Sunday, January 10, 2016

थाहा छैैन किन मलाई......


पवनसंगै चारैतिर घुम्न मन लाग्छ
हरियाली वसन्तसंगै हाँसी खेली रमाउन
थाहा छैैन किन मलाई
सधैभरि तिम्रै सामु आउन मन लाग्छ ।।

गित गुनगुनाउन मन लाग्छ पन्क्षीसंगै
झरना जस्तै झर्न मन लाग्छ तिम्रै वस्ती
थाहा छैैन किन मलाई
चारैतिर मधुमास छाउँदा मुस्काउन मन लाग्छ।।

देख्दा तिम्लाई आफ्नो नजर सामु
भित्र-भित्रै मन त्यसै रमाएर आउँछ
थाहा छैैन किन मलाई
तिम्रै घरको मुल बाटो हिड्न मन लाग्छ ।।

भेट हुँदा पँघेरीमा पनि तिमीसंग
बोल्न त्यसै बन्द भएर आउँछ ओठ पनि
थाहा छैैन किन मलाई
तिमी नुहाउने पँधेरीको पानी बन्न मन लाग्छ ।।

सजाउन मन लाग्छ तिम्रो त्यो सिउँदो
भरिदिन मन लाग्छ तिम्रो त्यो आँचल
थाहा छैैन किन मलाई
मनभित्र लुकाएका कुरा पनी भन्न मन लाग्छ ।।

कस्ती देखिन्छौं भनी सम्झी बस्छु त्यो दिन
देख्दा सपनीमै भए पनि बेहुलीको भेषमा
थाहा छैैन किन मलाई
जिवनसाथी तिमीलाई नै बनाउन मन लाग्छ ।।

भनी दिन मन लाग्छ,तिम्रै सामु आई
बिर्सेर पनि भुल भएं,माफि दिनु भनी
थाहा छैन किन मलाई
तिमीलाई बेहुलीको भेषमा देख्न मन लाग्छ ।।

थाहा छैन किन मलाई
तिम्रै घरको मुल बाटो हिड्न मन लाग्छ
तिमी नुहाउने पँधेरीको पानी बन्न मन लाग्छ
जिवनसाथी तिमीलाई नै बनाउन मन लाग्छ ।।

राजन थापा (अभिराज)
बनेपा-४, काभ्रे

Friday, January 08, 2016

राजनिती

तिमीले सोचे जस्तो हैन यो राजनिती
आफ्नालाई नै रुवाउने खेल हो राजनिती
नपाएसम्म खुट्टा ढोग्न पछि नपर्नेहरुको
पाए पछि सबै भुलिदिने खेल हो यो राजनिती

गरिबको आँशुमा रमाउँदै पौडि खेल्ने
तिम्ले सोचे भन्दा फरक हो यो राजनिती
जनताको रगतलाई सोमरसमा मिलाई
आफु हाँसि दुनियाँ रुवाउने खेल हो यो राजनिती

जनताको हरपल सेवा गर्ने कसम खाई
गरिब जनताको इमान बेच्ने हो राजनिती
चप्पल लगाएर बाटोमा हिड्नेहरुको
महल बनाई कार चद्ने खेल हो यो राजनिती

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

मेरो संसार


अरुले सोचे भन्दा धेरै फरक मेरो संसार
कसैले बुझ्न नचाहेको कथा मेरो संसार
सम्झनेले सधै सम्झनाका यादमा राखेका
बिर्सिनेले चटक्कै माया मारि गएका - मेरो संसार

चारैतिर चाहनाका फुली बसेका फुलहरु
बिचमा पौडि रहेका स्मृतिका पानाहरु
फुलै फुलले दुलहिको रुपमा सजिएर
पहुनाको स्वागत गर्न तम तयार - मेरो संसार

सपनाले भएपनि सजिएर बसेको
बिपनामा चाहनाके मोहले बेरिएको
सपना र चाहनाको संगम बनेको
कस्तो अनौठो अनि फरक - मेरो संसार

देख्नेहरुको नजरमा रम्न बनेको
बिपनामा नभई सपना मिलि बनेको
उहि गोरेटो,घुम्ती र मोड मिलेको
अरुले सोचे भन्दा धेरै फरक - मेरो संसार

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

Sunday, October 04, 2015

मैले देखेको नेपाल

नेपाल!
सुन्दर शान्त विशाल!

लक्ष्मी प्रसाद देवकोटा आफैले एक दिन लेखेथे, “विशालको भावना कसरी आयो म भन्न सक्तिनँ ।” यति लेख्दै भावनात्मक रुपमा वहाँले सानो-ठुलो लाई दुई भेद ले व्याख्या गर्न मिल्ने बताए: भौतिक र आध्यात्मिक ।
मुलतः आध्यात्मिक रुपमा नेपाल अत्यन्त बिशाल भएको वहाँले तर्क गरे । वहाँको नेपाली भाषाको ज्ञान र अद्वितिय योगदानको मुक्त-कण्ठले प्रसंशा गर्छु । सानो छदा, स्कुलमा “के नेपाल सानो छ?” पढ्दा निकै आनन्द लागेको थियो, अहिले ठुलो भएर पुन: पढ्दा कता-कता यो अद्वितीय कृतिमा “मैले देखेको नेपाल” भेटिन । म विज्ञानको मान्छे, अझ कम्प्युटर साईन्स, न त भाषिक ‘स्किल’ छ, न त वहाँ जस्तो आफु अनुकुल नेपाली भाषाका शब्द आविस्कार गर्नसक्ने ‘अथोरीटी' । अतः लक्ष्मी प्रसाद देवकोटाको महानता स्वीकार्दै, वहाँको अपुरो लेखलाई पूर्णता दिने घ्रिस्टता गर्दै छु; साथै नेपाली भाषा लेखनमा हुनजाने केहि ह्र्श्व-दिर्घ तथा अन्य व्याकरणको गल्तिको लागि अग्रिम माफी माग्दछु!

