Monday, August 17, 2015

करोडौं कस्तू्रीः एक चर्चा पुस्तक अंश (अमर न्यौपाने)

आश्रम आउँदा कमल र ज्ञानजस्ता साथीहरु, आमाको स्नेह, घरको सुरक्षा, पाङ्ग्रे, बिरालो, गोरे (बाख्राको पाठो) सबैको साथ छोडियो तर छोड्नुपर्ने मेरो बानी भने मसँगसँग आयो ।
आश्रममा बस्दा फिल्म हेर्न पाइने कुरै भएन । तर फुर्सदमा लुकीलुकी फिल्मी कहानी सुनाएर केटाहरुको मन बहकाइदिइ सकेको थिएँ । केटाहरुसँग पैसा नहुने भएकाले मैले फिरीमै कहानी सुनाउनुपऱ्यो ।

धेरैजसोले त फिल्मको मुखै देखेका रहेनछन् । तिनले साक्षत् देवीदेवताको कथा सुनेझैं दङ्ग परेर सुने । गोकुल, शिवहरि, बाबुरामले त फिल्म हेर्नका लागि आश्रम नै छोडौंला जस्तो गरे । फुर्सद भयो कि ‘कहानी भन न हरि’ भनेर आइहाल्थे । फिल्ममा हिरो हिरोइनले गरेका प्रेमलीला हावभावसहित सुनाइदिँदा केटाहरु त चकित भए । अझ हिरोइनको अङ्गअङ्गको वर्णन गर्दा उनीहरु भरङ्गै भए । गोकुलले भन्यो– ‘यो वर्णन त कुमारसम्भवको आठौं सर्गमा कालीदासले पार्वतीको अङ्ग प्रत्याङ्गको वर्णन गरेभन्दा पनि बढी कामुक रैछ ।’

एक दिन टीकारामले गुरूजीलाई मैले फिल्मी कहानी सुनाउने गरेको कुरा भनिदिएछ । रामहरिले डराएर भन्यो– ‘मलाई तिम्रो असाध्यै माया लागिराछ र डर पनि । अब गुरूजीले तिमीलाई केके गर्ने हुन् ? हामीले गर्दा तिमीले सजायँ पाउँदै छौ । हामीलाई माफ गरिदेऊ है हरि ।’
मैले नहच्की भनें– ‘यस्ता ऋषिमुनिजस्ता गुरू त हाम्रा सिकारी हेडसरजस्ता कठोर अवश्य पनि छैनन् होला । ज्ञानी मान्छे त दयालु र क्षमाशील हुन्छन् भन्ने कुरा गुरूले पढ्ने वेदान्तको पुस्तकमा लेखिएको छ । प्रलय आउँदा नदी, समुद्र र जमिनले समेत आफ्नो मर्यादा गुमाउँछन् तर ज्ञानी मान्छेले कहिल्यै आफ्नो मर्यादा गुमाउँदैनन् भनेर नीतिमा लेखेको छ ।’

उसले आत्तिँदै भन्यो– ‘तिमीले गुरूजीलाई चिनेकै छैनौ । यिनी कठोर हुनुपऱ्यो भने ढुङ्गाभन्दा कठोर हुन्छन्, कोमल हुनुपऱ्यो भने पानीभन्दा कोमल हुन्छन् ।’
मैले हतास हुँदै भनें– ‘यो त भावना र आवेगको कुरा भयो, विचार र विवेकको हैन ।’
आफ्नो ओछ्यानमा आएर एकदम थाकेझैं पल्टिएँ । आँखा चिम्लिएर शान्त हुन खोजें । तर मनमा अनेक कुरा खेल्न थाले । म आफ्नो मर्यादामा नरहेको कुरा मामा र बाआमाले थाहा पाउनुभयो भने के होला ? गुरूजीले बोलाए भने के भन्ने होला ? कसरी कुरा गर्ने होला भनेर म कल्पनालोकमा डुब्न थालें । गुरूजीलाई आफ्नै मनमा प्रतिष्ठा गरेर मनमनै गुरूजीसँग यसरी आफैले संवाद गर्न थालें

म गुरूजीको सामुन्ने गुरूजीझैं ठाडो शिर लगाएर निर्धक्क उभिएको थिएँ । मेरो नाम जानेर पनि गुरूजीले कड्केर सोधे– ‘तेरो नाम के रे ?’
– ‘हरि !’

– ‘नामचैं हरि, कामचैं मनपरी ?’

– ‘सरी‘ !’

– ‘सरी भनेर हुन्छ ? सजायँ भोग्न तयार हुनुपर्छ ।’

– ‘कत्रोकत्रो अपराध त सरी भनेपछि माफ हुन्छ । मेरो त इत्रो कमिलाको टाउको जत्रो अपराध ।’

– ‘तैंले आश्रमका बटुकहरुलाई फिल्मका अश्लील कहानी सुनाएर मतिभ्रष्ट पारेको रैछस् । यो अक्षम्य अपराध हो । कमिलाको टाउको जत्रो हैन, हात्तीको टाउको जत्रो अपराध हो यो । तँलाई ठूलो सजायँ हुन्छ ।’

– ‘मैले त गुरूजी भनेर पो सरी भनेको । अरुलाई भको भए त सरी पनि भन्ने थिइनँ । सरी नदिने भए म अपराध नै स्विकार्दिनँ । किनभने मैले पाप हैन, पुण्य गरेको छु ।’

– ‘तँ पशुले कसरी पुण्य गरिस्, हँ ?’

