Saturday, February 14, 2015

प्रणय दिवसमा मायालुलाई पत्र

मेरो मनभित्र एउटा ठूलो सहर छ ।
सहरको उत्तरतफर्को एउटा डाँडामा गजुर
भएको सुन्दर घर छ । घरको पूर्वपट्टि एउटा आकर्षक
कोठा छ ।
कोठामा दक्षिण फर्केको सुनौलो दराज छ ।
दराजको भित्री खापामा चाबी लगाएको गोप्य
सेप छ । त्यही सेफमा मैले मेरी मायालुलाई लुकाएर
राखेको छु ।

धेरै अघि, जब सानै थिएँ, मायाको अर्थ थाहा नहुँदै
मायाको बीउ मेरो कलिलो-
मलिलो माटोमा पोखिएको थियो । सम्भवत:
उनको बीउ निकै उब्जाऊ थियो ।
मेरो माटो पनि निकै मलिलो । जसै बीउ
मेरो मलिलो मनभित्र पस्यो, टुसा पलायो । मैले
मलजल गर्न थाले, हरियाली छायो । मैले
पानी हाल्न थाले, हाँगा-बिगा लाग्न थाले, फूल
फुल्न थाले । जब बगैंचा हराभरा र सुन्दर फूल फुल्न
थाल्छन्, अरूको आँखा लाग्न थाल्छन् । त्यसलाई
लुकाउन-जोगाउन जान्नुपर्छ । मैले पनि लुकाउने र
जोगाउने ठूलो प्रयास थालें । त्यो प्रेमवृक्ष आज
अजङ्गको रूख भएको छ ।

ठुलो हुँदै
जाँदा कहिलेकाहीं दराजको भित्री खापा भत्काउँदै
मेरी माया बाहिर चिहाउन खोज्छे । म पोर्टेबल
बनाउँदै म अझ लुकाउन खोज्छु । जति लुकायो,
उति देखिन खोज्ने आनौठो उनको बानी छ । म
कति सम्झाउँछु, ऊ मरिगए मान्दिनँ ।
म असल छोरा भएँ-भइन भन्न सक्दिन । असल बाबु
भएँ-भइन त्यो पनि भन्न सक्दिन । असल श्रीमान् त
हुनै सकिनँ । तै पनि दाबीका साथ भन्न सक्छु, म सधैं
असल प्रेमी भएर बाँचेको छु । उनको प्रत्येक
खुसीमा मेरो खुसी मनमनै साटेको छु, प्रत्येक
दु:खमा पाएको पीडा बाँडेको छु । ईश्वरलाई
चढाएको प्रसादजस्तो प्रत्येक
उपलब्धिको पहिलो भाग
उनको नाममा छुट्टयाएको छु ।

मेरी भ्यालेन्टाइन, यो चिसो सहरको मन पनि चिसै
छ । तैपनि चिसो रातमा मैले
बगाएका ताता आँसुको बयान तिमीलाई थाहै
होला । मेरी माया, यो धुलो र
धूवाँको सहरमा मान्छे सफा त देखिन्छ तर मन धेरै
फोहोरी छ । यी दुषित आत्मासँग तिम्रो शुद्ध
प्रेमको वर्णन कसरी गरौं ? मेरी प्यारी, तिम्रो प्रेम
मैले शुद्ध राख्न सकिरहेको छैन । बाहिर जे देखिन्छ,
ती केवल आवरण मात्र हुन् । राम्रो प्याकेजिङ
गरिएको बट्टा बन्द
गरिएको पुरानो खानेकुराजस्तो म बासी प्रेमबीच
घेरिएको छु । सक्छौ भने मलाई बचाऊ । तिमीलाई
आफ्नो प्रेम प्रति अलिकति पनि गौरब छ भने
त्यो दराजको गोप्य सेफको चाबी लिएर जाऊ ।

म तिमीलाई अमर बनाउन चाहन्छु प्रिये ।
भोली कसैले यो नभनोस्, यति लामो समयसम्म शुद्ध
प्रेममा बनेको मीठो खिर कुनै अमूक कारणले अशुद्ध
भयो । खिर जतिसुकै मीठो किन नहोस्, बाहिरबाट
थोरै फोहोर पर्यो भने खानलायक रहँदैन । म
तिम्रो प्रेमले बनेको 'जुकरबर्ग क्याफे' तिमीलाई नै
अर्पण गर्न चाहन्छु ।

Wednesday, February 04, 2015

नर्सले भोगेको लडाइँको घाउ

ए मेरा देशका सम्माननीय नेताहरू हो
भन्न मन लाग्छ भने भन मलाई
स्वेदशनिन्दक वा घृणा चिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो,
अंशबन्डै गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशको असंख्य बगरहरूमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ ... ।
– भूपि शेचरन

