Sunday, May 17, 2015

पुरानो काठमाडौं (फोटोफिचर) Old Kathmandu

हाम्रो पुरानो नेपाल अब मात्र सम्झनामा
नयाँ पुस्ताको निम्ति इतिहासको पानामा
अहिलेको पुस्ताको निम्ति मात्र सम्झनाको पानामा
-राजन थापा

Wednesday, May 13, 2015

१९९० सालको महाभुकम्पको बयान (ब्रह्मशमशेर जंगबहादुर राणा)

१९९० सालको महाभुकम्पको बयान (ब्रह्मशमशेर जंगबहादुर राणा) केही दिन अगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहान पख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो ।

सोमबारे औँसी परेकाले आइमाईहरू नुहाएर पुजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका थिए । बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो तैपनि आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए ।

सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो । पल्टन कवाज खेलिरहेका थिए ।

ठीक २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो, २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपुर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले जमिन छोला-छोलाजस्तो भयो । पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला-ठूला छालझैँ उछिट्टिन लाग्यो । घरको गाह्रा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्ला-अग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो । आठ-दस हात अगाडि पनि देखिन नसक्ने भयो ।

सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धुलोको कुइरीमण्डल हुन थाल्यो । सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे । धुलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथ-साथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् ।

खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम-रकममा काम गरे तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो । सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुई-तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर-इमारत पनि त्यस्तै किसिमले ढलेका थिए । भूकम्पमा घर त्यसै ढलेर भत्कन्छन् भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएन ।

खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८-१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र बालुवासमेत बाहिर आएको देखियो । बालाजु र शंखमुल नजिकमा सडक ठाउँ ठाउँमा एक-दुई हातसम्म भासिन गए । चिरा परेका ठाउँको गहिराइ ९-५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाड्नु ।

भुकम्प बन्द हुनासाथ सबै नाता-पाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले । आ-आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी-नसकी घरको रासन खोस्रन थाले । सबै आ-आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामर्थ्य भएन । यस्ताका नाताको दिल कस्तो भयो होला, कल्पना गर्न सकिँदैन । यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री-पुरुषहरूले भरिए ।

केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।

श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ-गठ गरी शहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए ।

आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए, यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो । त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो ।

कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला भएकाले घाइतेलाई औषधी पुर्याउने काम मलाई पर्न आयो ।

त्यस बखत सहरभित्र कोही-कोही सज्जनले दु:खी घाइतेको स्याहार-सम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।

श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्यो । चलन बमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज भयो ।

सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगोमा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।

होस-हतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको त के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चुँचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको तहीँ थिचिएर मर्नुपर्यो । छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ...मा... भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँट-काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस्, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधुवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके ।

घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु मर्यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्यो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात पर्यो, माघे झरी पर्ने डर छ, ओत छैन । लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु ।

वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो ।

केही गोलमाल वा चोरीको बचाउलाई कौसी -सरकारी ढुकुटी, झेलखाना, तोपखाना र ठुलठुला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिन-रात चाँडै पर्यो तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन । स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।

भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँ-ठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०-५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए ।

दृष्टान्तका लागि एक भूकम्प सेवक पं प्रेमराजको बयान : 'म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००-२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार-पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।'

वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टकिो केही खबर छैन ।

महाभूकम्प गएको दिनैदेखि हररोज साना-साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्पन गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भुकम्पमा बानी पर्न गयो ।

@राजन थापा

Friday, May 08, 2015

त्यो आधी रात

“मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?” जीवनले अचेल रक्सी त पिउन छाडेको थियो तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन ।
उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो । उसको यो थेगो जस्तै बनिसकेको वाक्य सुुन्दा-सुन्दा मलाई पनि कता-कता रहर लाग्यो ।
यहाँ छ्यापछ्याप्ती पाइने वेश्याहरूको सम्पर्कमा जान । त्यस निम्ति दुई–चार हप्ता लगाएर मैले आफूलाई तयार पारें । युद्धभूमिमा जाने कुनै सिपाहीले भन्दा कम साहस जुटाउनु परेको थिएन मलाई तर कसरी नजिक हुने ती नक्कली सायाङ् माने मायालुहरूसँग ?