लक्ष्मी प्रसाद देवकोटा अगाडी लेख्नु हुन्छ, “यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृस्टीले हेर्दछन;.. ” , सायद वहँले “धोति”, “मनु मखु मर्श्या ख:”, “काले”, “हृतिक रोशन काण्ड” आदि हाम्रो समाजको कुरुप पाटो हेरेको भए पक्कै पनि लज्जित हुँदै आफ्नो वाक्य फिर्ता लिनुहुन्थ्यो होल । वहाँ ले, “..पहाडका शिशुहरु सन्तोष अनुभव गर्छन, मैदानका ताता मगजहरु खाली असन्तोष उम्लिरहेछन” लेखेको पढ्दा मन केहि खिन्न भएको हो । वर्तमानमा केहि उदण्डता पक्कै देखिएको हो, तर ईतिहास सक्षि छ । यो वाक्य लेख्दा वहाले जनक, विदुषी र बुद्धलाई बिर्सुनु भयो होला| महान भएपनि मानव हुन, गल्ति हुन्छ| यदि वहाले, आज “..यहाँ के छैन? मलाई आश्चर्य लाग्छ, के छैन?” भन्दै ट्वीट गरेको भए, मैले पक्कै पनि, “पेट्रोल” भनेर ठठ्यौली पूर्ण जवाफ फर्काउथे होला । “हामी पूर्ण छौ, सम्पन्न छौ, केहि आभाव छैन” जस्तो सोच “रीटोरीक” को लागी ठिकै हो तर यथार्थ हैन । आफ्नो अभाव, अपूर्णता र पछौटे पन स्वीकार्दै प्रगतिशील बन्ने प्रयास गर्नुपर्छ । “मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आखाँलाई शीतलता दिने केहि पाइन्न; जता हेर्यो उस्तै … मैदान बोधो छ एकनासे लाटोजस्तो, मैदान चित्रकारी हुन सक्तैन.. ” लेखेको पढदा, लक्ष्मी प्रसाद जी को नेपाली भाषाको ज्ञान र पहाड प्रति को मोह जती छ, मैदान प्रति को सुझबुझ र ‘एनालाईसीस’ त्यत्ति नै फित्तलो भएको अनुभूति भयो, सायद म गलत हुला यहा, तर मैले देखेको मैदान वहाँ को परिभाषा भित्र समेटिएको छैन| हुन पनि हो, मैदानमा बसोबास नै नगर्ने को परिकल्पनामा मैदान को नियास्रो चित्र हुनु अस्वभाविक हैन; गुनासो छैन । मैदान चिच्याटलाग्दो छैन, शान्त छ । आखाँलाई शीतलता दिने खेतमा लहराऊदो बाली छ । कहिले मधेश गएको बेला धानको बाली हावामा तरंग बनाउदै लहरीएको हेर्दा मनमुग्ध हुन्छु । फरक खेतमा देखिने फरक बाली को सम्पन्नताले रंगीन चित्र कोर्छ, मेरो मनमा । एकनास लाटो छैन, कहि गाढा हरियो छ, कही तोरीको पहेलो, कही बुझ्ने नसकिने टाटे-पाटे खैरो-निलो, कही हल्का हरियो.. मौसम अनुसार बदलिरहने, रंगीन । निक्कै रंगीन छ मधेश!

विभिन्न नेपाली भाषाका लेखकले मधेश/मैदान लाई कु-प्रस्तुत गरेका छन, यो प्रवृति नौलो हैन । “काला” का बारेमा “गोरा”ले लेख्ने साहित्य हेर्नुस, उस्तै ‘ट्रेन्ड’ पाउनु हुन्छ । जस्तै: ध्रुव चन्द्र गौतमले “अलिखित”मा चित्रण गरे जस्तो घृणापुर्ना, असभ्य र संस्कार बिहिन पनि छैन, मैले देखेको मधेश । अलि, पछौटेपन छ, जाती प्रथाले ग्रसित पनि छ; ” बाँकि नेपाल जस्तै”, तर “आलिखित” जस्तो “ईभील” छैन । गरीब छ, तर दयावान छ, भुकम्प जाँदा, पुरै पहाड हल्लिदा, मधेशले गरेको अद्वितीय सहयोगलाई झट्ट बिर्सेर पराई व्यबहार गर्ने काठमाडौँको अदुरदर्शिताले पृथ्वी नारायण शाहलाई लज्जित बनाउदो हो ।

मैले देखेको नेपालमा, पहाड छैन्न्, हजुर; केवल छन् त पहाडका प्रतिबम्ब र छाया.. टाढा छन्, एउटा रहस्य जस्तो हाम्रो शिर माथि दक्षिणबाट सुरक्षा गर्दिने अनुभूति दिने अटल भौतिक संरचना| एउटा अलौकिक भेद बोकेको अचल दैवी रचना जस्तो.. मैले देखेको नेपाल समतल छ, सामान्य छ, सरल छ, अबोध छ तर रीसाएको छ । मैले देखेको नेपाल…

मैले देखेको नेपाल रंगीन छ!
कृषकले रंग भर्दिने, रंगीन!
मैले देखेको नेपाल गरीब छ!
शितलहरीमा कठ्यांग्रिने, गरीब!
मैले देखेको नेपाल बिरोधाभाषी छ!
हकको लागी लड्दै गर्दा आफैमा भेदभावपूर्ण, बिरोधाभाषी!
मैले देखेको नेपाल मानवीय छ!
पहाड हल्लिएर दु:खमा हुँदा दु:ख बाड्ने, मानवीय!
मैले देखेको नेपाल अनन्त: छ!
आखाँले क्षितिज सम्म देखिने, अनन्त:!

मैले देखेको नेपालमा भाषिक विविधता छ, संस्कृतिक विविधता छ.. राजनैतिक बिबिधता छ, मैले देखेको नेपाल, प्रचलित नेपालको परिभाषा बाट पृथक छ । मैले देखेको नेपाल, ‘एनाक्रोनिस्टिक’ छ । माफ गर्नु होला, लक्ष्मी प्रसाद देवकोटा जती नेपाली भाषालाई नयाँ शब्द दिनसक्ने हैसियत छैन मेरो, त्यसैले अंग्रेजीका शब्दावलीको सहयोग लिएको छु । हिन्दि भाषा प्रयोग गरे, आफ्नो रस्त्रवाद माथि प्रश्न उठाउनेहरु संग अनावस्यक विवाद ‘एभोआईड’ गर्ने नीति अनुरुप, अंग्रजीलाई सहायक भाषाको रुपमा प्रयोग गरेको छु । भाषै त हो, भाषा लाई रास्त्रियता संग जोड्नु दुर्भाग्य पूर्ण देख्छु म । भाषा भनेको आफ्नो भावहरु अरु संग तरंगित गर्न सक्ने मध्यम हो, मेरो भाव तपाईसामु स्पस्ट पुग्न सके म आफुलाई सफल ठान्ने छु । भाषिक रुपमा पनि मधेश विविध छ| खैर, यो भाषाको यो विवादलाई यही थाती राखौ । अगाडी बढौ..

मैले देखेको नेपालको समस्याहरु ठुला छैनन् हजुर, तपाईले दुई दिन पेट्रोल नपऊँदा जत्रो पनि छैनन् त्यहाँको समस्या.. रीप्रजेन्टेटिव डेमोक्रेसीमा आफ्ना जनसंख्या अनुरुप रीप्रजेन्टेटिव पुर्याउन् पाउ, समावेसी राज्य संरचनामा आफ्नो अनुहार हेर्न पाउ, नेपाललाई कर्म भुमि बनाईसके पछि नेपाली भएको परिचयपत्र अर्थात् नागरीकता लिन पाउ, अन्तत्: नेपाली हुन पाउ भन्ने मात्र न हो । कुनै पनि देशको सामान्य नागरिकले मांग्ने, आधारभूत मांगहरु भन्दा केहि बढी मंगेका छन् र? नेपाली हुनु को परिभाषा यस्तो होस्, हरेक मधेशीले आफुलाई त्यो परिभाषा मा आफुलाई पाओस, मुलभूत रुप मा यत्ति नै हो माग!

