Tuesday, July 18, 2017

हाकिम,म र त्यो साँझ

आफ्नो सिर्जना, संरचना, हामी प्रतिको कर्तव्य र उत्तरदायित्व सबैलाई अलपत्र छोडेर, आकस्मिक रूपमा जानुभयो बुबा । न त आमाले सँधै बुबाको दीर्घायूको कामना गरि लगाइएको सिन्दुरले रोक्यो नत गलामा झुण्डयाइएको पोतेमा नै अल्झियो उहाँको स्वास ।
हामी कलिला छोराछोरीको दुर्बोध भविष्यको चिन्ताले पनि त अड्किएन उहाँको प्राण ! सुटुक्क जानुभयो बुबा । सँधै सँधैका लागि । कहिल्यै नफर्कने ठाउँमा । निर्दोष हाम्रो ओठको हाँसो खोसेर । अभागिनी आमाको श्रृँगार लुटेर । उन्मुक्त वैँशमा अंकुश लगाएर । अतृप्त रहर र चाहना सबै तुहाएर ! अप्रत्यशित दूर्घटनाले जोडिएको जिन्दगी सजिलै स्विकार्न सक्नुभएन मेरी आमाले । उहाँमा पूर्णतः परिवर्तन भयो । घर र हामीप्रतिको कर्तव्य बोध पनि भएन । प्रायः मुर्छन्ना अवस्थामा नै जिउन थाल्नुभयो उहाँ ।

घर, आमा र भाईप्रतिको कर्तव्य ममाथि हस्तान्तरण भयो स्वभाविक रूपमा । उन्मुक्त भएर हाँसेर खेलेर बिताउने उमेरमा नै म जिम्मेवारीको बोझले थिचिएँ । घर चलाउने उमेर अवस्था र क्षमता नभएतापनि तयार हुनुपर्यो मैले । जिन्दगीको कठघरामा उभ्यायो समयले मलाई । महिनाको पाँचहजार तलबको त्यान्द्रोमा झुण्डिएको हाम्रो घर बुबाको अवसानपछि छताछुल्ल भएको थियो । दुई विषयको डिग्रीको प्रमाणपत्र सिरानी मुनी हालेर रातभर छटपटिने शिक्षित बेरोजगारको अगाडि मेरो एघार पासको प्रमाणपत्र सजिलै कहाँ पो बिक्थ्यो र ? तापनि प्रयास छोडिनँ मैले । जे, जस्तो र जसरी भएपनि जागिर खानुथियो । आफ्नो थाप्लोमा भएको कर्तव्य र जिम्मेवारी पूरा गर्नु थियो । आफू बाँचेर भाइ र आमालाई पनि बचाउनु थियो ।

धेरै सरकारी, गैरसरकारी, अर्धसरकारी संघ संस्थाहरू र निजी फर्ममा समेत याचना गरेँ, तर दुई–चार वर्षको अनुभव र उच्च शिक्षाको मापदण्डमा म एक छेउ पनि पुग्दिनथेँ । जसरी पनि बाँच्नुपर्ने बाध्यताले हामी बाँचिरहेका थियौं । म कुदिरहेको थिएँ । आफूलाई पैसामा रूपान्तरण गर्न ! तर संस्कार र सभ्यताको परिधि भित्र रहेर । यतिखेर मलाई छर्लङ्ग भयो, “किन कतिपय युवतीहरू गोधुलीमा श्रृँगार गरेर चम्काउँछन आफूलाई र भीषण अँध्यारोमा होमीदिन्छन् अनि सँधै सयाै टुक्रामा विभाजन गरिने सिँगो जिन्दगी बाँच्न बाध्य हुन्छन्” भन्ने ।

गन्तव्यको क्रममा एकदिन एउटा नीजि व्यवसायिक फर्मको ढोका घचेट्न पुगेँ म । कार्यालय प्रमुखको कुर्सीमा एउटा अधवैंशे तर ज्यादै आकर्षक व्यक्तित्वको मान्छे बसेका थिए । मेरै बाबुको उमेर बोकेका । उनलाई देख्दा हामीलाई चटक्कै छोडेर जाने मेरै कायर बाबुको याद बल्झियो एकचोटी । शायद यही अभाव पूर्तिको आशाले हो कि, मैले उनलाई हेरिरहेँ । जब म आफूलाई सम्हालेर यथार्थमा उत्रिएँ, उनी पनि मलाई एकहोरो हेरिरहेका रहेछन्, उसै गरि । उनी निर्लिप्त थिए म मा । आँखामा गहिरो अतृप्त भोक झल्किरहेको थियो । म घाइते भएँ, उनको नजरको आक्रमणबाट । असहज भएँ । स्थितिसँग सामना गर्न अप्ठेरो भयो मलाई । तर मैले जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सिक्नु थियो ।

भावनाको पहिरोमा छताछुल्ल बग्ने पानी पुरुषहरूलाई अर्कै मोडतिर मोड्न सक्छन्, नारीहरू । त्यसैले मैले वातावरणलाई परिवर्तन गर्न हातजोरेँ र मुखले पनि “अभिवादन” भनेँ । तन्द्राबाट बिउँझेझैं गरि उनी सामान्य बन्न खोजे, तर सकेनन् । मैले आफूलाई चिनाएँ र यसरी अप्रत्याशित उपस्थितिकोे उद्देश्य बताएँ ।

कतिपय ठाउँमा महिलाको सुन्दरता नै ठूलो र भरपर्दो प्रमाणपत्र बन्न सक्छ । यही भयो त्यहाँ पनि । हाकिम साबले मेरो कुरा सुने तर मुखबाट कुनै प्रश्न सोधेनन् । उनका आँखा मैमा गडिएका थिए । अपार सन्तुष्टी मुद्रामा उनले “भोलिदेखि काममा आउनु” भने । कुनैपनि अनुभव र योग्यताको प्रमाण पत्रको तघारो तेस्र्याएनन् उनले । मैले आफैँले बताउन र देखाउन चाहेँ आफ्नो प्रमाणपत्र तर आवश्यक परेन ।