– ‘पशुले जति पुण्य त देउताले पनि गरेका छैनन् गुरूजी । मान्छेले त झन् गर्ने कुरै भएन ।’

– ‘कसरी गर्छ पशुले पुण्य ?’

– ‘मान्छेले त कहिलेकाहीँ देउता पुजेर पुण्य गर्छ । पशुले त सधैं देउतालाई बोकेर पुण्य गर्छ । जहाँ जाँदा पनि महादेवलाई बोकेर गोरूले जति पुण्य कस्ले गऱ्या छ ? लक्ष्मीलाई बोकेर गाईले जति पुण्य कस्ले गऱ्या छ ? दुर्गालाई सिंहले, इन्द्रलाई हात्तीले, यमराजलाई राँगोले, गणेशलाई मुसोले बोकेर उनीहरुले जति पुण्य कुन मनुवाले गऱ्या छ ? हेर्नोस् गुरूजी भन्दै जाने हो भने त धेरैजसो पशुलाई देउताले बाहन बनाएका छन् । देउताको ज्यान नै पशुको हातमा छ । तेसैले बेलाबेलामा ‘मेरो ज्यानको सुरक्षा गरिदेऊ पशुदेव’ भनेर बरू देउताले नै पशुको पूजा गर्छन् होला, विश्वकर्मा दिवसको दिन मान्छेले गाडीको पूजा गरेझैं । मान्छेले देउताको पूजा गर्छन्, देउताले पशुको । त्यसैले पशु त देउताको पनि देउता भयो, महादेउता । वाहन भए पनि पशु देउताभन्दा माथि छ । तेसैले पशुलाई तेसरी नहेप्नुस् गुरूजी । पशु त पुण्यको विश्व बैंकजस्तै हो । अझ पन्छीको त कुरै गऱ्या छैन ।’

– ‘तँ त पुण्यको विश्व बैंक हैन, झुन्डेको विश्व बैंक होस् । बुझिस् ? कुन दिन फुत्त खस्छस् अनि था पाउँछस् ।’

– ‘हो नि त ! झुन्डेकै विश्व बैंक हो । पृथ्वी, सूर्य, चन्द्रमा, ताराहरु त झुन्डेका छन् ब्रह्माण्डमा । एक सेकेन्ड घुम्न छोड्ने हो भने कहाँ हो कहाँ फुत्तै खस्छन् । ईश्वरले पनि टिपेर ल्याउन सक्तैनन् ! अनि झुन्डेको पृथ्वीको मान्छे नझुन्डेर के गर्छन् त ? मर्न झुन्डेको हैन, बाँच्न झुन्डेको हो । कसैले पनि नझुन्डीकन सुखै छैन पृथ्वीमा । गुरूजी पनि त झुन्डिरनुभा छ क्यारे, ईश्वरले झुन्ड्याका । आफै झुन्डियो भने मरिन्छ, ईश्वरले झुन्ड्याए भने बाँचिन्छ ।’

– ‘तैंले त बडो जान्ने भएर पुराण नै सुनाइस् त स्वाँठ ?’

– ‘हरिवंश पुराण म आफैलाई लेख्न मन थियो । मभन्दा पहिला जन्मिएर व्यास बाजेले लेखिदिइहाले । सबैले मलाई पशुपशु भनेर हेप्छन् । अब पशुपुराण लेख्छु, जुन उन्नाइसौं पुराण हुनेछ । अनि ठाउँठाउँमा अहिले वेदान्त दर्शनको प्रवचन दिँदै हिँडेझैं पछि पशुपुराणको पनि प्रवचन दिँदै हिँड्नुहोला गुरूजी । अहिले शङ्कराचार्य यसो भन्नुहुन्छ ‘भनेझैं पछि हरिवंशाचार्य यसो भन्नुहुन्छ’. भन्नुहोला !’

– ‘तैंले त मलाई समेत भड्काउन लागिस् ! बिचरा ती कलिला बटुकहरु किन नभड्किऊन् त ? भन् त बजिया, किन भड्काइस् ती निर्दोष बटुकहरुलाई ?’

– ‘मैले भड्काको छैन गुरूजी, उनीहरुको दिल धड्कार, छड्काको मात्र हो । बटुकहरुको मन वर्षौंदेखि मैलिएर हेर्नै नहुनी भा रैछ, कुण्ठैकुण्ठा । फिल्मी कहानीको साबनपानीले धुँदाधुँदा अहिले त उनीहरुको मन स्टिलको थालझैं टिलिक्क टल्किने भा छ । ऐनै हेर्न मिल्छ । अहिले त केटाहरु आफ्नै मनको ऐनामा आफ्नो अनुहार हेर्दै छन् । गुरूजीले पनि सुन्नुहुन्छ भने सुनाउँछु क्यारे, फिल्मी कहानी । हजुरको मन त झन् सुनझैं टिलिक्क टल्किन्छ होला ।’

– ‘सुनलाई माझ्नुपर्दैन भन्ने कुरा था छैन तँलाई ?’

