Friday, May 08, 2015

त्यो आधी रात

“मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?” जीवनले अचेल रक्सी त पिउन छाडेको थियो तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन ।
उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो । उसको यो थेगो जस्तै बनिसकेको वाक्य सुुन्दा-सुन्दा मलाई पनि कता-कता रहर लाग्यो ।
यहाँ छ्यापछ्याप्ती पाइने वेश्याहरूको सम्पर्कमा जान । त्यस निम्ति दुई–चार हप्ता लगाएर मैले आफूलाई तयार पारें । युद्धभूमिमा जाने कुनै सिपाहीले भन्दा कम साहस जुटाउनु परेको थिएन मलाई तर कसरी नजिक हुने ती नक्कली सायाङ् माने मायालुहरूसँग ?

हामी साँझ-बिहानको भान्सा अटुट रुपले चलाउनका निम्ति नजिकैको एउटा सुपरमार्केट भित्र दिनहुँ जान्थ्यौं । एकदिन । हो, एकदिन हामी सधैँ जस्तो गरी गयौं । त्यो दिन हामीले देख्यौं कि त्यो बिशाल-बजारभित्र काम गर्ने नयाँ कामदारको रुपमा इण्डोनेशियन केटीहरू आएछन् । त्यस समूहमा एउटी केटी, जसको अनुहारमा मैले थुप्रै-थुप्रै दुःखका रेखाहरू कोरिएको देखें । अरुभन्दा बेग्लै देखिन्थी ऊ । भावुक र गम्भीर पनि ।

त्यसपछि पनि हामी त्यहाँ सपिङ्ग गर्न नियमित गयौं, दिनदिनै गयौं । महिना दिन भन्दा बढी भयो । अरु सबैजना हाँस्ने बोल्ने गर्थे तर त्यो एउटी केटीको अनुहारमा मैले कहिल्यै मुस्कान देखिनँ । एकपटक पनि ।

कुनै अर्को एकदिन । उनीहरूको सुपरभाइजर बंगाली थियो, जससँग हामी धेरैपटक बोलिसकेका थियौं । हामीलाई उसले आफ्नो सबै कुरा सुनाएको थियो । पैंतिस वर्षअघि जवान अवस्थामा मलेसिया छिरेको अहिले साठी पुगें भन्छ । पैसा कमाउन सकेन । न आफ्नो देशमा फक्र्यो न त यहाँको नागरिक भएर बाँच्न पायो । भन्छ- “अब यहीँ मर्छु । किन जान्छु र आफ्नो लास बोकेर बंगलादेश ?” अँ त ...भन्दैथिएँ नि, त्यस बंगाली बूढोले हामीसँग सुटुक्क सोध्यो– “तुमको लोड्की चाइए ?” हो, उसको हिन्दी यस्तै थियो । राम्ररी नबुझेर जीवन र मैले एकसाथ सोध्यौं– “के हो ?” भनेर । उसले आफ्नै सुरमा भनिरहेथ्यो- “तिमीहरूले यदि पैसा खर्च गर्न सक्छौ भने, म केटी मिलाइदिन्छु, सक्छौ गर्न ?” उसको बंगाली लवजको हिन्दी बुझ्न हामीलाई कम्ता गाह्रो थिएन तर पनि बुझ्नुपर्ने जति हामीले बुझिहाल्यौं ।

जीवन र मैले एक-अर्काको अनुहारमा नियाल्यौं । जीवनले हेऱ्यो मलाई- “सक्छस् ? मलेसियामा नआउनुपर्ने थियो, आइसकेपछि खोलापारिका सायाङ्हरूसँग ...... । ” फेरि उसको त्यही सुगा रटाइ । जीवन सजिलै तयार भयो तर मैले एकछिन सोचें । खुबै सोचें । एउटा साहस बटुलेको थिएँ पहिल्यै । त्यसैलाई अनुमोदन गरें त्यस दिन मनमनै तर म भीरबाट खसे झैँ त्यतिखेर भएँ, जब त्यस बंगाली बूढोले ती इण्डोनेशियन केटीहरूलाई देखाउँदै भन्यो “कुन चाहिँको फोननम्बर चाहियो ? लौ भन !”
जीवनले भन्दैथियो- “साँच्चीकै खोलापारिका भेटिए है राज ?!” म अवाक् भएर त्यस एउटी केटीलाई हेरिरहें, जो अहिले पनि नजरमा एउटा शून्यता बोकेर काम गरिरहेकी थिई ।

जीवनले कुनचाहिँको नम्बर लियो याद गरिनँ तर मैले त्यही केटीको मोबाइल नम्बर लिएँ बंगाली बूढोसँग । होस्टेलमा आएर जीवनले मलाई भन्नु सम्म भन्यो- “मेरो पछि लागेर तँ चाहिँ किन बिग्रेको ? ....” महिनाभरि काम गर्यो, रगत पसिना सुकायो, हात लाग्छ चार सय एकासी । त्यसैमा एकसय रिंगेट सरकारी कर तिर्नैपर्छ । खानुपऱ्यो, घुमघाम गर्नुपऱ्यो । के कमाइ छ र यार मलेसियामा ? तै पनि खोलापारिका सायाङ्हरूसँग अस्थायी लगनगाँठो कस्न तँछाडमछाड गर्छौं हामी ।

फोनको घण्टी गइरह्यो तर सबै ‘मिसकल’ भए । एकपटक, दुईपटक, तीनपटक हैन .... सातपटकसम्म । आठौं पाली मात्र उसले फोन रिसिभ गरी तर पनि चुपचाप । ‘हेलो’ भन्छे कि भनी पर्खिरहें तर बोल्दै बोलिन ऊ ।
मै बोलें– “के छ हालखबर ?”
“म बिजी छु । को हौ तिमी ?” निरस बोली उसको ।
“म तिमीलाई चिनेको मान्छे । ”
“ए !” यसपाली अझै खुम्चेको प्रतिकृया ।
“म तिमीसँग एक रात बिताउन चाहन्छु रोजिता ।” बडो जोड लगाउनु पर्यो मैले यति भन्न ।
उताबाट आवाज आयो- “तिमीले मेरो नाम पनि जान्दछौ ? कसले दियो मेरो नाम ?”
त्यो भन्दा अघि सयौँ विरोधका आवाजहरू आफ्नै मनभित्रबाट आइरहेथ्यो- “तैंले यो के गर्दैछस् केटा ?” “बंगाली बूढोले दिएको ।” यो भनुँ कि भन्ने सोँचें तर भनिनँ । नबोलेरै उसको कानमा सकारात्मक बनिदिएँ ।
बरु यस्तो प्रश्न गरें उसले बुझ्ने गरी– “कहिले हुन्छ फुर्सद ?”
“समय तिमीले मिलाऊ । ठाउँको बारेमा म भन्छु ।” भनी उसले ।
मैले भोलि नै भेट्ने कुरा राखें ।
उसले ‘हुन्छ’ भन्दै फोन राखी ।