मृत्यु अवश्यम्भावी छ । मान्छे प्रायः जीवनकै
कुरा गर्छन् । मरणको कुरा गर्दैनन् ।
मरणको कुरा अवश्यम्भावी नभए पनि अस्वाभाविक
भने लाग्छ । मान्छेले चिताको आशा गरेर एक
अर्थमा सम्मानित मरणको अपेक्षा राखेको हुन्छ ।
तर त्यस्तो ‘सौभाग्य’ सबैलाई जुर्दैन । सशस्त्र
द्वन्द्वकालमा मरेका धेरैको चिता बनेन।

नेकपा माओवादीले गरेको ‘जनयुद्ध’ मा १३ हजार २
सय ५० जति मान्छे मरे । कैयौं कामरेड, सेना, प्रहरी र
सर्वसाधारणको मरण चिताविहीन भयो । त्यस्तै १
हजार ३ सय जना बेपत्ता छन् ।
मानवअधिकारमा काम गर्ने एक
संस्था इन्सेकका अनुसार सशस्त्र
द्वन्द्वकालमा ज्यान गुमाएकामध्ये राज्यतर्फबाट ८
हजार ३ सय ७७ थिए भने माओवादीतर्फबाट ४ हजार
९ सय ७०।

त्यसमध्ये सुदूर
पश्चिमको एउटा जिल्ला जुम्लामा राज्यतर्फबाट
१ सय ७० र माओवादी तर्फबाट ७९ मान्छे मरे । तर,
सुरक्षित मातृत्वको जनचेतना अभियानमा लागेर
जुम्लामा अस्पताल बनाउन लागिपरेकी नर्स
राधा पौडेल उक्त हमलाको रात धन्न बाँचिन् ।
बाँचेकै भएर उनले
युद्धको बेला जुम्ला बस्दाको सस्मरण सुनाउन पाइन्
— ‘जुम्लामा हमला’।

चितवनमा हुर्केकी राधालाई उनका बुबाले सधैं
जुम्लाका मान्छे गरिब भनेर कथा हाल्थे रे ।
अनि बा भन्थे रे, ठूली भएपछि तैंले
जुम्लाका मान्छेको सेवा गर्नुपर्छ । त्यो सुनेर
हुर्केकी राधाले नर्स पढाइ
पूरा भएपछि राम्रो जागिरको छनोटमा नवलपरासी वा जुम्ला रोज्नुपऱ्यो । उनले जुम्ला नै रोजिन्, तर जुम्ला रोज्नु र
भोग्नुमा कति सकस थियो भन्नेचाहिँ उनको अनुभव
पढेपछि थाहा लाग्छ।

‘जनयुद्ध’ कालमा त्रासै–
त्रासैको वातावरणमा सास पनि साँचेर
बाँच्नुपरेको कठिन
परिस्थिति थियो जुम्लाबासीको ।
जुम्लामा बस्दा के भयो,
हमाला हुँदा कस्तो भयो भन्ने वर्णन गरेकी छन्
राधाले आफ्नो पुस्तकमा । हमलाको विवरण पढ्दा,
युद्धप्रति नै तीव्र घृणा र निराशावादले घेर्छ।

जुम्ला वास्तवमा साधन–स्रोतको कमीले होइन,
चेतना र उत्प्रेरणाका अभावलले
पछि परेको राधाको विचार छ । रातो चामल,
यार्चागुम्बा, गुची च्याउ, पाँचऔंले,
सिलाजितजस्ता स्थानीय स्रोत आर्थिक
विकासको राम्रो स्रोत हुन सक्छ।

तर, जुम्लामा विकृतिले घर गरेको छ, तिनसँग जुध्नु नै
जुम्लाको चुनौती हो । भएको चामलले भात नखाई
जाँडरक्सी बन्नु, धूवाँरहित चुलो जनसाधारणसम्म
पुग्न नसक्नु, सरकारी कर्मचारी काज भन्दै
जुम्लामा बस्दै नबस्नु केही समस्या हुन् ।
त्यस्तोमा माओवादीको लडाइँले झनै मर्नु
पारेको उनको अनुभव छ।

जुम्लाका ती दिन अहिले पढ्न त सजिलो छ, तर
त्यतिखेर कसरी भोगे होलान् मान्छेले भन्ने
सोच्दा पनि अत्यास लाग्छ ।
राति सुत्दा पनि बाहिरफेर हिँड्दा लगाउने
लुगा लगाएरै सुत्नुपर्ने, राति कुन
बेला अपहरणमा परिएला ठेगान नहुने ।
बजारमा कपडाको जुत्ता किन्नै नपाइने,
माओवादी छापामारले प्रयोग गर्छन् भनेर । बिस्कुट,
चाउचाउजस्ता खानेकुरा पनि अड्कली–
अड्कली किन्नुपर्ने, धेरै किनिएको ठहरियो भने
जिल्ला प्रशासन कार्यालयलाई स्पष्टीकरण
दिनुपर्ने।

गाउँका स्वास्थ्य चौकीमा माओवादी आउँछन् भनेर
प्रशासनले औषधि नपठाउने,
उता कामरेडहरूचाहिँ औषधि नदिए
उडाइदिन्छौं भन्ने । बिहे–
जात्रा आदिमा बाजा बजाउन
पनि प्रशासनको स्वीकृति लिनुपर्ने,
अनि रातमा गर्नुपर्ने दिपावली पनि दिउँसै गर्नुपर्ने।

एक ठाउँमा राधाले लेखेकी छिन्ः

सुत्नुअघि ‘शुभरात्रि’ भन्नुको छुट्टै महत्व हुन्थ्यो,
जुन मैले न त्यसअघि न त्यसपछि महसुस गरेँ । के थाहा,
भोलि बिहान देख्न पाइने हो कि होइन ? र, प्रत्येक
बिहान सकुशल ब्युँझेपछि हामी फेरि एकअर्कालाई
हेथ्र्यौं । मायालु पाराले सुमसुम्याउँथ्यौं ।
अनि फिस्स हाँस्दै भन्थ्यौं, ‘बधाई छ, आजलाई
बाँचियो।’

सशस्त्र लडाइँको एउटा पाटो बुझाउन यो पुस्तक
अत्यन्तै महत्वपूर्ण सामग्री हो, जुन पढिसकेपछि के
लाग्छ भने लडाइँको प्रभाव कम भनिएको ‘ग’
वर्गको जिल्ला जुम्लामा त स्थानीयहरू त्राहि–
त्राहि भएका रहेछन् भने द्वन्द्वको प्रभाव
बढी भनिएको ‘ख’ र ‘क’
वर्गका जिल्लाको अवस्था झन्
कस्तो थियो होला ? समय क्रममा तिनका कथा–
व्यथा पनि समाजसामु आउने नै छन्, जसले सुख हैन,
दुःख नै देलान्।

माओवादीले जुन कारणका लागि हिंसात्मक
आन्दोलन गरेका थिए, जसका कारण १३
हजारभन्दा बढी मान्छेले ज्यान गुमाए, सयौं बेपत्ता,
हजारौं अङ्ग–भङ्ग भए र अहिले माओवादी नै
‘क्यास’ र ‘ड्यास’ बनेर टुक्रिएर
संविधानसभाको चुनावै होला–नहोला, संविधानै
बन्ला–नबन्ला जस्तो भएका बेला ती जो मरे
तिनको ज्यान अनाहकमा त गएन भन्ने
गहिरो आशंका ‘खलंगामा हमला’
पढेपछि पुनः तीव्र हुन्छ।

Wednesday, January 28, 2015

मारिदिनु

किसानहरु भन्थे- चाँडै वर्षा भयो ।
बिहानैदेखि आँखा नझिम्क्याई
पानी पर्यो ।
पहाडी थाप्लोको सदरमुकाम
हिलाम्य बनेको थियो । सुनसान जस्तो ।
पुलिसहरु सधैँ बाक्लै हुन्छन् । पटकपटक
गस्ती आए, गए ।
कोहीकोहीहिलोमाचिप्लिए
। मेरो कोठा अगिल्तिरबाटै आउँछन् र
यहीँ लड्छन् । अलि चिप्लो छ
अन्तभन्दा । भिरालो । रातो माटोमा बुट के
नचिप्लियोस् ? हेर्नेलाई मज्जा !
घरभेटीका छोरीहरु
हाँस्छन् कुतकुतिएर । ‘पुलिस न हुन् ।
हिलो भुलेर लडेका लड्यै’, छेड हान्छन् ।
उनीहरु लड्दा मलाई पनि हाँस
उठ्छ ।

म हाँस्ता पुलिसहरु रिसाउँछन्,
घरभेटीका छोरी हाँस्दा खुसी हुन्छन्
। लाग्छ- मान्छेको जात कस्तो !

हरियो मकै पठाइछन् आमाले । खेतका होलान् ।
बारीका सुत्ला पस्तै छन् । बिहानै
उसिनेको । यही दारेर सुत्नुपर्ला ।
छामेँ, चिसो भएछ । आगो भए
पोलेको मीठो । कहाँ पाउनु दाउरा ?
चुलो कता खोज्नु ? मट्टीतेलको दम
दिने स्टोभ बाले“ । कोठामा एकसरो धुवाँ फैलियो-
मैले पिएको चुरोटभन्दा अलि बाक्लो । हराउँदै
गयो आवाज जस्तै ।
भाँडामा अलिकति पानी राखेर मकै
तताएँ ।
घरभेटीकी ठूली छोरी आई
र ‘खाना माथि नै खाऊँ’ नभनी गई ।
मैले अल्छी गरेको दिन सधै
यसरी नै आउँथी र
‘माथि नै खाऊँ’ भन्थी । आज त
उल्टै मेरैमा एक घोगा मकै खाई । गिज्याए झै
मुख बटारेर निस्की ।

‘मेरो मकै मात्रै खाई !’

बाहिर बहिनीचाहि कराएको सुने
। हत्तपत्त ढोकाको चुकुल लगाएँ । बोलाई भने
नबोली बस्नुपर्ला । त्यसले
भेटी भने अर्को घोगो खान्छे । झन्
मात्तिएकी छे । मलाई खासै मन
पर्दैन । पल्लो बजारको केटोसँग लठारिएको झन्
मन पर्दैन । बरू दिदीचाहि
ठीकै छे । आउँछे । बस्छे । ऊ
बसेपछि ऊसँगै मन्द सुगन्ध बस्छ । त्यसै
लट्ठिन्छु । काममा सघाउँछे । धन्दा सिकाउँछे ।
कहिले लाग्छ- ‘फकाएकी हो ?’
कहिले लाग्छ-होइन होला ।
केही भनेकी छैन तर
घण्टौ बस्छे मेरो ओछ्यानमा । ऊ
उठ्ता उसको तातो बस्छ । असरल्ल
मेरो कोठा समाल्छे । बढारकुँढार गर्छे ।
कोठा सिनित्त हुन्छ ।
आमा जसरी होइन । आमा त
फतफताउँदै भद्रगोल समाल्थिन्,
अर्कै जसरी ।
मायावी आँखा तर्छे । कुचो लाउँछे ।
कपडा पट्याउँछे र कठबाँसको दराजमा सपक्क
पार्छे ।

भन्छे, “सारै अल्छी ।”

“को ?” सोध्छु ।

“हजुर !”

भित्र चसक्क तातो पस्छ, मुटु धक्क हुन्छ ।
आमाले बाबालाई भने जस्तै । आमाले बाबालाई
‘हजुर’ भनेको सम्झन्छु । यो पनि उसै
गरी भन्छे र मलाई सताउँछे
बेलाबेला । यसलाई सम्झेपछि म आफैलाई
सताउँछु ।
यो सँगै जुनी आउँछे । ऊ
आएपछि अँध्यारोमा बत्ती आए
जस्तो हुन्छ । यो फुत्तै हराउँछे
मनमा केही नरहने
गरी - टाउका माथिबाट सुत्त प्लेन गए
जस्तो । जुनीको शान्त मुहार
आउँछ ।
घाँसको डोको बोकिरहेकी जुनीका पसिना झरे
जस्तो हुन्छ ।
घुमुर्की परेका गालाका साना खोपिल्टामा जुनी हाँस्छे
।

यो भन्दा जुनी कति हो कति राम्री !

साँझले झपक्कै छोपेछ । सम्झिएझै
बत्ती बालेँ । माथितिर वन
कार्यालयमा झलल बत्ती बलेको ।
पानी तर्याएर मकै थालमा राखेँ ।
कोठाको ढोका बज्यो ।
त्यो बहिनी चाहिँ होली मकै
खान आएकी । जम्मा दुई
घोगा बाँकी छन् । हत्तपत्त
सिरानमुनि लुकाएँ । एकछिन बोलिनँ । ढकढक
बजिरह्यो । सोधेँ- दिदी नै रहिछे ।

बस भन्न पनि नपर्ने । ओछ्यानमै बस्छे ।
सायद उसको नारीत्व जस्तै पुरूषत्व
आउँछ होला मेरो ओछ्यानमा ।
उसको नारीत्व जाग्छ कि के ? नत्र
किन यसो गरेकी ! मकैको भाँडोतिर
आँखा डुलाई । रित्तो देखेर होला, सोधिन । म
पनि बसे ऊसँगै । ऊ बसेसँगै
उसको नारीत्व उठ्यो र खुसुक्क म
भएतिर आयो । मेरो पुरूषत्व ऊतिर
गयो कि गएन ? लाग्यो, आजको रात यतै बसोस्
।