– ‘पशुपतिको सुनको गजुर त बेलाबेलामा सफा नगर्नी हो भने कस्तो लेउ लाको ढुङ्गाजस्तो मैलो देखिन्छ । तेसैले गुरूजीले त फिल्मी कहानी सुन्ने मात्र हैन, आफ्नै आँखाले फिल्म हेर्नुपर्छ । तेसपछि गुरूजी पनि फिल्मको क्रेजी फ्यान हुनुभएन भने मलाई भन्नुहोला । अझ गुरूजीले तेही फिल्मको हिरोइनजस्तै कुनै सुन्दरीलाई प्रेम गर्नुभयो भने त हजुरको सुनरूपी जीवनबाट सुगन्ध पनि आउँछ । बिहे नै गर्नुभयो भने त झन् केके आउँछ केके !’
मेरो कुरा सुनेर गुरू मुग्ध र मोहित भए । केहीबेर शान्त भएर आँखा चिम्लिए । एकाएक उनको गाला, ओठ र कानमा लाली चढ्यो । लाग्यो, कतै विश्वामित्रको ध्यान भङ्ग भएजस्तै हाम्रा गुरूको पनि ध्यान भङ्ग त भएन ? विश्वामित्रको ध्यान त मेनकाले भङ्ग गरेकी थिइन् तर हाम्रा गुरुको ध्यान त मेनकाजस्ता हिरोइनहरुको कुरैले भङ्ग भयो क्या हो ?

त्यसपछि भावुक भएर उनले भने– ‘बालक हरि ! तैंले त मेरो पनि मतिभ्रष्ट गरिदिइस् । तँ त कामदेवजस्तै सारै मायावी रैछस् । शिवजीलाई कामदेवले कामवाण हानेर वैराग्यबाट रागमा ल्याएझैं ममाथि पनि कामवाण हानेर मभित्रको वैराग्य हटाई तैंले राग जगाइदिइस् । तँ त कलीयुगको कामदेव रहेछस्, मायावी रहेछस् !’

– ‘गुरूजी ! म मायावी हैन । यो संसार नै मायावी हो । मायावी संसारमा बसेका कोही पनि मान्छे मायाबाट मुक्त हुन सक्तैनन् । कोहीकोही बुद्धजस्ता मान्छे मुक्त भए पनि भोगेर मात्र मुक्त भएका हुन् उनीहरु ।’

– ‘तेसो भए मभित्र पनि माया छ त बालक ?’

– ‘छ गुरूजी । तेसलाई तपैंले दबाएर राख्नुभको छ । कुनै दिन विष्फोट हुनसक्छ । बरू बेलैदेखि तेसको ताप र चापलाई कम गर्न पाए विष्फोट हुने थिएन कि !’

– ‘हँ‘ ! तैंले त गजब कुरा सुनाइस् त । अबदेखि टीकाराम हैन, तँ भइस् मेरो सबैभन्दा नजिकको शिष्य ।’

– ‘हजुर धन्य हुनुहुन्छ । प्रणाम गुरूजी !’

– ‘हरि ! तिमीलाई गुरूजीले बोलाउनुभा छ । छिट्टो जाऊ रे ।’

गोकुलको आवाजले अचानक म कल्पनालोकबाट बाहिरिएँ । कल्पनालोकमा त मैले गुरूजीलाई पनि आफ्नो विचार र तर्कले वसमा पारेको थिएँ तर यथार्थलोकमा यो सम्भव थिएन । कसरी गुरूजीको सामुन्ने पर्ने होला ? कसरी उनीसँग बोल्ने होला ? म डरले डल्लिएँ ।

गुरूजीको कक्षमा पुगेर उनको सामुन्ने उभिँदा हेडसरको सामुन्ने उभिँदाभन्दा डर लाग्यो । उनले मलाई केरकार गरे । मलाई भने मेरो मनको कागजभरि केरकार गरेजस्तो लाग्यो । मैले मौन रूपमा नै अपराध स्विकारें । कल्पनालोकमा त्यति शक्तिशाली भएको म यथार्थलोकमा एकाएक कमजोर भएँ । कल्पनामा भन्दा यथार्थमा मान्छे किन यति धेरै कमजोर हुन्छ ?

सजायँस्वरूप मैले सय पटक उठबस गर्नुपऱ्यो, गुरूको गोर्खे लौरी खानुपऱ्यो र राति नै गङ्गाको चिसो पानीमा एक घण्टासम्म चोबलिनुपऱ्यो, तीन दिनसम्म बाहिर बसेर खानुपऱ्यो र छिँडीमा सुत्नुपऱ्यो ।

लाग्यो, गुरूले दिने सजायँ हेडसरले दिने सजायँभन्दा पनि कडा हुँदो रहेछ । प्रत्येक सजायँ भोग्दा मैले टीकारामलाई मनमनै खुब सरापें र सङ्कल्प गरें– एक दिन तँसँग बदला लिनेछु ।
सजायँको अन्तिम दिन गुरूले गर्जेर भने– ‘अब पनि यस्ता अश्लील फिल्मी कहानी सुनाएर यहाँको पवित्र आश्रम अपवित्र बनाइस् र वटुकहरुलाई भड्काइस् भने तँलाई म सिस्नुपानी लगाएर यहाँबाट निकाल्छु ! बुझिस्
स्वाँठ ?’