मैले भित्रभित्रै असहज मान्दै बाहिर खुशी प्रकट गरेँ र “धन्यवाद” भनेँ । उनको कुटिल मुस्कान सँगै उनको नाकमुनी एकैठाउँ खाँदिएर बसेका जुँगाहरू तन्किए । भोलिपल्टदेखि म अफिस व.जान थालेँ । नीजि सचिवको कार्यभार र पदीय जिम्मेवारी सुम्पिदिए उनले मलाई । यसले गर्दा प्रायः जसो म उनको साथमा वा प्रत्यक्ष सहभागितामा बस्नु पर्दथ्यो । उनलाई एक ग्लास पानी चाहिँदा पनि मलाई अनुरोध गर्थे । दिउँसो चिया नास्ता पनि उनीसँगै बसेर खानुपर्दथ्यो । आफू नखाएर पनि उनी मलाई खुवाउँथे कर गरेर । मलाई मन नपरे पनि लाचार थिएँ म । किनकि मेरो जागिरको तराजुको एक पल्लामा मेरो भाइ र आमा थिए भने अर्को पल्लामा हाकिम ।

सँधै खाजा खानुपर्ने आवश्यकता र अनिवार्यता भएता पनि सामथ्र्य थिएन मेरो । मैले खाजा खाने पैसाले मेरो भाइको फिस टर्न सक्थ्यो । आमाको औषधी किन्न पुग्थ्यो । तर सँधै हाकिम साबको भाग खानु पनि उचित लागेन मलाई । अर्कोतर्फ खाजा खान जान नपरे एकपटक भए पनि कम हुन्थ्यो उनका सामु पर्न । उनका भोका आँखाको आक्रमणबाट बच्न त्यसैले मैले पनि सबभन्दा सस्तो र हेर्दा पनि धेरै देखिने ‘भुजा’ किनेर टिफिन लाने र उनले खाजा खान बोलाउँदा मैले आफैले ल्याएको छु भनेर आफ्नै टेबलमा बसेर खाने योजना मात्र बनाइँन, कार्यान्वयन पनि गरेँ तर मेरो यो कार्य स्वीकार्य भएन मेरा हाकिमलाई ।

पुनः म परिबन्दमा परेँ । हुँदाहुँदा उनले मेरो हिंडाई, बोलाई, लगाई सबैमाथि टिप्पणी र प्रतिकृया हुन थाल्यो । “यस्तो लगाउनुपर्छ । यस्तो लगाउँदा आकर्षक देखिन्छ स्मार्ट देखिन्छ । व्यक्तित्व झल्कन्छ” भनेर सुझाव दिन्थे । मेरो व्यक्तिगत स्वतन्त्रतामा हाकिमसाबको अनावश्यक उपस्थित मलाई पटक्कै मन पर्दैनथ्यो । मैले जे लगाएपनि, जस्तो खाएपनि जे गरेपनि के मतलब होला ? किन चासो होला जस्तै लाग्थ्यो । आवश्यकता भन्दा बढी लगाव हुन थाल्यो हाकिमको म प्रति । उनको कोठामा मेरो बेलाबेलाको उपस्थिति अनिवार्य आवश्यकता जस्तै हुन थाल्यो । अन्य कर्मचारी बिच खासखुस हल्ला हुन थाल्यो । मलाई देख्ने बित्तिकै सबै व्यंग्य मुस्कान तेस्र्याउँथे । म सबै बुझेर पनि अवुझ हुन बाध्य हुन्थेँ । उनीहरू यथार्थमा मेरो इश्र्या भन्दा पनि आश्चर्य प्रकट गर्दथे म प्रति ।

एकदिन मैले स्टाफहरूले गफ गरेको सुनेँ – “हगि ! आजकल त बूढो पनि एकदम फ्रेस देखिन्छ नि ! त्यति गाली पनि गर्दैन । ढिलो आएपनि, छुट्टी लिएपनि रिसाउँदैन । बरु नम्र पो भएको छ हगि !”

“त्यो सब त्यही च्वाँक मैयाको काम त हो नि ..।”

“त्यो मोरीले पनि त्यस्तो बूढोलाई के घाँस हालेकी होली.. ? हामी जस्तो हुँदाहुँदै …।”

“थुतुनो मात्र राम्रो हो यार त्यसको बानी, व्यवहार त हेरन… । ऊ… ! बारम्बार हाकिमको कोठामा छिरिरहन्छे ।”

“भेट्दी हो पैसाको बिटो अनि के छ त … ?”

“मोहनी नै लगाई हौ त्यसले त सुड्डोलाई ..।”

“मोरी छे नै त्यस्तै.. । मोहनी नै लगाउने .. अनि बूढो भुतुुक्क के नहोस त”

“हैन बूढोको श्रीमती छैन र ..?”

“किन नहुनु नि .. ! अस्ति नै एकचोटी मैले बजारमा भेटेथेँ । च्वाँक रैछै ।

“मालामाल छ सुड्डोलाई पनि । के तरुनी खोज्दै हिंडेको होला त यो सुड्डो पनि … ?”

“घरमा मात्र भएर भयो त …! अफिसमा पनि त चहियो नि ! यसो मन बहलाउने !”

