Friday, June 30, 2017

पवित्रा

तिनको नाउँ थियो - पवित्रा ।
आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् - उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

विश्वेश्वरप्रसाद कोइराला

Friday, May 05, 2017

जीवनबारे एउटा रोचक ‘भट्टी गफ’


जिग्री पाटीले छातीको चौडा फुलाउँदै भन्छ, ‘निर्धक्क विग्रन पाउँनु पर्छ ।’

‘तेरो बाऊले रोकेको छ त नि, विग्रन ।’ अर्को साथीले पानी निख्रने बेलाको तोङ्बाको गेडा नै निचोरिने गरी तान्दै सन्केर भन्छ ।
स्केचः नागरिक दैनिक

बफ चिल्ली चपाउँदै गरेको पहिलोले चिल्ली नै भैंमा थुकेर भन्छ, ‘हो मलाई विग्रन मेरो बाऊले रोक्न खोजे, मेरो बाऊ मेरो स्वतन्त्रताको बर्खिलापमा गएका छन् । यस्तै हो भने म बाऊविरुद्ध मानव अधिकार आयोगमा मुद्दा हाल्छु ।’

‘क्या ठीस गफ दिन्छ यार, तलाई तेरो बाऊले नराम्रो होस् भनेर भनेका छन् त केही ?’ एउटा झ्याँस आदर्शवादी बन्न खोज्यो । सोचविचार गरेरै निर्धक्क विग्रन पाउँनु पर्छ भन्ने निश्कर्षमा पुगेको उसलाई कुनै परम्परावादी आदर्शको कुराले ‘कम्भिन्स’ गर्न सक्ने अवस्था नै थिएन ।

‘तलाई तेरो बाऊले पढ्न पठाएका कि, रक्सी खान ? आफू रक्सीले मातेर अरुलाई सिकाउँन खोज्छ यार ।’ विग्रन पाउनु पर्नेवालाले उसको मुख टाल्न खोजेको जस्तो गऱ्यो । तर, तोङ्बाको पानीले खोलेको मुख हत्तपत्त टालिनेवाला छैन । अल्कोहलको पानी तल गएर माथि आएको गफमा हारजितको फैसला त निन्द्रा बाहेकले गर्न सक्ने स्थिति नै हुँदैन । ‘मैले त विग्रन पाउँनु पर्छ भनेको छैंन नि !’ उसले एउटा सूर्यको ठुटोमा अर्को झोस्दै लुज तर्क ठेल्यो ।

‘विग्रन पाउँनु पर्छ भने पनि, नभने पनि विग्रेकै छस् क्यारे । उल्टै सिकाउँन खोज्छ यार ।’ उसले आफ्नै टाइपको तर्क तेर्सायो । र भन्यो, ‘हेर केटाहरु तिमरुले बुझेका छैनौं । फेरि मलाई परे जस्तो तिमरुलाई प¥या पनि छैन होला । म त निर्धक्क विग्रन पाउँनु पर्छ भन्ने अभियान नै चलाउँने प्लानमा छु ।’ गम्भीर तरिकाले लास्ट पप चुरोट तानेर स्टे«मा निभाउँदै भन्छ, ‘म मैले चाहेर जन्मेर हो र ! जन्मनँ पनि अरुकै चाहनाअनुसार, बाँच्ने पनि अरुकै चाहना अनुसार, अनि कसरी भयो मेरो जीवन ? के म ठ्याक्कै अरुले चाहेजस्तो हुन त म तिनरुको कर्मचारी वा मेसिन हूँ र !’

‘यो पनि के के भन्छ, के के ? एउटै बुझिने कुरा गर्दैन, ठीस । ‘साईको’ नै हुने भो यार यो त ।’ त्यतिन्जेलसम्म नबोलको अर्कोले मुख खोल्यो । ‘अरु केही कुरा पाइनस् ? बरु अर्को एउटा तोङबा भन् न ! सितन पनि…।’

सबैको दिमागमा गडेकै छ, ‘निर्धक्क विग्रन पाउँनु पर्छ ।’ तर, अरु कुरा गर्ने मन किन हुन्छ ? ‘आफैले चाहेर विग्रेको विग्राइले मान्छे विग्रदैन । अरुले खोजेको कुरामा मात्रै मान्छे विग्रन्छ । बिना कुनै कारण मान्छेले नराम्रो गर्दैन । आफ्नै लागि मात्रै मान्छे नराम्रो गर्दैन । बरु, बहुलाउँछ । जब अरु, अरु, अरुहरु जोडिन्छन्, मान्छे विग्रन्छ ।’ अर्को एउटाले ‘विग्रनु दर्शन’ छाँट्यो । विग्रनु सभ्यता भित्रको बहश चल्छ, भट्टीमा ।
एकपल्ट माहोल उत्तेजित हुन्छ ।

विग्रनु पक्षको नाइकेले बाऊ आमाले रामाइलो गर्दा आफू जन्मेकोले ‘मलाई बाऊ आमाप्रति केही मतलब छैन ।’ भनेर भनेपछि ‘त्यस्ताको गफ के सुन्नु भन्दै साथीहरु बाहिरिन खोजे । साथीहरु बाहिरिने बेलामा पनि उसले भन्यो, ‘मलाई विग्रन तिमरुले पनि रोक्न सक्दैनौं केटा हो । जाओ तिमरु, म अझैं झ्याप हुन्छु ।’ उसले होटल साहुजीलाई बोलाउँछ र मगाउँछ, ‘एक क्वाटर खुकुरी रम ।’ अब ऊ रम र तोङ्बाको कक्टेलमा निर्धक्क विग्रने भयो ।

होटलको पल्लो कुनामा एक्लै तोङ्बाको रस चुसिरहेको मलाई त्यो मान्छेको हर कुराले प्रभाव परिरहेको थियो । उसका कुरा ठीक लागेको त नभनौं । तर, कताकता प्रहार गरिहेकै थियो । उसले किन यस्तो कुरा गर्दैछ ? फोकटलाल वा औसत मान्छेले यस्तो कुरा गर्दैन भन्ने निष्कर्षका साथ तोङ्बाको ठेकी र भटमासको प्लेटसहित म पनि उ भएकै टेबलमा गएँ ।

ऊ निहुरिएर देव्रे हातका औंलाहरुले निदार निचोर्दै, घोत्लीरहेको थियो । रम आईसक्दा पनि ऊ घोत्ली नै रह्यो । म आएको पनि उसलाई कुनै मतलब थिएन । मैले नै कुरो पोयो फुकाउँन खोजें । ‘मित्र सिग्रेट लिनुहुन्छ ?’ सल्काएको चुरोट उप्रति देखाउँदै उसको एकाग्रता भंग गरें । कतै निर्धक्क विग्रन पाउँनु पर्छको मान्यता विपरित पो बोलें कि ठानेर हल्का डराएको म उसले ‘अँ लिन्छु’ भनेर समातेपछि डर भाग्यो । उसले सोध्यो, नचिनेकाले चिन्न खोजे झैं ‘तपाईं…?’ ‘म पनि यहाँको ग्राहक । तपाईको गफ सुन्दै थिएँ । मन पऱ्यो, त्यसैले ।’ मैले भनें ।

‘ओ के, के मन पऱ्यो तपाईलाई ? रम लिनुहुन्छ ?’ रम क्वाटरको बिर्को घुमाउँदै सोध्छ । मैले ‘रम नखाने’ भन्दै विग्रन पाउँनु पर्ने कुरा मन परेको वताउँछु । वताउँनुस् मित्र, ‘तपाईं किन निर्धक्क विग्रन चाहनुहुन्छ ? र, तपाईलाई विग्रन कसले रोक्यो ? म तपाईंको यही कुरा सुन्न नजिकिएको हुँ ।’ मैले भनिरहँदा ऊ रमको चुस्की लिंदै थियो ।

भटमास टोकेर सिग्रेट चान्दै उसले गम्भीर मुद्रामा भन्यो, ‘सुन्नुस् मित्र । मैले विग्रन पाउँनु पर्छ भनेर एकलौटी मेरो निजि कुरा गरेको होईन । समग्र प्रवृत्तिको कुरा गरेको हूँ । तर, यहाँ मान्छेले बुझ्दैनन्, बुझ्ने कोसिस गर्दैनन्, बुझे पनि बुझे जस्तो गर्दैनन् । किनकि यहाँ मान्छे आफू हिरो हुन राम्रो लागेको कुरा पनि ग्रहण गर्दैनन् ।’ उसले भनिरह्यो, मैले सुनिरहें । ‘वास्तवमै हामी स्वतन्त्र छैनौं, हामीलाई राम्रो लागेको काम निर्धक्क गर्न सक्दैनौं । जसका लागि हाम्रो समाज बाधक छ । समाजको आँखामा राम्रो देखिन परम्परागत किसिमको काम, जागिर गरेर पैसा कमाउँनु पर्छ । नत्र, उ समाजको नजरमा राम्रो हुदैन ।