मैले देखेकोको नेपालमा नेपाली भाषा बोल्लिन, लेखिन्न, र धेरै सुनिन्न पनि; दौरा-सुरुवाल लगईन्न, डाँफे परिकल्पना को चरा हो, लालीगुराँस कस्तो फुल हो धेरैले कल्पना मात्र गर्न सक्छन, मैले देखेको नेपाल मा केहि ले गाईको मासु पनि मनपराउछन!
रोटि-बेटी को संबन्ध कसैको लागी आधुनिक राज्य मा अव्याबहारीक होला, अकल्पनीय होला तर यथार्थ यही छ; स्विकर्नुस । राष्ट्रियता री-डिफाईन हुँदै गरेको युग हो यो । राष्ट्रियता को परिभाषा को परिधि व्यापक बनाउन जरुरि छ, ढिलो नगरौँ.. राउटे ले पनि नेपाली महसुस गर्न सक्ने राष्ट्रियता को परिधि बनोस । मैले देखेको नेपाल लाई पनि नेपाल हुने मौका दिनुस, वर्तमान समय निकै जटिल छ, तपाईले उदारता देखाउनु भएन भने, भबिष्यले हामीलाई धिक्कार्ने छ ।

Thursday, September 17, 2015

बिद्रोही --> रोबर्ट जे. सी को सर्ट स्टोरी Mutineer बाट नेपालीमा उल्था गरिएको

क्रुद्ध ट्रुपर लेन, टमामी स्क्वेरको माथि ३००० फीटको उचाईमा विचरण गरिरहेको थियो।
शल्यक्रियाद्वारा उसमा स्थापित शीतल यान्त्रिक दिमाग - साइब्रेन समस्यासँग जुधीरहेको थियो। तर ऊसँग कुनै धैर्यता थिएन। उनीहरू पसिनै-पसिना हुनेछन, उसको शरीरलाई यताउता लैजाने चीसो वायु प्रवाहसँग दिक्क मान्दै ऊ सोच्दथ्यो। टमामी स्क्वेरको सीमामा स्थापित तीन टावरहरूतिर ऊ एकतमासले हेर्दै उसले थुक्यो र त्यो झर्दै गरेको थुकको सेतो दानालाई हेरीरह्यो, हेरीरह्यो।
(लौ अब थुन मलाई सैन्यागारमा। मैले छोटो समयको बिश्राम त मागेको थिएँ। मैले उनीहरूको लागि चिसँग युद्ध गरेँ। साँच्चै बेकारमा पो गरेछु। अलिकति बिश्राम गरौँ, ताकि मेरो शीर विष्फोट नहोस। यतिबेला त सुरक्षा-कवच पनि छैन।)

ऊ त्यहाँ उपस्थित सबैको नजरमा परिसकेको थियो। ऊसले नगर प्रहरीहरूको हुललाई आफ्नो प्रशिक्षणको क्रममा कागजको पुतलाहरू भुटेसरह भुटेको थियो। त्यो कालो कुकुर लेनको पिठ्युँमा थियो। बुढो नगरप्रमुख आफैँ यस प्रकरणलाई हेर्दै थियो।

(किन नहेरोस् त? के नगरप्रमुख न्युयोर्क ट्रुपरहरूको मुख्य इन्चार्ज होइन र?)
काँधको पत्ताको मुन्तिर जडित एकनाससँग भुन-भुनाईरहेको गुरूत्त्वाकर्षणको प्रभावरहित यन्त्र - प्याराग्र्याभ प्याकले उसलाई न्युयोर्कका तीन प्रशासनिक टावरहरू माथि उचाइमा स्थीर राखिरहेको थियो। यी टावरहरू थिए टमामी हल, नगरप्रमुखको दरबार र न्यायालय। लेनले आफ्नै मूर्खतामाथि थुक्क गऱ्यो। उसलाई अगाडि कुनचाहिँ टावर के थियो भन्ने हेक्कै थिएन। (उनीहरू ट्रुपरहरूलाई प्रशिक्षणकक्षमा राखेर युद्धकला सिकाउँछन। उनीहरूलाई आफ्नै नगरको बारेमा जानकारी दिँदैनन् जुन नगरको लागि उनीहरू युद्ध गरिरहेका हुनेछन्। सात बर्षको उमेरदेखि ट्रुपरहरूले युद्धकलाको बारेमा यति धेरै सिक्नुपर्छ कि अन्य कुराको लागि समय नै हुँदैन।)
नगरप्रमुख पक्कै पनि ती देखिएका हजारौँ झ्यालहरूमध्ये कुनै एक झ्यालको पछाडि थियो।
परिपक्व साइब्रेन, ट्रुपर शल्य चिकित्सकहरूको उपहार, नगरको शानले नै त्यो सही झ्याल पत्ता लगाउनु पर्ने भयो। तातो रगत उसको नशा-नशामा सलबलायो, उसको सबै स्नायु अधीर भएर उखरमाउलो गर्न थाल्यो। लेन आफ्नो साइब्रेनको उत्तरको प्रतीक्षामा बसिरह्यो।

त्यसपछि उसको टाउको टाढाबाट आईरहेको आवाजतिर फर्क्यो। प्रहरीहरू आउँदै थिए। दुईवटा गुरूत्त्वाकर्षण प्रभाव रहित वाहनहरू न्युयोर्कको क्षेप्यास्त्र प्रतिरोधी अर्धपारदर्शी शक्ति क्षेत्र, सेलको पछाडि पट्टि चलेको देखियो।

(परिपक्व साइब्रेन छिटो गर। एकदम छिटो!)
साइब्रेनले मेरुदण्डमा एक संवेगको सञ्चार गऱ्यो। लेनको शरीर हावामा गोलचक्कर खान थाल्यो। साइब्रेनले लेनको चाललाई नियन्त्रणमा लियो र उसको आफ्नै दिमाग पनि यो यात्रामा उसको सहयात्री भयो।

उसको शरीर सीधै तल डाईभ गर्ने पोजिसनमा मोडियो। अनि ऊ गति लिँदै तल झर्न थाल्यो। उसको कवचयुक्त हातहरू तीरको टुप्पोझैँ सीधै अगाडि तन्किए। ती हातहरू कुनै एक टावरमा भएको कुनै एक झ्यालतर्फ बढ्दै गए। जसै ऊ अगाडि बढ्दै गयो, एक हिंसक उत्साह उसमा भरिँदै गयो। उसलाई फेरी पनि युद्धमा गएझैँ लाग्दै थियो। एउटा रातो-सेतो-हरियो झण्डा झ्यालको मुन्तिर फहराईरहेको थियो। कसको झण्डा? नगरको झण्डा त सुन्तला र नीलो रङ्गको थियो। उसले त्यो कुरालाई बेवास्ता गऱ्यो। साइब्रेनलाई थाहा छ ऊ के गर्दैछ।

उसले धातुको कवचयुक्त दाहिने हातको कान्छी औँलामा कम्पन महसुस गऱ्यो। एउटा पहेँलो किरण-भाइब्रे, लेन्सयुक्त उसको औँलाबाट प्रबाहित भयो। सिसा तथा प्लास्टिक मिश्रित ग्लास्टिक पाता चकनाचुर भयो। लेन झ्यालबाट भित्र छिऱ्यो।
उसको प्याराग्र्याभ प्याक बन्द भयो र ऊ बिस्तारै जमीनमा युद्धमुद्रामा कुप्रिँदै झऱ्यो। एउटा थ्रीभी सेटबाट आवाज आईरहेको थियो। एउटी केटी चिच्याई। लेनको हातले स्वचालित रूपमा निशाना लगायो। उसको औँलामा कम्पन भयो, आँखाको कुनाबाट उसले त्यो केटी जमीन तिर ढलेको देख्यो। कोठामा अरु कोही पनि थिएन, लेन अझै पनि कुप्रँदै ओठ टोक्न थाल्यो।