कहिलेकाही ज्यान फाल्छे
मेरो ओछ्यानमाथि । चङ्गा जस्तो हलुङ्गो ।
माथि धमिरा लागेको दलिन हेर्छे । दुवै हात
फ्याँक्छे र छिटोछिटो सास फेर्छे ।
उसको त्यस्तो चङ्गा शरीर हेर्दिनँ
म ? अन्तै भुल्छु । अन्तै मन डुलाउँछु । चोरेर
सुटुक्क हेर्छु, हेरिरहुँ लाग्छ । आज
पनि उसै गरी । मैले पनि खुसुक्क
हेरेँ । धेरै हेरेपछि जुनी आउँछे ।
मुग्ध भएपछि जुनी कराउँछे ।
जुनी आई
बत्ती आए जसरी ।
जुनी आएपछि ऊ गई !
बत्ती गए जसरी ।
घरभेटीकी ठूली छोरी गई
।

सिरानीमुनि लुकाएको मकै निकाले
बहिनीचाहि आई भने खाइदिन्छे ।
लाडे पल्टिन्छे । पल्लो बजारको केटासँग के
गर्छे कुन्नि ? मसँग लुटुपुटु गर्छे । ऊ
लुटपुटिँदा म डराउँछु । मभित्रको पुरूषत्व
जाग्यो भने ? ऊ चाहि डराउन्न ।
घरभेटी बाआमा सानी ठान्दा होलान्
। दिदीचाहि मसँग
भन्दा मेरो ओछ्यानसँग लुटपुटिन्छे ।
बाआमा ठूलीचाहि
मेरो ओछ्यानमा पल्टेको मन पराउँदैनन् । म
सानी लुटपुटिएको मन पराउन्न ।
उनीहरु ठान्दा हुन्-
दिदीचाहि ठूली भई ।
मलाई लाग्छ- बहिनीचाहि
ठूली भई ।

मकै बाँकी नै थियो । एक
घोगो सिद्ध्याएर अर्को सुरू नगरेको ।
ढोका फेरि बज्यो, अगिको जस्तै
गरी । फेरि सोचेँ।
त्यही बहिनीचाहि
हुनुपर्छ । ऊ आउने
कुरा सम्झदाँ पनि नमीठो लाग्छ ।
त्यही पल्लो बजारको केटो सम्झन्छु
। सोचेँ,
‘दिदीचाहिँ होली ।’
हातको मकैको घोगो दारेँ मुखभरि । त्यसले
मागी भने
यही जुठो खुवाउँछु । घिनाउँछे
होली । होइन, घिनाउँदिन ।
मेरो जुठो किन घिनाउँथी ? आज
खुवाउँछु । खुवाउनु छ । म उसलाई चाख्न
चाहन्छु । पक्कै उसले खाने बेलामा जुनु
नआउली । ढोकाको चुकुल खोले ।
ऊ मकै खान हतारिएकी होस् ।

न दिदीचाहिँ थिई न
बहिनी । अर्कै
केटी उभिएकी ढोकामा-
चिने जस्ती, नचिने
जस्ती ।
ऊपछि अर्को तन्नेरी थियो रूमालले
मुख छोपेको । मैले केही नभन्दै
दुवै भित्र पसे ।
कस्ता घरभेटीका छोरीजस्ता।
मैले नभने पनि मेरो खाटमा बसे जस्तै
यी पनि भित्र पसे । मैले लाउनुपर्ने
ढोका त्यही केटाले लगायो ।

“चिन्नुभो सुराकीज्यू”,
केटी बोली ।

उसको बोली भुइँमा नखस्तै केटोले
मुखको रूमाल तल सार्यो । जिउ सिरिङ्ङ भयो-उही छापामार कमान्डर, जसलाई
मैले गाउँमा भेटेको थिएँ ।
उनीहरुको सुराकी गरेको थिएँ
। हातको मकैको घोगो फ्यात्त भुइँमा खस्यो आफै।
उनीहरुले चलाखीसाथ
पुलुक्क हेरे ।
त्यही केटी, जसले
मलाई
गाउँमा सबभन्दा पहिला अँठ्याएकी थिई
। म पानी भएको थिए ।
‘घरभेटीका छोरी आए
पनि हुने नि यस्तो बेला’ जस्तो लाग्यो । के
आउँथे ? सुते होलान् । भुइँमा थचक्क बसे ।
म जस्तै मेरो कन्चटमा पेस्तोल
बसेको थियो थपक्क ।

कमान्डर बोल्यो,
“गोली खान्छौ कि हामीसँग
जान्छौ ?”

“जान्.....” बोली फुटेन ।

“के भनेको ?” केटीले घुँडो दरालेर
सोधी मेरो च्यापुमा ।

मुन्टो हल्लाएँ । कति खस्रो घुँडो ?
घरभेटीकी छोरीका भन्दा ।
आतङ्ककारी न हुन् । तालिम गरेर
यस्ता भए होलान् । काँपिरहेको म
घरभेटीकी छोरी सम्झेर
अलि शान्त भएछु ।
भने, “सोधपुछ गर्नुछ । हामीसँग
हि“ड !”