समाजको आँखामा नराम्रो देखिने भयले उसले राम्रो, नवीन, फरक काम गर्न सक्दैन । राम्रो, नविन र फरक काम गर्न उ समाजको नजरमा विग्रनु पर्छ । परिवार, आफन्त र कथित शुभचिन्तनको नजरमा विग्रनु पर्छ । कतिपय मामलामा हामी धर्मको साँघुरो घेरा भित्र बाँधिएर बाँच्नु पर्छ । नत्र, विग्रिएको आरोप लाग्छ । हामी राजनीति, जातजाती, विभिन्न वर्गको घेरा भित्री कैद भएर बाँचेका छौं ।

कुनै पनि घेरा नाघेर फरक काम गऱ्यो भने विग्रिएको हुन्छ । हामी घेराबाट माथि उठेर काम गर्न सक्दैनौं । हामी आफूले चाहेको काम गर्न, आफूले चाहेजस्तै आफू हुन समाज, परिवार, आफन्त, धर्म, जाति, वर्गको बन्धनलाई तोड्न पर्छ ।

त्यसो गर्दा समाज, परिवार, आफन्त, धर्म, जाति, वर्गको नजरमा हामी विग्रनु पर्छ । त्यसैले म भन्छु, आफूले चाहे जस्तै आफू हुन निर्बाध विग्रनु पर्छ । स्वतन्त्र जीवनको पक्षमा निर्धक्क विग्रनु पाउँनुपर्छ ।’ यति भनेर उसले बाँकी रम ‘ग्याम्बे’ हान्यो । उसको कुराले गम्भीर भएको म, हतार भएको वताएर ‘सिग्रेट’ तान्दै बाहिरिएँ ।

स्केचः नागरिक दैनिक

Tuesday, February 07, 2017

सपना ओढेका रातहरू

मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ,
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओढेका रातहरू
मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ ।

म सपना ओढेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजुब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौँ
भूत, भविष्य र वर्तमानबाट मेटिन्छौँ
तिमी भन्छौ— यती खोज्न जाऔँ
सगरमाथा चढौँ,
म भन्छु— मान्छे खोज्न जाऔँ
मान्छेहरू बटुलेर अगाडि बढौँ
तर, हामी दुईको विचार मिल्दैन
आखिर हामी दुवै
विचार नमिलेरै समाजदेखि भागेका न हौँ,
विचारलाई बझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुवै
आजको समाज र समयका लागि सार्थक हो र ?

यती खोज्न सगरमाथाको शिखर चुमेको मान्छे
आज यती नभेटेरै दुःखी छ
तर, आशा गर्न सकिन्छ,
यती आउनेछ
र, हामी दुवैलाई धाप मार्दै सोध्नेछ—
तिमीहरूले मान्छेलाई देखेका छौ ?

म मान्छे भेट्न भौँतारिरहेछु
तर मान्छे भागिरहेछ,
के तिमीहरूले देखेका छौ
मान्छेका सुन्दर आवादहरू ?

हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू ।

Wednesday, December 21, 2016

सम्बन्ध

सगर र सागरको सामिप्यता
झरी र बिरुवाको आत्मियता
क्षितिज र पहाडको लचकता
मुटु र धड्कन बिचको प्रेम वा
नङ् र मासुको सुरक्षात्मकता
यो सम्बन्ध नरहे के होला??

फूल र सुबासको पवित्रता
पवनमा शितलताको आभास
आमामा प्रेम,स्नेह र मातृत्व
बाबामा सन्तानको दुरदर्शिता
सुर्य उँज्यालो र न्यानो
जून शितलता र प्रेम
यो सम्बन्ध नरहे के होला??

तिमी पल्मोनरी शिरा मेरो
कृष्ण म तिमी मीरा मेरो
जिन्दगीको कोहिनूर हीरा तिमी
मेरो जिन्दगीको हर जीत तिमी
म धुन मेरो प्रेमको गीत तिमी
तिमी र म बिचको यो
सम्बन्ध नरहे के होला??

Tuesday, December 13, 2016

आत्महत्या गर्न लागेका छन् कविताहरु

हतास र निराश छन् कविताहरु
लजाउँदै छन् आफैसँग
मसँग
सामाजसँग
कविताहरु जो उपज थिए
प्रेम या सन्त्रासका
घना अँध्यारोमा रोशनीको आसको
थाकेर बसिके
डराईसके
कुंठा र घुँटन नै बचेको छ
कविताहरु छुटिसके
टुटिसके
पिताको विवशलाई बुझ्ने छोरीजस्तै