एकछिनपछि एसएमएस पठाई- “बी.ब्लकनिरको पेट्रोल पम्पको अगाडि राति दस बजे पर्खनेछु ।” कसैलाई भनिनँ । भोलिपल्ट जीवनलाई पनि थाहा नदिइ होस्टेलबाट निस्किएँ । पैदलै हिँडें । मनभरि डर थियो । बोलाएर तमिल चोरहरूको थप्पड खुवाउने त हैन यसले ? थप्पड मात्र खानु परे त हुन्थ्यो, सिलटिमुरै खानुपऱ्यो भने त .....?! तै पनि हिँडिरहें एक्लै म । ऊ भनेकै ठाउँमा भेटिई । नजिकै साइकल अड्याएर टुक्रुक्क बसेकी थिई । म उसको अगाडि पुगें । गाडीहरू आउने जाने क्रम तीब्र थियो । हामीलाई एकैछिन रोकिएर हेर्ने फुर्सद कसैलाई थिएन । सबैलाई आ–आफ्नो घरमा पुग्ने हतारो थियो । ऊ साइकल डोऱ्याउँदै मेरो अगाडि हिँडीरही । म उसको पछि-पछि ।

दस-पन्ध्र मिनेटको पैदल हिँडाइ पछि हामी एउटा अग्लो घरको अगाडि आइपुग्यौं । एउटा कोठा लिएर भूइँतलामै बस्दी रहिछ ऊ । अरु मान्छे देखिनँ र सोधें- “अरु कोही बस्दैन यो कोठामा ?”
“अहँ, एक्लै । .....ए तिमीले खाना खायौ ?”
अचम्म लाग्यो । यत्रो औद्योगिक क्षेत्रभित्र यस्तो भवनमा एक्लैले कोठा भाडामा लिएर बस्नु भनेको सानो कुरा थिएन । चानचुने आय हुने मान्छेको त उपाय नै थिएन । म उसको ओछ्यानमा बसिसकेको थिएँ, लबस्तरा बनेर । लाज पचेको म । ऊ पनि नजिकै कुर्सीमा बसेकी थिई ।

म घोरिएको देखेर उसले मेरो काँधमा झक्झकाउँदै सोधी- “खाना खायौ कि खा’को छैनौ ?” बल्ल झसँग भएँ । उसको प्रश्नको उत्तर दिएकै रहेनछु ।
“खाइसकें, तिम्ले ?” सोध्दै गर्दा मैले उसलाई हातमा समातेर तानें ओछ्यानमा । उ
सको हात समातिराखें । महसुस गरें- तातोपना थिएन उसको हातमा ।

अलिकति लजाएझैँ गरी र सोधी उसले- “तिमी नेपाली हैनौ ?”
“हो, किन र ?”
“नेपालमा के गथ्र्यौ ?” मेरो प्रश्नको वास्ता गरिन उसले ।
“काम गर्थें, ......कुल्ली काम ।”
“तिमी ढाँट्न सिपालु रै’छौ
“किन ? ... कसरी...?”
“काम गर्ने मान्छेको हात यति चिसो ?”
“तिमी पनि त चिसो....... ।”

त्यसपछि केही बोलेनौं हामी केहीबेरसम्म । ऊ र म एक-अर्कालाई छोएरै बसेका थियाै तर पनि कुनै उत्तेजना हामीमा थिएन अचम्म ! म उसलाई अँगालोमा बाँधेर भावुक हुँदै बोलिरहें- “रोजिता म तिमीलाई साथी बनाउन चाहन्छु । म तिमीसँग केवल एक रातको हैन, जिन्दगीभरको लागि साथी बन्न चाहन्छु । म रात बिताएको बद्लीमा तिमीलाई पैसा दिन्नँ । ..... मान्छ्यौ ?”

उसले मेरो हात आफ्नो शरीरदेखि अलग्याई । एकछिन शून्य भावले भित्तातिर हेरेपछि मतिर फर्की । उसको बोली गह्राै थियो- “साथी... !” एकपटक हाँसेर भन्न लागी “धेरैले भन्छन् यो । यो वाक्य पुरुषले नारीलाई फँसाउनु अघि फ्याँक्ने पासो हो । भन्छन् भन्न त, तर स्वार्थ पूरा गरिसकेपछि ......।”

“म तिमीलाई साथीको रुपमा हेर्न चाहन्छु न कि वेश्याको रुपमा । त्यसैले म तिमीलाई पैसा तिरेर अँगाल्न चाहन्नँ । ......”

“तिमी त ती सबैभन्दा पनि अझ स्वार्थी । अझै बढी धूर्त । ओहो ! आजसम्म यस्तो मान्छे भेटेकी छैनँ मैले ।”

“तिमीले मेरो मन बुझ्न सकिनौ रोजिता ।”

“बुझ्ने खाँचो पनि देखेकी छैनँ ।”
एकछिन सन्नाटा । त्यसपछि दृढता उसकै- “पैसा छ भने कपडा खोल्छु, छैन भने ढोका खोल्छु जाऊ ।”
आफू बडो पवित्र जस्तो, मनमनमा घिन लाग्यो उसको कुराप्रति । कसरी यति छाडा बन्न सकेकी ?

म ऊसँग सहभागिता खोजिरहेछु । एउटा आनन्दको निम्ति सहभागिता । ऊ चाहिँ कामको पारिश्रमिक खोजिरहिछे । मेरो भावनाको ठीक उल्टो ।

अझै भनी- “सबै लोग्नेमान्छेले आइमाईलाई खेलौना ठान्छन् । जसरी पनि चलाउन र खेलाउन सकिने ।” “...... ............ ...।”
“बढी कुरा गरेर किन समय खर्च गर्छौ ? म तिम्रो कुरामा सहमत छैनँ ।”

उसको अन्तिम फैसला । मलाई त्यो सुनेर रीस उठ्छ । प्रतिशोधको आगो सल्कन्छ मेरो छातीभित्र । जाबो तीस रिंगेट खर्च गर्नु नपरोस् भनेर त हैन नि यत्रो अनुनय गरेको उसको अगाडि मैल तर उसले मेरो कुरा पत्याइन । म मर्माहत हुन्छु । यसरी मैले उसलाई सोँचेकै थिइनँ ।

मैले उसलाई जोडसँग तानेर ओछ्यानमा ढाल्छु । उसलाई निर्वस्त्र पार्न उद्यत हुन्छु म तर मेरो प्रतिशोध दन्किरहेको मुटु तब हिउँ बन्छ जब उसले व्यँग्य भरिएका आँखाहरूले मलाई हेरिराखेको देख्छु । त्यही भावमा ऊ बोल्छे- “तिमी लोग्नेमान्छेहरू हुन्छौ नै यस्तै ।.... मैले भर्खरै भनेकी थिएँ नि । तिमीहरूले हामीलाई केवल खेलौना सम्झन्छौ । खेलौना, जो निर्जीव हुन्छ । तिमीहरूले हामीलाई मानव सम्झँदा हौ त यति हतार गर्ने नै थिएनौ, किनकि प्रत्येक मानव सजीव हुन्छ । म पनि, तिमी पनि । एउटा सजीव प्राणीसँग भावना हुन्छ, विचार हुन्छ, दृष्टि हुन्छ । उसलाई सुखको महसुस हुन्छ र त्यसै गरी उसलाई दुख्छ पनि .... । तिमीले मलाई नँग्याउनुअघि म सँग केही मानवीय प्रश्न गऱ्यौ ? मलाई ज्वरो आएको थियो कि ? पेट दुखेको, महिनावारी भएको थियो कि अथवा अरु केही शारीरिक या मानसिक कष्ट पो थियो कि ? सोध्यौ मलाई ? सोध्यौ एकै वाक्य ?”

उसको कुरा सुनेर मेरो मस्तिष्कमा एउटा ठूलो खल्बली मच्चिन्छ । मेरा मानसिक तन्तुहरू आत्तिन्छन्, कराउँछन् मानौं त्यहाँ कुनै सुनामी आएको होस् । यति ठूलो आक्रमणको कल्पना नै गरेका थिएनन् मेरा ती तन्तुहरूले ।

मेरा हातहरू जहाँ थिए त्यहीँ अडिन्छन् अर्थात् रोजिताको पाइण्टमा । ऊ चाहिँ मलाई हेरेर मुस्कुराइरहन्छे । म उसको त्यो मुस्कानमा एउटा हाँसो देख्छु कटाक्षको, व्यँग्यको । त्यो हाँसो म मात्र हैन, सम्पूर्ण पुरुष जातिप्रति थियो । उठेर बस्छु । ऊ पनि उठ्छे ओछ्यानबाट ।

मतिर हेरेर भन्छे- “दुःख मान्यौ ? मान्नु पर्दैन । बढी बोल्ने बानी छ मेरो । लागेको बानी मिल्क्याउन गाह्रो पर्छ, तिमीलाई पनि थाहा होला । ......”
बोल्दाबोल्दै उसले आफ्नो टी–शर्ट खोलिसकेकी हुन्छे तर म उसलाई त्यो भन्दा बढी नाङ्गो देख्न सक्दिनँ । जबर्जस्ती रोक्छु उसलाई । मेरा रसिला आँखामा हेरेर ऊ रुन्छे- “मैले सोँचेझैँ रहेनछौ तिमी । माफ गर मलाई । सयौँ लोग्नेमान्छेहरूसँग रात बिताएकी छु मैले तर तिमी जस्तो लाग्नेमान्छे देखेकी थिइनँ । मैले हरेक लोग्नेमान्छेभित्र एउटा भयानक पशु लुकेर बसेको देखेकी छु । तिमीलाई पनि त्यस्तै ठानें ।”

रात बित्दै जान्छ तर म कल्पना पनि गर्न सक्दिनँ उसको शरीरसँग खेल्ने । उसले पनि सायद मैले झैँ निर्णय गरिसकेकी थिई ।

सामान्य स्थितिमा ओर्लिसकेपछि म उसको बारेमा प्रश्नहरू गर्छु । आफ्नो कथा पनि नढाँटिकन सुनाउँछु तर आफ्नो जीवनकथा अघि उसको कथा मलाई एउटा वियोगान्त उपन्यास झैँ लाग्छ । मधुरो बिजुलीबत्तीमुनि बसेर ऊ बोल्दै जान्छे । म सुन्दै जान्छु–

“इण्डोनेशियामा जन्मेकी थिएँ म एउटा आदिवासी गाउँमा । कलेज पढ्दापढ्दै बिहे भयो । एउटी छोरी जन्मी । श्रीमान जागीरे शहरको एउटा बैंकमा । मैले चाहिँ आफू जन्मेकै गाउँको स्कूलमा पढाउन थालें । हाम्रो परिवार सुखी थियो तर एकदिनको घटनाले त्यो सुख, हाँसो र खुसीहरू सबै-सबै बढारेर लग्यो । ...... सन् २००४ डिसेम्वर २६ को दिन हाम्रो जिन्दगीमा कालो रात बनेर आयो ।
तिमीले सम्झ्यौ त्यो दिन के भएको थियो इण्डोेनेशियामा ?” आँखाभरि टल्पलाएका आँसु पुछेर केहीबेर बोल्न सकिन ऊ । फेरि विस्तारै बोल्न सुरु गरी- “समुन्द्रमा भूइँचालो गएको हल्ला जोडसँग चल्यो एकाएक । जताततै आपत्कालीन सूचना सुनिन थाल्यो । त्यो भागदौड बीच मेरी छोरी कता हराई थाहै भएन । म कसरी बाँचें त्यो पनि थाहा छैन । शहरमा भत्किएका घरहरूमुनि मेरो श्रीमान् दबिनुभयो सदाका लागि । धेरै आफन्तहरू मरे त्यो दिन मेरा । म कति अभागीनी हैन त ? ..... मैले पढाउने स्कूल भत्कियो । ................ ....... ............... ....... .......

