हतास र निराश छन् कविताहरु
लजाउँदै छन् आफैसँग
मसँग
सामाजसँग
कविताहरु जो उपज थिए
प्रेम या सन्त्रासका
घना अँध्यारोमा रोशनीको आसको
थाकेर बसिके
डराईसके
कुंठा र घुँटन नै बचेको छ
कविताहरु छुटिसके
टुटिसके
पिताको विवशलाई बुझ्ने छोरीजस्तै
हर उत्पीडनलाई चुपचाप झेल्दै
कविताहरु मौन भैसके
महानगरीय संघर्षहरुको एकान्तपनमा
कविताहरु कतै हराइसकेका छन्
कविताहरु जो गजल, गीत या छन्द हुनसक्थे
जिन्दगीको क्यानभासमा खुब सुन्दर स्टिकर
या व्यवस्थित तरिकाले लगाएको टालो हुनसक्थे
धुजा–धुजा भएर छितरी सके
महाकाव्यका कथानक लिएका कविताहरु
जिंगल का टुक्का भैसके
कविताहरु जो सती, सीता या सावित्री हुनसक्थे
साहित्यका कोठीहरुको
जुही, चम्पा, कमला या विमला भैसके
हो कविताहरु धेरै गहिरो निंद सुतिसके
सुत्नदेऊ यिनलाई
नजगाऊ
धेरै जतन र सावधानीसँग
भरखरै त सुताइएको छ
पत्रिकाको किनारामा ललीपप नथमाऊ
किनकि ललीपपको सहारामा जिन्दगी कट्नसक्दैन
ललीपपले क्षणिक मिठाससँगै
मुखको स्वाद नमीठो पार्नसक्छ
वितृष्णा, घृणा र क्षोभले भर्नसक्छ
कविताहरु बच्चाहरुझैं निश्छल हुन्छन्
यदि उठाउन सक्दैनौ यिनको जिम्मेवारी
छैन यदि शाहस र क्षमता
यिनलाई पालन–पोषण गर्ने
र घर जम गरिदिने
भने भ्रुणहत्या नै राम्रो हो आत्महत्याभन्द
नत्र यी मरेर पनि सपनामा आउनेछन्
गाउनेछन्, रुनेछन्, सताउनेछन्
यसैले जन्मिन नदेऊ कविताहरुलाई
सामुहिक बलात्कारको समय हो यो
निर्दोष कविताहरु बाँच्दा बाँच्दै मर्नेछन्
लाश हुन पुग्नेछन् ।
No comments:
Post a Comment