हर उत्पीडनलाई चुपचाप झेल्दै
कविताहरु मौन भैसके
महानगरीय संघर्षहरुको एकान्तपनमा
कविताहरु कतै हराइसकेका छन्
कविताहरु जो गजल, गीत या छन्द हुनसक्थे
जिन्दगीको क्यानभासमा खुब सुन्दर स्टिकर
या व्यवस्थित तरिकाले लगाएको टालो हुनसक्थे
धुजा–धुजा भएर छितरी सके
महाकाव्यका कथानक लिएका कविताहरु
जिंगल का टुक्का भैसके
कविताहरु जो सती, सीता या सावित्री हुनसक्थे
साहित्यका कोठीहरुको
जुही, चम्पा, कमला या विमला भैसके
हो कविताहरु धेरै गहिरो निंद सुतिसके
सुत्नदेऊ यिनलाई

नजगाऊ
धेरै जतन र सावधानीसँग
भरखरै त सुताइएको छ
पत्रिकाको किनारामा ललीपप नथमाऊ
किनकि ललीपपको सहारामा जिन्दगी कट्नसक्दैन
ललीपपले क्षणिक मिठाससँगै
मुखको स्वाद नमीठो पार्नसक्छ
वितृष्णा, घृणा र क्षोभले भर्नसक्छ
कविताहरु बच्चाहरुझैं निश्छल हुन्छन्
यदि उठाउन सक्दैनौ यिनको जिम्मेवारी
छैन यदि शाहस र क्षमता
यिनलाई पालन–पोषण गर्ने
र घर जम गरिदिने
भने भ्रुणहत्या नै राम्रो हो आत्महत्याभन्द
नत्र यी मरेर पनि सपनामा आउनेछन्
गाउनेछन्, रुनेछन्, सताउनेछन्
यसैले जन्मिन नदेऊ कविताहरुलाई
सामुहिक बलात्कारको समय हो यो
निर्दोष कविताहरु बाँच्दा बाँच्दै मर्नेछन्
लाश हुन पुग्नेछन् ।

Wednesday, October 12, 2016

पुरुषसँग मेरो पहिलो रात

तसलिमा नसरिन (विश्वप्रसिद्ध लेखिका)

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ र सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा उपिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो ।

रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स-साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंग बारेमा भन्ने गथ्र्याे, ‘अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’

रुद्रले मुक्ति र विठी दुवैलाई हाम्राे गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो । खाना खाएर हामी फर्कियौँ । मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ ।

सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, ‘दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रा सबभन्दा ठूलो परिचय हो ।’

‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’

‘तिमी अवश्य सक्छौ ।’

‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’

‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’

‘तर, सानिमा माल्लिन् र ?’

‘किन नमान्नु ? मैले सकेको गर्छु ।’

त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’

‘सम्पूर्ण भन्नाले….’

‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी …..।’

यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ । मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो ।
अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’

सडक-बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो । मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए । रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो । नचाहँदा-नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ ।

‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका !’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरँे । ‘यो मेरो शरीर होइन । यहाँ जे-जस्तोे अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन । यो म होइन । यो अरू कसैको शरीर हो,’ म यस्तै-यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो । रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ….. मरँ भनेर म चिच्चाउन छाडिनँ । प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता-सुरुवाल लगाउँदै भनेँ, ‘म जान्छु ।’ मुन्टो निहुर्याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ । रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन । अपराधबोध पनि भयो मलाई । रुद्र मलाई ‘रुद्र’ जस्तै लाग्यो । मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, ‘राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।’ त्यसबाहेक उसले केही भनेन । न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्बनमात्रै गरेर बसेको भए !

बिहान सान्दाइको कोठामा पुगेर मैले काँपेको स्वरमा भने, ‘म झुनू सानिमाको कोठामा रोकेया हलमा थिएँ ।’

‘झुनू सानिमा आजकल त्यहाँ बस्दिनन्,’ सान्दाइले भन्नुभयो । बिहेपछि सानिमाका बूढाबूढीले विश्वविद्यालयकै घरमा एउटा कोठा भाडा लिएर बस्न थालेको सान्दाइलाई थाहा थियो ।

‘हिजो त्यहाँ आएकी थिइन् ।’

‘अझै कोठा छाडेकी रहिनछन् ?’

‘अहँ ।’

‘हँ.. अनि तेरो साथीलाई भेटिस् त ?’

‘अ भेटेँ ।’

‘नाम के हो त्यसको ?’

‘नदिरा ।’

‘रामकृष्ण मिसन रोडकी केटी होइन त्यो ?’

‘हो ।’

‘अनि त्यो त जहाँगिर नगरमा पढ्छे भनेकी हैन र तैँले ?’

‘हिजो ऊ पनि आश्मालाई भेट्न रोकेया हल आएकी थिई । ऊ पनि राति त्यहीँ बसी ।’

‘को आश्मा ? हासिमुद्दिनकी छोरी ?’

‘हो ।’

‘ऊ पनि ढाका विश्वविद्यालयमा पढ्छे ?’

‘अँ, हो ।’

‘तँ त तेरो सर्टिफिकेट लिन आएकी होइन ?’

‘अँ लिन्छु ।’

त्यसपछि म सरासर भित्र गएँ र ओछयानमा पल्टिएर रातिको डरलाग्दो त्रासदी सम्भिएँ । त्यो रात ! मैले नाटक गरेको भन्यो रुद्रले । के त्यो स्वाङ थियो त ? आफ्नो स्वाभिमानमा चोट लागेको महसुस भयो मलाई । म बिस्तारै रोएँ । मेरो पूरै जिउ थिलथिल भयो । मानौंँ म भर्खरै सिंहको ओडारबाट फर्किएकी हुँ । हिँड्दा पनि कम्मर दुख्न थाल्यो । पीडाले गर्दा मैले राम्रोसँग पिसाब फेर्न पनि सकिनँ । आफ्नो स्तन पनि ढुंगाको थुप्रोजस्तो लाग्यो । उसको चुम्बनको दाग बिस्तारै हरायो । मैले बिहेको कागजातमा सही गरेदेखि नै रुद्रले एकरात सँगै बिताउने कुरा गरिरहेको थियो । तर, बिहेभन्दा अगाडि पनि उसले मलाई कम गिजोलेको थिएन । प्रत्येकपटक भेट्दाखेरी रुद्र मलाई चुम्बन गर्न र छातीमा हात राख्न झम्टिहाल्थ्यो । तर, मैले आफूलाई बचाउन सकेकी थिएँ । मसुदको घरमा हामीलाई बस्न दिइएन । यही कारणले रुद्र मसँग निकै समय रुष्ट भएको थियो । मसँग एकरात बिताउनु उसका लागि किन यति अमूल्य
हो ? मैले कहिल्यै बुझ्न सकेकी थिइनँ । मैले उसलाई प्रतीक्षा गर्न आग्रह पनि गरेकी थिएँ । पर्खाइको पीडाको प्रतिफल पनि राम्रै हुन्थ्यो होला । तर, रुद्र पर्खिनेवाला थिएन । पर्खाइमा मजा छैन भन्थ्यो ऊ । म ‘आऊ, माया गरौँ’ भन्थेँ, ऊ ‘आऊ, सुतौँ’ भन्थ्यो । रुद्र भोको भिखारीको व्यवहार गथ्र्यो । ऊ सबै कुरो आजै चाहन्थ्यो, अहिल्यै चाहन्थ्यो । मयमनसिंह आउँदा ऊ एकान्तखालको प्राइभेट कोठाको खोजीमा बौलाहाझैँ लाग्थ्यो । मैले खोज्न सक्ने स्थिति थिएन । तर पनि ऊ मसँग रिसाउँथ्यो । कुनै पनि हालतमा ऊ मसँग एकरात बिताउन चाहन्थ्यो । यसरी एकरात बिताइयो, त्रासदीपूर्ण रात । मेरो जीवनमा यस्तो होला भन्ने सोचेकै थिइनँ । मेरो मन दुख्यो । रुद्रलाई धकेलेर हुत्याउन चाहेकी थिएँ । तर, त्यसो गर्न सकिनँ । म अपांगसरी भएँ । त्यही कागजको अगाडि म हारेँ । त्यस हस्ताक्षरको अगाडि म पराजित भएँ । किनभने, त्यही हस्ताक्षरको मतलब नै विवाह थियो । तर, म रुद्रलाई माया गर्थें । मैले सोचेँ- मेरो सोच र विचारले मलाई एकैसेकेन्ड पनि चैनपूर्वक बस्न दिएन ।

मैले सान्दाइसँग झुट बोलेँ । सान्दाइले म सानिमासँगै सुतेकी होली भन्ने पत्याउनुभयो होला । तर, सान्दाइले के सोच्नुभयो होला, कसलाई थाहा ? तर, उहाँ मलाई आफ्नो आँखाबाट ओझेल पार्न चाहनुहुन्नथ्यो । त्यतिमात्रै होइन, मेरो साथीसँग भेट्न पनि मलाई एक्लै पठाउनुहुन्नथ्यो । सान्दाइले भोलिपल्ट मलाई आफै रजिष्ट्रारको कार्यालय लगेर सर्टिफिकेट निकालिदिनुभयो । दुई दिनपछाडि फेरि उहाँले मलाई मयमनसिंह ल्याएर छाडिदिनुभयो ।
रुद्रले पछि मलाई भन्यो, ‘तिमी मलाई पूरा विश्वास गर्दिनौ । तिम्रो मनमा अझै शंका छ ।’ उसका कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । मैले म उसलाई माया र विश्वास गर्छु भनेँ । मायामा सबैभन्दा ठूलो आवश्यकता विश्वासको हो । यो विश्वासको डोरी अलिकति कमजोर भयो भने माया गरिँदैन । मनमात्र पराइन्छ । रुद्रले एउटा चिट्ठीमा लेखेको थियो, ‘के म त्यस्तो अभागी हो, जसले सबै कुरा बलजफ्ती ठीक पार्नुपर्छ ?’
यस घटनाको वर्ष दिनपछाडि रुद्रले लेख्यो, ‘प्यारी अर्धाङ्गिनी, त्यस रात के भयो थाहा छ तिमीलाई ? पहिलोपटक तिमीलाई साडीमा देख्दा तिमीलाई एकदम भिन्न पाएँ । नयाँ मान्छेजस्तै । विगतमा मैले तिम्रो अरू नै चीज मन पराएको थिएँ । तर, यो पटक फरक छ । एकदमै अन्जानखालको आनन्द ! हाम्रो प्रेम नै भर्खर सुरु भएझैँ लाग्यो । यस्तो लाग्यो- पहिले रिहर्सलमात्र थियो । आजचाहिँ रंगमञ्चमा मञ्चन गर्दै छौँ ।
विगत डेढ वर्षमा रुद्र दुई-तीन महिनाको अन्तरालमा मयमनसिंह आइरहयो । मैले उसलाई सम्बोधन नगरेकाले रिसले गर्दा उसले पनि मलाई सम्बोधन नगरीकन पत्र पठायो । हाम्रो समय प्रेस क्लबको क्यान्टिनमा बित्थ्यो । क्यान्टिनबाट निस्कनुपर्दा हामी उपयुक्त स्थानको खोजीमा यताउति भौँतारिन्थ्यौँ । तर, सदाझैँ ठाउँ पाउन मेरा लागि असम्भव थियो । रुद्रको अनुरोधमा मैले साडी लगाएर उसलाई भेट्न गएँ । मलाई साडी लगाउन राम्रोसँग आउँदैनथ्यो । यास्मिनको सहयोगमा आमाको साडी लगाएर म साथीको जन्मदिन छ भनेर घरबाट हिँडेँ । त्यो दिन अलि एकान्तको फाइदा उठाउँदै रुद्रले मलाई दुई-तीनपटक चुम्बन गर्यो र छातीमा हात मुसार्न भ्यायो । घर फर्किएर उसले लेखेको चिट्ठी यस्तो थियो- ‘तिमी आफैँलाई देखेर हाँसिरहेकी हौली, हैन त ? वास्तवमा मलाई पनि हाम्रो प्रेम भर्खर सुरु भएझैँ लाग्यो । यत्रो वर्षसम्म हामीले एक-अर्कालाई खालि स्पर्शमात्र गरेका थियौँ । आज एक-अर्काको शरीरको …पनि महसुस गर्यौँ । एक-अर्काको मुटुको धड्कन सुन्यौँ । आज यस्तो लाग्यो, म कहिल्यै पनि यति सन्तुष्ट भएर तिमीसँग छुट्टएिको थिइनँ । तिमी बिस्तारै अनौपचारिक भएर खुल्न थाल्यौ । अब म नौलो संसारलाई चिन्न सक्ने भएझैँ लाग्यो । अब तिमी अझ बढी स्व्ााभाविक भएर खुल्नेछौ, अझ स्वतन्त्र हुनेछौ । हाम्रोभन्दा राम्रो प्रेमको घर अरु कसैकोे हुने छैन । तिमी हेरी मात्र राख मेरी पि्रय लक्ष्मी, अब मलाई अलिकति माया गर । हैन-हैन, त्यतातिर मुन्टो नबटार न, मेरा आँखामा हेर त, लजाउनुपर्ने कुरा के छ र ? तिमीले पहिलेदेखि नै चिनेकै मान्छे त हुँ नि म । यी आँखा, यी परेली, यो निधार, यो मुहार र शरीरलाई तिमीले थुप्रैपटक स्पर्श गरेकी छौ । अनि किन लजाउनु ? मलाई चुम्बन गर, आऊ मलाई माया गर ।
बिस्तारै-बिस्तारै म आफूलाई नियन्त्रण गर्छु । यदि यही तरिकाले तिमीले मलाई अलि-अलि माया दिन थाल्यौ भने तिमीले देख्नेछौ- म कसरी तिम्रो चाहना बन्नेछु अर्थात् तिमी मेरी बन्नेछौ । वास्तवमा माया भनेको दुई मुटु एक हुनु त हो नि, मलाई सडकमा उभिएर सबैलाई चिच्याउँदै सुनाउन मन छ- ए मान्छे सबैजना सुन । मैले माया गर्ने मान्छे भेट्टाएँ । हामी एकै भयौँ । राम्ररी बस पि्रय । मेरो जीवन, आफ्नो ख्याल गर ।
तिम्रो रुद्र ।