“एउटा कुरा चाहिँ हो है यार । घरमा स्वास्नी भएपनि यसो घुमाफिर गर्ने, मन बहलाउने बाहिर एउटी मैयाँ चाहिँ चाहिन्छ है….!” छक्क परेँ म । म र हाकिमलाई लिएर यस्ता सस्ता खालका टिप्पणी सुनेर ।

म स्वभाविक रूपमा उदास भएँ । म विना कशुर अपराधी बन्दै थिएँ, सबको नजरमा । म निर्दोष थिएँ तर म माथि थुप्रै दोषहरू लागेका थिए । पवित्र भए पनि थुप्रै फोहोरका छिटा उछिट्याएर मलाई धमिल्याउन खोजेका थिए सबैले ।

वास्तविकता सही नभए पनि उनीहरूको दृष्टिमा म खराब प्रमाणित भएकी थिएँ । उनीहरू भ्रममा थिए तर म उनीहरूको भ्रम हटाएर प्रमाण पेश गर्न पनि त सक्तिनथेँ । सबभन्दा छक्क त म त्यस कुराले परेँ । लोग्नेमान्छेहरूको भित्री चाहना र सुसुप्त कुण्ठा सुनेर । कति स्वार्थी र बेइमान हुँदारहेन् । आफ्नो स्वास्नी र परिवारप्रति इमान्दरिताको नाटक मात्र गर्दारहेछन् । यदि उनीहरूकै जस्तै उनीहरूकी स्वास्नीले पनि सोच्ने र गर्ने हो भने … ?
एउटा पुरुष साथी बाहिर घुम्नका लागि पाल्ने हो भने …?
पचाउन सक्छन् कायर पुरुषहरू………?
म दोधारमा परेँ । यस्तो जागिर खानु कि नखानु …?

म त्रिकोण भित्र जेलिएको थिएँ । एकातिर मेरो घरपरिवार, अर्कोतिर मेरो इज्जत र अर्कोतिर हाकिम । के गरौँ ? निर्णय गर्न सकिरहेकी थिइँन । मानसिक दबाब बढी भएर एकदिन मलाई ज्वरो आयो । तर पनि म अफिस गएँ ।

मेरो अनुहारमा भारीपन देखेर हाकिमले आत्मियता पस्कँदै सोधे । मैले टार्न खोजेँ तर अनुहारमा उत्रिएको पीडाको भाव बुझे सायद । उनले हात समाएर मुसार्दै मलाई सान्त्वना दिए, दिन खोजे । काँधमा थपथपाए । अनि मायालु भावमा सोधे –“के भयो सानु तिमीलाई ? नढाटी भन त.. । तिमीलाई सन्चो छैन … ।”
मेरो बिसन्चोमा अत्तिए झैं भए उनी । “हैन सर ठीकै छ .. ।” म सहज बन्न खोजेँ ।
“सानु” शब्दले मलाई बिचलित बनायो । “हैन पक्कै पनि केही भएको छ तिमीलाई खै, खै .. !”
पुनः आत्तिएर मेरो हात समाए । निधार छामे । नाडी छामे र हात दबाउन थाले । हत्केला खेलाउन थाले । मैले असहज मान्दै हात छुटाएँ । अनि कृत्रिम मुस्कान ल्याएर ठिकै भएको अभिनय गर्न खोजेँ तर उनले पत्याएनन् ।
“तिम्रो निधार एकदम तातो छ सानु ! तिमीलाई ज्वरो आएको छ । यस्तो हुदा पनि मलाई नभन्ने हो ..? फटाई .. !! बिरामी भएको पनि लुकाउँछन लाटी ! तिमीलाई केही भयो भने … ??” उनले मलाई काँधमा थपथपाए । टाउको सुम्सुम्याए । मलाई पूनः बुबाको याद दुख्यो । तर ..। म अप्रत्याशित रूपमा हाकिमको यस्तो कृयाकलाप देखेर झन तातो भएँ । डर, त्रास र संकोचले झन बढ्न थाल्यो ज्वरो ।

आजसम्म उनले मलाई यसरी छोएका थिएनन् तर आज मलाई मज्जाले सुम्सुम्याएका थिए । मनले जति नरुचाए पनि म प्रतिकार गर्न सक्दिनथेँ हाकिमको क्रियाकलापलाई । न त चुपचाप स्किार्न नै सक्थेँ, भित्रदेखि रुचाएर । म त्यसै त्यसै खुम्चन्थेँ । पिरालिन्थेँ । कुण्ठित हुन्थेँ । त्यसदिन पनि सँधैको झैँ उनको आग्रहलाई टार्न सकिँन । न त उनले धर नै दिए । त्यसैले म डोरिएँँ चुपचाप उनको पछि ।

मलाई डाक्टरकोमा लगेर चेकअप गराए । एकझोला औषधी र फलफूल थमाइदिए मेरो हातमा । अनि आवश्यक पर्छ भनेर पूनः ५०० को नोट थमाइदिए । म कसैको अनुदान र कृपामा बाँच्न चाहन्नथेँ । आफ्नो गरिबीप्रति खिल्ली उडाए झैँ भान भयो मलाई । मेरो स्वाभिमानले लिन मानेन त्यो रकम । तर उनले मलाई आँखा तरेर कड्के । उनको पूरा अधिकार भएजस्तै । मानौँ म उनको एकदम नजिकको आफन्त हुँ ।

म उनका राता आँखा देखि एकदम डराउथेँ । अनि मैले चुपचाप लिएँ उनले दिएको सबै कुरा । त्यसदिनदेखि उनको चासो झन बढ्यो म प्रति । कामको बोझ एकैरति पनि थिएन । बरु मलाई के खाँचो छ ? के चाहिएको छ ? सोद्धथे ।

मेरो उमेरका केटीहरूले मनपराउने वस्तुहरू किनेर ल्याइदिन्थे र मलाई दिन्थे ! मीठा खानेकुरा, चकलेटको मात्रा पनि बढ्न थाल्यो । म उनका सामु ‘बलीको बोको’ बन्दै गएको आभाष हुन थाल्यो मलाई ! त्यसैले म निसास्सिन थालें हाकिमको व्यवहार देखि । उम्कन चाहन्थे म त्यहाँबाट तर …. । उनले मलाई हदभन्दा बढी माया गर्न थाले । तर त्यो कुन खालको माया हो वाशनात्मक या त भावनात्मक ? म छुट्याउन सकिरहेकी थिइँन । तै पनि मेरो कमलो र शंकालु सचेत नारी मन डराइरहयो । उनको म प्रतिको मायामा वाशनाको नमिठो गन्ध छरपष्टिए झैं लाग्थ्यो । त्यसैले त मलाई यतिका धेरै चिजविज ल्याइदिएर फकाउँदैछन् अथवा उधारो लगाउँदैछन् । त्यसको क्षतिपूर्ति कुन दिन मलाई कोठामा बोलाएर माग्न अथवा आफूभित्रको उमेरको असन्तुष्टी र कुण्ठालाई पूरा गर्न के बेर ? संभावित घटनाको आशंका वा पूर्वानुमानले मेरो मन बेला बेलामा ढक्क भइरहन्थ्यो ।

एकदिन अफिस छुट्टि हुनुभन्दा अगाडि हाकिमले आफ्नो कोठामा बोलाए मलाई । त्यसदिन त्यो गमन सातौँ पटक थियो । भय, डर र आशंकाले ग्रसित लाचार शरीर मेरो अस्तित्वलाई लिएर पस्यो उनको कोठामा अनि मूर्तिवत उभियो उनको अगाडि । उनी एकदमै प्रशन्न मुद्रामा थिए । मेरो जडता देखेर उनले बिचलित हुँदै सोधे – “सानु ! के भयो तिमीलाई ?” फेरि सन्चो छैन कि के हो ? उनको बोली र हात एकैचोटी आइपुग्यो म भएको ठाउँ । उनले आत्तिएर छामे हात, निधार, गाला … । म झन् जड भएँ । मलाई पटक्कै मन परेन उनको स्वार्थी सम्बोधन ।

मैले पहिले नै प्रतिवाद गरेकी थिएँ मेरो नामले बोलाउन । तर उनले जिव्रो चाटेर भनेका थिए “म सानु नै भन्छु है, एकदम प्यारो र आत्मीय लाग्छ मलाई यो सम्बोधन ।“ “हैन सर ! म ठीकै छु ।” डराएर काँपेको स्वरमा मैले भनेँ ।

म कसरी भन्न सक्थेँ र सर ! मेरो बिसन्चोको कारण नै तपाईँ हो भनेर । उनले मेरो कुममा थपथपाउँदै उही स्वार्थी सम्बोधनमा भने सानु ! म तिमीसँग धेरै खुशी छु, थाहा छ, तिमी आएदेखि म एकदम चुस्त भएको छु । फूर्तिलो भएको छु । उर्जाशील भएको छु । काम गर्ने उत्साह र जोश जाँगर बढेको छ । यसले गर्दा मेरो लथालिङ्ग भएर डुब्न लागेको व्यवसाय पनि एकदमै राम्रो भएको छ । धेरै फाइदा भएको छ । यो सबै भएको तिम्रै कारण हो सानु !
यु आर माइ प्रोग्रेस । सानु !
सो, आइ लब यु सानु ! आइ लव यु भेरी मच !!
उनले आफूभित्रको खुशीलाई त्यत्तिकै राख्न सकेनन् । छताछुल्ल भएर पोखियो उनको खुशी र मलाई च्याप्प समातेर मेरा निधारमा म्वाइ खाए लगातार ! केहीक्षण पछि उनी स्वभाविक भए । म जडवत भएँ ।

हाकिमको कृयाकलापलाई प्रतिकार गर्ने न त मौका नै पाएँ न त शब्द नै । अनि उनले एउटा खाम मेरो हातमा थमाउँदै भने, “मलाई यतिधेरै खुशी बनाएकोमा यो तिमीलाई मेरो तर्फबाट पुरस्कार । अनि सुन ! भोलि अफिसमा अलिक धेरै समयसम्म बस्नुपर्ने हुन्छ । तिमीसँग सानो काम छ । एउटा कुरा पनि गर्नु छ त्यसैले अलिक ढिलो पनि हुन सक्छ । त्यसैले आमालाई भनेर आउनु है । बरु ढिला भए म नै पुगाइदिउला घर । तर तिमी भोलि आइनौ भने सम्झ तिमी भोलि जागिरबाट पनि निकालियौ । म परिबन्दमा परेँ । हाकिमले मलाई चारो राखेर शिकारका लागि जाल थापिसकेका थिए ।

म चुपचाप त्यसैगरि फर्किएँ गह्रुँगो अनुहार लिएर जसरी भित्र गएकी थिएँ । भोलिपल्ट मृत्युदण्डको खबर सुनाइएको निर्दोष अपराधी जस्तै भयो मेरो अवस्था पनि ! पक्कै पनि मलाई हाकिमले आफ्नो शिकार बनाउने छन् । उफ ! कति डरलाग्दा छन् उनका आँखा । सँधै मलाई भोगको तृष्णाले हेरिरहन्छन् र यो तृष्णा उनले भोलि (पुरा) तृप्त गर्नेछन् । भोलि मेरो अस्तित्वको अन्त्य हुनेछ । म लाचार भएर चुपचाप आफ्नो अन्त्य हेरिरहनेछु । उफ् ! कस्तो बिडम्बना हो यो ! म आफैं नै आफ्नो अस्तित्वको अन्त्यमा एक्लै मलामी हुनेछु । कति ठूलो चुनौती हो यो मेरो लागि !

एकातिर कर्तव्य र उत्तरदायित्व अनि अर्कातिर धराशयी हुन लागेको आफ्नै अस्तित्व ! कति निर्लज्ज मेरा हाकिम । कति सजिलै र निर्लज्जताका साथ मलाई मेरो भोलिको साँझ मागेका छन् । म के गरौँ ? चुपचाप आफ्नो अस्तित्वको लिलाम गरुँ या त दायित्वको बोझ हटाउँ ? काँचै आँखा मैले रात बिताएँ ।

भोलिपल्ट मेरो उही दैनिक प्रकृया शुरु भयो । म डोरिएँ अफिसतिर । चुुनौतीको नाम नै त शायद जिन्दगी हो । जति समय बित्दै जान्थ्यो उति म बिचलित हुँदै जान्थेँ । मेरो अस्तित्वको आयु छोटिँदै गइरहेको छ जस्तो लाग्थ्यो । निर्जीव र निस्प्राण लाग्यो मलाई त्यो दिन । संभावित घटनाको परिकल्पनाले दिनभरी रिंगाइरहयो । अरूदिन भन्दा घडीको सुई पनि छिटो घुम्यो शायद त्यसदिन । कति चाँढै चारमा पुगिसकेछ । सबै स्टाफहरू छुट्टी भएर गइसकेका थिए ।

क्रमशः समय मेरो लागि अनिष्टकारी बन्दै थियो । प्रत्येक पल अपराधी झैं लाग्थ्यो । तर त्यो क्षण, जतिखेरको मलाई प्रतीक्षा थियो । चाँढै आवोस भन्थें । “नारीहरूकोलागि आफ्नो अस्तित्व भन्दा ठूलो केही हुन्न । अस्तित्व रक्षाकोलागि नै दुर्गाको रूप धारण गर्छन अबला नारीहरू पनि । त्यसैले म उत्साहित थिएँ त्यस क्षणका लागि ।

सबैजना गएपछि हाकिम मेरा सामु उभिए । फाँसी दिने जल्लाद जस्तै भएर । कोठा नै भारी भयो उनको आगमनले । प्रफूल्ल मुद्रामा उनी क्रमशः मेरो नजिक आएर काँध थपथपाए । सागरले थिचेजस्तो भयो मलाई । म चुपचाप बसिरहेँ मूर्तिवत !

मेरो हातमा एउटा ठूलै बन्द प्याकेट दिएर भने – “झट्ट तिमी यो लगाएर मेरो कोठामा आउनु !” म पनि जतिसक्दो छिटो चाहन्थेँ ।
चाँढोभन्दा चाँढो हुने कुरा भइहालोस भन्थेँ ।
कति संभावित आशंकामा पिरोलिए रहने ?
बरु चाँढै गड्याङ गुडुङ गरोस ।
झिलिक्क बिजुली चम्कियोस ।
चट्याङ परोस । अनि भयंकर दूर्घटना होस ।
प्रलय होस । उथलपुथल होस् । अन्त्य होस सबैथोक । अनि शान्तः । एकदम शान्त र सन्नाटा छावोस … सँधै सँधैका लागि .. !!

म तयार पार्न थालेँ आफैँलाई । दिप्तीमय रूपलाई सिगारेँ आफैले । एउटी सतीलाई चितामा जानु अगाडि सिगाँरे जस्तै लाग्यो । “आखिर फूलहरू कसैका उपभोगका लागि त फूलिँदा रहेछन् नि ! यदि पहिले नै यो सब थाहा भएको भए कोपिला किन कष्ट गथ्र्यो होला र फूल बन्नलाई …? र अब फूल बनिसकेपछि टिपिनु र पाउमा चढिनु फूलको धर्म हो । यथार्थ हो ।”

थोरै उत्साह र धेरै वितृष्णा बोकेर प्याकेट खोलेँ । लुगा रहेछ प्याकेटमा । रातो झल्लरदार झलझल गर्ने सितारा जडित साडी । हिन्दी सिनेमामा र फोटोमा राजकुमारी वा परीले लगाएको देखेकोले मैले परी वा राजकुुुमारीको लुगा भनेँ त्यस टल्कने लुगालाई ! म वाल्यकालमा कल्पना गर्थेँ, “मैले पनि त्यस्तो परी लुगा लगाउन पाए ….?”

मलाई अनौठो लाग्यो त्यो लुगा लगाउँदा । मैले क्षणिकका लागि भएपनि सबैकुरा विर्सेर भाग्यमानी सम्झेँ, ठानेँ आफैलाई । एकक्षणका लागि आफू पनि ‘परी’ भएको कल्पना गरेँ । तर यथार्थमा उत्रदा म ‘परी’ थिइनँँ । त्यो ‘परी’ लुगा मेरै अस्तित्वको लाशमाथि लगाइएको कात्रो थियो । रातो कात्रो.. ।

तोकिएको अनुसार आफूलाई तयार पारेर म हाकिम साबको ढोका ढकढक्याउन पुगेँ । यही क्षणको प्रतीक्षामा व्यग्र थिए उनी र सायद म पनि । हावाको गतिमा ढोका उघ्रियो । म सजीव गुडिया चलायमान भएँ उनीतिर र केही दुरीमा पुगेर स्थिर भए पाइलाहरू । आक्रमण अगाडिको शिकारीको मनोदशा हेर्न मन लाग्यो मलाई ।

एकपटक आज ध्यान दिएर हेरेँ उनलाई । शायद भोलिदेखि म हाकिमलाई कहिल्यै हेर्न पाउने छैन या त भिन्दै हुनेछ मेरो हेराई ।