हामी साँझ-बिहानको भान्सा अटुट रुपले चलाउनका निम्ति नजिकैको एउटा सुपरमार्केट भित्र दिनहुँ जान्थ्यौं । एकदिन । हो, एकदिन हामी सधैँ जस्तो गरी गयौं । त्यो दिन हामीले देख्यौं कि त्यो बिशाल-बजारभित्र काम गर्ने नयाँ कामदारको रुपमा इण्डोनेशियन केटीहरू आएछन् । त्यस समूहमा एउटी केटी, जसको अनुहारमा मैले थुप्रै-थुप्रै दुःखका रेखाहरू कोरिएको देखें । अरुभन्दा बेग्लै देखिन्थी ऊ । भावुक र गम्भीर पनि ।

त्यसपछि पनि हामी त्यहाँ सपिङ्ग गर्न नियमित गयौं, दिनदिनै गयौं । महिना दिन भन्दा बढी भयो । अरु सबैजना हाँस्ने बोल्ने गर्थे तर त्यो एउटी केटीको अनुहारमा मैले कहिल्यै मुस्कान देखिनँ । एकपटक पनि ।

कुनै अर्को एकदिन । उनीहरूको सुपरभाइजर बंगाली थियो, जससँग हामी धेरैपटक बोलिसकेका थियौं । हामीलाई उसले आफ्नो सबै कुरा सुनाएको थियो । पैंतिस वर्षअघि जवान अवस्थामा मलेसिया छिरेको अहिले साठी पुगें भन्छ । पैसा कमाउन सकेन । न आफ्नो देशमा फक्र्यो न त यहाँको नागरिक भएर बाँच्न पायो । भन्छ- “अब यहीँ मर्छु । किन जान्छु र आफ्नो लास बोकेर बंगलादेश ?” अँ त ...भन्दैथिएँ नि, त्यस बंगाली बूढोले हामीसँग सुटुक्क सोध्यो– “तुमको लोड्की चाइए ?” हो, उसको हिन्दी यस्तै थियो । राम्ररी नबुझेर जीवन र मैले एकसाथ सोध्यौं– “के हो ?” भनेर । उसले आफ्नै सुरमा भनिरहेथ्यो- “तिमीहरूले यदि पैसा खर्च गर्न सक्छौ भने, म केटी मिलाइदिन्छु, सक्छौ गर्न ?” उसको बंगाली लवजको हिन्दी बुझ्न हामीलाई कम्ता गाह्रो थिएन तर पनि बुझ्नुपर्ने जति हामीले बुझिहाल्यौं ।

जीवन र मैले एक-अर्काको अनुहारमा नियाल्यौं । जीवनले हेऱ्यो मलाई- “सक्छस् ? मलेसियामा नआउनुपर्ने थियो, आइसकेपछि खोलापारिका सायाङ्हरूसँग ...... । ” फेरि उसको त्यही सुगा रटाइ । जीवन सजिलै तयार भयो तर मैले एकछिन सोचें । खुबै सोचें । एउटा साहस बटुलेको थिएँ पहिल्यै । त्यसैलाई अनुमोदन गरें त्यस दिन मनमनै तर म भीरबाट खसे झैँ त्यतिखेर भएँ, जब त्यस बंगाली बूढोले ती इण्डोनेशियन केटीहरूलाई देखाउँदै भन्यो “कुन चाहिँको फोननम्बर चाहियो ? लौ भन !”
जीवनले भन्दैथियो- “साँच्चीकै खोलापारिका भेटिए है राज ?!” म अवाक् भएर त्यस एउटी केटीलाई हेरिरहें, जो अहिले पनि नजरमा एउटा शून्यता बोकेर काम गरिरहेकी थिई ।

जीवनले कुनचाहिँको नम्बर लियो याद गरिनँ तर मैले त्यही केटीको मोबाइल नम्बर लिएँ बंगाली बूढोसँग । होस्टेलमा आएर जीवनले मलाई भन्नु सम्म भन्यो- “मेरो पछि लागेर तँ चाहिँ किन बिग्रेको ? ....” महिनाभरि काम गर्यो, रगत पसिना सुकायो, हात लाग्छ चार सय एकासी । त्यसैमा एकसय रिंगेट सरकारी कर तिर्नैपर्छ । खानुपऱ्यो, घुमघाम गर्नुपऱ्यो । के कमाइ छ र यार मलेसियामा ? तै पनि खोलापारिका सायाङ्हरूसँग अस्थायी लगनगाँठो कस्न तँछाडमछाड गर्छौं हामी ।