मैले बुझें भनेर टाउको हल्लाएँ । लाग्यो, मैले पशुहरुको आत्मा कराएको पनि थाहा पाउने हो भने गुरूले अझ केके गर्थे होलान् मलाई ? कमसेकम योभन्दा भयानक दुर्घटनाबाट बचेकोमा मनमनै खुसी भएँ ।

रुप र धनमा जोडिएको माया

उनले आज मलाई सम्झाइनन् । आशा गरेको थिएँ फेरि रुँदै भन्नेछिन्– “प्लिज काले नरिसाउनुस् न, हजुर रिसाउँदा मलाई रुन मन लाग्छ ।” तर खै किन हो आज उनले म रिसाएको नाटक गर्दा पनि मतलब नै नगरी फोन काटिदिइन् । म बक्क परें ।

हिजो म रिसाउँदा हातै काटेर देखाउने अनि कल माथि कल गरेर सम्झाउने केटीले आज यसरी फोन काटिदिदा मनमा चिसो पस्यो । जिउ थर्रर…. काम्न थाल्यो । मनमा अनेक कुरा खेल्न थाले । प्रत्येक मिनेटमा उनको म्यासेज या कल आउँछ कि भनेर मोबाइल हेर्न थालें ।

म माया गर्छु उनलाई, धेरै भन्दा धेरै । सायद आफूभन्दा पनि धेरै । तर, म मा पनि वाध्यता छ र उनमा पनि त्यो वाध्यता छ । हामी एक अर्काको नजिक अझ भनौं मुटु एकै गराएर जीवन जिए तापनि जीवनसाथी बन्न सक्दैनौ । कारण धेरै छन् तर उनले र मैले गरेको सम्झौता नै जीवनभरको साथको छ । जीवनसाथी बन्ने सम्झौता गरेको छैन मैले तर पनि खै किन हो यति धेरै माया लाग्छ ।

कसरी छुट्टिएर बस्ने होला भनेर कल्पना पनि गर्न सक्दिनँ । मेरो माया मलाई लाग्छ दुईतर्फी नै छ, किनभने उनी पनि मलाई माया गर्छिन् मात्र आज खै किन यस्तो गरेकी छन् म पनि अच्चम्ममा परेको छु ।फोन आएन, न त म्यासेज नै आयो । मनमा एक प्रकारको हावाहुरी चल्न थाल्यो । म आफै कल गरौं भने म रिसाएको नाटक गरेको के काम भयो र ? नगरौं त उनले कुनै प्रतिक्रिया नै जनाइनन् ।

घरमा खाना खाने समय भएको छ । घरभित्रबाट आमाले खान आउने उर्दी जारीगर्नु भो तर मनमा खाना भन्दा उनको मायालु बोलीको र म्यासेजको भोक लागेको छ । मैले बहाना गरेर खाना नखाने कुरा भनें । घरमा खैलाबैला मच्चियो । आखिर मायालु छोरा परें । आमाको मनमा छोरालाई के भएछ भन्ने भयो, निधार छाम्न आउनुभयो । मैले नाटक गरेर बिरामी भएको छु भनेको त आमाको मनले के मान्थ्यो र खाना खान दिन छाडेर मेरो कोठामा आउनुभयो ।“खै ज्वरो छैन त जेठो, फेरि किन भात खान्न भन्छस् त, हिन छोरा अलिकति भए नि खाऊ नत्र झन अप्ठ्यारो हुन्छ बा” आमाले आग्रहगर्नुभो । उहाँलाई के थाहा मलाई मायाको ज्वरो आको । न भन्न सक्थें न त खाना खान जान सक्थें । अनेक बहाना गरेर बिस्तरामा पल्टिदै उनको यादमा बसिरहें ।

नाटक गरेको तीन घण्टा बितेछ । तर उनले मलाई सम्झिनन् । म नै वाध्य भएँ उनलाई कल गर्न ।“अँ भन्नुस् ।” हेल्लो पनि नभन्दै उनले भनिन् । “खुब शान झारेकी छेस् त, यतिका समयसम्म पनि एक कल फोन या म्यासेज गरिनस् अनि के को माया गर्छु भन्छेस् तँ ?”– मैले मायारुपी भावमा भनें । “सकियो अब माया साया, के नै बाँकी छ र ? जहिले हो भेट गरिनस् भन्नुहुन्छ, मलाई कति गाह्रो हुन्छ समय मिलाउन, हजुरले बुझ्नुहुन्छ र ?”– मनमा माया भए पनि समयले साथ नदिएको कुरा भनिन् ।

मैले मनलाई सम्झाउँदै कुराको बाटो मोडें । “काली प्लिज आउँदो शनिवार भेटम न है”– मैले फेरि मायालु आग्रह गरें । “हेरौ के हुन्छ अहिले नै भन्न सक्दिनँ के, जुन दिन लेखेको छ त्यो दिन अवश्य भेटने छु ।” सामान्य शब्दमै पन्छिने कुरा गरिन् । “ल ल म स्कूलमा छु, छुट्टीमा कुरा गरौंला है ।” यति भन्दै फोन काटिन् । मलाई लाग्छ म नै उनको पछाडि लागेको छु, तर हरेक कुरामा मैले भन्दा धेरै माया उनले नै गर्छिन् भन्ने भाव उनले देखाउँछिन् ।

