
शुक्रबार साँझ फोन गर्दा भलाकुमारी दिवाली पूजाको तयारीमा थिइन्। ‘यत्रो विपदमा छोरीको हात थापिदिएपछि दिवाली पूजा त गर्नैपऱ्यो,' उनले भनिन्।

उता, सञ्जीवसँग पनि अस्पतालमा भेट हुन सकेन। हामी पुग्दा उनी डिस्चार्ज भएर रामेछाप फर्किसकेका रहेछन्। मैले रमिलासँग सञ्जीवको फोन नम्बर मागेँ। मैले डायरीमा नम्बर टिपेपछि रमिलाले पुलुक्क हेरिन्। अनि मेरो हातबाट डायरी फुत्त तानेर नम्बर सच्याइदिइन्। एउटा अंक गल्ती भएको रहेछ। मैले अस्पतालबाटै फोन गरेर दुई जनाबीच कुराकानी गराउन खोजेको थिएँ। लाइनै लागेन। नेटवर्क व्यस्त भन्ने सन्देश आइरह्यो। ‘बेलुका फोन गर्छु,' मैले भनेँ, ‘तिम्रो केही सन्देश छ, म सुनाइदिन्छु।' ‘केही छैन,' उनी लजाइन्। ‘केही नभए पनि म रमिलाले खुब सम्झिरहेकी छन्, तिमी आफ्नो घाउको ख्याल राख्नु धेरै हिँडडुल नगर्नू भनेको छ भन्दिन्छु है?' मैले उनको मन चोर्न खोजे। उनले टाउको हल्लाउँदै भनिन्, ‘हुन्छ।'

बिहीबार दिनभरि सञ्जीवको फोन लागेन। शुक्रबार दिनभरि पनि लागेन। बेलुकी बल्लतल्ल कुराकानी भयो। मैले भैंचालोको त्यो क्षणबारे उनीसँग फेरि केही सोधखोज गरेँ। र, अन्तिममा रमिलाको सन्देश सुनाइदिएँ। अनि सोधेँ, ‘तिम्रो केही भन्नु छ?' ‘मेरो पनि खुब सम्झना सुनाइदिनू,' उनले भने, ‘तिमी राम्ररी बिसेक हौ है रमिला। तिम्रो आँखाको घाउ कस्तो भयो? अझै दुख्छ कि दुख्दैन? खुट्टा कस्तो छ? टेक्न मिल्छ कि मिल्दैन? तिमी मेरो चिन्ता नलिनु, म ठिक छु, आफ्नो ख्याल राख्नु। म एक–दुई दिनमै काठमाडौं आउँछु, अनि भेटौंला। तिमी राम्ररी बिसेक भएर डिस्चार्ज हौ, अनि ...'उनले त्यसपछि बोल्न सकेनन्।

विपदमै त हो सम्बन्ध गाढा हुने!

सम्झेँ, हिजो रमिलालाई भेटेर फर्किंदै गर्दा टुँडिखेलमा ज्याकरान्डा उसैगरी फक्रेका थिए।
मेरो मन खुसीले रोमाञ्चित भयो।

Tuesday, June 02, 2015

मैले देखेको दरबार हत्याकाण्ड :विवेक शाह

त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडिसी अफिसमा फोन गरेँ । एडिसी सुन्दरप्रताप रानासँग कुरा भयो । ‘आज अरु केही काम छ कि ?’ भनेर सोधेँ । जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारीबारे हामीबिच केही बेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यवस्थापनबारे हुकुम भएको छ, त्यो सवारी वाहेक अरु केही कुरा छ ?’ भनेर मैले सोधेँ । सुन्दर कर्साबले ‘आज खासै अरु केही छैन, सरकारको दर्शनभेट छ, संवाद सचिवले दर्शनभेट गराउँदै हुनुहुन्छ’ भन्नुभयो ।

शुक्रबार साँझ संवाद सचिव मोहनबहादुर पाण्डेले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमाललाई वीरेन्द्र सरकारसँग दर्शनभेटको समय मिलाउनुभएको थियो । अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरूज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरु करिब ४५ मिनेट राज भएको थियो । त्यहाँ युवराजाधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजाधिराज त्यहाँ एक शब्द पनि बोलिबक्सेन । साँझ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरु सबै सचिवहरु जाने भन्ने उर्दी थियो ।

६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्केँ । शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रूम थियो । त्यहीँ गएर ड्रेस चेन्ज गरेँ । त्यही बेला मैले साथी डा. दुमन थापालाई फोन गरेँ । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नयाँबजारमा । डा. दुमन र म भेटियौँ ।
ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नयाँबजारस्थित साथीको घर गयौँ । हामी त्यहाँ पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौँ । त्यस्तै ९ बजेर १५/१६ मिनेट गएको थियो, मेरो मोबाइल बज्यो ।