उनी एकदमै खुशी र सन्तुष्ट थिए । दिप्ती थियो मुहारमा । शायद इच्छाइएको वस्तु सजिलै प्राप्त हुँदा त्यस्तै खुशी हुन्छन सबै । उनी आफूमा थिएनन् । सम्पूर्ण ध्यान ममा केन्द्रित थियो उनी ममा केही खोज्दैथिए शायद । जब हाम्रो आँखा ‘चार’ भए उनी मुसुक्क हाँसे । मलाई चसक्क चीसो बिझ्यो । उनले आफ्नो हात फैलाएर अंगालो बनाए र पासो थापे । झलक्क मलाई मेरो बुबाले सानोमा ‘हाकी, हाकी’ भनेको क्षण बल्झियो । तर अपशोस ! अहिले मेरा अगाडि मेरा हाकिम थिए । म उन्मुक्त भएर अघि बढ्न सकिन । उनी चलायमान भए र क्रमशः मतिर लक्षित भए, त्यही मुद्रामा । उफ !
मेरो पाइताला मुनीको जमीन भासिन थाल्यो । मेरा दुवै हात पछाडी गए र आपसमा मजवुत भए ।
उनी र मेरो दुरी सकियो ।
उनको फैलिएको अंगालो ममा लपेटियो । उनी आफूभित्रको खुशीलाई शब्दमा उकेल्न थाले – “ओ माई डियर …!” मेरा हात अझ मजवुत र मन जागरुक हुँदैथ्यो । उनको अंगालो अझ कसिलो भयो । म आखिरी मौकाको ताकमा थिएँ र आफूलाई तयार पार्दै थिएँ । उनले पागलले झैं मलाई झन जोडले कस्दै गए र भन्दै गए – “मेरो बाबा ! मेरो प्राण ….!! मेरी छोरी …. !!! अब त मलाई छोडेर कहिल्यै कहीँ नजाउ है…!!!!” उनले अनियन्त्रित भएर मलाई चुमे अनि छातीमा टाँसे ।

आश्चर्यचकित भएर डराएर चिम्लिएका आँखा खोलेँ मैले, उनको सम्बोधन सुनेपछि । म छक्क परेँ । आफ्नै पछाडि लगेको मेरो हातको मुट्ठी खुकुलिए । “खन्द्रयाङ्ग” आवाज आयो । आवाज सुनेर हामी दुवै झस्कियौँ ।
मेरो हातबाट खसेको वस्तु शायद देखे उनले, उनको अंगालो खुकुलियो । स्थिति र सम्बोधन अनि क्रियाकलाप विपरित भएकोले पुनः एकअर्काका आँखा जुधे । मैले कौतुहल बोकेर उनका आँखामा हेरेँ । उनले आँखाबाट झरेको बलिन्द्र धारा आँशु पुछेर उनले भने, “तिमीले गलत ठान्यौं सानु मलाई…।”
“हो छोरी ! तिमीले मेरो मूल्यांकन गलत गर्यौ ! उनी भक्कानिँदै भन्न थाले – “सानु ! मेरी पनि तिमी जस्तै र तिमी जत्रै छोरी थिइन् । तर चारवर्ष अघि कहिल्यै नफर्कने गरेर अनायाशै हामीलाई छोडेर गइन् । त्यसैले म पागलजस्तो भएको थिएँ । मेरो व्यवसाय चौपट भएको थियो । तर जुन दिन तिमी मेरो अफिसमा आयौ, त्यसदिनदेखि म एकदम खुशी थिएँ । मैले तिमीमा मेरी हराएकी छोरी भेटेको थिएँ । त्यसैले मैले तिमीलाई नै मेरी छोरीको रूपमा राखिसकेको थिएँ । हेरिसकेको थिएँ । आज मेरी छोरीको सोह्रौँ ‘जन्मदिन’ हो । मैले धेरै वर्ष पछि आज उसको जन्मदिन मनाउन पाएको छु । मेरो छोरीलाई जन्मदिनको उपहार किन्न पाएको छु । किनभने सोह्रौँ जन्मदिनका दिन यस्तै मोती र सितारा भरेको रातो सारी उपहार मागेकी थिई मलाई उसले । उसले भनेजस्तै सारी मैले तिमीलाई लगाउन दिएको हो । उनले हात जोडेर भने, “अबदेखि तिम्रो जन्मदिन जहिले भएपनि आजकै दिनमा मनाउन चाहन्छु । नाइँ नभन ल छोरी … । प्लीज ….!!”
अनायाश यन्त्रवत रूपमा मेरो अंगालो कसिँदै गयो हाकिमसँग ।
दुवैका आँखा चुपचाप बर्सिरहेका थिए ।
टेबलमा “हयापी वर्थ डे” लेखिएको केक र सजाइएको मैनवत्तीबाट हटेर मेरो रुझेका आँखा भुइमा टलक्क टल्किरहेको सेतो छुरीमाथि पऱ्यो, जुन मैले हाकिमको हत्या गर्न घरबाट नै सुटुक्क लुकाएर लगेकी थिएँ ।।

Friday, June 30, 2017

पवित्रा

तिनको नाउँ थियो - पवित्रा ।
आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् - उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

विश्वेश्वरप्रसाद कोइराला

Friday, May 05, 2017

जीवनबारे एउटा रोचक ‘भट्टी गफ’


जिग्री पाटीले छातीको चौडा फुलाउँदै भन्छ, ‘निर्धक्क विग्रन पाउँनु पर्छ ।’

‘तेरो बाऊले रोकेको छ त नि, विग्रन ।’ अर्को साथीले पानी निख्रने बेलाको तोङ्बाको गेडा नै निचोरिने गरी तान्दै सन्केर भन्छ ।
स्केचः नागरिक दैनिक