(मेयर खोई?)
उसले टाउको घुमाएर थ्रीभी सेटतर्फ नियाल्यो। उसले थ्रीभी सेटमा आफ्नै अनुहार देख्यो।
“प्रहरीहरूलाई भाइब्रे सुट गर्दै,” समाचार वाचक भन्दै थियो, “लेन म्यानहाटन सैन्यागारबाट बलपूर्वक बाहिरियो। घटनामा दुई प्रहरीहरूको मृत्यु भएको छ र अन्य चार प्रहरीहरूलाई गहिरो चोट लागेको छ। टमामी हलको अनुसार भाग्ने व्यक्ति एकदमै खतरनाक छ। नागरिकहरूलाई उसबाट टाढा तथा सुरक्षित रहन अनुरोध गरिन्छ। लेन एक क्रुर हत्यारा हो र ऊ अत्याधुनिक सैनिक हतियारहरूले सुसज्जित छ। एक साइब्रेन उसका संवेगहरूको नियन्त्रण गरिरहेको छ ––”
“लौ अब धेरै नभट्या,” भन्दै लेनको औँला तन्कियो र ठुलो आवाजका साथ, अर्को क्षण त्यो थ्रीभी सेट ग्लास्टिकको डल्लोमा परिणत भयो।

(मेयर खोई?)
लेन झ्यालतर्फ बढ्यो। दुईवटा प्रहरी वाहनहरू टावरको माथितिर विचरण गरिरहेका थिए। लेनको कवचयुक्त हात उसको कम्मरको पेटीमा जडित एउटा पोको खोतल्न थाल्यो र हत्केलाभरको घनाकार बस्तु जमीनतिर फाल्यो।

त्यो फोर्स बम पड्क्यो या फुल्यो या फैलियो, साँच्चै, उसले त्यही विस्फोटकै गतिमा झ्यालबाहिर हेऱ्यो। शक्ति क्षेत्रको एउटा भाग माथिबाट आउँदै थियो जसले उसको झ्यालबाहिरको दृश्यलाई अवरोध पुऱ्यायो र त्यसभन्दा तलको टावरको भित्तातिर प्रवेश गऱ्यो।

अब त्यो केटी।

ऊ कोठा भित्र आयो। “ब्युँझ नगर बाहिरकी नानी।” उसले भाइब्रेको हल्का स्पर्शले उनलाई ब्युँझायो।
“तिमी को हो?” उनले काम्दै सोधीन।
लेन फिस्स मुस्कुरायो। “ट्रुपर लेन, न्युयोर्क स्पेशल ट्रुपबाट।” ऊ स्यालुटको पारामा तनक्क तन्कियो। “तिमी अर्कै नगरबाट हुनुपर्छ। मैले न्युयोर्कको केटीले पहेँलो कपाल बनाएको धेरै बर्ष भयो देखेको छैन। सुन्तला रङ्ग र नीलो रङ्ग आदतै भईसक्यो। अनि तिमी मेयरको कोठामा के गर्दै थियौ?”

केटी बिस्तारै आफ्नो खुट्टाको सहाराले उभीई। लेनले देख्यो केटी खाइलाग्दी थिई। ऊ सुन्दर थिई अनि हेर्दै ऊ त्यस शहरभन्दा बाहिरबाट आएकी देखिन्थी। ऊ सिधा उभीई आफ्नो नीलो तथा बैजनी आँखा तर्दै लेनलाई हेर्न लागि – “के वाहियात काम गर्दैछौ, सैनिक? म मंगलको ग्रासरुट्स रिपब्लिकबाट यहाँ आएको कुटनीतिज्ञ हुँ। यो एक दुताबास हो, यदि तिमीलाई त्यसको अर्थ थाहा छ भने।”

“अहँ थाहा छैन,” बेवास्ता गर्दै लेनले भन्यो।
“हेर, यदि तिमीसँग दिमाग भएको भए त्यो बाहिरको झण्डाको सम्मान राख्थ्यौ होला। सैनिक, त्यो मंगल ग्रहको झण्डा हो। यदि तिमीले कुटनीतिक उन्मुक्ति बारेमा सुनेको छैनौ भने तिमीले यो अज्ञानताको नराम्रो मूल्य चुकाउनु पर्छ।” उसका ठूला, अँध्यारा आँखा साँघुरिँदै गए – “तिमीलाई यहाँ कसले पठायो?”

“मेरो साइब्रेनले मलाई यहाँ ल्यायो।”
उसको मुख आश्चर्यले खुल्यो – “तिमी लेन हौ!”
“हो म त्यहि मानिस हुँ जसको बारेमा थ्रीभीले तिमीलाई जानकारी दियो। नगरप्रमुख खोई? यो उनकै अफिस होइन र?”

“होइन, होइन, तिमी गलत कोठामा छौ। अझ गलत भवनमा। नगरप्रमुखको कक्ष उ त्यता छ।” उसले हातले इशारा गरी, “उ त्यहाँ हेर त जहाँ बार्दली छ। यो त दुताबास भवन हो। यदि तिमीलाई मेयरसँग भेटनु छ भने त्यतै जानुपर्छ।”

“तिमीले जानेको कुरा,” लेनले भन्यो, “साइब्रेनलाई पनि थाहा रहेनछ, मैले जाने जत्ति पनि।”
केटीले त्यो शक्ति प्रभाव क्षेत्र बिस्तारित हुँदै गएको देखी। “त्यहाँ के हो त्यो?”

“रक्षा कवच हो। यसको आर-पार पुर्ण शक्तिवाला महाबिनाशक किरणभन्दा अरू केही जान सक्दैन। यसले प्रहरीहरूलाई बाहिर राख्छ। तिमीलाई पनि सुरक्षित राख्छ। के तिमी साँच्चै नै बिशिष्ट व्यक्ति हौ?”

“मैले अगाडि नै भनिसकेँ म एक राजदुत हुँ। मंगलबाट एक कुटनीतिक मिसनको लागि यहाँ आएको।”

“ए? मंगल? ठुलो शहर होला हैन त्यो?”
उसले एकटकले लेनलाई हेर्न थाली, उसका बैजनी आँखाहरू बिस्फारित हुँदै गए – “मंगल ग्रह।”
“ग्रह? ए त्यो मंगल ग्रह। अँ त्यसको बारेमा सुनेको त छु – त्यहाँबाट आउन त अन्तरीक्ष यान चाहिन्छ होइन? तिम्रो नाम के हो?”
“गेरी किन। हेर लेन, मलाई उठाएर कुनै काम छैन। झन तिमीलाई समस्या पर्न सक्छ। के गर्न चाहन्छौ?”
“म नगरप्रमुखसँग भेटन चाहन्छु। म र मेरा साथीहरू, हामी भर्खर चीबाट युद्ध सकेर आयौँ। हामीले जित्यौँ। त्यहाँ चीमा नयाँ नगरप्रमुख बने। अहिले उसले आदेशहरू सबै न्युयोर्कबाटै लिन्छ।”
गेरी किन ले भनिन्, “प्रत्येक शक्ति केन्द्रले त्यसै त गर्थे। पुर्ण सुरक्षा - तर नगर-राज्यमा निरकुंशता फर्किने बाटो पनि त त्यही हो - अराजकता पनि।”
लेनले भन्यो, “अँ, अनि हामीले त्यही गऱ्यौँ जो उनीहरू चाहन्थे। हामीले उनीहरूको युद्ध लड्यौँ। अनि हामी न्युयोर्क फिर्ता आयौँ अनि उनीहरू हामीलाई फेरी सैन्यागारमा कैद गर्छन। तलब दिँदैनन। हामीलाई बाहिर निस्कनसमेत दिँदैनन। नगर प्रहरीहरूको घेरामा राख्छन।” लेन रीसले चुर हुँदै भन्यो। “अनि म निक्लेँ। म नगरप्रमुखसँग भेटन चाहन्छु र सोध्न चाहन्छु हामीले छुट्टी किन नपाउने? म छक्का पञ्जा जान्दिन गेरी, म त सिधै माथिल्लो तहमा नै जान्छु।”