घरबाट गीता (श्रीमती ले फोन गरेकी रहिछन् । निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहाँ हो ? महेन्द्र मन्जिल एडिसी अफिसबाट फोन आएको थियो ।’ मलाई अचम्म लाग्यो । महेन्द्र मन्जिल एडिसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडिसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजाधिराजको । मैले तुरून्तै महेन्द्र मन्जिल एडिसी अफिसमा फोन गरेँ । ‘त्यहाँबाट मलाई फोन गरेको हो ?’ भनेर सोधेँ ।
‘होइन’ भन्ने जवाफ आयो । ड्युटीमा एक जना लप्टन थिए । उनले ‘उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि ?’ भने । यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौं तरङ्गहरु जन्मायो ।
मैले तुरून्तै अन्नपूर्ण एडिसी अफिसमा फोन गरेँ । त्यहाँ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने लाग्यो । तुरून्तै म ‘राजदरबार जान्छु’ भनेर निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौं, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइपर्यो, तपाईं तुरून्तै सैनिक अस्पताल आउनुपर्यो ।’

त्यति बेला हामी सोह्रखुट्टे आइसकेका थियौँ । त्यहीँबाट हामी तुरून्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौँ । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाँको स्वर पनि निकै आत्तिएको र हताश थियो ।
‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईंलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । मैले ‘सर, मलाई तुरून्तै वीरेन्द्र अस्पताल आउनू भन्ने खबर आएको छ’ भनेर फोन राखिदिएँ ।
९ बजेर ३५/३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधान सेनापति प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडिसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिएँ, उहाँसँग जम्काभेट भयो ।
त्यहीँ टीका धमला जर्साबसँग पनि भेट भयो । उहाँहरु दुवैले ‘सर, खत्तम भयो, खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारूणिक दृश्य देख्नुपर्यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य ।
जता हेर्यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीरहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसुफमा कहीँकतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिअलि मात्र तातो बाँकी थियो ।
सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरेँ । त्यसपछि मैले सुन्दर कर्साबसँग कुरा गरेँ । उहाँले घटनाको बेलीविस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार दर्शनभेटको कार्यक्रम सकेर आफ्नो कार्यालयबाट त्रिभुवन सदन सवारी होइबक्स्यो ।

सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रूममा थियौँ । भित्र पार्टी भइरहेको थियो । सरकारहरु सबै सवारी होइबक्सेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकाले सदाझैं हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौं । शान्त थियो
वातावरण । कहीँकतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो ।

युवराजाधिराजबाट सुट भएछ । हामी ढोका फोरेर भित्र छिर्यौं । भित्र राजदरबार हत्याका छिर्दा त सबै जना भुइँमा ढलेको दृश्य मात्र देखियो । वीरेन्द्र सरकार पनि रक्ताम्मे अवस्थामा भुइँमा ढलिबक्सेको थियो । तत्काल हामीले स्थितिलाई नियन्त्रण गर्ने कोशिस त गर्यौं, तर नहुनु भइसकेको थियो । गोली लागेका सबैलाई कहाँ लैजाने लैजाने भयो ।

हामीले सैनिक अस्पतालमै उपयुक्त हुन्छ भनेर यहाँ ल्यायौँ । त्यस्तो बेला कोही–कसैसँग सल्लाह गर्ने कुरा पनि भएन । त्यो अवस्थामा तत्काल जे मनमा आयो, हतार–हतारमा हामीले त्यही गर्यौं । जर्साब, अब के गर्ने ?’ मैले सबैभन्दा पहिले पाएको जानकारी यही थियो । कस्तो पङ्खयाउनै गार्हो ! घटनास्थलमा रहेका सुन्दर कर्साबसहित अन्य एडिसी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार वीरेन्द्र सरकार रात्रिभोजमा सवारी हुनासाथ युवराजाधिराज रक्सी लागेको बहाना पार्दै भुइँमा ढलिबक्सेछ । त्यहाँ उपस्थित सबैलाई युवराजाधिराज नशाले ढलेको भान भयो ।

युवराजाधिराज ढलेपछि सरकारलाई अधिराजकुमार निराजन शाह पारस, कुमार गोरख र डा. राजीव शाहीद्वारा त्रिभुवन सदनभित्रकै खोपीमा लगिएछ । त्यही बेला दीपेन्द्र सरकारको कम्मरमा रहेको पेस्तोल झिक्न खोजियो । नशाले अचेत भए पनि युवराजाधिराजले उक्त पेस्तोल झिक्न दिइबक्सेनछ । युवराजाधिराजलाई खोपीमा सुताएर चारै जना पार्टी स्थल फर्कनुभयो । खोपीमा युवराजाधिराजसँग भएका हतियार सधैं क्याबिनेटमा हुन्थे ।
तर त्यो दिन बाहिरै थिए रे । महाराजाधिराज पार्टी स्थलमा सवारी भएपछि पार्टी चलिरह्यो । पार्टी स्थलमा सवारी होइबक्सेर सबैभन्दा पहिले वीरेन्द्र सरकारले मुमा बडामहारानीसँग कुरा गरिबक्सेको रहेछ ।