बफ चिल्ली चपाउँदै गरेको पहिलोले चिल्ली नै भैंमा थुकेर भन्छ, ‘हो मलाई विग्रन मेरो बाऊले रोक्न खोजे, मेरो बाऊ मेरो स्वतन्त्रताको बर्खिलापमा गएका छन् । यस्तै हो भने म बाऊविरुद्ध मानव अधिकार आयोगमा मुद्दा हाल्छु ।’

‘क्या ठीस गफ दिन्छ यार, तलाई तेरो बाऊले नराम्रो होस् भनेर भनेका छन् त केही ?’ एउटा झ्याँस आदर्शवादी बन्न खोज्यो । सोचविचार गरेरै निर्धक्क विग्रन पाउँनु पर्छ भन्ने निश्कर्षमा पुगेको उसलाई कुनै परम्परावादी आदर्शको कुराले ‘कम्भिन्स’ गर्न सक्ने अवस्था नै थिएन ।

‘तलाई तेरो बाऊले पढ्न पठाएका कि, रक्सी खान ? आफू रक्सीले मातेर अरुलाई सिकाउँन खोज्छ यार ।’ विग्रन पाउनु पर्नेवालाले उसको मुख टाल्न खोजेको जस्तो गऱ्यो । तर, तोङ्बाको पानीले खोलेको मुख हत्तपत्त टालिनेवाला छैन । अल्कोहलको पानी तल गएर माथि आएको गफमा हारजितको फैसला त निन्द्रा बाहेकले गर्न सक्ने स्थिति नै हुँदैन । ‘मैले त विग्रन पाउँनु पर्छ भनेको छैंन नि !’ उसले एउटा सूर्यको ठुटोमा अर्को झोस्दै लुज तर्क ठेल्यो ।

‘विग्रन पाउँनु पर्छ भने पनि, नभने पनि विग्रेकै छस् क्यारे । उल्टै सिकाउँन खोज्छ यार ।’ उसले आफ्नै टाइपको तर्क तेर्सायो । र भन्यो, ‘हेर केटाहरु तिमरुले बुझेका छैनौं । फेरि मलाई परे जस्तो तिमरुलाई प¥या पनि छैन होला । म त निर्धक्क विग्रन पाउँनु पर्छ भन्ने अभियान नै चलाउँने प्लानमा छु ।’ गम्भीर तरिकाले लास्ट पप चुरोट तानेर स्टे«मा निभाउँदै भन्छ, ‘म मैले चाहेर जन्मेर हो र ! जन्मनँ पनि अरुकै चाहनाअनुसार, बाँच्ने पनि अरुकै चाहना अनुसार, अनि कसरी भयो मेरो जीवन ? के म ठ्याक्कै अरुले चाहेजस्तो हुन त म तिनरुको कर्मचारी वा मेसिन हूँ र !’

‘यो पनि के के भन्छ, के के ? एउटै बुझिने कुरा गर्दैन, ठीस । ‘साईको’ नै हुने भो यार यो त ।’ त्यतिन्जेलसम्म नबोलको अर्कोले मुख खोल्यो । ‘अरु केही कुरा पाइनस् ? बरु अर्को एउटा तोङबा भन् न ! सितन पनि…।’

सबैको दिमागमा गडेकै छ, ‘निर्धक्क विग्रन पाउँनु पर्छ ।’ तर, अरु कुरा गर्ने मन किन हुन्छ ? ‘आफैले चाहेर विग्रेको विग्राइले मान्छे विग्रदैन । अरुले खोजेको कुरामा मात्रै मान्छे विग्रन्छ । बिना कुनै कारण मान्छेले नराम्रो गर्दैन । आफ्नै लागि मात्रै मान्छे नराम्रो गर्दैन । बरु, बहुलाउँछ । जब अरु, अरु, अरुहरु जोडिन्छन्, मान्छे विग्रन्छ ।’ अर्को एउटाले ‘विग्रनु दर्शन’ छाँट्यो । विग्रनु सभ्यता भित्रको बहश चल्छ, भट्टीमा ।
एकपल्ट माहोल उत्तेजित हुन्छ ।

विग्रनु पक्षको नाइकेले बाऊ आमाले रामाइलो गर्दा आफू जन्मेकोले ‘मलाई बाऊ आमाप्रति केही मतलब छैन ।’ भनेर भनेपछि ‘त्यस्ताको गफ के सुन्नु भन्दै साथीहरु बाहिरिन खोजे । साथीहरु बाहिरिने बेलामा पनि उसले भन्यो, ‘मलाई विग्रन तिमरुले पनि रोक्न सक्दैनौं केटा हो । जाओ तिमरु, म अझैं झ्याप हुन्छु ।’ उसले होटल साहुजीलाई बोलाउँछ र मगाउँछ, ‘एक क्वाटर खुकुरी रम ।’ अब ऊ रम र तोङ्बाको कक्टेलमा निर्धक्क विग्रने भयो ।

होटलको पल्लो कुनामा एक्लै तोङ्बाको रस चुसिरहेको मलाई त्यो मान्छेको हर कुराले प्रभाव परिरहेको थियो । उसका कुरा ठीक लागेको त नभनौं । तर, कताकता प्रहार गरिहेकै थियो । उसले किन यस्तो कुरा गर्दैछ ? फोकटलाल वा औसत मान्छेले यस्तो कुरा गर्दैन भन्ने निष्कर्षका साथ तोङ्बाको ठेकी र भटमासको प्लेटसहित म पनि उ भएकै टेबलमा गएँ ।