प्रस्तुत स्मृति नसरिनको वाइल्ड विन्ड नामक पुस्तकबाट

Tuesday, October 11, 2016

दशैं तिमीसँग मेरो गुनासो छ

हो, दशैँ तिमिसंग मेरो ठूलो त नभनौ सानै गुनासो छ । तिमीले परिवर्तन गरेको रुपसँग गुनासो छ, तिम्रो आधुनिकतासंग गुनासो छ । आज तिमी मेरो गुनासो मात्र सुन, म सबै भन्न चाहन्छु मन हलुङगो पार्न चाहन्छु, सबैसंग गुनासो साटेर हलुङगो हुन चाहन्छु । तिमीले सुन्दिन भन्न पाउदिनौ किनकी ममा यी सबै गुनासो आउनुमा तिम्रै हात छ, तिमीले वतावरण बनाईदिएका छौ त्यसैले सम्पूर्ण रुपमा तिमी नै जिम्मेवार छौ ।

तिमी असत्यमाथि सत्यको विजय भएको किम्बदन्ती बोक्ने पर्व हौ । तिमी सबैलाई एकै सुत्रमा बाधेर हर्षित बनाउँछौ, तिमी कति महान छौ । तिमीले सबै गाउँघरमा, सहर बजारमा, टोल टोलमा, पाखामा अनी भन्ज्याङमा हिमालमा, पाहाडमा अनी तराईमा सबैतिर हर्सोल्लास छरिदिन्छौ ।

वर्षौ वर्ष भेट नभएका दाजुभाई, दिदीबहिनीहरु, बुबाआमा. फुपू, फुपाजु अनि सबैलाई भेट गराउँछौ अनि थापिदिन्छौ खुसि, थापिदिन्छौ उम्मंग । वर्षौ वर्ष मुग्लान बसेका दाजुभाईलाई बिदेसिनु परेको पीडा, आफन्तसँगको वियोगको पीडा सुनिदिन्छौ । बिदेसिएका छोराछोरीको पर्खाई अन्त्य गरिदिन्छौ, श्रीमानसँग छुटिनु परेको वियोगको पीडा कम गरिदिन्छौ ।

हरेक गाउँगाउँका केटाकेटीमा अनेक थरी कुरा गरेर, रंग भरेर हर्सोल्लास थपिदिन्छौ । तिमीसँग केटाकेटी, युवायुवती, बूढाबुढी , धनी, गरिब , बाहुन , क्षेत्री, मगर, गुरुङ, काला गोरा, बिरामी, रोगी अनी सबैलाई खुसी बनाउने क्षमता छ । तिमी कति धन्य छौ, तिमी सबैका भगवान नै हौ भन्दा नि फरक नपर्ला । तिमीसँग जादुको छडी नै छ भन्दा पनि फरक नपर्ला । तिमीसँग के पो छैन, सबै छ । तिमीले गाउँमा पिङ हालिदिएका छौ । चंगा उडाउन सिकाएका छौ । यी सबै वातावरणमा अहो केटाकेटी कति खुसी छन्, मलाई स्वयम केटाकेटी भएर प्रस्तुत हुन मन लाग्छ ।

अहो तिमीसँग सबै छ, छ भन्नु भन्दा पनि थियो भनौ जस्तो लाग्यो मलाई किनकी तिमीले आजभोलि अनेक रुप फेरेका छौ । हर्षित बनाउने नाममा तिमीले खोक्रो, देखावटी खुसी मात्र दिएका छौ । तिमीले आफूलाई धेरै परिवर्तन गरेका छौ । तिम्रो यो आधुनिकतासँग मलाई गुनासो छ । मलाई तिम्रो नाममा मेरो घरमा, समाजमा अनि मेरो देशमा भएका बिकृतिसँग गुनासो छ, ति सबैको सिर्जना गर्ने तिमी नै, तिमीले नै यस्तो वातावरण बनाएका छौ ।