लेनले आफ्नो कुरा सिध्यायो। झ्याल बाहिरबाट भिन-भिन आवाज आइरहेको थियो। ऊ आवाज आएतिर फर्क्यो र बाहिरतिर घोरीयो। प्रहरीको गुरुत्त्वप्रभावहीन दुई वाहनहरू रक्षा कवच भएतिर फर्केको थियो। लेन ले ती वाहनहरूमा पोतीएको सेतो रङ्गको नम्बर प्रष्टसँग पढ्न सक्थ्यो।
लाउडस्पीकरको आवाज कोठा भित्र फैलियो – “त्यहाँबाट बाहिर निक्ल लेन, नत्र भने रक्षा कवच तोडेरै तिमीलाई बाहिर निकाल्छौँ।”

“त्यसो गर्न सक्दैनौ,” लेनले भित्रबाट भन्यो। “मंगल ग्रहको विशिष्ट अतिथी गेरी किन यहीँ छीन्।”
“म फेरी भन्दैछु लेन – बाहिर आऊ, नत्र हामी कवच तोडेरै निकाल्छौँ।”
लेन केटीतर्फ फर्कियो – “मलाई त लाग्थ्यो तिमी विशिष्ट व्यक्ति होलाऊ।”

उनी त्यहाँ आफ्ना दुबै हात बाँधेर, शान्त रूपमा उसलाई हेर्दै उभीइन् र भनीन् – “अवश्य हुँ। अनि उनीहरूको लागि तिमी पनि बिशेष व्यक्ति हौ। मंगल ग्रह यहाँबाट लाखौँ माइलको दुरीमा छ, अनि तिमी नगरप्रमुखको भवनको ठीक विपरीततर्फ।”
“हो, तर –” लेनले टाउको हल्लायो र झ्यालतर्फ फर्क्यो। “ठीक छ, हेर! तिमीहरू यो वाहनहरू हटाओ, अनि म यो केटीलाई छोडिदिन्छु।”
“कुनै शर्त हुँदैन लेन। हामी आउँदैछौँ।” प्रहरी वाहनहरू बिस्तारै पछाडि हटे, अनि माथितिर हुइँकिए र ओझेल भए।

लेनले तर स्क्वेर तिर हेऱ्यो। निकै तल, लामो चम्किरहेको बिनाशक तोपको नालको चमक न्युयोर्कको सेल भवनको पारदर्शी भागको पछाडिबाट फिल्टर भएर आउँदैथियो। त्यो तोप स्क्वेरको मध्य भागतिर बाकस आकारको झुसिलकिरा जस्तो देखिने खोलमा घिसार्दै ल्याइयो। र टावरहरूको आधारस्तम्भबाट समान दुरीमा स्क्वेरको बिचोबिच स्थापित भयो।

यतिखेर तलबाट अत्याधिक गुन-गुन आवाजहरू आउन थाले। लेनले तल नियालेर हेऱ्यो – थुप्रै व्यक्तिहरूको एक समूह टमामी स्क्वेरमा जम्मा हुन थाल्यो। ध्वनी समन यन्त्र जडित ट्रकहरू मानिसहरूको भिडको छेवैमा एकत्रित हुन थाल्यो। सबै मानिसहरू माथि हेर्न थाले।

लेनले स्क्वेरको पारिपट्टि हेऱ्यो। पारिपट्टिको टावरका झ्यालहरू, जुन उसले सजिलै देख्न सक्थ्यो, सबै मानव अनुहारहरूले भरिएका थिए। गेरी किन ले देखाएको नगरप्रमुखको बार्दलीमा केही सेतो छिर्केमिर्के अनुहारहरू थिए।

थ्रीभी समाचारको आवाज स्क्वेरबाट फैलँदै र टावरको भित्ताहरूमा प्रतिध्वनित हुँदै माथितिर सऱ्यो।
“लेनले मंगल ग्रहको राजदुत, गेरी किन लाई बन्दी बनाएको छ। तपाईँहरू शक्ति प्रभाव क्षेत्रको पछाडिको तिन रङ्गको झण्डा देख्न सक्नुहुन्छ। प्रहरीहरू महाबिनाशक तोप ल्याउँदै छन्। लेनको सुरक्षा प्रणाली त्यही कवच प्रणाली हो जसले न्युयोर्कलाई आकाशीय हमलाबाट जोगाउँछ।”
लेनले गेरी किन तिर फर्केर मुस्कुराउँदै भन्यो – “पुरा शहर यहिँ एकत्रित भएको छ।” त्यसपछि उसको मुस्कान त्यसै हरायो। यती राम्री, मृदुभाषी यस्ती केटी मर्ने चाहना त्यति राख्दिन होला जति ऊ त्यसबाट बेखबर छ। तिनीहरू यो केटीलाई बाँच्ने एक मौका दिन किन चाहँदैनन? सायद अब यो काम उसले गर्न सक्छ।

साइब्रेनले भन्यो, “होइन। शक्ति प्रभाव क्षेत्र बन्द गर्नासाथ उनीहरूले यो पुरै कोठालाई ध्वस्त पार्नेछन। मंगल ग्रहकी यो केटीको कुनै सम्भावना नै थिएन।”

गेरी किन ले आफ्नो हात निधारतिर लगी। “तिमीले मेरै कोठा किन रोज्नु परेको नि? मलाई यो पागलहरूको शहरमा किन पठाएका होलान? निजी सैनिकहरू रे। दुई करोड व्यक्तिहरू एउटै भवनमा लासमा किराहरू परे सरह बस्ने। पृथ्वी देखि म दिक्क भएँ। यिनीहरूले मार्ने भए। अब के होला?”
उसले उनलाई निराश हुँदै हेऱ्यो। ट्रुपरहरूको सामु दुई किसिमका केटीहरू मात्र आउँथे कि त उनीहरू पागल हुन्थे कि त नगरले किनेका नगरवधुहरू हुन्थे। उसले मन पराएको कुनै केटी ऊ आफैँ मृत्युको नजिक हुँदा मात्र भेट्ने किन? यतिबेला जब ऊनी अलि कम त्रासमा र कम रिसमा भएकोले ऊसँग सिधै बोलिरहेकी थिई। राम्री थिई तर उसको लागि अति राम्री छु भनेर नक्कल पारिरहेकी पनि थिइन।

“उनीहरूले अब चाँडै नै प्रहार गर्छन,” लेनले भन्यो। “मलाई तिम्रो चिन्ता लागिरहेछ।”
“बुबा-आमालाई चिठी लेख्न पाए पनि हुने।” उनले भनीन्।
“के?”
“मैले भनेको बुझेनौ?”
“चिठी भनेको के हो?”
“मंगल ग्रह कहाँ छ थाहा छैन। अनि चिठी के हो पनि थाहा छैन। तिमी त सायद लेख्न पढ्न पनि सक्दैनौ होला!”