ऊ निहुरिएर देव्रे हातका औंलाहरुले निदार निचोर्दै, घोत्लीरहेको थियो । रम आईसक्दा पनि ऊ घोत्ली नै रह्यो । म आएको पनि उसलाई कुनै मतलब थिएन । मैले नै कुरो पोयो फुकाउँन खोजें । ‘मित्र सिग्रेट लिनुहुन्छ ?’ सल्काएको चुरोट उप्रति देखाउँदै उसको एकाग्रता भंग गरें । कतै निर्धक्क विग्रन पाउँनु पर्छको मान्यता विपरित पो बोलें कि ठानेर हल्का डराएको म उसले ‘अँ लिन्छु’ भनेर समातेपछि डर भाग्यो । उसले सोध्यो, नचिनेकाले चिन्न खोजे झैं ‘तपाईं…?’ ‘म पनि यहाँको ग्राहक । तपाईको गफ सुन्दै थिएँ । मन पऱ्यो, त्यसैले ।’ मैले भनें ।

‘ओ के, के मन पऱ्यो तपाईलाई ? रम लिनुहुन्छ ?’ रम क्वाटरको बिर्को घुमाउँदै सोध्छ । मैले ‘रम नखाने’ भन्दै विग्रन पाउँनु पर्ने कुरा मन परेको वताउँछु । वताउँनुस् मित्र, ‘तपाईं किन निर्धक्क विग्रन चाहनुहुन्छ ? र, तपाईलाई विग्रन कसले रोक्यो ? म तपाईंको यही कुरा सुन्न नजिकिएको हुँ ।’ मैले भनिरहँदा ऊ रमको चुस्की लिंदै थियो ।

भटमास टोकेर सिग्रेट चान्दै उसले गम्भीर मुद्रामा भन्यो, ‘सुन्नुस् मित्र । मैले विग्रन पाउँनु पर्छ भनेर एकलौटी मेरो निजि कुरा गरेको होईन । समग्र प्रवृत्तिको कुरा गरेको हूँ । तर, यहाँ मान्छेले बुझ्दैनन्, बुझ्ने कोसिस गर्दैनन्, बुझे पनि बुझे जस्तो गर्दैनन् । किनकि यहाँ मान्छे आफू हिरो हुन राम्रो लागेको कुरा पनि ग्रहण गर्दैनन् ।’ उसले भनिरह्यो, मैले सुनिरहें । ‘वास्तवमै हामी स्वतन्त्र छैनौं, हामीलाई राम्रो लागेको काम निर्धक्क गर्न सक्दैनौं । जसका लागि हाम्रो समाज बाधक छ । समाजको आँखामा राम्रो देखिन परम्परागत किसिमको काम, जागिर गरेर पैसा कमाउँनु पर्छ । नत्र, उ समाजको नजरमा राम्रो हुदैन ।

समाजको आँखामा नराम्रो देखिने भयले उसले राम्रो, नवीन, फरक काम गर्न सक्दैन । राम्रो, नविन र फरक काम गर्न उ समाजको नजरमा विग्रनु पर्छ । परिवार, आफन्त र कथित शुभचिन्तनको नजरमा विग्रनु पर्छ । कतिपय मामलामा हामी धर्मको साँघुरो घेरा भित्र बाँधिएर बाँच्नु पर्छ । नत्र, विग्रिएको आरोप लाग्छ । हामी राजनीति, जातजाती, विभिन्न वर्गको घेरा भित्री कैद भएर बाँचेका छौं ।

कुनै पनि घेरा नाघेर फरक काम गऱ्यो भने विग्रिएको हुन्छ । हामी घेराबाट माथि उठेर काम गर्न सक्दैनौं । हामी आफूले चाहेको काम गर्न, आफूले चाहेजस्तै आफू हुन समाज, परिवार, आफन्त, धर्म, जाति, वर्गको बन्धनलाई तोड्न पर्छ ।

त्यसो गर्दा समाज, परिवार, आफन्त, धर्म, जाति, वर्गको नजरमा हामी विग्रनु पर्छ । त्यसैले म भन्छु, आफूले चाहे जस्तै आफू हुन निर्बाध विग्रनु पर्छ । स्वतन्त्र जीवनको पक्षमा निर्धक्क विग्रनु पाउँनुपर्छ ।’ यति भनेर उसले बाँकी रम ‘ग्याम्बे’ हान्यो । उसको कुराले गम्भीर भएको म, हतार भएको वताएर ‘सिग्रेट’ तान्दै बाहिरिएँ ।

स्केचः नागरिक दैनिक

Tuesday, February 07, 2017

सपना ओढेका रातहरू

मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ,
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओढेका रातहरू
मेरा अनेकौँ इच्छामध्ये
अग्र र उग्र इच्छा— सपनामै मरुँ ।

म सपना ओढेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजुब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौँ
भूत, भविष्य र वर्तमानबाट मेटिन्छौँ
तिमी भन्छौ— यती खोज्न जाऔँ
सगरमाथा चढौँ,
म भन्छु— मान्छे खोज्न जाऔँ
मान्छेहरू बटुलेर अगाडि बढौँ
तर, हामी दुईको विचार मिल्दैन
आखिर हामी दुवै
विचार नमिलेरै समाजदेखि भागेका न हौँ,
विचारलाई बझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुवै
आजको समाज र समयका लागि सार्थक हो र ?

यती खोज्न सगरमाथाको शिखर चुमेको मान्छे
आज यती नभेटेरै दुःखी छ
तर, आशा गर्न सकिन्छ,
यती आउनेछ
र, हामी दुवैलाई धाप मार्दै सोध्नेछ—
तिमीहरूले मान्छेलाई देखेका छौ ?

म मान्छे भेट्न भौँतारिरहेछु
तर मान्छे भागिरहेछ,
के तिमीहरूले देखेका छौ
मान्छेका सुन्दर आवादहरू ?

हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू ।