उबेला घुँडा फाटेको पाईन्ट टालिदिदा रिसाउने म;
अचेल नरिसाउन पनि आँउछ
र खुसिहरु टाल्न पनि आँउछ ।
गलेर लखतरान भै
आलिको डिलमा बस्दा आएका
तपाईका पसिना जस्तै
मेरो पनि पसिना आँउछन् ।
बा मलाई अचेल खुन बेचेर पसिना किन्न नि आँउछ ।
सानोमा हिसाब नजान्ने म
अचेल मलाई जिन्दगिको
जोड, घटाउ, गुणन, भाग सप्पै आँउछ ।
तपाइको हात समाएर हिड्दा लडेको मलाई हात दिएर
उठाउनु हुन्थ्यो नि
अचेल म आफै उठ्ने भएको छु ।
लडेपछि कसरी उठ्ने
सब आँउछ मलाई अचेल।
मलाई बोक्ने तपाईका काँध जस्तै
बलिया भएका छन मेरा काँधहरु ।
अचेल मेरा काँधले पनि
जिम्मेवारी बोक्न थालेको छ नि बा ।
किताबका पाठहरु पल्टाउदा झुपुझुपु उघ्ने म
अचेल जिन्दगिको किताब सजिलै पल्टाउछु ;
जहाँ सुख:दुख, सपना, बिपना, माया, प्रेम, करुणा, दया सबै छ र म सबै बुझ्छु ।
यत्तिका थुप्रो कुरा जानिसकेपछि त
म पनि तपाईजस्तै ठुलो मान्छे बन्न
सक्छुहोला नि है बा ।
No comments:
Post a Comment