मलाई तिम्रो नाममा मेरा बुबाआमा, दाजुभाई, दिदीबहिनीबीच झगडा पार्ने, तिम्रो रुपसंग गुनासो छ । गाउँगाउँमा तिम्रा नाममा हुने, चोरी डकैतीसँग गुनासो छ । गाउँका दाजुभाईलाई, जाँड रक्सी खाएर होहल्ला गर्ने अनि गाउँको वातावरण नै कोलाहल गराउने रुपसँग गुनासो छ । जुवा तास खेलाउने अनि आफ्नो सम्पत्ति सखाप पार्ने, श्रीमतीलाई जुवाको खालमा बाजी राख्ने अनि सारा जिन्दगी नै सखाप पार्ने रुपसँग गुनासो छ । बालबालिका तथा युबवायुवतीलाई जाँडरक्सी खान सिकाउने, जुवातास खेल्न सिकाउने, होहल्ला गर्न सिकाउने अनि यी सबैको प्राप्तिका लागि चोरी गर्न पनि सिकाउने, काटमार गर्न सिकाउने, झै–झगडा गर्न सिकाउने रुपसँग गुनासो छ ।

पल्लाघरका दाजु र तल्ला घरका दाजुबीच दशैं मनाउने नाममा हुने अनेक असन्तुष्टिसँग गुनासो छ । उपल्ला घरका दाजुले जुवातास खेलेर, जाँडरक्सी खाएर भाउजुको मुटु नै छियाछिया हुने गरि पिट्ने, गाली गर्न सिकाउने तिम्रो रुपसँग गुनासो छ । पल्लो गाउँकी काकीले श्रीमानबाट खाएको पिटाई आदि आदिसँग गुनासो छ । दशैं तिमीसँग मेरो गुनासो छ ।

धनीका घरमा प्रशस्त पकाईदिने, नयाँ लुगा किनिदिने, पिङ राखिदिने, खसी ढालिदिने सबैजनालाई खुसी तुल्याउने तर गरिबका घरमा केटाकेटीलाई रुवाबासीमा पार्ने, भोकभोकै पार्ने, नयाँ होईन पुरानै लुगा पनि सात ठाउँमा टालेको लगाएर बस्नु पर्ने, मन खिन्न बनाईदिने रुपसँग गुनासो छ ।

भर्खर केहि हप्ता अगाडि हाम्रो देशमा आएको प्राकृतिक प्रकोपले वियोगमा परेका, आफन्त गुमाएका अनि आकाशको छानोमा भोकभोकै दिनरात काट्नेहरुका घाउमा नुनखुर्सानी छरिदिएका छौ तिमीले, उनीहरुलाई अभाबै अभाब दिएका छौ, अरुलाई दशैं आउँदा उनीहरुमा झन पीडा थपिएको छ, घाउ झन् दुखेको छ, चर्केको छ, दशा आएको छ । केटाकेटी भोकभोकै कराईरहेका छन् ।

तिम्रै समयमा बजार अस्तव्यस्त छ, कालोबजारीको कुनै सीमा नै तोकेका छैनौ तिमीले, घुसखोरीलाई पनि बढावा दिएका छौ । सबै सामानको मूल्य आकाशिने गराएका छौ । कृतिम अभाब सिर्जना गरेका छौ । बलात्कारका घटना तिमी नजिकिँदा बढ्दा छन् । उनि कति पिडामा छिन् म महसुस त के कल्पनासम्म पनि गर्न सक्दिन ।

के के हो के के गराएका छौ म शब्दमा सबै प्रस्तुत गर्न सक्दिन । किनकी मेरो फितलो प्रस्तुतिले झन् पीडा थपिदिन सक्छ । तिमीले जे गर्नेलाई पनि छुट दिएका छौ, कसैलाई पनि कारबाही गर्दैनौ । तिमी आएका बेला कति असुरक्षा बढेको छ । तिमीलाई रत्तिभर पनि वास्ता छैन । गाउँका झ्याउरे भाका तिमीलाई मन पर्दैन । दोहोरी गीत पनि तिमीलाई पन पर्दैन, तिमीलाई त खाली डिस्को मन पर्छ । त्यहाँका नांगा नाच मन पर्छ, मलाई यी सबैसँग गुनासो छ ।

तिम्रो नाममा हुने यी सबै बिकृति मलाई स्वीकार्य छैन, खुसी दिने नाममा पीडा नथपीदेउ । चाहिएको छैन तिम्रो यी आधुनिक रुप तिमी पहिलेकै अबस्थामा आईदेउ । सबैलाई भाईचाराको भाव सिर्जना गराईदेउ, एकै मालामा बाँधिदेउ । कसैलाई खुसी, कसैलाई दुःखी नपारिदेउ । सबैको मन सन्तुष्ट पारिदेउ । अन्त्यमा सबै नेपाली दाजुभाइ, दिदीबहिनी, बुबाआमा सबैलाई दसैको लाखौ लाख शुभकामना । सबैको घरमा सुख शान्ति अमनचयन छाओस ।