Friday, January 02, 2015

अरबको कथा

तलब आएको पहिलो शुक्रबारको बिहानी,
करीब ७ बजे मोबाइल बज्यो !
आँखा चिम्सो पार्दै हेरें-
उनै को थ्यो !
‘उनि’ अर्थात ‘फूलमाया’ !
एउटा क्लिनिङ्ग कम्पनिमा काम गर्छिन उनि !
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें !
”सुतिराख्या हो ?
सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला !
छिट्टो उठेर आउनुस है…” !!
हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें !
कुनै टुंगो हुदैन उनीहरुको,
कैले सफारी, कैले लुलु कैले क्यरिफोर,कैले सफारी मल
कैले कहाँ,
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरु लाइ !
त्यहीं हो भेट्ने !!
निर्धारित समय मा ‘सफारी मल’ पुगें,
एउटा पुरानो TATA को बस बाट एक हुल
महिला उत्रिए,
हरेकका कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडी मा बसाएर लागे !
रित्तो बस फर्कियो भरे ४ घण्टा पछि लिन फर्किने
शर्तमा !
म आफुसंग गाडी नहुने मध्यको परें,
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म
उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै
ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !
हामी कुराकानी पनि गर्छौ,
यहाँका, कम्पनिका, साथी-भाइका, घर-परिवारका,
भबिस्यका, माया-प्रेमका पनि कुरा गर्छौं,
भबिस्यका योजना नि बुनिन्छ्न कैले कहिँ !
सपिङ्ग मल गज्जबको छ, म दङ्ग छु, साथ मा उनि छिन,
भित्रै रेष्टुरेन्ट छ,
खाजा नास्ता खान्छौ हामी,
अरुको आँखा छलेर यता उता चोर नजर डुलाउदै,
म उनको हात समाउछु,
उनि लजाए झैँ गर्छिन !
यस्तै मा समय बित्छ,
उनले गाडी आउने बेला भएको जनाउ दिन्छिन्,
म फेरी ट्रली गुडाउछु, उनि अघि अघि लम्किन्छिन !
ट्रली लिएर म काउन्टर मा लाइन बस्छु,
उनि बाहिर निस्केर साथीहरुलाई फोन गर्छिन,
म उनको सपिङ्ग को ‘बिल’ चुक्ता गरेर बाहिर
निस्किन्छु !
उनका समानलाई झोला भरि प्याक गरेर आफै बोकेर
गाडी सम्म पुर्याई दिन्छु,
उनि लाग्छिन आफ्नै गन्तब्यमा,
म फर्किन्छु कोठा तिर !
टेक्सी चढ्नेसम्मको पैसा बाँकि नहुँदा लुरु-लुरु हिडेरै
फर्किन्छु कोठा सम्म !
साँझ उनको म्यासेज आउँछ ! लब यु, मिस यु ….यस्तै
यस्तै !
दिनभरि काममा साँझमा उनको यादमा, कैले
कहीं फोनमा,
दिन यत्ति कै बित्छ !
प्रायः दिन बिराई-बिराई उनको फोन आउँछ,
‘सुन्नु न, मोबाइल मा ब्यालेन्स, छैन, यहाँ नजिकै
किन्न पाइदैन,
लु न केहि गर्दिनु ..’
कैले रिचार्ज कार्ड को नम्बर दिन्छु, कैले ब्यालेन्स
ट्रान्सफर !
दिन हप्ता यसरी नै बित्छ !
फेरी एक दिन बिहीबारे साँझ, उनको मिसकल आउँछ !
म कलब्याक गर्छु,
‘सुन्नु न,
भोलि हाम्रो छुट्टी हुदैन, ओभर टाइम चल्छ,
भोलि भेट्न नपाइने भयो..!'
‘ठिकै छ नि, अर्को हप्ता भेट्ने नि,
काम परेको बेला काम गर न..’ म सम्झाउँछु उनलाई !
फोन मै माया पिरिम शुरु हुन्छ अनि खत्तम पनि !
मेरो बारेमा सप्पै बुझ्छिन बिचरी,
मैले मात्र हो ढिलो बुझ्ने भनेको !
मेरो तलब त एकै हप्ता मा सक्कियो,
अर्को हप्ता अर्कैको तलब आउँछ,
मैले सफारीमा उनको ट्रली गुडाएं,
अर्कोले क्यरिफोरमा ट्रली गुडाउदै थ्यो,

जब जब उनको ‘ओभरटाइम’ चल्छ,
तब-तब अर्कैले उनको ‘ट्रली’ गुडाउछ !
कतै तपाई पनि ट्रली डोर्याउदै त हुनु हुदैन नि ?

#कसैको जिवनसंग मेल खाएमा संयोग मात्र हुनेछ

No comments:

Post a Comment