लेनले कुम नचायो। उसले आफ्नो वार्ता अनिच्छापुर्वक जारी राख्यो, पेशेवर योद्धाले युद्धको अगाडि आनन्द माने जस्तै गरी – “यी मैले गर्न नसक्ने चिजहरू के हुन? के ती महत्त्वपुर्ण छन्?”
“हो तर जति म यो शहरलाई अनि यहाँका मानिसहरूलाई हेर्छु, त्यति नै यिनीहरूको महत्त्व महसुस गर्दछु। तिमीलाई युद्धकला राम्रो आउँछ होइन? म ठोकुवा गर्न सक्छु ती हतियारहरू चलाउन तिमी पोख्त छौ।”

“सुन्नुस, उनीहरूले मलाई म सानो छँदैदेखि युद्ध गर्न सिकाए। अनि म राम्रो योद्धा किन नबन्ने?”
“बिशिष्टता,” मंगल ग्रहकी केटीले भनीन्।
“के?”
“बिशिष्टता। मैले यहाँ जो पनि भेटेँ ऊ विशेषज्ञ छ। सामाजिक विशेषज्ञ ले सरकार चलाउँछ। यान्त्रिक विशेषज्ञले यन्त्रहरू चलाउँछ। ट्रुपरहरू युद्ध लड्छन। अनि नब्बे प्रतिशत जनता काम गर्दैनन किनभने उनीहरूलाई कुनै तालिम नै दिइएको हुँदैन।”
“प्रशंसकहरू,” लेनले भन्यो। “उनीहरू नरम मिजासका हुन्छन। उनीहरू जो तल यो युद्ध हेर्न आएका छन्।”
“तिमीलाई थाहा छ लेन, किन तिमीहरूलाई सैन्यागारमा राखिएको? हिजो रात्रीभोजमा मैले उनीहरूले कुरा गरेको सुनेकी थिएँ।”
“किन?”
“किनभने उनीहरू ट्रुपरहरूसँग डराएका छन्। तिमीहरूले चि मा राम्रो युद्ध कला प्रदर्शन गऱ्यौ। तिमीहरू उनीहरूले बनाएका सबैभन्दा घातक हतियार हौ। तिमी मात्र एक आकाशीय सैनिक।”
लेनले भन्यो, “तर उनीहरूले ट्रुपर प्रशिक्षणगृहमा त युद्ध जित्ने त मानिसहरू मात्रै हो भन्थे त।”
“हो, तर न्युयोर्कका सामाजिक बिशेषज्ञहरूले ट्रुपरहरू ल्याउनुभन्दा अगाडि यो बिर्सिसकेका थिए। ट्रुपरहरू भन्दा अगाडि सरकारहरू सँधै ठुला-ठुला हतियारहरूमा मात्र एकाग्र भएर लागेका थिए। ती हतियारहरू क्षेप्यास्त्र, बमहरू आदि थिए। अनि शहरहरू रक्षा कवचको सहायताले बम तथा यस्ता हतियारहरूबाट सुरक्षित थिए। उनीहरू यही शहर सुरक्षा घेरा भित्र आत्म निर्भर अनि आत्म सन्तुष्ट भए। उनीहरू यति सुरक्षित, निश्चिन्त अनि वियोजित भए कि, राष्ट्रीय सरकारहरू धराशायी भए। तर तिमी ट्रुपरहरूले उनीहरूको त्यो सुरक्षाको भावनालाई निमिट्यान्न पारिदियौ, जब तिमीहरूले चि को सुरक्षा घेरा लाई भेदेर चि लाई कब्जा गऱ्यौ।”

“ए, हामीले उनीहरूलाई तर्सायौँ होईन त?”
गेरी भन्दै गई – “तिमीले उनीहरूलाई यति तर्सायौ कि तिमी फर्केपछि उनीहरू तिमीलाई केही दिनको छुट्टी पनि दिन चाहेनन। उनीहरूलाई डर थियो कि तिमी ट्रुपरहरूले महसुस गर्ने छौ कि तिमीहरूले चाह्यौ भने कुनै पनि शहर सजिलै कब्जा गर्न सक्नेछौ। उनीहरू यति तर्सेका छन् कि उनीहरू म मरे पनि मतलब राख्दैनन। उनीहरू तिमीलाई मार्न पाए मंगल ग्रहसँग दुश्मनीको जोखिम मोल्न पनि तयार हुनेछन्।”

“म तिम्रो बारेमा चिन्तित छु। साँच्चै, म ---”
त्यसै बेला कर्णभेदी ठुलो विस्फोटले उसलाई कार्पेटतिर हुत्यायो, उसका कान बन्द भए, आँखा तिर्मिराए।

उ सम्भालियो र देख्यो गेरी केही फीट पर चार हातखुट्टामा उभीएकी थिई।
लेन झ्यालतिर हामफाल्यो, छिटो बाहिर हेऱ्यो, र उफ्रियो। साइब्रेनले उसको स्नायुप्रणालीमा आदेश प्रबाहित गर्न थाल्यो।

“यो महा बिनाशक तोप हो,” उसले भन्यो। “तर एउटा मात्र। पख साइब्रेन म यसलाई छल्न सक्छु।”
उसले आफ्नो सुरक्षा कबचको नियन्त्रक कालो बाकस उठायो। त्यसलाई खोल्दै बुढीऔँलाको दवावबाट एउटा सानो डायल घुमायो अनि पर्खियो।
फेरी एउटा ठुलो धमाका, दिमागै हल्लाउने कम्पन।
फेरी लेन र गेरी जमीन तिर लडे। तर यस पटक दोश्रो विस्फोट पनि संगसंगै भयो अनि तलबाट प्रकाशको पुञ्ज पनि फैलियो।

लेन बच्चा हाँसे झैँ हास्यो र झ्याल तर्फ दौड्यो।
“हेर,” उसले गेरीलाई भन्यो।

तलको भीडमा एक ठुलो भाग खाली भएको थियो। फुटपाथ पुरै कालो भएको थियो र छिया छिया परेको थियो। खुल्ला ठाउँ भित्र अनि त्यसको वरिपरि दर्जनौ काला आकृतिहरू यत्र-तत्र छरिएका थिए।

“परावर्तन,” लेन ले भन्यो। “मैले कवचको स्क्रिन उनीहरूको महा बिनाशक किरण परावर्तन भएर उनीहरूप्रति नै लक्षित हुने गरि सेट गरेको थिएँ।”
“अनि उनीहरूलाई थाहा थियो कि तिमीले यसो गर्न सक्छौ भनेर। तैपनि त्यत्रो भीड जम्मा हुन दिए!”
गेरी दिक्क मान्दै झ्यालबाट पर गई।