म फेरि पर्खाइमा बस्न थालें, कति बेला उनको स्कूलको छुट्टी होला र उनलाई भेट्न पाउँला भनेर । घडीले दिउँसोको ४ बजायो । मेरो मन त्यसै उत्सुकताले भरिभराउ भएको छ । मिलनचोक जहाँ हामी पहिलेदेखि मायाका कुरा साटासाट गर्दै पानीपुरीको मजा लिन्थ्यौ, त्यही ठाउँमा आज पनि बोलाएको छु । हामीहरुले एक अर्कालाई हेराहेर गर्ने ठाउँहरु धेरै फेरिए, कहिले कहाँ त कहिले कहाँ तर यो ठाउँ अलि फरक छ, हाम्रो माया प्रेमको लागि किनभने जहिले मलाई या उनलाई मायाप्रति विश्वास लाग्दैन या भनौ झगडा हुन्छ हामी दुबैजनाले यही ठाउँलाई रोजेर भेट्ने अनि दुःख पोख्ने गन्तब्य बनाउँछौ र आज मैले यो मिलनचोकलाई रोजेको छु ।

सधैं पानीपुरी खाने ठाउँमा म बसेर उनलाई पर्खिरहेको छु । उनी आउने बाटोमा नजर लगाइरहेको छु । घडीमा साढे ४ बजेको छ तर उनी आउने अत्तोपतो छैन । फोन गरें तर उनको फोन बिजी छ । मन सम्झाउन नै सकेको छैन, आखिर आजभोलि किन यस्तो गर्दैछे त यो केटी ? उनीप्रतिको नकारात्मक सोच मनमा पलाउन थालेको छ यतिबेला । विगतलाई सम्झन्छु– कति माया गर्थी उसले मलाई अनि वर्तमानलाई सम्झिन्छु कति टाढिन खोज्दैछे त्यो । मनमा जति नकारात्मक सोचाइ आए पनि फेरि एकपटक कल गर्न मन लाग्यो अनि कल गरें । फोन लाग्यो र उठ्यो पनि । “म घरमा छु आउन सकिनँ, सरी ल । अनि अहिले घरमा बाबा मामु हुनुहुन्छ पछि कुरा गरौंला है”– उनले आफ्नो मात्र कुरा सकेर फोन काटिन् । म स्तब्ध भएँ ।

माया यति थियो कि उनलाई चाहेर पनि भुल्न सक्दिनथें तर पनि उनका हरेक शब्दमा लुकेको बहानाले भुल्नको लागि प्रेरित गर्न थाल्यो । रिसले आगो हुँदै घरमा आएँ अनि उनले मलाई गरेको मायामा किन परिवर्तन आयो भनेर पत्ता लाउने प्रयास गरें ।

अप्सरा उनको र मेरो बाल्यकालदेखिको साथी हो । हाम्रो माया प्रेमको बारेमा उसलाई थाहा छैन । उनको स्कूलको पनि स्टाफ हो अप्सरा । उसैलाई सोध्ने निधो मनमा फुऱ्यो । आखिर अरु कसैको माया प्रेममा परेर मलाई बिर्सने कोसिस गरेकी पो हो कि ? यदि त्यस्तो हो भने पक्का पनि अप्सरालाई त थाहा छ । मनमनै कुरा सोध्ने निधो गरें अनि कल गरें अप्सरालाई ।
“ओ हो शरद कहाँबाट याद गऱ्यौ यार आज मलाई ?”– उत्सुकताका साथ अप्सराले मलाई सोधिन् ।
“के कुरा गर्छौ तिमी पनि याद त सधैं गर्छु नि तर याद आउँछ भन्दैमा के कल नै गर्नुपर्छ र ?” मैले पनि उसलाई मख्ख पार्दिएँ ।
“हुन त हो नि शरद, अनि के छ भन ?” उसले मलाई राम्ररी चिनेकी छ मनैदेखि चिनेकीले होला प्वाइन्ट्मा आएर कुरा गर्न थाली । “मेरो त ठीकै छ । बरु एउटा काम थियो त्यसैले कल गरेको हुँ, राम्रो साथी मान्छ्यौ भने नढाँटी भन्नु ल ।” मैले पनि कुराको शुरुवात गर्न खोजें ।
मलाई थाहा थियो। “बिना काम त तिम्ले यो अप्सरालाई के सम्झिन्छौ र ? भन न त के हो”– हाँसेरै सोधी उसले । म पनि खुशी भएँ । “त्यो तिम्रो स्टाफ निर्मलाको लव परेको छ रे हो ? प्लिज नढाटी भन न है ?”– मैले सोधें ।
तिमीलाई किन चाहियो अर्काले जे गरुन् तिमीलाई के मतलब ?” उसले नभन्ने मुडमा कुरा गरी । मन खिन्न पार्दै आग्रह गरें अनि उसले भन्न वाध्य हुँदै भनी– “हो निर्मलाको लव परेको छ, एक महिना हुन थाल्यो । केटो पनि ठीक छ अनि हाम्रो स्कूलकै स्टाफ हो । धनी छ । पढेलेखेको छ अनित निर्मला पनि खुशी छ त्यो सँग, तर प्लिज शरद कसैलाई नभन है ।” म छाँगाबाट खसे जस्तो भएँ । धेरै कुरा गर्न सक्ने अवस्था थिएन अनि मैले ल त अप्सरा अहिलेलाई बाइ भन्दै फोन काटें ।

फेरि मेरो प्रेमले हावा खायो । रुप, धनले अनि पढाइले म पछाडि परें । हाम्रो माया प्रेम जीवनसाथी बन्ने सपनाको थिएन मात्र सुख दुःखको थियो तर पनि मैले उनको साथ पाउन सकिन । अनि बल्ल मैले बुझें यो दुनियाँमा पैसाले नै सबै चिज किन्न सकिन्छ नत्र भने चोखो माया गरेर सुख दुःखमा साथ दिन्छु भन्नुको कुनै अर्थ रहने छैन । माया त धन अनि रुपमा पो अडिएको हुनेरहेछ भन्ने थाहा पाएँ ।

Tuesday, August 11, 2015

मायाको छायाँ (Shadow Of Love)

संसारमा सबैभन्दा बढी प्रयोग हुने शब्द नै माया हो । अचम्मको कुरा यति धेरै प्रयोग हुँदा पनि सबभन्दा कम बुझिएको शब्द पनि माया नै हो । हुन त यो संसार मायाकै बिस्तार हो । यहाँ जे जति छन्, ती सबैसँग माया छ । जस्तै जब मनले कुनै चीज देख्छ, तब ती चीज आफ्नो बनाउनको लागि चित्त सक्रिय बन्छ । त्यतिखेर इच्छाहरु जन्मिन्छ यी इच्छाहरुलाई बुद्धले तृष्णा भनेका छन् भने अरु सन्त पुरुषले मनको वासना भनेका छन् । यो मनको बासना नै माया हो । यसै मायाले नै माकुराले जस्तै जालो बुन्छ । त्यही जालोमा आफू पनि फस्छ र अरुलाई पनि फसाउँछ । मान्छे माया जालमा फस्छ ।

भनिन्छ जे देखे पनि माया लाग्ने, जसलाई देखे पनि माया लाग्ने, यो माया भन्ने चीज के होला ? मलाई लाग्छ माया भनेको लोभ हो अर्थात् लोभको सभ्य भाषा नै माया हो । मोह भनेको आशक्ति हो । यसर्थ माया मोहको अर्थ हुन्छ, लोभप्रतिको आशक्ति एउटा नेपाली गीत छ, “नदेखे को हो, को हो ? देखे पछि माया मोह ।” अचेल आई लभ यु भन्ने शब्द निकै नै प्रयोग गरेको पाइन्छ । जति धेरै पटक आई लभ यु भने पनि व्यवहारिक जिन्दगीमा वास्तविक मायाको खडेरी देखिन्छ । माया भन्ने चीज आई लभ यु भन्दैमा पुच्छर ठाडो पारेर दगुर्दै आउने कुरा होइन । माया भन्ने चीज हृदयको गहिराईबाट आउने चीज हो । आई लभ यु भन्ने शब्द उन्मादले मातिएको मनबाट आउने शब्द हो । जस्तै उदाहरणको लागि कुनै राम भन्ने केटाले आफ्नो छिमेकका सीता भन्ने सुन्दरी केटीलाई देख्यो, मनपर्यो भने तब उसको लोभ जाग्छ, मन परेको चीजलाई पाउनको लागि चित्त तड्पिन थाल्छ, सक्रिय हुन थाल्छ, यसै बीचमा अनेकअनेक इच्छाहरु जन्मिँदै जान्छ, कुनै न बहानाले सीता भन्ने केटीको नजिक पुग्ने जुक्ति निकाल्छ, त्यहाँ पुग्छ, त्यस केटीलाई बोलाउने, त्यस केटीलाई गलाउने उपायमा कम्मर कसेर लागी पर्छ र एकदिन बोलाउँछ, मन गलाउँछ अनेक अनेक उपायहरु जुटाएर केटीको मन पनि गलाउँछ । मन गले पछि केटीले पनि केटाको आग्रहमा झिनो स्वीकृति दिँदै जान्छ । केटीको यही खुकुलोपनमा केटाले आई लभ यु भन्न हतारिएको हुन्छ र छिट्टै नै आई लभ यु भन्नमा पनि सफल हुन्छ । अचेलका प्रगतिशील केटीहरु पनि के कम, उनीहरु पनि भनिदिन्छन् आई लभ यु टु ।

वास्तवमा यो आई लभ यु भन्ने शब्द उसको लोभी चित्तबाट आएको हुन्छ । हृदयबाट आएको हुँदैन । जब माया हृदयबाट आउन थाल्छ त्यतिबेला आई लभ यु भन्ने शब्दले दुःख पाउनु पर्दैन र शब्दद्वारा व्यक्त गर्न पनि आउँदैन । अव्यक्त रुपमा उसको मधुर मुस्कान र लोलाएका आँखाहरुबाट व्यक्त गरिरहेको हुन्छ र लोलाएकै आँखाहरुबाट अन्तरसम्वाद एवम् प्रेमका वार्तालाप भइरहेको हुन्छ । हृदयको असीम प्रेम आदानप्रदान भएको हुन्छ । त्यतिबेला न त चुम्बनको लागि आतुर हुन्छ न त सेक्सको लागि छटपटिएको हुन्छ, ऊ केवल हृदयको असीम प्रेममा लिप्त भएको हुन्छ । मानौं । यसै दिव्य प्रेमबाट नै उसले परम आनन्द लिएको हुन्छ । जन्म जन्मदेखि प्यासी आत्मा तृप्ति हुन थाल्छ । प्रेमको यही अवस्थालाई रजनीश ओशोले “Timelessness र Egolessness ” भनेका छन् । तब शुद्ध मानव बन्छ, शुद्ध चित्तमा पुग्छ । वास्तवमा चित्त शुद्ध हुनु नै बुद्ध हुनु हो । प्रेमको यही अवस्थालाई जिजसले “Love is God” भनेका छन् ।

यसरी सही माया गर्न जान्यौं भने मायाबाट प्रेमको यात्रा गर्न सकिन्छ । यदि माया गर्न जानेनौं भने अशुद्ध मायाको जालोमा फस्दै जान्छौं । यही अशुद्ध माया भित्र धेरै किसिमको खेल एवम् नाटक रचिन्छ । मायाको नाटक गरेर धनसम्म पुग्ने, मायाको नाटक गरेर सेक्ससम्म पुग्ने, मायाको नाटक गरेर अवसर लुट्ने, मायाको नाटक गरेर आफ्नो स्वार्थ लिने जस्ता खेलहरु पनि भएको देखिन्छ । मैंले एउटा पाँच वर्षको बालकलाई सोधेको थिएँ, बाबु आमालाई माया केमा लाग्छ ? ती बालकले तत्क्षण जवाफ दियो – माया गालामा लाग्छ हाहाहा………. । हाम्रो समाजमा गरिने माया भनेको गालासम्म पुग्ने माया हो । यो भन्दा अगाडि बढ्यो भने सेक्ससम्म । नत्र त्यो भन्दा अगाडि जाने सम्भावना देखिँदैन ।यदि कुनै कुनैले त्यो स्थितिलाई पार गर्यो भने माया मोहसम्म पुग्छ । त्यो भन्दा अगाडि ऊ जानै सक्दैन । त्यो स्थितिबाट अगाडि बढ्नको लागि उसले आफ्नो अहंकारलाई पगाल्न राजी हुनुपर्छ । सामान्यतया यति ठूलो साहस कसैले गर्न सक्दैन किनभने आफ्नो अहंकार पग्लेर तरल, सरल बन्न थाल्यो भने ऊ अत्तालिन थाल्छ । यो पग्लिने स्थितिले उसको स्वभावलाई बदलिदिन्छ, उसको स्वभावलाई शुद्ध मानवतातिर धकेलिदिन्छ यसपछि ऊ डराउन थाल्दछ । म भनेको त डक्टर पो थिएँ, आज म के भएँ । म भनेको त नेता पो थिएँ आज म के भएँ, म भनेको त उच्च पदाधिकारी पो थिएँ, आज प्रेमले गर्दा के भएँ, कहाँको मान्छे कहाँ पुगें । म आज प्रेमले गर्दा अचानक हारें हाहाहा ……….. । यसैले त अहंकारी मान्छे प्रेमदेखि डराउँछन् । वास्तवमा अहंकारबाट हार्नु भनेको जीवनबाट हार्नु होइन, बरु जित्नु हो । जसले अहंकारलाई जित्ने दुस्साहस गर्छ उसले मात्र प्रेमको अमृतरस लिन पाउँछ । जसले आफ्नो व्यक्तित्वलाई प्रेमको अस्तित्वमा सम्मिलित गराउने पुरुषार्थ जुटाउँछ । उसले मात्र प्रेमले परम आनन्दमा डुबुल्की मार्न पाउँछ । यसैले प्रेम जीवनको शिखर हो । यो शिखरमा पुग्नको लागि आफ्नो यात्राको शुरुवात माया, विश्वास र समर्पणबाट गर्न सिक्नुपर्दछ ।

आज हाम्रो समाजमा गरिने माया ढोंगी छन् र धोखा दिने खालका छन् । एकपटकको कुरा हो, आजभन्दा करिब पाँच वर्ष अगाडि योग शिविर सञ्चालनको सिलसिलामा म बुर्तिबाङ्ग पुगेको थिएँ । त्यहाँ १० दिने योग शिविर आयोजना गरिएको थियो । यसै क्रममा म एकदिन योग प्रशिक्षण सकेर अलि माथिको उकालो गएर बुर्तिबाङ्गको बजार राम्ररी हेर्नुपर्यो अनि फोटो पनि खिच्नुपर्यो भनी जाँदै थिए । यत्तिकैमा एउटा घरमा रुवाबासी सुनें । किन हो ? के भयो ? भनी सोधें । जवाफ आयो, विदेश गएको आफ्नो श्रीमान् विदेशमै मृत्यु भई श्रीमानको लाश काठमाडौं आएको दुःखद खबरले रुवाबासी भएको रहेछ । मलाई पनि दुःख लाग्यो । तर अचम्म लाग्ने कुरा के भयो भने ती श्रीमतीचाहिंले विभिन्न शब्दहरु निकालेर बिलौना गर्दै थिइन् । यसै क्रममा मैंले सुनें तिमी मर्यौ, अब मलाई कसले पाल्छ, बच्चाबच्ची कसले पाल्छ, म कसको सहाराले बाँच्ने हो ? पैसा कसले कमाउने आदि इत्यादि बिलौना गर्दै थिइन् । हामी जसरीतसरी बाँचौंला तर तिम्रो अपार जिन्दगीलाई गुमायौं । तिमीलाई सदाको लागि गुमायौं, अब तिम्रो माया पनि गुमायौं भन्नु पर्दथ्यो । खैर ! मैंले यो कुरा बुझ्नै सकिन । हामीले माया जिन्दगीलाई होइन उसले दिने सुविधा अनि पैसालाई पो माया गर्दा रहेछौं भन्ने शिक्षा त्यतिबेलाको घटनाबाट पाएको थिएँ ।

हरेक आमालाई आफ्नो सन्तानप्रति माया हुन्छ । चाहे ऊ जस्तोसुकै होस् तर अपवाद छोडेर हरेक बाबा आमा जस्तो शालीन हुँदैनन् । चोरेर होस् वा ढाँटेर जसरी भए पनि पैसा कमाएको हुनुपर्छ । अनि मात्र त्यस सन्तानले आफ्ना पिताबाट माया पाउँछ नत्र पाउँदैन । यदि पैसा कमाए मात्र पिताले माया दर्शाउँछ भने त्यो माया नक्कली हो । यस्तै आजकालका श्रीमतीहरु प्राय पैसामुखी भएको देखिन्छ । जस्तै उदाहरणको लागि काठमाडोंमा बस्ने नवजोडीको वैवाहिक सम्बन्धलाई म यहाँ पेश गर्न सान्दर्भिक ठानेको छु । उनीहरुको करिब एक वर्ष अघि विवाह भएको थियो । अहिले उनीहरुको सम्बन्ध विच्छेद जस्तै छ । केटा पक्षले केटी बोलाउन माइत जाँदा केटीले भन्छिन् अरे – जबसम्म तिमीले पैसा कमाउँदैनौं तबसम्म म तिम्रो घरमा आउँदै आउँदिन भनेर फिर्ता पठाइन अरे । यो पनि कोही तरिका हो र हाहाहा …………. ।

अब त आई लभ युको डायलगलाई बदल्नुपर्ने जस्तो भयो । अब आई लभ मनी देन यु । हुन त आजको जमाना भनेको पैसाको जमाना हो ? पैसाले नै सबै थोक गर्न सकिन्छ । पैसाले शक्ति दिन्छ, साहस दिन्छ र आत्मविश्वास, आत्मनिर्भर दिन्छ, अलिकति ईज्जत दिन्छ । यो एकदम सत्य कुरा हो । तर माया बेग्लै कुरा हो । संवेदनशील हृदयसँग सम्बन्धित कुरा हो । यसले जीवनलाई वास्तविक सुख दिएर उर्जाशील बनाउँछ । हृदयमा एक किसिमको अमृतरस रङ्ग भरिदिन्छ । जसले गर्दा जिन्दगी रङ्गीन भएको महसुस हुन थाल्दछ ।
यहाँ माया निम्न स्तरबाट हुने गर्दछ । कसैले सुन्दर रुप देखेर माया गर्छन् र ती मान्छेहरु रुप भन्दा गहिराईमा ओर्लेका हुँदैनन् । यसले गर्दा रुप कुरुपतिर जान लाग्यो भने उसले दिने माया पनि डगमगाउन थाल्छ, कसैले धन देखेर माया गर्छन् । एक दिन दुर्दशावश धन रित्तिने छाँट देखियो भने अन्तरसम्बन्धमा खटपट हुन थाल्छ । कसैले आदर्श व्यक्तित्वलाई माया गर्छन् । समिप्यता बढ्दै जाँदा उसका अवगुणहरु बिस्तारै बाहिर देखा पर्न शुरु गर्छ, तब उसले दिने माया दोधारमा पर्न थाल्छ ।
एउटा जगदीशसिंको हिन्दी गजल छ :-

” दुनियाँ जैसे कहते है
जादुका खेलौना
मिल जाये तो मित्ती
खो जाये तो सोना ” ।

मान्छेले नपाउँदाखेरि, हे प्रिय तिमीले भन मात्र म आकाशको तारा झारेर दिन सक्छ भन्नेले जब पाउँछ त्यसपछि दाह्रा झार्न तम्सिन्छ । यस्तो छ, हाम्रो मायाको हालत । अब त कसैले तिमीलाई भन्न आउला, हेर प्रिय तिमी विना त म एकदिन पनि बाँच्न सक्दिन भन्यो भने तिमी मख्ख नपर्नु । बरु उसलाई भन्नु यस्तो डायलग कतिलाई दियौ । कसैले आई लभ यु भन्यो भने उसलाई भन्नु तिम्रो यो आई लभ युको वारेन्टी कति दिनको हो ?

” जो पासपास रहते है
उससे हम बुरा कहते है
जो देखातक भी नही
उससे हम खुदा कहते है “।

मेरो आज्ञा मान्यौ भने माया गर्छु नत्र गर्दिन । मैंले भने जस्तै गऱ्यौ भने माया गर्छु नत्र गर्दिन । मेरो इच्छा बमोजिम काम गर्यौ भने माया गर्छु नत्र गर्दिन । मेरो विचार, मेरो सिद्धान्तमा चल्यौ भने माया गर्छु, नत्र गर्दिन । पैसा कमायौ भने माया गर्छु नत्र गर्दिन, म भन्छु यो शर्त सहितको माया माया नै होइन । निशर्त माया नै सत्य माया हो, सत्य प्रेम हो ।
हाम्रो समाजमा प्रचलित माया भनेको दिमाखबाट आएको माया हो । यो दिमाखी माया विचारहरुबाट सञ्चालित हुन्छ । यसैले जुन दिन विचारमा गडबड आउँछ त्यो दिनबाट माया संकटमा पर्दैै जान्छ । धरापमा पर्दै जान्छ । जुन माया हृदयबाट आएको हुन्छ, यो हृदय माया अन्तरात्माबाट निर्देशित हुन्छ । यो अन्तरात्मा अदलबदल हुने सम्भावना नै छैन, यसैले यस्तो माया दिगो हुन्छ, यस्तो माया मात्र अमर हुन्छ ।