केही समयपछि अन्तर्राष्ट्रिय सहयोगद्वारा स्कूल त बन्यो तर धेरै बालबालिकाहरू आह ! सुनामीले आतंक मच्चाउनुअघि त्यस स्कुलमा ६११ जना विद्यार्थी थिए, पछि कति थिए सुन्छौ ?”
“सुनाऊ ।” यन्त्रवत् मेरो बोली ।
“२१७ जना । ”

मेरो मन नराम्ररी हल्लियो । त्यति धेरै बाल–बालिका एकै गाउँमा मरे । प्रभावित सबै ठाउँमा गरी कति मरे होलान् ? कल्पनाले पनि मेरो मुटु चिसो भइरह्यो ।

“पढाउने जाँगर भित्रैदेखि मऱ्यो । बाँचेका ती कलिला नानीहरूको अनुहारमा मैले मेरी छोरी सुहन्नालाई देख्थें झल्झली । उनीहरूको बोलीमा मेरै छोरीको आवाज सुन्थें । आजित भएर मैले राजीनामा दिएँ एकदिन ....।”

यति बोलिसकेर ऊ केहीबेर बोलिन । बरु रोई हिँक्का छाडी-छाडी । मैले ढाढस दिएँ तर व्यर्थै । फाटेको मन सान्त्वनाले कसरी टालिन्थ्यो र ? पछि सम्हाली आफूलाई ।

“खाली बस्न झन् कसरी सक्थें र ? सोँच्दा-सोँच्दा पागल हुन्छु कि भन्ने डरले एउटा निजी कम्पनीमा सुपरभाइजरको काममा लागें । तर एकदिन .... दिन हैन एकरात कम्पनीको बोसले मेरो लाचार अवस्थाको मौका समातेर मेरो इज्जतमाथि ठट्टा गऱ्यो । एक रात हैन, दुई रात हैन, थुप्रै रात लुट्यो उसले मेरो अस्मीता । अनि मैले महसुस गरें लोग्नेमान्छेले हामीलाई केवल खेलौना ठान्दा रै’छन् । ..... ............ ........... ... ...... र एकदिन मैले मेरो जीवनकै अनौठो निर्णय गरें ।” एकछिन चुप बसी ऊ । म पनि बोलिनँ । न त उसलाई बोल्न भनें ।
उसैले प्रश्न गरी– “कस्तो निर्णय, सुन्न आत्तुरी लागेन तिम्लाई ?”
मैले उसको भावपूर्ण अनुहारमा हेरिरहें । उसको दुःखको कथा सुनेर म पनि आद्र भइरहेथें । मन थिएन तै पनि सोधें- “कस्तो निर्णय ?”
“वेश्या बन्ने ।”

उसको बोली निरस थियो - “एउटा आदर्श शिक्षिका बन्ने मेरो सपना थियो तर कति बेलादेखि म त वेश्या पो बनिसकेछु । त्यही निर्णयले मलाई डोऱ्याउँदै ल्यायो यो देशमा, परदेशमा ।

मेरो आधा जिन्दगीको अनुभवले मलाई यै’ भन्छ, पाप, धर्म, अल्लाह, ईश्वर केही छैन, केही छैन यो दुनियाँमा । यदि अल्लाह छ कतै भने त्यो पनि मलाई वेश्या बन्न लगाउने त्यै’ शैतान जस्तै छ । उसले न त दुःख पाइरहेकालाई देख्छ र उद्घार गर्छ न त दुःख दिनेहरूलाई देख्छ र सजाय दिन्छ । .... अल्लाह, गड, भगवानहरू सबै झूठा ....।”

यति बोलिसक्दा ऊ आवेगमा आएर चिच्याई । मैले उसलाई सम्हाल्ने सकेजति प्रयास गरें । मेरो कुममा आफ्नो निँधार राखेर रोजिता त्यो रात धेरैबेरसम्म रोइरही । मेरो छाती उसको आँसुले भिजायो । कति ठूलो चोट छातीभित्र बोकेर हिँडेकी रहिछ ऊ । मलाई के थाहा ? लोग्नेमान्छे न परें म । आफैलाई पश्चात्ताप र ग्लानीले समात्यो । धेरैबेर-धेरैबेरपछि उसले सम्हाली आफूलाई । अनि म उसको कोठाबाट निस्कें । रोक्न खोज्दैथी तर म जबर्जस्ती हिँडिदिएँ त्यहाँबाट ।

सडक सुनसान थियो यतिखेर । एउटै गाडी चलेको आवाज थिएन । न त मेरो देशमा झैँ झ्याउँकिरीको आवाज नै थियो । साँच्चै, चकमन्न थियो रात । तर जति-जति म आफ्नो होस्टेलको नजिक-नजिक आइरहें, उति-उति मेरो कानमा एउटा भयानक गर्जन सुनिन थाल्यो । मान्छेहरूको रुवाइ, चीत्कार, त्यसमा साना नानीहरूको पनि स्वर मिसिएको थियो । त्यो कहालीपूर्ण आवाजले लखेट्यो मलाई । म दौडिएँ । आफू दौडन सक्नेसम्म दौडिएँ । मलाई लाग्यो सुनामी अझै शान्त छैन यो संसारमा । रोजिता झैँ धेरै-धेरै मान्छेलाई बिवशताको भूमरीमा डुबाइरहेछ त्यसले ।

हतार-हतार गेट खोलेर भित्र पसें । आफ्नो होस्टेलभित्र । बत्तीहरू निभाएर साथीहरू सुतिसकेछन् । मस्त निँद्रामा थिए सबैजना । मैले बत्तीको स्वीच दबाएँ । कोठाभरि उज्यालो भएको कारण तीन-चारजना साथीहरूको निँद्रा खुलेछ । 
मेरो ठूल्ठूलो सास फेराइप्रति उनीहरू सबैले प्रश्न गरे- “के भो ? के भो राज ? के भो भन् न ।”

मैले फुट्लाझै भइरहेको फोक्सोलाई जतनले सम्हाल्दै बल्ल-बल्ल भन्न सकें “सुनामी .... सुनामीले लखेट्यो मलाई ।”

कसैले सोध्यो “के सुनामी ? कस्तो सुनामी ?”
“समुन्द्रमा भुँइचालो । बुझेनौ ?” मेरो थाकेको स्वर निस्कियो ।

“सपना देखेछ ।” यतिञ्जेलको हल्ली+खल्लीले गर्दा जागिसकेको जीवनले यति भन्यो ठूलो स्वरमा र मलाई हेर्न उठाएको आफ्नो टाउको फेरि ढलायो सिरानीमा । उसैलाई पछ्याउँदै अरु पनि आ–आफ्नो ओछ्यानमा लम्पसार भए । कल्पना गरें “भर्खर जीवनले भनेझैँ त्यो सुनामी एउटा नमीठो सपना मात्रै भएको भए कति जाती हुनेथियो । तर ... त्यो त विपना नै थियो ।....”
यस घटनाको पर्सिपल्ट । दिउँसोको समय रोजिता एउटा अग्लो मोटो अनि कोइला जस्तो कालो तमिल अर्धबैंसेसँग गफिँदै थिई । त्यही समय म पनि सपिङ्ग गर्न जानुपर्ने । देखें, देखेपछि नदेखेझैँ गर्न सकिनँ । हेरें तर राति नौ बजेतिर मेरै अगाडि ऊ त्यही कालेको मोटरसाइकल पछाडि बसेर जाँदा बल्ल झसँग भएँ म । ऊ एउटी वेश्या हो....मैले नसम्झँदो रहेछु ।

त्यसपछिका दिनहरूमा मैले उसलाई त्यस सुपरमार्केटभित्र देखिनँ । उसका साथीहरू सधैँ आउँथे, काम गर्थे अनि जान्थे ।

करिब दुई हप्ता पछि पनि ऊ त्यहाँ नआएपछि मैले आफूलाई थाम्न सकिनँ । सोधें उसका साथीहरूसँग “रोजिता कहाँ गई ? देख्दिनँ अचेल । ”
“को हो रोजिता ?” उल्टै प्रश्नले हिर्काई मलाई एउटीले ।
मैले भनें “तिमीहरूको साथी । ... त्यही क्या.... गोरी.... पातली... नबोल्ने ।”
“ए ! त्यो आमिनाको कुरो । त्यसले तिम्लाई पनि ढाँटी ? त्यसको नाम त रोजिता हैन ।”
म खस्रक्क भएँ । मलाई हैन बंगाली बूढोलाई ढाँटेकी थिई उसले । तैपनि म आफू जिल्लिएँ यतिखेर । बंगाली बूढोलाई इमिग्रेशनले समातेर लगेको पनि दुई हप्ता भइसक्यो । सायद अब ऊ आउँदैन यहाँ ।

“अँ.........अँ...त्यै’...क्यारे.... अमीना । अँ, उसैको बारेमा सोध्या’ मैले ।”
“ऊ बिरामी छे ।” अर्कीचाहिँ अलि गम्भीर हुँदै बोली ।
“कस्तो बिरामी ? के भयो उसलाई ?” मलाई थाहा छैन यति धेरै प्रश्न किन गर्दै थिएँ म ?
“दुखेको छ साह्रो गरी ।”
“के ? .... कहाँ ....? ...कसरी ?” अचम्म छ बा ! यति धेरै प्रश्न मैले नै गरें ।
“त्यो त भन्न मिल्दैन ।” अघिदेखि नै मुसुमुसु हाँसिरहेकी अग्ली केटीले यति भन्दा उसका साथीहरू सबैजना हाँसे ।

एउटी अलि पाको उमेरकी झैँ देखिनेले सुस्तरी यो सोध्दा बल्ल पो म मरे जस्तै भएँ– “कतै त्यो लोग्ने मान्छे तिमी नै त हैनौ ? .....”
उनीहरूलाई छाडेर म आफ्नो होस्टेलमा फर्कें । त्यो कालो रात... उसको विद्रोह भरिएको तर लाचार बोली, त्यो तमिल भुुसतिघ्रे... सबै-सबै आँखामा नाच्न आए ।

आफूलाई सामान्य अवस्थामा फर्काउन मलाई धेरै दिन मानसिक कसरत गर्नुपऱ्यो । धेरैदिन, दिन मात्रै हैन महिना बितिसके तर त्यो केटीलाई मैले त्यहाँ देखिनँ । ऊ कहाँ छे, यो संसारमै छे या मरी सकी केही थाहा छैन ।
उसका संगीहरूका अगाडि जान पनि मलाई डर लाग्छ । कतै उनीहरूले “हाम्री आमिनालाई दुःख दिएर मार्ने तिमी त हैनौ ?” भनी सोध्ने हुन् कि भन्ने सोंचेर ।

अहिले पनि, जब-जब मलेसियाका गल्ली-गल्ली र चोकहरूमा, सडकमा र पसलहरूमा कुनै इण्डोनेशियन युवतीले ग्राहकसँग आफ्नो शरीरको मोलतोल र जोड-घटाउ गरिरहेको देख्छु, मेरो छातीभित्र हजारौँ सुनामीहरूले एकैपटक हिर्काउन आउँछन् । आह बिवशता ! बिवशता भन्ने नहुँदो हो त संसार कति सुन्दर हुनेथियो ।

@राजन थापा

Thursday, April 23, 2015

तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ ।

मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् । कोही मेरा गुणको चर्चा गरिरहेका छन् । बाचुञ्जेल मेरा अवगुण मात्र देख्नेले मरेपछि मेरा सबै गुणमात्र देखिरहेका छन् । "यति छिट्टै मर्ने मान्छे त होइन । भगवानले पनि राम्रै मान्छेलाई मात्र चाँडै लैजान्छ । विचरा आँखामा हाल्दा पनि नबिझाउने, साह्रै जाति ।" के–के हो के–के ?

मलामी आउने क्रम जारी छ । कोहि पुरेत खोज्न कुद्दै छन् त कोहि हरियो बाँस खोज्न । कोहि लाहा भुट्दैछन् त कोहि शंख बजाउँदैछन् । घाट लैजानने तयारी हुँदैछ । म आँगनको एक कुनामा बसेर आफैँलाई घाटमा लैजान लागेको दृश्य हेरिरहेछु ।

जसलाई हिजो म भन्थेँ, त्यो म त मेरो आत्मा रहेछ र म जसलाई माया गर्दथेँ, त्यो केवल मेरो शरीर रहेछ । यसबेला म बाँचेको र शरीर मरेको छ ।

हिजोसम्म मेरा आफ्ना र आफन्त अनि शुभचिन्तकले मलाई हैन म रुपधारण गरेको मेरो शरीरलाई माया गरेका रहेछन् । ख्याल गरेका रहेछन् । म आफैँले पनि मेरो शरीरलाई माया गरेको रहेछु । म को थिएँ र किन आएँ अहिले बुझ्दैछु । म हिजो पनि एउटा आत्मा रहेछु र आज पनि शेष आत्मामै रहे । म कहाँ मरेको छु ? तर के गर्नु यी बाँचेकाहले मलाई मरेको ठानी रुवाबासी गरिरहेका छन् ।

म सबैलाई देखिरहेको छु । छुन खोज्छु र बोल्न खोज्छु तर सुन्दैन कसैले । मलाई मर्नु र बाँच्नुमा केहि फरक छैन तर किनकी म त सबै देखिरहेकोछु र सबैसँग पहिले जस्तैगरी रमाइरहेकोछु । एउटा भौतिक शरीर पो छैन मेरो । आत्मा त मसँगै छ । बाँच्नेहरुले पो मलाई बिर्सनेछन् किनकी जीवित हुँदा आत्माको वास्ता हुने र मरेपछि शरीरको ।

बिस्तारै मेरो लाश हरिया बाँसमा कसिँदैछ । यसबेला सबै दुःखी देखिँदैछन् । हिजोका मेरा दुश्मन, शत्रु पनि शोकाकुल भएजस्ता देखिन्छन् । मलाई सत्तोसराप गर्ने पनि भावुक देखिन्छन् ।

यसबेला सबै भन्दा भावुक र पीडित मेरी प्रेमिका अनामिका देखिन्छे । ऊ पनि मेरो मृत्यु संस्कारमा मलामी जान आएकी छे । म उसको नजिक जान्छु र छुन खोज्छु तर उ भक्कानिएकी छे । भित्रभित्रै रोइरहेकी छे र कसैलाई आफ्नो प्रेमको अवसान भएको कुरा खुलेर व्यक्त गर्न सकेकी छैन । म भने एकतमास सबै दृश्य हेरिरहेको छु ।

मेरी अनामिका जस्तो लगाए पनि सुहाउने आज एकरत्ति सुहाउँदी लागिरहेको छैन । किन हो कुन्नि मलाई उसको बढी माया लागेर आयो । म उसलाई सँगै लिएर जान चाहन्छु । चिच्याउँछु, कराउँछु तर अहँ उसले सुन्ने हैन ।

विचरी अनामिका, म जीवित हुँदा बेहद माया गर्दथेँ । मलाई एउटा नकाटेको चिठ्ठा थिई अनामिका । मैले उसलाई मनभर माया दिएर आफू उसमा समर्पण गरेको थिएँ तर, उसले मेरो त्यो मायालाई वास्ता गरेकी थिई वा बेवास्ता मलाई कहिल्यै थाहा भएन तर मलाई ऊ मेरै हो लाग्दथ्यो । मप्रति नै समर्पित छे जस्तो लागेको थियो । नभनेकी मात्रै त होला भन्ने ठानेको थिएँ । तर आज एक्लै छु म र ऊ पनि एक्लै छे । हिजो जस्तै ।

आज म उसलाई देख्छु तर उसले म भनेर मेरो लाश मात्र देखिरहेकी छे । हरेक दृश्यमा मैले अनामिकालाई देखिरहेकोछु र अनामिकाको दृश्यबाट म हराइसकेको छु ।

एकहोरो शंख बजिरहेको छ र मलाई सेतो कपडाले बेरिसकिएको छ हरियो बाँसमा । अब पुरेतले केही विधिहरु गरेपछि मलाई घाटतर्फ लाने छन् र म हेर्दा हेर्दै खरानी हुनेछु । तब मेरो आत्मा एक्लो हुनेछ । म उनैलाई पछ्याउँदै आउन सक्छुकि सक्तिनँ थाहा छैन । एकपटक मर्ने हो । मरेको छु । बाँचेकासँग छुट्टिएर एक्लै वन बुट्टामा बस्ने होला यो आत्मा । भौतारिँदै । मेरो आत्मारुपी मन चसक्क भयो । अब म मेरी प्रेमिकाको साथमा रहन नपाउँने भएँ भनेर ।

कलेज पढ्दा भेट भएको थियो अनामिकासँग । गुलाबी रंगको कुर्ता, सेतो सुरुवाल र सेतै सलमा अत्यन्तै खुलेकी थिई । कपाल लामो थियो र एक फन्को फनक्क माथितिर बटारेर बाँधेकी हुन्थी । गोलो, बाटुलो अनुहार थियो र चिउँडोमा सानो खत थियो । हाँस्दा खोपिल्टो पर्ने देब्रे गाला साँच्चै मनमोहक लाग्दथ्यो उसको त्यो रुप । यति राम्री केटी जीवनमा पहिलोपटक देखेको थिएँ ।

म पहाडबाट आएको गाँउले केटो । खुट्टामा हात्तीछाप चप्पल । जडौरी पाइन्ट र सर्ट मेरो आङमा कतै मिलेका थिएनन् । त्यो समयमा उसलाई मन पराएको थिएँ । उसले के गर्दथी थाहा थिएन । हातमा २ वटा कुटको गाता भएको कापी बोकेर उसको पछि लाग्थेँ र उसको नजिक हुन खोज्थेँ । ऊ भने तर्की तर्की हिँड्थी ।

उ केटी साथीको संगतबाट छुट्दिन थिई र छुट्नेबित्तिकै आफ्नै घर पुग्थी । प्रेम भन्ने चीज कस्तो अव्यक्तताबाट शुरु हुन्छ र कहिलेकाहिँ अव्यक्ततामै अन्त पनि हुँदोरहेछ । दुईटै आत्माले चाहँदा चाहँदै पनि प्रेम अनायस गुम्न पुग्दोरहेछ । यस्तो कठिन परिस्थितिबाट म पनि गुज्रिरहें । उनलाई के हुन्थ्यो मलाई थाहा नहुने । साँच्चै म कति माया गर्दथेँ उनलाई तर आज ऊ मेरो मृत्युको खबर सुनेर दौडेर अब्यक्त प्रेमको खातिर आँशुको बलिदानी दिन आइपुगेकी छे । चिउँडोमा हात राखेर सुँक्कसुँक्क गरिरहेकी छे ।

सबैको ध्यान मेरो लाश माथि र म मरेको प्रति भएकाले ऊ को हो ? र किन रोई कसैलाई मतलब थिएन । मैले कलेजको एउटा कार्यक्रममा भनेको थिएँ ‘जब तिमीलाई कसैले धेरै चाहन्छ, त्यतिबेला तिमीले बुझ्न सक्दिनौ, जब तिमीले बुझ्न थाल्छेउ त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ र ऊ तिमीबाट धेरै टाढा भइसकेको हुनेछ । फेरि तिम्रो जीवनमा आउनै नसक्ने गरी ।’ त्यो तिमी तिनै अनामिका थिइन् र कसै म स्वयं थिएँ । उसले विद्यार्थीको अघिल्लो पंक्तिमा बसेर मलाई नै सुनिरहेकी थिई । मनमा के लिएकी थिई, मलाई कहिल्यै भनिनँ । मैले त्योबेला भनेको थिएँ, ‘तिमी भन्दा पहिला म मरेँ भने मर्नु भन्दा पहिले १ चम्चा पानी पिलाइदिनु, सम्सान घाटमा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु है प्रिय, तिमीलाई शुभकामना छ ।’ यसरी मैलै जिन्दगीदेखि साह्रै बिरक्तिएर त्यो भनाई राखेको थिएँ । उसले कति बुझी या बुझिनँ, थाहा भएन तर आज हामीबीच समयले निकै खाडल बनाइदियो । निकै ढिलो भयो अब ।

म अनामिकालाई धेरै माया गर्दथेँ र थाहा भयो विचरी अनामिका पनि मप्रति हुरुक्कै हुँदिरैछे । अनामिकाको त्यति राम्रो आँखाबाट आँशु बगिरहेको छ । सब मलाई हेरिरहेका छन् । म अनामिकालाई हेरिरहेको छु ।

आज म मरिसकेको छु र म मरेकोमा ज्यादै खुसी पनि छु । म मरेर दाम्लोबाट फुकेको गाई, सर्पको मुखबाट उम्केको भ्यागुतो र जेलबाट छुटेको कैदी जस्तो भएको छु ।

मेरा आफन्त एकतमास रोईरहँदा म भने खुशी भएको क्षण सायदै यही होला । दृश्य हेरेर मलाई पटकपटक जन्मन र मर्न मन लाग्यो । वास्तवमा मान्छे कहाँ मर्दो रहेछ र मेरो शरीरमात्र मरेको छ । म सब देखिरहेछु तर पनि यस्तो नाथे शरीर छाडन मानिस किन डराउँछ ? यतिखेर मेरो लाश कति शान्त छ ।

रेडियोबाट नारायण गोपालको "म मुर्दा भएको तिमी आज हेर" गीत बजिरहेको सुनिन्छ । मृत्युमा के मिसिएको हुँदैन ? मरेको मान्छेको अनुहारबाट मायाका किरण निस्कन्छ । त्यसैले मृत्युमा माया हुन्छ । करुणा निस्कन्छ । त्यसैले सबै मेरा आफन्त रोइरहेका छन् र बिलौना गरिरहेका छन् । मलाई भने यो संसारको कुनै तनावरहित मानिस कोही छ भने ममात्र छु, जस्तो लागिरहेछ ।

मेरो लाशको डोली घाटतर्फ लगिंदैछ । मलाई जलाउँन । कसैले मेरो डायरीमा जतनसाथ राखेको मान्यता हुमागाईले लेखेको एउटा गजलको कागज अनामिकालाई दिइरहेको छु । त्यहाँ लेखिएको थियो…

भोलि बिहानैको समाचार हुनेछ
मेरो लाश तिमिलाई उपहार हुनेछ ।

पक्कै यादहरुले सताउन खोज्ला
आँशुहरुको वर्षात लगातार हुनेछ ।

म हुनेछैन तिम्रो साथमा तर पनि
तिम्रा अधुरा सपना साकार हुनेछ ।

कोही अंगाल्नै पर्ने समय आइदेला
भनन प्रिय तिम्रो के विचार हुनेछ र?

तिमी रोउला सायद अरु रमाउलान्
मलामीलाई आगो लगाउन हतार हुनेछ ।

@राजन थापा

Saturday, April 18, 2015

मेरो आखाँको दृष्टि हुन् मेरी आमा

आमा शब्द सुन्दैमा आफैमा अवर्णनीय छ, पवित्र र धन्य हुन्छ ।
यसैले आमाको सम्मान र प्रतिष्ठा अतुलनीय मानिएको हो ।
शास्त्रमा वर्णन गरे अनुसार आमाको गौरब गुरुभन्दा दश लाख आचार्यभन्दा
लाख तथा पिताभन्दा हजार गुना बढी भएको बताइन्छ ।

वास्तवमा नारीको अस्तित्व विशेषतः मातृत्वमा नै समाहित हुन्छ ।

गर्भधारणपछि नौ महिनासम्म आफ्ना कोखमा राखेर शिशुलाई जन्म दिने आमा वास्तवमा नै भगवान् हुन् ।

गर्भधारणदेखि जन्मसम्म र त्यसपछि पनि निरन्तर हेरविचार, स्याहार, सुसार
गरेर पूर्ण मनुष्य बनाउन आफुले खाएका खानेकुरा अन्न जलबायु तथा आफूभित्र
भएको स|स्कारजन्य छाप आफ्नो शिशुलाई दिएर आमाले जानीनजानी सन्तानको
शृष्टि गरेकी हुन्छिन ।

आफ्नो ज्यानको प्रवाह नगरी सन्ततिलाई जन्म दिने आमाभन्दा पूजनीय यो संसारमा अरु कोही हुदैन ।

आमाको गुनगान शब्दमा व्यक्त गर्न सकिदैन,यसका लागि भावनात्मक तथा
आत्मीय भाषाको जरुरत पर्दछ,किनभने आमा जगदात्री, जगत जननीकी साकार
स्वरूप हुन् ।

आमाहरुको त्याग, तपस्या र बलिदानबाट नै यस शृष्टिले निरन्तरता पाएको छ । आमा बिना श्रृष्टि हुँदैन,त्यसैले हामी सबैले सदैव
आमाप्रति उदार हुनुपर्छ ।

आमा मानव जीवनकी श्रृष्टि हुन् । आमा धर्ति
हुन् जसले सन्ततिलाई आफ्नो गर्भमा राखेर अन्कुराउछिन । उनले धर्ति झैँ
सहनशील भएर अनेकौ दुख र कष्ट सहेर आफ्ना बालबच्चाको पालनपोषण तथा सुरक्षा गरेकी हुन्छिन् । दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन् ।

समयको परिवर्तनसँगै हरेक कुरामा परिवर्तन भएको छ । आजको प्रतिस्प्रधात्मक
युगमा बाँच्नको लागि सबैले संघर्ष गनु परेको हुन्छ ।

आफ्नो भविष्य बनाउने दौड धुपमा जहाँजहाँ पुगे पनि आमा आफ्ना छोराछोरीको बीचको शारीरिक सम्बन्ध टाढा हुनु पर्ने वाध्यता हुन्छ, तर पनि उनीहरु मानसिक रुपमा टाढा
भएका हुँदैनन् ।

समय जति फेरिए पनि हाम्रो संस्कृति अनि
परम्परागत चाडपर्व मनाई रहेका हुन्छौ । यही रीतको एउटा चाड हो- मातातीर्थ औंसी पनि ।

आजको संचारको युग भएकोले छुन नपाए पनि पनि इन्टरनेटको सहायताले धेरथोर
बोलेर आफ्ना भावनाहरु कोरेर वा उपहार पठाएर भए पनि छोराछोरीले आमाको
सम्झना गरिरहेका हुन्छन् ।

समय फेरिए पनि आमाप्रतिको
श्रद्धा उही उचाईमा देखिन्छ,र रहिरहने छ ।
जन्म दियौ आमा तिमी धन्य छौ, सारा जगमा तिमी नै मान्य छौ ।

बैशाख कृष्ण अमवाश्यमा हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिन पर्छ ।
यसै दिन आमासँगै बस्न नपाएको पनि बर्षौ बितेछ । जहाँ भए पनि आमासँग
भलाकुसारी गर्न पाउँदा मन प्रफुल्ल हुन्छ ।
मेरी आमा आफ्नो बाबा आमाको एक्ली सन्तान हुनुहुन्छ ।

माइतीको प्रशस्त धन, सम्पति भए पनि मेरी आमाले आफ्नै परिश्रले कमाएको
आफ्नो गाउँको जमिन र घरलाई आफूभन्दा धेरै माया गर्नुहुन्छ । उहाँ घरबाट बाहिर
जता गए पनि फूलहरु वा फलफुलका बिरुवाहरु एउटा न एउटा लिएर फर्किनु
हुन्छ । आफ्नो घर वरीपरि बगैचामा थरिथरिका फूलहरु रोप्नु करेसामा
बिभिन्न फलका बोटहरु रोपर
बगैचा बनाउन उहाँ सौकिन हुनुहुन्छ । आफ्ना घरमा आएका कुनै पनि मान्छेलाई
खाली हात नपठाउने उहाँको बानी छ । घर वरिपरी लगाएका रुख बिरुवाहरुमा ,
करेसाबारीमा खेतका कान्लामा आफूले रोपेको बर पिपल र धुलाम्मे गोरेटो
भित्रको परिवेशमा मेरी आमा मनमौजी आत्मादेखि नै रमाउनु हुन्छ ।

मलाई मेरो आमा संसारको सबै भन्दा प्रिय लाग्छ । My mom is the best mom of the world .

आज आमाको मुख हेर्ने दिन भन्न चाहन्छु ।
आमा म हजारौ बर्ष हजुरको कोखबाट जन्मन पाँउ ।

मेरी आमा
मेरो आखाँको दृष्टि हुन् मेरी आमा
मेरो जिन्दगीको शृष्टि हुन् मेरी आमा
अर्थहीन जिन्दगीमा अर्थ पहिल्याई दिने
सुगन्धिला बिचारले मस्तिष्क रंग्याई दिने
अँध्यारोलाई हटाएर शब्दको भाषा होइन
मनको भाव बुझिदिने
अप्ठ्यारा सुस्ताका उकालीमा धैर्य गर्न सिकाउँदै
सहासिलो र दृढ निश्चय गर्ने हिम्मत दिलाउने
आफू दु:खले भरिएर पनि
मेरो खुसीमा रमाउने
धर्यताको प्रतिमूर्ति नारीको सच्चा रुप
ममताकि खानी
मेरी आमा...

गुम्यो, बिछोडियो,सबै थोक
र पनि
सहँदै आफनै
निचोरिएर पीडाहरु आफैमा सिमित गरेर
आफ्ना सन्ततिलाई खुशी दिने
दु:खको सागरमा डुबुल्की मार्दै
फेरि प्रेमको सागरमा उठ्दै
अथाह सुखारुपी सागर हुन्
मेरी आमा !

राजन थापा