फोनको घण्टी गइरह्यो तर सबै ‘मिसकल’ भए । एकपटक, दुईपटक, तीनपटक हैन .... सातपटकसम्म । आठौं पाली मात्र उसले फोन रिसिभ गरी तर पनि चुपचाप । ‘हेलो’ भन्छे कि भनी पर्खिरहें तर बोल्दै बोलिन ऊ ।
मै बोलें– “के छ हालखबर ?”
“म बिजी छु । को हौ तिमी ?” निरस बोली उसको ।
“म तिमीलाई चिनेको मान्छे । ”
“ए !” यसपाली अझै खुम्चेको प्रतिकृया ।
“म तिमीसँग एक रात बिताउन चाहन्छु रोजिता ।” बडो जोड लगाउनु पर्यो मैले यति भन्न ।
उताबाट आवाज आयो- “तिमीले मेरो नाम पनि जान्दछौ ? कसले दियो मेरो नाम ?”
त्यो भन्दा अघि सयौँ विरोधका आवाजहरू आफ्नै मनभित्रबाट आइरहेथ्यो- “तैंले यो के गर्दैछस् केटा ?” “बंगाली बूढोले दिएको ।” यो भनुँ कि भन्ने सोँचें तर भनिनँ । नबोलेरै उसको कानमा सकारात्मक बनिदिएँ ।
बरु यस्तो प्रश्न गरें उसले बुझ्ने गरी– “कहिले हुन्छ फुर्सद ?”
“समय तिमीले मिलाऊ । ठाउँको बारेमा म भन्छु ।” भनी उसले ।
मैले भोलि नै भेट्ने कुरा राखें ।
उसले ‘हुन्छ’ भन्दै फोन राखी ।

एकछिनपछि एसएमएस पठाई- “बी.ब्लकनिरको पेट्रोल पम्पको अगाडि राति दस बजे पर्खनेछु ।” कसैलाई भनिनँ । भोलिपल्ट जीवनलाई पनि थाहा नदिइ होस्टेलबाट निस्किएँ । पैदलै हिँडें । मनभरि डर थियो । बोलाएर तमिल चोरहरूको थप्पड खुवाउने त हैन यसले ? थप्पड मात्र खानु परे त हुन्थ्यो, सिलटिमुरै खानुपऱ्यो भने त .....?! तै पनि हिँडिरहें एक्लै म । ऊ भनेकै ठाउँमा भेटिई । नजिकै साइकल अड्याएर टुक्रुक्क बसेकी थिई । म उसको अगाडि पुगें । गाडीहरू आउने जाने क्रम तीब्र थियो । हामीलाई एकैछिन रोकिएर हेर्ने फुर्सद कसैलाई थिएन । सबैलाई आ–आफ्नो घरमा पुग्ने हतारो थियो । ऊ साइकल डोऱ्याउँदै मेरो अगाडि हिँडीरही । म उसको पछि-पछि ।

दस-पन्ध्र मिनेटको पैदल हिँडाइ पछि हामी एउटा अग्लो घरको अगाडि आइपुग्यौं । एउटा कोठा लिएर भूइँतलामै बस्दी रहिछ ऊ । अरु मान्छे देखिनँ र सोधें- “अरु कोही बस्दैन यो कोठामा ?”
“अहँ, एक्लै । .....ए तिमीले खाना खायौ ?”
अचम्म लाग्यो । यत्रो औद्योगिक क्षेत्रभित्र यस्तो भवनमा एक्लैले कोठा भाडामा लिएर बस्नु भनेको सानो कुरा थिएन । चानचुने आय हुने मान्छेको त उपाय नै थिएन । म उसको ओछ्यानमा बसिसकेको थिएँ, लबस्तरा बनेर । लाज पचेको म । ऊ पनि नजिकै कुर्सीमा बसेकी थिई ।

म घोरिएको देखेर उसले मेरो काँधमा झक्झकाउँदै सोधी- “खाना खायौ कि खा’को छैनौ ?” बल्ल झसँग भएँ । उसको प्रश्नको उत्तर दिएकै रहेनछु ।
“खाइसकें, तिम्ले ?” सोध्दै गर्दा मैले उसलाई हातमा समातेर तानें ओछ्यानमा । उ
सको हात समातिराखें । महसुस गरें- तातोपना थिएन उसको हातमा ।

अलिकति लजाएझैँ गरी र सोधी उसले- “तिमी नेपाली हैनौ ?”
“हो, किन र ?”
“नेपालमा के गथ्र्यौ ?” मेरो प्रश्नको वास्ता गरिन उसले ।
“काम गर्थें, ......कुल्ली काम ।”
“तिमी ढाँट्न सिपालु रै’छौ
“किन ? ... कसरी...?”
“काम गर्ने मान्छेको हात यति चिसो ?”
“तिमी पनि त चिसो....... ।”

त्यसपछि केही बोलेनौं हामी केहीबेरसम्म । ऊ र म एक-अर्कालाई छोएरै बसेका थियाै तर पनि कुनै उत्तेजना हामीमा थिएन अचम्म ! म उसलाई अँगालोमा बाँधेर भावुक हुँदै बोलिरहें- “रोजिता म तिमीलाई साथी बनाउन चाहन्छु । म तिमीसँग केवल एक रातको हैन, जिन्दगीभरको लागि साथी बन्न चाहन्छु । म रात बिताएको बद्लीमा तिमीलाई पैसा दिन्नँ । ..... मान्छ्यौ ?”

उसले मेरो हात आफ्नो शरीरदेखि अलग्याई । एकछिन शून्य भावले भित्तातिर हेरेपछि मतिर फर्की । उसको बोली गह्राै थियो- “साथी... !” एकपटक हाँसेर भन्न लागी “धेरैले भन्छन् यो । यो वाक्य पुरुषले नारीलाई फँसाउनु अघि फ्याँक्ने पासो हो । भन्छन् भन्न त, तर स्वार्थ पूरा गरिसकेपछि ......।”

“म तिमीलाई साथीको रुपमा हेर्न चाहन्छु न कि वेश्याको रुपमा । त्यसैले म तिमीलाई पैसा तिरेर अँगाल्न चाहन्नँ । ......”

“तिमी त ती सबैभन्दा पनि अझ स्वार्थी । अझै बढी धूर्त । ओहो ! आजसम्म यस्तो मान्छे भेटेकी छैनँ मैले ।”

“तिमीले मेरो मन बुझ्न सकिनौ रोजिता ।”

“बुझ्ने खाँचो पनि देखेकी छैनँ ।”
एकछिन सन्नाटा । त्यसपछि दृढता उसकै- “पैसा छ भने कपडा खोल्छु, छैन भने ढोका खोल्छु जाऊ ।”
आफू बडो पवित्र जस्तो, मनमनमा घिन लाग्यो उसको कुराप्रति । कसरी यति छाडा बन्न सकेकी ?

म ऊसँग सहभागिता खोजिरहेछु । एउटा आनन्दको निम्ति सहभागिता । ऊ चाहिँ कामको पारिश्रमिक खोजिरहिछे । मेरो भावनाको ठीक उल्टो ।

अझै भनी- “सबै लोग्नेमान्छेले आइमाईलाई खेलौना ठान्छन् । जसरी पनि चलाउन र खेलाउन सकिने ।” “...... ............ ...।”
“बढी कुरा गरेर किन समय खर्च गर्छौ ? म तिम्रो कुरामा सहमत छैनँ ।”

उसको अन्तिम फैसला । मलाई त्यो सुनेर रीस उठ्छ । प्रतिशोधको आगो सल्कन्छ मेरो छातीभित्र । जाबो तीस रिंगेट खर्च गर्नु नपरोस् भनेर त हैन नि यत्रो अनुनय गरेको उसको अगाडि मैल तर उसले मेरो कुरा पत्याइन । म मर्माहत हुन्छु । यसरी मैले उसलाई सोँचेकै थिइनँ ।