लेनले भन्यो, “म एक दुई पटक अझै यसो गर्न सक्छु तर यसले मेरो कवच पनि जल्छ। अनि त्यस पछि म मर्नेछु।”
उसले थ्रीभी समाचारवाचकको आवाज सुन्योः “करीब पचास जना हताहत भए। अहिले स्थिती लेनको पक्षमा छ। प्रहरीहरूको प्रयासलाई उसमा जडित साइब्रेनले बिफल तुल्यायो। यतिबेला प्रहरीहरू यो समस्याको समाधान गर्नको लागि न्यायालयको भुइँतल्लामा भएको उनीहरूको मुख्य एनालग कम्प्युटरमा यस समस्याको बारेमा जानकारी प्रविष्ट गराउँदै छन। जानकारी प्रविष्ट हुनासाथ प्रहरीको एनालग कम्प्युटरले चाँडै नै साइब्रेनको सोच्ने शक्तिलाई नियन्त्रण गरेर लेनको योजनाको बारेमा अग्रिम जानकारी पाउने छ। चारवटा अरू महा बिनाशक तोपहरू ब्रोडवेबाट झिकाइँदै छ---”

“उनीहरू यी मानिसहरूलाई स्क्वेरबाट किन हटाउँदैनन?” गेरी चिच्याई।
“के? ए ती प्रशंसकहरू—तिनीहरूलाई कसैले हटाउँदैन।” ऊ एक छिन रोकियो। “म एउटा प्रयास गर्न सक्छु।”
उसले कवचयुक्त पञ्जा मुखतिर लग्यो र नाडीमा भएको एउटा बटन दबायो। उसले भन्यो, “ट्रुपर हेडक्वार्टर, म लेन बोल्दैछु।”

उसको हेलमेटमा एक आवाज आयो। “लेन ट्रुपर हेडक्वार्टर बाट, तिमीले यहाँ कल गरेका रहेछौ।”
“कर्नल क्लेटसँग कुरा गराउनुस।”
तीस सेकेण्ड बित्यो। लेन ले बाहिरबाट झिकाइएका चलनशील महा बिनाशक तोपहरू टमामी स्क्वेर तिर भित्रिँदाको खन्द्र्याङ-खुन्द्रुङ सुनिरहेको थियो।

लेनको कानमा ट्रुपरहरूको कमाण्डिङ अफिसरको आवाज गुञ्जन थाल्यो। “महामूर्ख! मेरो आदेश नमान्ने होइन! अहिले आफूलाई हेर त!”
“मलाई थाहा थियो त्यो तपाईँको आदेश थिएन, सर।”

“त्यहाँबाट केही गरि बाँचेर आइस भने तँलाई मेरो आदेश उल्लंघन गरेको अपराधमा झुण्ड्याउँछु।”
“हुन्छ, सर। तर यहाँ एउटी केटी छिन – कोही बिशिष्ट व्यक्ति – मंगल ग्रहबाट। तपाईँलाई ग्रहहरूको बारेमा त थाहा छ नि सर। उनी भन्छीन् यदि हामीले चाह्यौँ भने हामीले कब्जा गर्न सक्छौँ। के त्यो सत्य हो सर?”

केही बेरको बिश्रामपछी उताबाट आवाज आयो – “ती केटीले भनेको कुरा सत्य हो लेन, तर अहिले ढीलो भइसकेको छ। यदि हामीले पहिले नै योजना बनाएर नगर सरकार कब्जा गरेको भए यो सम्भब थियो। तर अहिले उनीहरू तयार छन। हामीलाई महा बिनाशक तोपबाट भुट्ने छन।”

“सर मलाई तपाईँको सहयोग चाहियो। मलाई थाहा छ तपाईँ मेरै पक्षमा हुनुहुन्छ।”
“म तिम्रै पक्षमा छु लेन।” कर्नेल क्लेटको आवाज भारी भयो। “म यो कुरा स्वीकार गर्ने थिइन यदि तिमीसँग त्यहाँबाट बचेर आउने सम्भावना भएदेखि। तिमीले गर्नुपर्ने काम गऱ्यौ बाबु। तिमीलाई बचाउनको लागि मैले अरू मानिस गुमाउनु पर्छ। जब उनीहरूले त्यो जानकारी एनालग कम्प्युटरमा दाखिला गर्ने छन तिमी सिद्धिनेछौ।”

“हो, सर।”
“मलाई माफ गर लेन।”
“हुन्छ सर, ओभर एण्ड आउट।”
उसले नाडीको बटन फेरी दबायो। ऊ गेरी भए तर्फ फर्क्यो।
“तिमी ठीक छौ। मेरो इच्छा तिमीलाई बचाउने हो। तर यो साइब्रेन भन्छ, मैले सक्दिन। भन्छ यदि मैले शक्ति कवच बन्द गरेँ भने उनीहरूले सोझै कोठामा निशाना बनाउने छन, अनि हामी दुवै मर्नेछौँ।”

गेरी दुबै हात बाँध्दै उभीई अनि उसलाई हेर्दै भन्न थालि, “तिमीलाई जे गर्नु ठीक लाग्छ गर। जहाँसम्म मैले देखेकी छु, यो शहरमा तिमी मात्र एक व्यक्ति हो जो अलिकति भए पनि आफ्नो पक्षमा ठीक छ।”
लेन हाँस्यो, “मैले देखेका र भेटेका सबै नगरकन्याहरू अति डराउँछन। तिमी पनि त छुट्टै छौ।”

“जतिबेला मेरा हजुरबुबाले मंगल ग्रहमा पाइला टेक्नु भयो, वहाँहरूले बुझ्नुभयो कि स्वार्थ लिनु बिलासीताको लक्षण हो। मंगल ग्रहबासीहरू यसको मोल तिर्न सक्दैनन्।”

लेनले सोच्ने मुद्रामा निधार खुम्च्यायो। “तिम्रो अनुसार म मेरो पक्षमा ठीक छु। त्यो सोच राम्रो हो। मलाई आजसम्म कसैले पनि यसरी आफ्नो बारेमा सोच्ने अवसर दिएको छैन। यो जानेर मर्नु मेरो लागि राम्रो कुरा हो।”

“मलाई थाहा छ,” गेरीले भनी।
तलबाट आएको लाउड स्पीकरको आवाजले भन्न थाल्यो, “प्रहरीको एनालग कम्प्युटर महा बिनाशक तोपको नियन्त्रणसँग जोडिएको छ। अब लेनको साईब्रेनको सबै योजना अग्रिम रूपमा थाहा हुनेछ।”
लेनले गेरी लाई हेऱ्यो र भन्यो। “मलाई उनीहरूले भेट्टाउनु अघि एक चुम्बन लिँदा कसो होला? तिमी जस्ती केटीको चुम्बन पाएर मर्नु मेरो जीवनकै उत्कृष्ट अवसर हुनेछ।”

उनी मुस्काउँदै अघि बढीन्, “तिमी यसको हकदार पनि छौ, लेन।”
उसले उनलाई चुम्यो र उसको भित्र-भित्र नजानिँदो बेनामे चाहनाहरू उम्लिएर आयो। अनि ऊ पछाडि हट्यो र टाउको हल्लाउँदै भन्यो, “तिमी मर्नु राम्रो हुँदै होइन। यदि म त्यो झ्यालबाट बाहिरिएँ भने उनीहरूले मलाई ताक्नेछन यहाँ होइन।”
“अनि तिमीलाई चाँडै मार्नेछन।”
यो बन्द कोठामा झुल्सिएर मर्नुभन्दा त त्यहि बेश। तिमी आफ्नो पक्षमा ठीक छौ। यहाँ थुप्रै ट्रुपरहरू त छन तर तिमीजस्ता राम्रा मानिस कम छन्। यो साइब्रेनले भन्छ यहीँ बस, तर अब म यसको आदेशमा हिँडदिन। म तिम्रो चुम्बनको मुल्य चुकाउँछु।”
“तर तिमी त यहीँ सुरक्षित हुन्थ्यौ!”
“तिमी आफ्नो बारेमा चिन्ता गर, मेरो बारेमा होइन।” लेनले फोर्स बम निकाल्यो र उनलाई दिँदै भन्यो। “जब म ‘अन’ भन्छु, तब यो बटन थिचेर आफ्नो हात झट्ट हटाउनु। यसले सुरक्षा कवचलाई एक सेकेण्डको लागि बन्द गर्नेछ।”

ऊ झ्यालको बाहिरपट्टिको टपमा चढ्यो। स्वचालित रूपमा साइब्रेनले प्याराग्र्याभ प्याक आफैँ बन्द गऱ्यो। “अलबिदा गेरी। ‘अन’।”
ऊ झ्यालको टपबाट हामफाल्यो। जब महा बिनाशक तोप फायर भयो, ऊ टमामि स्क्वेरको पारितिर हुइकिँदै थियो। ती तोपहरू त्यो झ्यालतिर लक्षित थिएन जुन झ्यालमा रातो सेतो र हरियो तिनरङ्गे झण्डा फहराईरहेको थियो। तर तिनीहरू लेन तिर पनि लक्षित थिएनन्। उनीहरू अन्धाधुन्ध फायरिङ गरिरहेथे।

(अब कुन बाटो जाने होला? सायद मसँग एउटा मौका छ। तर साइब्रेन त तोप भएतिर लैजान खोज्छ।)

उसले अगाडि नगरप्रमुखको क्याबिन देख्यो। (साईब्रेनले जेसुकै गरोस। म मलाई जे ठीक लाग्छ त्यो गर्छु। म यहाँ नगरप्रमुखलाई भेटन आएको हुँ, अब त्यतै जान्छु।)

लेन अगाडि बढ्यो। उसले डरले त्रस्त भएका मानिसहरूको क्रन्दन सुन्यो।
ऊ बार्दलीको रेलिङतिर हुँइकियो। एउटा व्यक्ति महा बिनाशक किरण युक्त पेस्तोल ऊ भएतिर तेर्साईरहेको थियो। बार्दलीमा अरू पाँचजना मानिसहरू थिए – संकटको अवस्था! बर्षौँको प्रशिक्षण र साइब्रेनले स्थिति नियन्त्रणमा लिए। औँलाहरूमा कम्पन हुन थाल्यो। जब ऊ बार्दलीमा युद्ध मुद्रामा कुप्रेको थियो ती सबै मानिसहरू उसका वरिपरि लडिरहेका थिए।

महा बिनाशक किरण युक्त पेस्तोल लिएको मानिसलाई उसले पहिले देखेको थियो। उनी न्यु योर्कका नगर प्रमुख थिए।
लेन एकै छिन ती हतप्रभ भएको मानिसहरूको बिचमा उभीइरह्यो, मानिसहरूको चित्कार उसको वरीपरी फैलँदै थियो। अनि उसले हातको कवचयुक्त पञ्जा मुखतिर लग्यो र म्यानहाटन सैन्यागारमा सम्पर्क गऱ्यो।

“कर्नल क्लेट, सर। तपाईँ भन्नुहुन्थ्यो यदि हामीले नगर सरकारलाई कब्जा गर्न सक्यौँ भने हामी सफल हुन्छौँ। ल मैले नगर सरकार कब्जा गरेँ। अब यिनीहरूलाई के गर्ने हो?”

लेन यतिबेला आफुले लगाइरहेको युनिफर्ममा अप्ठ्यारो महसुस गर्दै थियो। यस भन्दा अगाडि टमामि स्क्वेरमा न्युयोर्कको नयाँ सैन्य संरक्षित शासनको उद्धाटन र ट्रुपर लेनको सम्मान कार्यक्रम थियो। यतिबेला औपचारिक रात्रीभोज चलिरहेको थियो। कर्नल क्लेट र गेरी किन लेन को दुबैतिर बसेका थिए।

क्लेट भन्दै थिए, “मलाई अवसरवादी भने पनि भन्नुहोला मिस केन, मेरो सरकार स्थीर रहनेछ, र मंगल ग्रहले यससँग सम्झौता गर्न सक्छ।” कर्नल क्लेट एक दुब्लो-पातलो कडा मिजाजका अनुहार भरि खतै-खत भएका अनि केश पाक्दै गएका व्यक्ति थिए।

गेरीले आफ्नो टाउको हल्लाईन् र भनीन्, “नयाँ सरकारले मान्यता पाउन केही समय लाग्छ। म मंगल ग्रहमा जाँदैछु, अनि सायद उनीहरूले अर्को राजदुत पठाउलान। मेरो त्यस्तो गुनासो केही छैन – तर म यहाँ बस्न चाहन्न।”

लेनले भन्यो, “म पनि मंगल ग्रह जाँदैछु।”
“उनले बोलाएकी हुन र?” क्लेटले सोध्यो।
लेनले अस्विकृतीमा टाउको हल्लायो। “उनको क्लास त मैले धेरै लिनु छ। तर मलाई उनले मंगल ग्रहको बारेमा जे भनीन त्यो मलाई मन पऱ्यो। त्यो ठाउँ स्वस्थ छ।”

क्लेटले निधार खुम्च्यायो र भन्यो, “यदि तिमीले आफ्नो अलिकति भए पनि दिमाग प्रयोग गरेर नगरप्रमुखलाई हराएको हो भन्ने मलाई अलिकति पनि लाग्थ्यो भने म तिमीलाई छुट्टी दिने थिइन। तर मलाई थाहा छ तिमीले त्यो एनालग कम्प्युटरलाई आफ्नो मूर्खताको मद्दतले – साइब्रेनको आदेश नमानेर हरायौ।”

लेनले भन्यो “यदि त्यसले साँच्चै नै काम गऱ्यो भने त्यो मूर्खता कसरी भयो र?”
“यहि कुराले त मलाई चिन्तित बनाइरहेको छ। सायद अब हामीले आफ्नो रणनीतिहरू परिमार्जन गर्नुपर्छ। अब हामीले त्यो एनालग कम्प्युटरलाई हराउन सक्ने कला जानिसक्यौँ। यदि कसैले यसलाई हाम्रो बिरूद्धमा प्रयोग गर्न खोजे भने।”
“म उनलाई चोट पुऱ्याउन चाहन्नथेँ।”

“बास्तवमै। कम्प्युटरले एक यन्त्रलाई नियन्त्रण गर्न सक्छ, जस्तो कि तिम्रो साइब्रेन। तर तिमीले एउटा अकल्पनीय तथ्य प्रस्तुत गऱ्यौ – मानवीय संवेग। जसले यो प्रमाणित गर्छ जुन मैले सैन्य व्यक्तित्वको रूपमा सँधै विश्वास कायम राखिरहेको छु – कि सबैभन्दा खतरनाक हतियार मानव शस्त्रागारमा केही छ भने त्यो एक मानव सैनिक हो र सँधै हुनेछ।”

“हो तपाईँले भर्खर जे भन्नु भयो, सर,” लेनले भन्यो। “त्यसैले म न्युयोर्क छोड्दैछु।”
“के मतलब हो तिम्रो?” कर्नल क्लेटले सोधे।
“म हतियार बनेर थाकिसकेँ सर, म अब मानव बन्न चाहन्छु।”

समाप्त