Friday, June 30, 2017

पवित्रा

तिनको नाउँ थियो - पवित्रा ।
आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् - उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

विश्वेश्वरप्रसाद कोइराला