मुन्टो हल्लाएँ ।

“हल्ला गरे गोली खान्छौँ, थपे ।

फेरि मुन्टो हल्लाएँ, “हवस् !”

माथि घरभेटीको भर्याङमा एउटा उभिएको ।
तल अगाडि सडकको ढोकामा अर्को ।
घरमा पछाडिको ढोका खुलै रहेछ ।
त्यहाँ उनीहरुकै मान्छे होलान्
उभिइरहेका । ढोका उनैले खोले होलान् ।
निकाल्दा मुखमा रूमाल बाँधिदिए । हात
पछाडि बाँधिएका । चप्पल लाउने सुर हराएछ ।
उनीहरुले ‘लाऊ’ भनेनन् ।
घरपछाडिको ढोकाबाट निकाले । रातको अन्धकार, म
अस्ताउँदै थिएँ रात जस्तै ।
आकाशमा जुनको सानो टुक्रो थियो, म जुन
अस्ताए जस्तै अस्ताइरहेथेँ । एउटा छापामार
सायद कान्लामुनि पुग्यो । ऊ फर्केर नआउन्जेल
अरु हिँडेनन् । मेरो कन्चटमा पेस्तोल छँदै
थियो । मकैबारीको कुनैकुना निकै बेर
तेर्सियौँ र ठाडो ओरालो । कोही बोलेन
। केही सोधेनन् । म हताश थिएँ ।
मलाई थाहा थियो, सुराकी गर्नु
भनेको मारिनु हो तर अचम्म, म समातिएको थिएँ
।

रातिको समय, थाहा पाइनँ कति हि“डाए ।

बिहान उज्यालो हुने
बेलामा उहीँ पुर्याएछन्, जहाँ मैले
उनीहरुको सुराकी गरेको थिएँ
। एउटा घरमा कुनै छापामारले
ढोका ढकढक्याएपछि मान्छे उठे । उनै
दिदी, जसले मलाई भात
खुवाएकी थिइन् । उनै
दिदी, जसले पुलिसको हिरासतभित्रै
मेरो मुखमा थुकेकी थिइन् ।
उनी मेरो अगिल्तिर आइन् र
गहिरिएर हेरिन् । मैले उनको अनुहार हेर्नु
कसरी ? आवाज पछि आयो,
पहिला घुमायो । रननन भयो कानमुन्तिर । नजिकै
कोल्टे पर्ने गरी लडेछु । उनले बाघे
झापड बजाइछन् ।
“तँलाई सिआइडी”,
उनी कराए जस्तो लाग्यो ।

के भन्नु ? गालो छामेर लडिरहेँ । बोल्ने कुरै
थिएन, न जबाफै थियो । कसैले तानेर उठायो । उनै
कमान्डर रहेछन् । त्यो केटीले
अर्को गालामा फेरि बजाई । दुखेन ।
अहिलेको साटो अगि नै दुखेपछि फेरि
के दुख्नु ?

“यसलाई मारिदिनू !” पसले दिदीले
आदेश दिइन् ।

“मार्ने हो,
कमान्डरपछि बसेको कोही बोल्यो ।

(दिपशिखाको उपन्यास "रात फुलेको याम"

माथिको सामाग्री त्यहिँ पुस्तकको लिइएको अंश
हो )

Sunday, January 25, 2015

एउटा लडाकुको कथा

दसवर्षे माओवादी सशस्त्र
युद्धको कारूणिक र साहसिक
यात्रापछि छिन्नभिन्न
भएको भविष्यलाई यथार्थ
अभिव्यक्त गर्ने प्रयत्न हो ‘भीषण
दिनहरू’ । लेखक नवीन जिरेलले
आफ्नो कलिलो बालमस्तिष्क
युद्धमा होमिन बाध्य
बनाइएका परिस्थितिहरू
किताबमार्फत लिपिबद्ध
गरी उजागर गर्ने प्रयास गरेका छन्।

कलिलो उमेरमै बन्दुक र बारूदसँग
होमिँदाका अनेकन दुःख, कष्ट र
पीडाका अनुभूतिहरू पढ्दा सशस्त्र
युद्धताको उथलपुथल स्मरण गर्न
सकिन्छ । यथार्थमा बाल्यकालमै
माओवादी लडाकुमा भर्ती भएका जिरेलजस्ता थुप्रै
पात्र छन्, उनीहरू यतिबेलासम्म
आइपुग्दा आफ्नो सामाजिक जीवन
र भविष्यप्रति चिन्तित छन्।