त्यसपछि सरकार बिलियार्ड रूममा सवारी होइबक्सेछ । शाही रनर र नानी (द्वारे जमुना का अनुसार अधिराजकुमार नीराजनसहित शाही नातेदारहरु खोपीबाट फर्केपछि दीपेन्द्र सरकारले कम्ब्याट ड्रेस लगाइबक्सेछ ।
र्याम्बो र टर्मिनेटर सिनेमाका नायकले बोकेको जस्तो गरी युवराजाधिराज दीपेन्द्रले चार वटा बन्दुक (एमपी–५ सब मेसिनगन, एम–१६ एटु कमान्डो राइफल, अटोमेटिक १२ बोर गन र पेस्तोल भिरिबक्सेछ । यसपछि पार्टी भइरहेको बिलियार्ड बैठकमा सवारी भएर सर्वप्रथम एक राउन्ड सिलिङमा फायर गरेर सबैको ध्यान आकर्षण गरिबक्सेछ ।

त्यसपछि बिलियार्ड टेबलअगाडि राज होइबक्सेका आफ्ना बुबा महाराजाधिराजलाई पहिलो राउन्ड गोली हानिबक्सेछ । गोली लागेर भुइँमा ढलेपछि वीरेन्द्र सरकारबाट आफ्नो साथमा रहेको पेस्तोल झिक्न खोजिबक्सेको रहेछ ।
यसै क्रममा धीरेन्द्र शाहले दीपेन्द्रको बन्दुक खोस्न खोज्दा दीपेन्द्र सरकारबाट वीरेन्द्र सरकारलाई पुनः र अन्य सहभागीलाई पनि एमपी–५ सब मेसिनगनबाट अटोमेटिक फायर गरेर निसाना साधिबक्सेछ । यसपछि त्यहाँ कोलाहलको अवस्था सिर्जना भएछ । त्यहाँ जोजो उठे, सबै युवराजाधिराजको बन्दुकको गोलीको निसाना बनेछन् । त्यहाँबाट युवराजाधिराज बगैंचातिर सवारी भएछ ।

रात्रिभोजमा सहभागी प्रत्यक्षदर्शीका अनुसार त्यसै अवस्थामा गाली गर्दै बडामहारानीबाट युवराजाधिराजलाई पछ्याइबक्सेको रहेछ । त्यति बेला युवराजाधिराजले बडामहारानीलाई अगाडि नबढ्न चेतावनी समेत दिइबक्सेको रहेछ ।
तर बडामहारानीले पूरै आक्रोशमा आएर युवराजाधिराजको हतियार खोसेर दीपेन्द्र सरकारलाई नै गोली हान्न खोजिबक्सेको रहेछ । सुत्ने कोठा (खोपी सम्म पुग्न लाग्दा पनि बडामहारानीले पछ्याइरहेपछि युवराजाधिराजले आफ्नो खोपीबाहिर रहेको भर्याङको शिरबाट, बडामहारानी भर्याङमा उक्लदै गर्दा एमपी–५ सब मेसिनगनबाट अटोमेटिक ब्रस्ट फायर गरिबक्सेछ ।
आधा टाउको गोलीले उडाएपछि बडामहारानी भर्याङबाट भुइँमा लडिबक्सेछ । यही समय निराजन सरकार बडामहारानीलाई पछ्याउँदै बङ्गलानजिक पुगिबक्सेको रहेछ । त्यही बेला युवराजाधिराजको आखिरी निसानामा निराजन सरकार समेत परिबक्सेछ ।
यस बेलासम्म दीपेन्द्र सरकारको हातमा रहेको एमपी–५ सब मेसिनगनको म्यागजिनमा गोली सकिएको थियो । साथै एम–१६ एटु कमान्डो राइफलको पनि म्यागजिनमा गोली समाप्त भएको थियो । त्यसपछि युवराजाधिराजमा ‘सिक्थ सेन्स’ आएको हुनुपर्छ ।

साधारणतया यस किसिमका हत्याराहरु अरु सबै सकिएपछि अन्त्यमा आफैले आफैँलाई सुट गर्ने मनोवैज्ञानिक स्थितिमा पुगेका हुन्छन् । अब सबै समाप्त भयो, मेरो पनि बाँच्ने केही आधार छैन भन्ने विचार गरेर होला, युवराजाधिराजले आफ्नो बायाँतर्फ वेप बेल्टमा रहेको पेस्तोल निकाली बायाँ हातले
बाया“ कन्चटमा एक गोली हिर्काएर आफू त्यसैबाट ढलेको देखिन्छ ।
मौसुफको दाहिने हातमा एमपी–५ बन्दुक थियो, गोली सकिएको अवस्थामा । उद्धारका क्रममा दीपेन्द्र सरकारको बायाँ हातमा रहेको पेस्तोल छेउकै पोखरीमा खसेको थियो ।
अन्य हतियारहरु सुरक्षाकर्मीले सरकारको शरीरबाट निकालेर यत्रतत्र फालिएको अवस्थामा थिए । यस्तो अवस्था भएपछि ड्युटीमा रहेका एडीसी र अन्य सुरक्षाकर्मी मिलेर सबै घाइतेहरुलाई उठाउँदै वीरेन्द्र सैनिक अस्पताल लगेका रहेछन् । त्यस क्रममा सबैभन्दा अन्त्यमा बडामहारानीलाई फेला पारिएको रहेछ ।

युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल र धीरेन्द्र शाहलाई अपरेसन थिएटरमा राखिएको थियो । त्यो सबै दृश्य देखेपछि अब के गर्ने होला भनेर मेरो मनमा अनेक कुरा आउन थाले । मैले सोचेँ, अब आत्तिएर हुन्न । त्यसपछि डाक्टरहरुसँग कुरा गरेँ । बाहिरबाट डाक्टर झिकाउन पहल भइरहेको थियो । मैले पनि चाँडो गर्न सुझाव दिएँ । डा. गोविन्द शर्मा, डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइरालालाई बोलाउने कोशिस भइरहेको रहेछ ।

कोही आइसक्नुभएको थियो । डा. राजीव शाहीले विभिन्न डाक्टरलाई सैनिक अस्पतालमा आउन अनुरोध गरिरहनुभएको थियो । उहाँ पनि घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो । मैले बाहिर आएर प्रधान सेनापतिसँग कुरा गरेँ, ‘अब के गर्ने’ भनेर । हामी दुईले सल्लाह गर्यौं, सेनालाई स्ट्यान्डबाई ड्युटीमा राख्ने । सशस्त्र प्रहरी र प्रहरीलाई समेत आ–आफ्नो ड्युटीमा स्ट्यान्डबाई राख्ने कुरा तय भयो ।
शाही जङ्गी अड्डास्थित सैनिक अपरेसन (डीएमओ खोल्नुपर्छ भन्ने सल्लाह भयो । त्यस अनुसार चिफसाबले त्यहीँबाट डीएमओ सहायक रथी प्रदीपप्रताप बम मल्ल र युद्धकार्य महाशाखा प्रमुख महासेनानी दिलीप रायमाझीलाई खबर गर्नुभयो । सबैलाई आफ्नो जिम्मेवारीमा तैनाथ रहन आदेश गर्यौं ।

यही बेला दीपेन्द्र सरकारका एडीसी राजु कार्कीले पोखरामा अधिराजकुमार ज्ञानेन्द्र सरकारसँग सम्पर्क गरिरहनुभएको थियो । मोबाइलमा उहाँले नै सरकारलाई घटनाबारे पहिलो जाहेरी गर्नुभएको थियो । सरकारको काठमाडौं सवारीका लागि हेलिकप्टर पठाउने तयारी गरियो ।

काठमाडौं एयरपोर्ट र पोखरा एयरपोर्टमा सेना परिचालन गरियो, रात्रि हवाई अवतरणका लागि । मेरो मनमा भने विभिन्न शङ्का–उपशङ्काका साथै कसरी समस्यासँग जुध्ने भनेर अनेक तरङ्ग उब्जिरहेका थिए । सबै जना धेरै आत्तिएर दौडधूप गरिरहेको देखिरहेको थिएँ । तर त्यसले मात्र समस्याको समाधान नहुने थियो । अब समस्यालाई कसरी पार लगाउने भनेर एकदमै सोचेँ ।
तर केही उपाय पनि देखिरहेको थिइनँ । त्यस बेला मेरो मनले के भन्यो भने– यहाँ यताउता गरेर मात्र हुँदैन, एउटा निश्चित योजनाका साथ अघि बढ्यो भने मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ ।

यसैबीच सरकारहरुको हत्या भएको समाचार हावासरि फैलिन थाल्यो । मलाई चिन्ने विभिन्न साथीभाइ, नाता–सम्बन्ध सबैतिरबाट फोन आउन थाल्यो । क्षणक्षणमा म प्रधान सेनापतिसँग छलफल गरिरहेको थिएँ । यसैबीच मैले वरिष्ठ जर्साबहरु, गृहसचिव, दुवै प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई फोन गरेँ । सबैलाई एउटै कुरा भनेँ, ‘दरबारमा ज्यादै संवेदनशील घटना घटेको छ । तपाईंहरु सबै आ–आफ्नो कार्यालयमा स्ट्यान्डबाई ड्युटीमा बस्नुहोला । आफू अन्तर्गतका सबै युनिटलाई समेत स्ट्यान्डबाई राख्नुहोला ।’ सेनाको बलाध्यक्ष रथी दुर्गानाथ अर्याल र बलाधिकृत रथी प्यारजङ्ग थापा हुनुहुन्थ्यो । त्यही बेला बलाधिकृत थापाको फोन आयो । उहाँलाई पनि मैले त्यही भनें ।

राजदरबारको एडिसी अफिसमा फोन गरेर मैले सबै सचिवलाई तुरून्त बोलाएर सचिवालयहरु खोल्न भनेँ । मङ्गल सदन खोल्न भनेँ । मेरो सचिवालयमा कार्यरत प्रमुख सेनानी कुमार बुढाथोकीलाई फोन गरेर कार्यालय खोलेर बस्न भनेँ । साढे १० जति बज्दा हेलिकप्टर उडेको आवाज सुनियो । त्यो हेलिकप्टर पोखराका लागि उडेको थियो । तर केही बेरमै खराब मौसमका कारण पोखरा जान नसकेको खबर आयो । हामीलाई राति एभ्रो उड्न सक्छ भन्ने होस भएन । हामी खालि हेलिकप्टरको पछि लाग्यौं ।

त्यसपछि म दरबार गएँ । सिभिल लुगामा भएकाले अफिस पुगेर युनिफर्म लगाएँ । त्यतिन्जेल प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदनप्रसाद पोखरेल, सचिव सागरप्रसाद तिमिल्सिना, संवाद सचिव मोहनबहादुर पाण्डे, प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधान आइसक्नुभएको थियो । हामी महाराजाधिराज सरकारको कार्यालय मङ्गल सदनको मिटिङ हलमा जम्मा भयौं ।

मैले सबै सचिवलाई त्यति बेलासम्म थाहा पाएको सबै वृत्तान्त जानकारी गराएँ । मेरो ख्यालमा त्यो बेलासम्म उहाँहरुलाई खासै जानकारी थिएन । एकदमै चाँडो–चाँडो हामीले के गर्ने भनेर निधो गर्नुपर्ने थियो । मैले नै प्रधानमन्त्रीलाई खबर गरेर यहाँ बोलाऔं कि बालुवाटार नै जाऔं भनेर कुरा राखें । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पशुपतिभक्त महर्जनले फोन गरेर ‘एकदमै जरुरी भएकाले म भेट्न आउँछु’ भन्नुभयो । उहाँले बोलाएपछि प्रमुख सचिव प्रधानमन्त्री निवास, बालुवाटार जानुभयो ।

प्रधानमन्त्रीलाई यो कुराको अनौपचारिक जानकारी चाहिँ भइसकेको रहेछ । प्रधानमन्त्री र प्रमुख सचिव केही बेरमै राजदरबार आइपुग्नुभयो । साढे ११ बजिसकेको थियो । मैले नै प्रधानमन्त्रीलाई अहिलेसम्मका सबै
घटना जानकारी गराएँ ।

प्रधानमन्त्री र हामी सचिवहरुले मङ्गल सदनमै छोटो छलफल गर्यौ“ । प्रधानमन्त्रीले ‘यस्तो आपत्मा के गर्ने तपाईंहरु योजना बनाउनुस्, त्यस अनुसार श्री ५ को सरकारले आवश्यक सबै व्यवस्था मिलाउनेछ, बरू हामी सैनिक अस्पताल जाऔ“, त्यही“ बसेर सबै विषयमा छलफल गरौंला’ भन्नुभयो । उहाँको भनाइमा हामी सहमत भयौ“ र सबै जना अस्पताल पुग्यौं ।

त्यहाँको कारूणिक दृश्य देखेर प्रधानमन्त्री निकै भावविह्वल हुनुभयो । एक छिन त केही बोल्नै सक्नुभएन । त्यसपछि प्रधानमन्त्रीले मुमा बडामहारानी सरकारको दर्शन गर्नुभयो र डाक्टरहरुसँग कुरा गर्नुभयो । के गर्ने कसो गर्ने भनेर उच्च चासो दिनुभयो । हरेक विषयमा प्रधानमन्त्रीले अग्रसरता लिन थाल्नुभयो । त्यति वृद्ध मान्छेको फुर्ती देखेर हामीमा पनि होस र जोस आयो । उहाँ कत्ति
पनि आत्तिनुभएको देखिएन । घटनाले भावविह्वल हुनु त स्वाभाविक नै थियो ।

हामीले दरबारबाटै प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समिति सभापति डा. केशरजङ्ग रायमाझी र प्रमुख विपक्षी दलका नेता तथा नेकपा एमाले महासचिव माधवकुमार नेपाललाई खबर गरेका थियौं । डा. रायमाझी सैनिक अस्पताल पुगिसक्नुभएको रहेछ । दरबारबाटै उपप्रधानमन्त्री रामचन्द्र पौडेल र अन्य मन्त्रीलाई पनि घटनाबारे जानकारी गराइएको थियो ।

घटनास्थलको निरीक्षणपछि प्रधानमन्त्रीले ‘अधिराजकुमार ज्ञानेन्द्र कहाँ होइबक्सन्छ ? भनेर सोध्नुभयो । ज्ञानेन्द्र सरकार पोखरा भएको जानकारी गराएपछि उहाँले ‘सबैभन्दा पहिले सरकारलाई काठमाडौं ल्याउनुपऱ्यो, त्यसपछि के गर्ने भनेर सल्लाह गरौंला’ भन्नुभयो । उहाँले सुरक्षा प्रबन्ध राम्रोसँग मिलाउन पनि सबैलाई निर्देशन दिनुभयो । यसैबीच सैनिक अस्पतालको माथिको अतिथि कक्ष, कार्यालय, बैठक कक्ष सबै खोलियो । प्रधानमन्त्री रातैभर अस्पतालमा बस्नुभयो । मुलुकमै समस्या आइपरेका बेला प्रधानमन्त्री
अग्रसर नहुने प्रश्नै थिएन । उहाँ अस्पताल आएर बसेपछि काम गर्न धेरै सहज भयो ।

प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, एमाले महासचिव नेपाल आइसकेपछि प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझीसहित उहाँहरु सबै एउटै कोठामा बसेर घटनाबारे छलफल गर्दै अब कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्न थाल्नुभयो । प्रधानमन्त्री कोइराला क्षण–क्षणमा सोधिरहनुभएको थियो, ज्ञानेन्द्र सरकारको सवारी कति बेला हुन्छ भनेर । काठमाडौंबाट हेलिकप्टर उड्ने क्रम जारी थियो । तर धेरै प्रयास गर्दा पनि काठमाडौ“ र पोखराबीचको खराब मौसमका कारण हेलिकप्टर पोखरा
पुग्नै सकेन । ज्ञानेन्द्र सरकारलाई जसरी भए पनि काठमाडौं ल्याउनैपरेको थियो ।
‘अब हेलिकप्टरबाट सम्भव छैन, त्यतातिर नलागौं, मोटरबाटै सवारीको प्रबन्ध गरौं’ भनेर आफैले पोखरा फोन गरेर ज्ञानेन्द्र सरकारसँग कुरा गरेँ । सरकारलाई काठमाडौंको सबै स्थितिबारे जानकारी भइरहेकै थियो । मैले ‘हेलिकप्टर आउन सकेन, मोटरबाटै सवारी चलाउनुपर्ला, सुरक्षाको प्रबन्ध गरौं ?’ भनेर जाहेर गरेँ । त्यसपछि ३ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रकाशबहादुर बस्नेतलाई फोन गरेर ‘प्रहरी र सेनाको राम्रो सुरक्षा स्कर्टिङ सहित ज्ञानेन्द्र सरकारको काठमाडौंका लागि सवारी चलाउनू’ भनी अह्राएँ । यसरी रातको साढे २ बजे मोटरमा पोखराबाट काठमाडौंका लागि सरकारको प्रस्थान भयो । हामीले काठमाडौंबाट गजुरीसम्म हेलिकप्टर पठायौं ।

ज्ञानेन्द्र सरकारको पोखरा कार्यक्रमबारे हामीलाई केही थाहा थिएन । वीरेन्द्र सरकारलाई थाहा थियो होला । सरकारहरु कहीँकतै जाँदा वीरेन्द्र सरकारलाई सोधेर जाने चलन थियो । ज्ञानेन्द्र सरकार साता दिनअघि मात्र चितवन गइबक्सेको थियो भन्ने सुनेको थिएँ । सायद चितवनबाटै पोखरा सवारी होइबक्सेको थियो । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष होइबक्सेकाले सरकार कोषका कार्यक्रममा सरिक हुन चितवन र पोखरा सवारी भएको हुनुपर्छ ।

सरकारका साथमा प्रभुशमशेर जबरा र वीरेन्द्रबहादुर शाह (लव राजा पनि हुनुहुन्छ भन्ने सुनेँ । सरकार पोखराको रत्न मन्दिरनजिकै रहेको हिमा गृहमा राज होइबक्सेको रहेछ । अधिराजकुमार हिमालयले निर्माण गरेको बङ्गला भएकाले यसको नाम हिमा गृह राखिएको थियो । अधिराजकुमार हिमालयको निधनपछि अहिले यो बङ्गला ज्ञानेन्द्र सरकारको नाममा सरेको हो ।

राति ३ बजे म एक पटक पुनः दरबार गएँ । सरकारका एडीसीहरु र सैनिक प्रहरीका अधिकृतहरु गएर घटना घटेको त्रिभुवन सदनमा हेर्यौँ । बिलियार्ड बैठकको सिसाको ढोका फुटेको थियो । घटनापछि भित्र जाने क्रममा एडीसीहरुले फुटाएका रहेछन् । गोलीका खोका यत्रतत्र छरिएका थिए । वीरेन्द्र सरकारको चस्मा र टोपी त्यहीँ देखें । कैयौंको हाते ब्याग र अन्य ससाना सामान छरपस्ट थिए । जताततै रगतैरगत । कोठामा पङ्खा र एसी चलिरहेको थियो, बत्ती बलिरहेको थियो । त्यो दृष्यले मलाई स्तब्ध बनायो । मैले सेन्ट्री थप्न लगाएँ । ‘कसैलाई पनि भित्र पस्न नदिनू, जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन दिनू’ भनेर म फेरि अस्पताल आएँ ।

हामी अस्पताल फर्कंदा वीरेन्द्र सरकार सहित अन्य सरकारहरुको स्वास्थ्यमा केही सुधार होला कि भन्ने आशा मारिसकिएको रहेछ । वास्तवमा अस्पताल पुर्याउनुअघि नै बाटोमा वीरेन्द्र सरकारको मृत्यु भइसकेको रहेछ ।
नयाँ राजा घोषणा नगरेसम्म महाराजाधिराजको मृत्युको घोषणा गर्न नमिल्ने राजपरम्परा रहिआएको छ । त्यसैले अब के गर्ने भनेर हामी छलफलमा बस्यौं । सरकारको मृत्युको घोषणा कसरी गर्ने र कसलाई कसरी नयाँ राजा बनाउने भन्ने कुरा बहुतै कठिन र जटिल थियो । त्यस अवस्थामा प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी, सभामुख रानाभाट, एमाले महासचिवले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । राजदरबारका सबै सचिवहरु सक्रिय हुनुभयो । त्यहाँ प्रधानमन्त्री सहितको बैठक पटक–पटक बस्यो ।

बिहान राजपरिषद्को बैठक बोलाउने निधो भयो । बैठकमा महान्यायाधिवक्तालाई पनि बोलाउने तय भयो । बिहान ६ बजे हेलिकप्टर सैनिक अस्पतालमा अवतरण गर्यो । प्रधानमन्त्री कोइराला, राजपरिषद्का सभापति डा. रायमाझी, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन र एमाले महासचिव नेपाल हेलिप्याडसम्म ज्ञानेन्द्र सरकारलाई लिन जानुभयो । प्रधान सेनापति र राजदरबारका हामी सचिवहरु पनि हेलिप्याडसम्मै गयौं ।

ज्ञानेन्द्र सरकार अस्पतालमा माथि सवारी भयो । ट्रमा सेन्टरमा सबैभन्दा पहिले राजा वीरेन्द्रको शव थियो । त्यसपछि रानी ऐश्वर्यको । अन्य शवहरु त्यही छोपेर राखिएका थिए । अपरेसन थिएटरमा युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल, कुमार गोरख, केतकी चेस्टर र अधिराजकुमारी शोभाको अपरेसन भइरहेको थियो । अपरेसन थिएटरको कमी भएकाले डाक्टरहरुले अस्पतालको ड्रेसिङ रूममै पनि अपरेसन गरिरहनुभएको थियो ।

त्यो दिन डाक्टरहरुले ठुलै जोखिम मोलेर र साहसका साथ राम्रो काम गर्नुभयो । ज्ञानेन्द्र सरकारले अस्पतालको सबै दृश्य हेरेपछि प्रधानमन्त्री, राजपरिषद्का सभापति र प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग कुरा गरिबक्स्यो । सरकारको अनुहार मार्मिक र शोकविह्वल देखिन्थ्यो ।

सरकारको सवारीपछि सैनिक अस्पतालको पुस्तकालय हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो ।

हामी सचिवहरु पनि सहभागी भयौं । बैठकमा राजपरिषद्को बैठक बसेर त्यसले नयाँ राजा घोषणा गर्ने तय भयो र यस घटनाको जाँचबुझ गर्नेबारे छलफल भयो । सरकारबाट घटना सम्बन्धी सबै छानबिन प्रक्रिया कानुन बमोजिम नै गर्न हुकुम भयो । साथै यस घटनामा मृत्यु भएका सबैको पोस्टमार्टम गर्न समेत निर्देशन बक्स्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो ।

मलाई के सम्झना छ भने, ‘यत्रो घटना घट्यो, अब यसको निष्पक्ष छानबिन हुनुपर्छ’ भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिनुभएको थियो । सुरूमा न्याय क्षेत्रका व्यक्ति मात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो । तर महासचिव नेपालले नै ‘होइन, पार्टीका वरिष्ठ नेताहरु र विपक्षीका नेता समेत बसेर आयोग गठन गरौं’ भनेर प्रस्ताव गर्नुभयो ।

साथै उहाँले ‘यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधान न्यायाधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख विपक्षी दलको नेताका रुपमा मलाई समेत राख्नुहोस्’ भनी प्रस्ताव गर्नुभयो । बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘आयोगमा म छुटुँला नि !’ भनिरहनुभएको थियो । वास्तवमा उहाँको प्रस्ताव र तर्क सही पनि थियो । उहाँकै प्रस्तावलाई प्रधानमन्त्रीले समर्थन जनाउनुभएको हो । त्यही प्रस्ताव अनुसार प्रधान न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निधो भएको हो ।

राजपरिषद्को बैठकपछि दीपेन्द्र सरकारलाई नयाँ राजा घोषणा गरियो । वीरेन्द्र सरकारको मृत्युको घोषणा समेत भयो । राजपरिषद्को बैठकद्वारा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक बनाउने निर्णय भयो । शनिबार दिउँसो स्वर्गीय राजाको शव दाहसंस्कारका लागि आर्यघाट लैजानुपूर्व अस्पतालको प्राङ्गणमै ज्ञानेन्द्र सरकार, प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् सभापति डा. रायमाझी, प्रमुख विपक्षी दलका नेता नेपाल लगायत वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा राजदरबार हत्याकाण्डबारे उच्चस्तरीय आयोग गठन सम्बन्धमा पुनः छलफल चल्यो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, सबै सुरक्षा अङ्गका प्रमुखहरु, श्री ५ को सरकारका केही सचिवहरु पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । छलफलपश्चात् बाहिरको वातावरण एकदमै तनावग्रस्त बन्दै गएका कारण उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय भएको कुरा तत्काल सञ्चार माध्यम मार्फत अनौपचारिक रुपमा सार्वजनिक गर्ने र औपचारिक रुपमा राज्यसहायक श्री ५ ज्ञानेन्द्रबाट घोषणा गर्ने तय भयो । यो कुरा प्रधानमन्त्री कोइरालाले प्रस्ताव गर्नुभएको थियो, जसमा त्यहाँ उपस्थित सबैले सहमति जनाएका थिए ।
त्यसपछि प्रमुख सचिव पशुपतिभक्त महर्जनले आयोगमा रहने सबै सदस्यलाई छेउमा गएर उहाँहरुको कानैमा आयोगको सदस्यमा बस्ने कि नबस्ने भन्नेबारे सोध्नु पनि भयो, जसमा सबै जनाले स्वीकृति जनाउनुभएको थियो ।

त्यसपछि राजदरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको कुरा सार्वजनिक गरियो । तर, आयोग गठन भइसकेपछि एमाले महासचिव नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।
यस्तो किसिमको दुर्घटना हुँदा के गर्ने, कानुनी रुपमा यसका केके उपाय छन् भनेर सोच्ने र विचार गर्ने समय थिएन हामीसँग ।

अधिराजकुमार ज्ञानेन्द्रबाट मृत्यु भएका सबैको पोस्टमार्टम गरी कानुन अनुसार सबै प्रक्रिया पूरा गर्न हुकुम भएको हो । पोस्टमार्टमका लागि डा. हरिहर वस्ती, प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधि समेत झिकाइसकिएको थियो । सरकारी वकिल पनि अस्पतालमै झिकाउने तयारी भइरहेको थियो ।
घटनाको फाइल तयार पार्ने काम चलिरहेको थियो । यसैबीच मुमा बडामहारानीबाट ‘महाराजाधिराजको शरीर चाहिँ नचिर्ने हो कि ?’ हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो । उहाँले ‘घटना यो व्यक्तिले गराएको हो भन्ने स्पष्टै छ, मृत्युको कारण सबै छर्लङ्ग छँदै छ’ भन्नुभयो ।

यसपछि केका लागि पोस्टमार्टम गर्ने भन्ने धेरैको तर्क आयो । सोही अनुसार पोस्टमार्टम नगर्ने कुरा तय भयो । त्यो बेलाको परिस्थिति नै कस्तो थियो भने तत्काल जेजे आइपर्छ, त्यति बेला मनमा जे विचार आउँछ, यो सही भन्ने लाग्यो भने तत्कालै निर्णय लिनुपर्दथ्यो ।
यस्ता कुराको निर्णय लिने को हो त ? यसको इन्चार्ज हुने कुरा नै भएन । नयाँ राजाको घोषणा गर्न भने सबैभन्दा महङ्खवपूर्ण भूमिका राजपरिषद्को हुने भयो । त्यसैले शनिबार बिहानै राजपरिषद्को बैठक बोलाइयो । बैठकले राजा वीरेन्द्रको स्वर्गारोहण भएको घोषणा गर्नुका साथै नेपालको राजकीय परम्परा अनुसार होसमा नभए पनि युवराजाधिराज दीपेन्द स्वर्गे नभएकाले सरकारलाई नै राजा बनाउने निर्णय गर्यो ।

(तत्कालीन सैनिक सचिव शाहद्वारा लिखित मैले देखेको दरबारबाट)