मैले उसलाई जोडसँग तानेर ओछ्यानमा ढाल्छु । उसलाई निर्वस्त्र पार्न उद्यत हुन्छु म तर मेरो प्रतिशोध दन्किरहेको मुटु तब हिउँ बन्छ जब उसले व्यँग्य भरिएका आँखाहरूले मलाई हेरिराखेको देख्छु । त्यही भावमा ऊ बोल्छे- “तिमी लोग्नेमान्छेहरू हुन्छौ नै यस्तै ।.... मैले भर्खरै भनेकी थिएँ नि । तिमीहरूले हामीलाई केवल खेलौना सम्झन्छौ । खेलौना, जो निर्जीव हुन्छ । तिमीहरूले हामीलाई मानव सम्झँदा हौ त यति हतार गर्ने नै थिएनौ, किनकि प्रत्येक मानव सजीव हुन्छ । म पनि, तिमी पनि । एउटा सजीव प्राणीसँग भावना हुन्छ, विचार हुन्छ, दृष्टि हुन्छ । उसलाई सुखको महसुस हुन्छ र त्यसै गरी उसलाई दुख्छ पनि .... । तिमीले मलाई नँग्याउनुअघि म सँग केही मानवीय प्रश्न गऱ्यौ ? मलाई ज्वरो आएको थियो कि ? पेट दुखेको, महिनावारी भएको थियो कि अथवा अरु केही शारीरिक या मानसिक कष्ट पो थियो कि ? सोध्यौ मलाई ? सोध्यौ एकै वाक्य ?”

उसको कुरा सुनेर मेरो मस्तिष्कमा एउटा ठूलो खल्बली मच्चिन्छ । मेरा मानसिक तन्तुहरू आत्तिन्छन्, कराउँछन् मानौं त्यहाँ कुनै सुनामी आएको होस् । यति ठूलो आक्रमणको कल्पना नै गरेका थिएनन् मेरा ती तन्तुहरूले ।

मेरा हातहरू जहाँ थिए त्यहीँ अडिन्छन् अर्थात् रोजिताको पाइण्टमा । ऊ चाहिँ मलाई हेरेर मुस्कुराइरहन्छे । म उसको त्यो मुस्कानमा एउटा हाँसो देख्छु कटाक्षको, व्यँग्यको । त्यो हाँसो म मात्र हैन, सम्पूर्ण पुरुष जातिप्रति थियो । उठेर बस्छु । ऊ पनि उठ्छे ओछ्यानबाट ।

मतिर हेरेर भन्छे- “दुःख मान्यौ ? मान्नु पर्दैन । बढी बोल्ने बानी छ मेरो । लागेको बानी मिल्क्याउन गाह्रो पर्छ, तिमीलाई पनि थाहा होला । ......”
बोल्दाबोल्दै उसले आफ्नो टी–शर्ट खोलिसकेकी हुन्छे तर म उसलाई त्यो भन्दा बढी नाङ्गो देख्न सक्दिनँ । जबर्जस्ती रोक्छु उसलाई । मेरा रसिला आँखामा हेरेर ऊ रुन्छे- “मैले सोँचेझैँ रहेनछौ तिमी । माफ गर मलाई । सयौँ लोग्नेमान्छेहरूसँग रात बिताएकी छु मैले तर तिमी जस्तो लाग्नेमान्छे देखेकी थिइनँ । मैले हरेक लोग्नेमान्छेभित्र एउटा भयानक पशु लुकेर बसेको देखेकी छु । तिमीलाई पनि त्यस्तै ठानें ।”

रात बित्दै जान्छ तर म कल्पना पनि गर्न सक्दिनँ उसको शरीरसँग खेल्ने । उसले पनि सायद मैले झैँ निर्णय गरिसकेकी थिई ।

सामान्य स्थितिमा ओर्लिसकेपछि म उसको बारेमा प्रश्नहरू गर्छु । आफ्नो कथा पनि नढाँटिकन सुनाउँछु तर आफ्नो जीवनकथा अघि उसको कथा मलाई एउटा वियोगान्त उपन्यास झैँ लाग्छ । मधुरो बिजुलीबत्तीमुनि बसेर ऊ बोल्दै जान्छे । म सुन्दै जान्छु–

“इण्डोनेशियामा जन्मेकी थिएँ म एउटा आदिवासी गाउँमा । कलेज पढ्दापढ्दै बिहे भयो । एउटी छोरी जन्मी । श्रीमान जागीरे शहरको एउटा बैंकमा । मैले चाहिँ आफू जन्मेकै गाउँको स्कूलमा पढाउन थालें । हाम्रो परिवार सुखी थियो तर एकदिनको घटनाले त्यो सुख, हाँसो र खुसीहरू सबै-सबै बढारेर लग्यो । ...... सन् २००४ डिसेम्वर २६ को दिन हाम्रो जिन्दगीमा कालो रात बनेर आयो ।
तिमीले सम्झ्यौ त्यो दिन के भएको थियो इण्डोेनेशियामा ?” आँखाभरि टल्पलाएका आँसु पुछेर केहीबेर बोल्न सकिन ऊ । फेरि विस्तारै बोल्न सुरु गरी- “समुन्द्रमा भूइँचालो गएको हल्ला जोडसँग चल्यो एकाएक । जताततै आपत्कालीन सूचना सुनिन थाल्यो । त्यो भागदौड बीच मेरी छोरी कता हराई थाहै भएन । म कसरी बाँचें त्यो पनि थाहा छैन । शहरमा भत्किएका घरहरूमुनि मेरो श्रीमान् दबिनुभयो सदाका लागि । धेरै आफन्तहरू मरे त्यो दिन मेरा । म कति अभागीनी हैन त ? ..... मैले पढाउने स्कूल भत्कियो । ................ ....... ............... ....... .......

केही समयपछि अन्तर्राष्ट्रिय सहयोगद्वारा स्कूल त बन्यो तर धेरै बालबालिकाहरू आह ! सुनामीले आतंक मच्चाउनुअघि त्यस स्कुलमा ६११ जना विद्यार्थी थिए, पछि कति थिए सुन्छौ ?”
“सुनाऊ ।” यन्त्रवत् मेरो बोली ।
“२१७ जना । ”

मेरो मन नराम्ररी हल्लियो । त्यति धेरै बाल–बालिका एकै गाउँमा मरे । प्रभावित सबै ठाउँमा गरी कति मरे होलान् ? कल्पनाले पनि मेरो मुटु चिसो भइरह्यो ।

“पढाउने जाँगर भित्रैदेखि मऱ्यो । बाँचेका ती कलिला नानीहरूको अनुहारमा मैले मेरी छोरी सुहन्नालाई देख्थें झल्झली । उनीहरूको बोलीमा मेरै छोरीको आवाज सुन्थें । आजित भएर मैले राजीनामा दिएँ एकदिन ....।”

यति बोलिसकेर ऊ केहीबेर बोलिन । बरु रोई हिँक्का छाडी-छाडी । मैले ढाढस दिएँ तर व्यर्थै । फाटेको मन सान्त्वनाले कसरी टालिन्थ्यो र ? पछि सम्हाली आफूलाई ।

“खाली बस्न झन् कसरी सक्थें र ? सोँच्दा-सोँच्दा पागल हुन्छु कि भन्ने डरले एउटा निजी कम्पनीमा सुपरभाइजरको काममा लागें । तर एकदिन .... दिन हैन एकरात कम्पनीको बोसले मेरो लाचार अवस्थाको मौका समातेर मेरो इज्जतमाथि ठट्टा गऱ्यो । एक रात हैन, दुई रात हैन, थुप्रै रात लुट्यो उसले मेरो अस्मीता । अनि मैले महसुस गरें लोग्नेमान्छेले हामीलाई केवल खेलौना ठान्दा रै’छन् । ..... ............ ........... ... ...... र एकदिन मैले मेरो जीवनकै अनौठो निर्णय गरें ।” एकछिन चुप बसी ऊ । म पनि बोलिनँ । न त उसलाई बोल्न भनें ।
उसैले प्रश्न गरी– “कस्तो निर्णय, सुन्न आत्तुरी लागेन तिम्लाई ?”
मैले उसको भावपूर्ण अनुहारमा हेरिरहें । उसको दुःखको कथा सुनेर म पनि आद्र भइरहेथें । मन थिएन तै पनि सोधें- “कस्तो निर्णय ?”
“वेश्या बन्ने ।”

उसको बोली निरस थियो - “एउटा आदर्श शिक्षिका बन्ने मेरो सपना थियो तर कति बेलादेखि म त वेश्या पो बनिसकेछु । त्यही निर्णयले मलाई डोऱ्याउँदै ल्यायो यो देशमा, परदेशमा ।

मेरो आधा जिन्दगीको अनुभवले मलाई यै’ भन्छ, पाप, धर्म, अल्लाह, ईश्वर केही छैन, केही छैन यो दुनियाँमा । यदि अल्लाह छ कतै भने त्यो पनि मलाई वेश्या बन्न लगाउने त्यै’ शैतान जस्तै छ । उसले न त दुःख पाइरहेकालाई देख्छ र उद्घार गर्छ न त दुःख दिनेहरूलाई देख्छ र सजाय दिन्छ । .... अल्लाह, गड, भगवानहरू सबै झूठा ....।”

यति बोलिसक्दा ऊ आवेगमा आएर चिच्याई । मैले उसलाई सम्हाल्ने सकेजति प्रयास गरें । मेरो कुममा आफ्नो निँधार राखेर रोजिता त्यो रात धेरैबेरसम्म रोइरही । मेरो छाती उसको आँसुले भिजायो । कति ठूलो चोट छातीभित्र बोकेर हिँडेकी रहिछ ऊ । मलाई के थाहा ? लोग्नेमान्छे न परें म । आफैलाई पश्चात्ताप र ग्लानीले समात्यो । धेरैबेर-धेरैबेरपछि उसले सम्हाली आफूलाई । अनि म उसको कोठाबाट निस्कें । रोक्न खोज्दैथी तर म जबर्जस्ती हिँडिदिएँ त्यहाँबाट ।

सडक सुनसान थियो यतिखेर । एउटै गाडी चलेको आवाज थिएन । न त मेरो देशमा झैँ झ्याउँकिरीको आवाज नै थियो । साँच्चै, चकमन्न थियो रात । तर जति-जति म आफ्नो होस्टेलको नजिक-नजिक आइरहें, उति-उति मेरो कानमा एउटा भयानक गर्जन सुनिन थाल्यो । मान्छेहरूको रुवाइ, चीत्कार, त्यसमा साना नानीहरूको पनि स्वर मिसिएको थियो । त्यो कहालीपूर्ण आवाजले लखेट्यो मलाई । म दौडिएँ । आफू दौडन सक्नेसम्म दौडिएँ । मलाई लाग्यो सुनामी अझै शान्त छैन यो संसारमा । रोजिता झैँ धेरै-धेरै मान्छेलाई बिवशताको भूमरीमा डुबाइरहेछ त्यसले ।

हतार-हतार गेट खोलेर भित्र पसें । आफ्नो होस्टेलभित्र । बत्तीहरू निभाएर साथीहरू सुतिसकेछन् । मस्त निँद्रामा थिए सबैजना । मैले बत्तीको स्वीच दबाएँ । कोठाभरि उज्यालो भएको कारण तीन-चारजना साथीहरूको निँद्रा खुलेछ । 
मेरो ठूल्ठूलो सास फेराइप्रति उनीहरू सबैले प्रश्न गरे- “के भो ? के भो राज ? के भो भन् न ।”

मैले फुट्लाझै भइरहेको फोक्सोलाई जतनले सम्हाल्दै बल्ल-बल्ल भन्न सकें “सुनामी .... सुनामीले लखेट्यो मलाई ।”

कसैले सोध्यो “के सुनामी ? कस्तो सुनामी ?”
“समुन्द्रमा भुँइचालो । बुझेनौ ?” मेरो थाकेको स्वर निस्कियो ।

“सपना देखेछ ।” यतिञ्जेलको हल्ली+खल्लीले गर्दा जागिसकेको जीवनले यति भन्यो ठूलो स्वरमा र मलाई हेर्न उठाएको आफ्नो टाउको फेरि ढलायो सिरानीमा । उसैलाई पछ्याउँदै अरु पनि आ–आफ्नो ओछ्यानमा लम्पसार भए । कल्पना गरें “भर्खर जीवनले भनेझैँ त्यो सुनामी एउटा नमीठो सपना मात्रै भएको भए कति जाती हुनेथियो । तर ... त्यो त विपना नै थियो ।....”
यस घटनाको पर्सिपल्ट । दिउँसोको समय रोजिता एउटा अग्लो मोटो अनि कोइला जस्तो कालो तमिल अर्धबैंसेसँग गफिँदै थिई । त्यही समय म पनि सपिङ्ग गर्न जानुपर्ने । देखें, देखेपछि नदेखेझैँ गर्न सकिनँ । हेरें तर राति नौ बजेतिर मेरै अगाडि ऊ त्यही कालेको मोटरसाइकल पछाडि बसेर जाँदा बल्ल झसँग भएँ म । ऊ एउटी वेश्या हो....मैले नसम्झँदो रहेछु ।

त्यसपछिका दिनहरूमा मैले उसलाई त्यस सुपरमार्केटभित्र देखिनँ । उसका साथीहरू सधैँ आउँथे, काम गर्थे अनि जान्थे ।

करिब दुई हप्ता पछि पनि ऊ त्यहाँ नआएपछि मैले आफूलाई थाम्न सकिनँ । सोधें उसका साथीहरूसँग “रोजिता कहाँ गई ? देख्दिनँ अचेल । ”
“को हो रोजिता ?” उल्टै प्रश्नले हिर्काई मलाई एउटीले ।
मैले भनें “तिमीहरूको साथी । ... त्यही क्या.... गोरी.... पातली... नबोल्ने ।”
“ए ! त्यो आमिनाको कुरो । त्यसले तिम्लाई पनि ढाँटी ? त्यसको नाम त रोजिता हैन ।”
म खस्रक्क भएँ । मलाई हैन बंगाली बूढोलाई ढाँटेकी थिई उसले । तैपनि म आफू जिल्लिएँ यतिखेर । बंगाली बूढोलाई इमिग्रेशनले समातेर लगेको पनि दुई हप्ता भइसक्यो । सायद अब ऊ आउँदैन यहाँ ।

“अँ.........अँ...त्यै’...क्यारे.... अमीना । अँ, उसैको बारेमा सोध्या’ मैले ।”
“ऊ बिरामी छे ।” अर्कीचाहिँ अलि गम्भीर हुँदै बोली ।
“कस्तो बिरामी ? के भयो उसलाई ?” मलाई थाहा छैन यति धेरै प्रश्न किन गर्दै थिएँ म ?
“दुखेको छ साह्रो गरी ।”
“के ? .... कहाँ ....? ...कसरी ?” अचम्म छ बा ! यति धेरै प्रश्न मैले नै गरें ।
“त्यो त भन्न मिल्दैन ।” अघिदेखि नै मुसुमुसु हाँसिरहेकी अग्ली केटीले यति भन्दा उसका साथीहरू सबैजना हाँसे ।

एउटी अलि पाको उमेरकी झैँ देखिनेले सुस्तरी यो सोध्दा बल्ल पो म मरे जस्तै भएँ– “कतै त्यो लोग्ने मान्छे तिमी नै त हैनौ ? .....”
उनीहरूलाई छाडेर म आफ्नो होस्टेलमा फर्कें । त्यो कालो रात... उसको विद्रोह भरिएको तर लाचार बोली, त्यो तमिल भुुसतिघ्रे... सबै-सबै आँखामा नाच्न आए ।

आफूलाई सामान्य अवस्थामा फर्काउन मलाई धेरै दिन मानसिक कसरत गर्नुपऱ्यो । धेरैदिन, दिन मात्रै हैन महिना बितिसके तर त्यो केटीलाई मैले त्यहाँ देखिनँ । ऊ कहाँ छे, यो संसारमै छे या मरी सकी केही थाहा छैन ।
उसका संगीहरूका अगाडि जान पनि मलाई डर लाग्छ । कतै उनीहरूले “हाम्री आमिनालाई दुःख दिएर मार्ने तिमी त हैनौ ?” भनी सोध्ने हुन् कि भन्ने सोंचेर ।

अहिले पनि, जब-जब मलेसियाका गल्ली-गल्ली र चोकहरूमा, सडकमा र पसलहरूमा कुनै इण्डोनेशियन युवतीले ग्राहकसँग आफ्नो शरीरको मोलतोल र जोड-घटाउ गरिरहेको देख्छु, मेरो छातीभित्र हजारौँ सुनामीहरूले एकैपटक हिर्काउन आउँछन् । आह बिवशता ! बिवशता भन्ने नहुँदो हो त संसार कति सुन्दर हुनेथियो ।

@राजन थापा