‘वर्गसंघर्ष र
सामन्ती राज्यसत्ताविरूद्व’को सशस्त्र
युद्धमा पारिवारिक अवहेलना र
सामाजिक कारणले
माओवादी विद्रोहमा उत्रिएको एक
प्रकारले जिरेलले उल्लेख गरेका छन् ।
तर किताब पढ्दा लाग्छ,
उनी यथार्थमा माओवादी विद्रोह
नबुझी प्रवेश गरेका थिए । दुश्मनलाई
कसरी पराजित गर्ने भन्ने एउटै मात्र
लक्ष्य बोकेको र त्यहीअनुसार
लडाकुले रणनीति बनाई परिचालन
हुने गरेको चित्रण गरेका छन्।

किताबमा माओवादी विद्रोहको धेरै
प्रशंसा गरिएको छ । त्यसले समाज,
राष्ट्रमा निम्त्याइएका आतंक र
विध्वंशात्मक परिस्थितिहरूलाई भने
बेवास्ता गरिएको छ । दिनका दिन
माओवादीप्रति जनसमर्थन प्राप्त
भएको,
जनताको सहभागिता बढेकोजस्ता प्रसंगहरू
राखिएको छ । माओवादीले
सर्वसाधारण
जनताका कलिला बालबच्चालाई
उकासेर युद्धमा डोर्याएको, बन्दुक
बोकेर कक्षाकोठाभित्र गएर
जबरजस्ती सदस्य बन्न बाध्य
बनाएको, सुराकीको कथित
बहाना बनाएर हत्या र अपहरण
गरेकाजस्ता अमानवीय प्रवृत्ति भने
उजागर गरिएको छैन ।
त्यतिबेला बन्दुकको नाल देखाइएर
समर्थन गर्नुपरेको, धाकधम्कीबाट
ग्रसित बनेर बास
दिनुपरेको नेपाली नागरिकहरूले
अहिले पनि बिर्सिएका छैनन् ।
त्यस्ता विषयवस्तु समेतलाई समेट्न
सकेको भए यो पुस्तक अझै पठनीय
बन्ने थियो।

९ कक्षामा पढ्दाको कुरा मलाई
अहिले पनि स्मरण छ । जतिबेला म
तेह्रथुम ओख्रे गाविसको भगवती उच्च
माविमा पढ्थेँ,
गाउ“मा माओवादीको प्रभाव
निक्कै थियो ।
सोझासादा जनताका छोराछोरी उक्साहट
र धम्कीकै स्वरले
माओवादीमा धमाधम प्रवेश
गरिरहेका थिए । जसको सिकार म
पनि झन्डै बनेँ।

शुक्रबार
विहानको कक्षा लाग्थ्यो ।
चिया खाएर म एकाविहानै स्कुल
गएको थिए“ ।
पहिलो घन्टी सकिएपछि ग्वारग्वारती तिनै
हाम्रा गाउ“का दाजुभाइ
नाता पर्ने माओवादीहरू बन्दुक र
पेस्तोल बोकेर कक्षाकोठा छिरे ।
कसैलाई चटपटाउन दिएनन् ।
कोही बाहिर निस्किन नपाउने
उर्दी गरे । पेस्तोल र बन्दुक देखाएर
हामीलाई
क्रान्तिकारी विद्यार्थीमा भर्ती गराएको रसिदमा जबरजस्ती सहीछाप
गर्न लगाए । हामी डरले लुगलुग हु“दै
उनीहरूले जे–जे भन्छन्, त्यै–त्यै
मान्यौं । अन्त्यमा, त्यो रसिद
हराएको वा च्यातेको थाहा पायौं भने
मारिदिन्छौंसम्म भने।

म र मजस्तै
साथीहरूको कलिलो बालमस्तिष्कमा के
असर पर्यो होला त्यसले ?
बन्दुकको नाल देखाएर जबरजस्त
आफ्नो संगठनमा आबद्व
गराउँदैमा युद्ध जितेको र
आफ्नो पक्षमा धेरै
जनता रहेको देखाउनु
त्यो विद्रोहको जग नै कमजोर
थियो भन्ने धारणा हो।

म रूँदै रूँदै घर फर्किएँ।

किताबको चेपमा त्यो रसिद
घुसाएको थिए“ । हराउला भनेर
कति पिरोलिएँ।

मैले जोडसँग पक्डिएँ ।
अघि कक्षामा देखाइएका बन्दुक र
पेस्तोलका नालहरू सम्झिए“ ।
तप्पतप्प आँशु खसाल्दै हिँडेँ ।
मनभरि त्रासका बाछिटाहरू
छचल्किएर आए । सायद, त्यो रसिद
हराए म अपहरणमा पर्नेछु,
अन्यथा मारिन बेर लाग्ने छैन।

घर पुग्नेबित्तिकै किताब
फल्याकमा बिसाएँ । मेरो अनुहार
निन्याउरो बनेको रहेछ।

खाना खान भनेर भान्छा छिरें ।
अनायासै भक्कानिएछु । म रून थालेँ।
मेरो हविगत देखेर बुबाले भन्नुभयो, ‘के
भो सानु?’

‘स्कुलमा .... ।’

यति भन्नासाथ मेरो मन थामिन
सकेन।
घाँटीमै शब्द अड्किए । बाहिर
फुत्किन सकेनन् । बीचमै म
खाना छोडेर चुठ्न निस्किएँ ।
पछि बुबाले फकाइफुल्याइ गरेर
सोधेपछि माओवादी हर्कत
बताइदिएँ । माओवादी धम्की र
बुबाको सल्लाहअनुसार त्यो रसिद
भने सुरक्षितै राखेँ।

त्यसरी म/हामीलाई बन्दुक देखाएर
माओवादी बनाउन खोज्ने व्यक्तिहरू
अहिले मैले यदाकदा देखिरहेकै छु ।
उनीहरू विगतमा लहैलहैमा लागेर
आफूले गरेको अमानवीय
कार्यको पश्चाताप
गर्दा गहभरि आँशु झार्छन्।

जिरेलले किताबमा जति लेखेका छन्,
युद्धमा होमिनुपरेका कारण । विपन्न
म र मेरो परिवार सामाजिक
अवहेलनाले त्यतिकै
पिरोलिएका थियौं ।
त्यो अवहेलना विद्रोहले मात्रै चिर्न
सक्छ भन्थे माओवादीहरू ।
कहिलेकाहीँ म पनि ठीकै
हो कि भनेर सोच्थेँ, यथार्थमा युद्ध
मात्रै सामाजिक अवहेलनाको अचुक
औषधी हो भन्ने कुरामा म जहिल्यै
विमति नै राख्थेँ, राख्छु।

जिरेलले एक्लो महसुस गरे,
विद्रोहमा लागिहाले । तर
समाजमा रहेको कुनै पात्र
संघर्षमा एक्लो कहिल्यै हु“दैन ।
समाजको कुनै न कुनै तत्वको साथ
रहन्छ । यो समाजको सर्वमान्य
सिद्धान्त हो । सायद,
जिरेलको कलिलो बालमष्तिष्कले
त्यतिबेला युद्ध नै रोज्नमात्र सक्यो।

माओवादी युद्धमा होमिँदा दुश्मनसँग
छलेर ज्यान बचाएको, दुश्मनलाई
पराजित गरेको, त्यस
क्रममा आफ्ना सहकर्मीहरूलाई
आँखा अगाडि नै गुमाएको,
सेनाको प्रत्याक्रमणबाट जोगिन
खाली खुट्टा हिउँ छिचोलेको,
घाइते भएर
उपचारमा भौंतारिँदाका अनेकन
कष्टहरू भोग्नु परेका कुराहरूले
युद्धताको कठिन परिस्थिति बुझ्न
सघाउँछ ।
यत्रो संघर्षमा होमिएको एउटा सिपाही अन्त्यमा ‘क्यास’मा परिणत
हुनुपरेको कथाले झन् मन हुँडलिएर
आउँछ।

युद्धपछि शान्ति प्रक्रियामा आएपछिका माओवादी नेता र
तिनका गतिविधिले पक्कै
पनि युद्धका सारथी जिरेलजस्ता लडाकु
विरक्त हुनु स्वाभाविक हो ।
सम्पत्ति मोह, शालिन र सौखिन
प्रवृक्ति, अराजनीतिक संस्कार,
क्षणिक
सत्ताप्राप्तिका लागि आन्तरिक र
बाह्य शक्तिसँगको सम्बन्ध र
सम्झौताले दस वर्षे
युद्धमा होमिँदा मारिएका, घाइते
अपांग भएका जनताका आँशुले
माओवादी नेताहरूलाई
सरापिरहनेछन् । ती पात्र जिरेल
पनि हुन्, उनले युद्धमा दिएको साथ र
भोगाइको परिणाम ‘तीन लाख’ले
नुनचुक लगाइरहेका छन्, मन
गाँठो पारेर ।

एउटा कुशल लडाकु
बन्धुकको मात्र भाषा बुझ्दैन, ऊ लेखन
क्षमतामा पनि उतिकै दखल राख्दछ
भन्ने उदाहरण जिरेल हुन् ।
उनको साहसिक युद्धयात्रा बुझ्न
‘भीषण दिनहरू’ले सघाउँछ।