Tuesday, February 07, 2017

सपना ओढेका रातहरू

मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ,
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओढेका रातहरू
मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ ।

म सपना ओढेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजुब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौँ
भूत, भविष्य र वर्तमानबाट मेटिन्छौँ
तिमी भन्छौ— यती खोज्न जाऔँ
सगरमाथा चढौँ,
म भन्छु— मान्छे खोज्न जाऔँ
मान्छेहरू बटुलेर अगाडि बढौँ
तर, हामी दुईको विचार मिल्दैन
आखिर हामी दुवै
विचार नमिलेरै समाजदेखि भागेका न हौँ,
विचारलाई बझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुवै
आजको समाज र समयका लागि सार्थक हो र ?

यती खोज्न सगरमाथाको शिखर चुमेको मान्छे
आज यती नभेटेरै दुःखी छ
तर, आशा गर्न सकिन्छ,
यती आउनेछ
र, हामी दुवैलाई धाप मार्दै सोध्नेछ—
तिमीहरूले मान्छेलाई देखेका छौ ?

म मान्छे भेट्न भौँतारिरहेछु
तर मान्छे भागिरहेछ,
के तिमीहरूले देखेका छौ
मान्छेका सुन्दर आवादहरू ?

हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू ।