Wednesday, January 28, 2015

मारिदिनु

किसानहरु भन्थे- चाँडै वर्षा भयो ।
बिहानैदेखि आँखा नझिम्क्याई
पानी पर्यो ।
पहाडी थाप्लोको सदरमुकाम
हिलाम्य बनेको थियो । सुनसान जस्तो ।
पुलिसहरु सधैँ बाक्लै हुन्छन् । पटकपटक
गस्ती आए, गए ।
कोहीकोहीहिलोमाचिप्लिए
। मेरो कोठा अगिल्तिरबाटै आउँछन् र
यहीँ लड्छन् । अलि चिप्लो छ
अन्तभन्दा । भिरालो । रातो माटोमा बुट के
नचिप्लियोस् ? हेर्नेलाई मज्जा !
घरभेटीका छोरीहरु
हाँस्छन् कुतकुतिएर । ‘पुलिस न हुन् ।
हिलो भुलेर लडेका लड्यै’, छेड हान्छन् ।
उनीहरु लड्दा मलाई पनि हाँस
उठ्छ ।

म हाँस्ता पुलिसहरु रिसाउँछन्,
घरभेटीका छोरी हाँस्दा खुसी हुन्छन्
। लाग्छ- मान्छेको जात कस्तो !

हरियो मकै पठाइछन् आमाले । खेतका होलान् ।
बारीका सुत्ला पस्तै छन् । बिहानै
उसिनेको । यही दारेर सुत्नुपर्ला ।
छामेँ, चिसो भएछ । आगो भए
पोलेको मीठो । कहाँ पाउनु दाउरा ?
चुलो कता खोज्नु ? मट्टीतेलको दम
दिने स्टोभ बाले“ । कोठामा एकसरो धुवाँ फैलियो-
मैले पिएको चुरोटभन्दा अलि बाक्लो । हराउँदै
गयो आवाज जस्तै ।
भाँडामा अलिकति पानी राखेर मकै
तताएँ ।
घरभेटीकी ठूली छोरी आई
र ‘खाना माथि नै खाऊँ’ नभनी गई ।
मैले अल्छी गरेको दिन सधै
यसरी नै आउँथी र
‘माथि नै खाऊँ’ भन्थी । आज त
उल्टै मेरैमा एक घोगा मकै खाई । गिज्याए झै
मुख बटारेर निस्की ।

‘मेरो मकै मात्रै खाई !’

बाहिर बहिनीचाहि कराएको सुने
। हत्तपत्त ढोकाको चुकुल लगाएँ । बोलाई भने
नबोली बस्नुपर्ला । त्यसले
भेटी भने अर्को घोगो खान्छे । झन्
मात्तिएकी छे । मलाई खासै मन
पर्दैन । पल्लो बजारको केटोसँग लठारिएको झन्
मन पर्दैन । बरू दिदीचाहि
ठीकै छे । आउँछे । बस्छे । ऊ
बसेपछि ऊसँगै मन्द सुगन्ध बस्छ । त्यसै
लट्ठिन्छु । काममा सघाउँछे । धन्दा सिकाउँछे ।
कहिले लाग्छ- ‘फकाएकी हो ?’
कहिले लाग्छ-होइन होला ।
केही भनेकी छैन तर
घण्टौ बस्छे मेरो ओछ्यानमा । ऊ
उठ्ता उसको तातो बस्छ । असरल्ल
मेरो कोठा समाल्छे । बढारकुँढार गर्छे ।
कोठा सिनित्त हुन्छ ।
आमा जसरी होइन । आमा त
फतफताउँदै भद्रगोल समाल्थिन्,
अर्कै जसरी ।
मायावी आँखा तर्छे । कुचो लाउँछे ।
कपडा पट्याउँछे र कठबाँसको दराजमा सपक्क
पार्छे ।

भन्छे, “सारै अल्छी ।”

“को ?” सोध्छु ।

“हजुर !”

भित्र चसक्क तातो पस्छ, मुटु धक्क हुन्छ ।
आमाले बाबालाई भने जस्तै । आमाले बाबालाई
‘हजुर’ भनेको सम्झन्छु । यो पनि उसै
गरी भन्छे र मलाई सताउँछे
बेलाबेला । यसलाई सम्झेपछि म आफैलाई
सताउँछु ।
यो सँगै जुनी आउँछे । ऊ
आएपछि अँध्यारोमा बत्ती आए
जस्तो हुन्छ । यो फुत्तै हराउँछे
मनमा केही नरहने
गरी - टाउका माथिबाट सुत्त प्लेन गए
जस्तो । जुनीको शान्त मुहार
आउँछ ।
घाँसको डोको बोकिरहेकी जुनीका पसिना झरे
जस्तो हुन्छ ।
घुमुर्की परेका गालाका साना खोपिल्टामा जुनी हाँस्छे

यो भन्दा जुनी कति हो कति राम्री !

साँझले झपक्कै छोपेछ । सम्झिएझै
बत्ती बालेँ । माथितिर वन
कार्यालयमा झलल बत्ती बलेको ।
पानी तर्याएर मकै थालमा राखेँ ।
कोठाको ढोका बज्यो ।
त्यो बहिनी चाहिँ होली मकै
खान आएकी । जम्मा दुई
घोगा बाँकी छन् । हत्तपत्त
सिरानमुनि लुकाएँ । एकछिन बोलिनँ । ढकढक
बजिरह्यो । सोधेँ- दिदी नै रहिछे ।

बस भन्न पनि नपर्ने । ओछ्यानमै बस्छे ।
सायद उसको नारीत्व जस्तै पुरूषत्व
आउँछ होला मेरो ओछ्यानमा ।
उसको नारीत्व जाग्छ कि के ? नत्र
किन यसो गरेकी ! मकैको भाँडोतिर
आँखा डुलाई । रित्तो देखेर होला, सोधिन । म
पनि बसे ऊसँगै । ऊ बसेसँगै
उसको नारीत्व उठ्यो र खुसुक्क म
भएतिर आयो । मेरो पुरूषत्व ऊतिर
गयो कि गएन ? लाग्यो, आजको रात यतै बसोस्

कहिलेकाही ज्यान फाल्छे
मेरो ओछ्यानमाथि । चङ्गा जस्तो हलुङ्गो ।
माथि धमिरा लागेको दलिन हेर्छे । दुवै हात
फ्याँक्छे र छिटोछिटो सास फेर्छे ।
उसको त्यस्तो चङ्गा शरीर हेर्दिनँ
म ? अन्तै भुल्छु । अन्तै मन डुलाउँछु । चोरेर
सुटुक्क हेर्छु, हेरिरहुँ लाग्छ । आज
पनि उसै गरी । मैले पनि खुसुक्क
हेरेँ । धेरै हेरेपछि जुनी आउँछे ।
मुग्ध भएपछि जुनी कराउँछे ।
जुनी आई
बत्ती आए जसरी ।
जुनी आएपछि ऊ गई !
बत्ती गए जसरी ।
घरभेटीकी ठूली छोरी गई

सिरानीमुनि लुकाएको मकै निकाले
बहिनीचाहि आई भने खाइदिन्छे ।
लाडे पल्टिन्छे । पल्लो बजारको केटासँग के
गर्छे कुन्नि ? मसँग लुटुपुटु गर्छे । ऊ
लुटपुटिँदा म डराउँछु । मभित्रको पुरूषत्व
जाग्यो भने ? ऊ चाहि डराउन्न ।
घरभेटी बाआमा सानी ठान्दा होलान्
। दिदीचाहि मसँग
भन्दा मेरो ओछ्यानसँग लुटपुटिन्छे ।
बाआमा ठूलीचाहि
मेरो ओछ्यानमा पल्टेको मन पराउँदैनन् । म
सानी लुटपुटिएको मन पराउन्न ।
उनीहरु ठान्दा हुन्-
दिदीचाहि ठूली भई ।
मलाई लाग्छ- बहिनीचाहि
ठूली भई ।

मकै बाँकी नै थियो । एक
घोगो सिद्ध्याएर अर्को सुरू नगरेको ।
ढोका फेरि बज्यो, अगिको जस्तै
गरी । फेरि सोचेँ।
त्यही बहिनीचाहि
हुनुपर्छ । ऊ आउने
कुरा सम्झदाँ पनि नमीठो लाग्छ ।
त्यही पल्लो बजारको केटो सम्झन्छु
। सोचेँ,
‘दिदीचाहिँ होली ।’
हातको मकैको घोगो दारेँ मुखभरि । त्यसले
मागी भने
यही जुठो खुवाउँछु । घिनाउँछे
होली । होइन, घिनाउँदिन ।
मेरो जुठो किन घिनाउँथी ? आज
खुवाउँछु । खुवाउनु छ । म उसलाई चाख्न
चाहन्छु । पक्कै उसले खाने बेलामा जुनु
नआउली । ढोकाको चुकुल खोले ।
ऊ मकै खान हतारिएकी होस् ।

न दिदीचाहिँ थिई न
बहिनी । अर्कै
केटी उभिएकी ढोकामा-
चिने जस्ती, नचिने
जस्ती ।
ऊपछि अर्को तन्नेरी थियो रूमालले
मुख छोपेको । मैले केही नभन्दै
दुवै भित्र पसे ।
कस्ता घरभेटीका छोरीजस्ता।
मैले नभने पनि मेरो खाटमा बसे जस्तै
यी पनि भित्र पसे । मैले लाउनुपर्ने
ढोका त्यही केटाले लगायो ।

“चिन्नुभो सुराकीज्यू”,
केटी बोली ।

उसको बोली भुइँमा नखस्तै केटोले
मुखको रूमाल तल सार्यो । जिउ सिरिङ्ङ भयो-उही छापामार कमान्डर, जसलाई
मैले गाउँमा भेटेको थिएँ ।
उनीहरुको सुराकी गरेको थिएँ
। हातको मकैको घोगो फ्यात्त भुइँमा खस्यो आफै।
उनीहरुले चलाखीसाथ
पुलुक्क हेरे ।
त्यही केटी, जसले
मलाई
गाउँमा सबभन्दा पहिला अँठ्याएकी थिई
। म पानी भएको थिए ।
‘घरभेटीका छोरी आए
पनि हुने नि यस्तो बेला’ जस्तो लाग्यो । के
आउँथे ? सुते होलान् । भुइँमा थचक्क बसे ।
म जस्तै मेरो कन्चटमा पेस्तोल
बसेको थियो थपक्क ।

कमान्डर बोल्यो,
“गोली खान्छौ कि हामीसँग
जान्छौ ?”

“जान्.....” बोली फुटेन ।

“के भनेको ?” केटीले घुँडो दरालेर
सोधी मेरो च्यापुमा ।

मुन्टो हल्लाएँ । कति खस्रो घुँडो ?
घरभेटीकी छोरीका भन्दा ।
आतङ्ककारी न हुन् । तालिम गरेर
यस्ता भए होलान् । काँपिरहेको म
घरभेटीकी छोरी सम्झेर
अलि शान्त भएछु ।
भने, “सोधपुछ गर्नुछ । हामीसँग
हि“ड !”

मुन्टो हल्लाएँ ।

“हल्ला गरे गोली खान्छौँ, थपे ।

फेरि मुन्टो हल्लाएँ, “हवस् !”

माथि घरभेटीको भर्याङमा एउटा उभिएको ।
तल अगाडि सडकको ढोकामा अर्को ।
घरमा पछाडिको ढोका खुलै रहेछ ।
त्यहाँ उनीहरुकै मान्छे होलान्
उभिइरहेका । ढोका उनैले खोले होलान् ।
निकाल्दा मुखमा रूमाल बाँधिदिए । हात
पछाडि बाँधिएका । चप्पल लाउने सुर हराएछ ।
उनीहरुले ‘लाऊ’ भनेनन् ।
घरपछाडिको ढोकाबाट निकाले । रातको अन्धकार, म
अस्ताउँदै थिएँ रात जस्तै ।
आकाशमा जुनको सानो टुक्रो थियो, म जुन
अस्ताए जस्तै अस्ताइरहेथेँ । एउटा छापामार
सायद कान्लामुनि पुग्यो । ऊ फर्केर नआउन्जेल
अरु हिँडेनन् । मेरो कन्चटमा पेस्तोल छँदै
थियो । मकैबारीको कुनैकुना निकै बेर
तेर्सियौँ र ठाडो ओरालो । कोही बोलेन
। केही सोधेनन् । म हताश थिएँ ।
मलाई थाहा थियो, सुराकी गर्नु
भनेको मारिनु हो तर अचम्म, म समातिएको थिएँ

रातिको समय, थाहा पाइनँ कति हि“डाए ।

बिहान उज्यालो हुने
बेलामा उहीँ पुर्याएछन्, जहाँ मैले
उनीहरुको सुराकी गरेको थिएँ
। एउटा घरमा कुनै छापामारले
ढोका ढकढक्याएपछि मान्छे उठे । उनै
दिदी, जसले मलाई भात
खुवाएकी थिइन् । उनै
दिदी, जसले पुलिसको हिरासतभित्रै
मेरो मुखमा थुकेकी थिइन् ।
उनी मेरो अगिल्तिर आइन् र
गहिरिएर हेरिन् । मैले उनको अनुहार हेर्नु
कसरी ? आवाज पछि आयो,
पहिला घुमायो । रननन भयो कानमुन्तिर । नजिकै
कोल्टे पर्ने गरी लडेछु । उनले बाघे
झापड बजाइछन् ।
“तँलाई सिआइडी”,
उनी कराए जस्तो लाग्यो ।

के भन्नु ? गालो छामेर लडिरहेँ । बोल्ने कुरै
थिएन, न जबाफै थियो । कसैले तानेर उठायो । उनै
कमान्डर रहेछन् । त्यो केटीले
अर्को गालामा फेरि बजाई । दुखेन ।
अहिलेको साटो अगि नै दुखेपछि फेरि
के दुख्नु ?

“यसलाई मारिदिनू !” पसले दिदीले
आदेश दिइन् ।

“मार्ने हो,
कमान्डरपछि बसेको कोही बोल्यो ।

(दिपशिखाको उपन्यास "रात फुलेको याम"

माथिको सामाग्री त्यहिँ पुस्तकको लिइएको अंश
हो )

Sunday, January 25, 2015

एउटा लडाकुको कथा

दसवर्षे माओवादी सशस्त्र
युद्धको कारूणिक र साहसिक
यात्रापछि छिन्नभिन्न
भएको भविष्यलाई यथार्थ
अभिव्यक्त गर्ने प्रयत्न हो ‘भीषण
दिनहरू’ । लेखक नवीन जिरेलले
आफ्नो कलिलो बालमस्तिष्क
युद्धमा होमिन बाध्य
बनाइएका परिस्थितिहरू
किताबमार्फत लिपिबद्ध
गरी उजागर गर्ने प्रयास गरेका छन्।

कलिलो उमेरमै बन्दुक र बारूदसँग
होमिँदाका अनेकन दुःख, कष्ट र
पीडाका अनुभूतिहरू पढ्दा सशस्त्र
युद्धताको उथलपुथल स्मरण गर्न
सकिन्छ । यथार्थमा बाल्यकालमै
माओवादी लडाकुमा भर्ती भएका जिरेलजस्ता थुप्रै
पात्र छन्, उनीहरू यतिबेलासम्म
आइपुग्दा आफ्नो सामाजिक जीवन
र भविष्यप्रति चिन्तित छन्।

‘वर्गसंघर्ष र
सामन्ती राज्यसत्ताविरूद्व’को सशस्त्र
युद्धमा पारिवारिक अवहेलना र
सामाजिक कारणले
माओवादी विद्रोहमा उत्रिएको एक
प्रकारले जिरेलले उल्लेख गरेका छन् ।
तर किताब पढ्दा लाग्छ,
उनी यथार्थमा माओवादी विद्रोह
नबुझी प्रवेश गरेका थिए । दुश्मनलाई
कसरी पराजित गर्ने भन्ने एउटै मात्र
लक्ष्य बोकेको र त्यहीअनुसार
लडाकुले रणनीति बनाई परिचालन
हुने गरेको चित्रण गरेका छन्।

किताबमा माओवादी विद्रोहको धेरै
प्रशंसा गरिएको छ । त्यसले समाज,
राष्ट्रमा निम्त्याइएका आतंक र
विध्वंशात्मक परिस्थितिहरूलाई भने
बेवास्ता गरिएको छ । दिनका दिन
माओवादीप्रति जनसमर्थन प्राप्त
भएको,
जनताको सहभागिता बढेकोजस्ता प्रसंगहरू
राखिएको छ । माओवादीले
सर्वसाधारण
जनताका कलिला बालबच्चालाई
उकासेर युद्धमा डोर्याएको, बन्दुक
बोकेर कक्षाकोठाभित्र गएर
जबरजस्ती सदस्य बन्न बाध्य
बनाएको, सुराकीको कथित
बहाना बनाएर हत्या र अपहरण
गरेकाजस्ता अमानवीय प्रवृत्ति भने
उजागर गरिएको छैन ।
त्यतिबेला बन्दुकको नाल देखाइएर
समर्थन गर्नुपरेको, धाकधम्कीबाट
ग्रसित बनेर बास
दिनुपरेको नेपाली नागरिकहरूले
अहिले पनि बिर्सिएका छैनन् ।
त्यस्ता विषयवस्तु समेतलाई समेट्न
सकेको भए यो पुस्तक अझै पठनीय
बन्ने थियो।

९ कक्षामा पढ्दाको कुरा मलाई
अहिले पनि स्मरण छ । जतिबेला म
तेह्रथुम ओख्रे गाविसको भगवती उच्च
माविमा पढ्थेँ,
गाउ“मा माओवादीको प्रभाव
निक्कै थियो ।
सोझासादा जनताका छोराछोरी उक्साहट
र धम्कीकै स्वरले
माओवादीमा धमाधम प्रवेश
गरिरहेका थिए । जसको सिकार म
पनि झन्डै बनेँ।

शुक्रबार
विहानको कक्षा लाग्थ्यो ।
चिया खाएर म एकाविहानै स्कुल
गएको थिए“ ।
पहिलो घन्टी सकिएपछि ग्वारग्वारती तिनै
हाम्रा गाउ“का दाजुभाइ
नाता पर्ने माओवादीहरू बन्दुक र
पेस्तोल बोकेर कक्षाकोठा छिरे ।
कसैलाई चटपटाउन दिएनन् ।
कोही बाहिर निस्किन नपाउने
उर्दी गरे । पेस्तोल र बन्दुक देखाएर
हामीलाई
क्रान्तिकारी विद्यार्थीमा भर्ती गराएको रसिदमा जबरजस्ती सहीछाप
गर्न लगाए । हामी डरले लुगलुग हु“दै
उनीहरूले जे–जे भन्छन्, त्यै–त्यै
मान्यौं । अन्त्यमा, त्यो रसिद
हराएको वा च्यातेको थाहा पायौं भने
मारिदिन्छौंसम्म भने।

म र मजस्तै
साथीहरूको कलिलो बालमस्तिष्कमा के
असर पर्यो होला त्यसले ?
बन्दुकको नाल देखाएर जबरजस्त
आफ्नो संगठनमा आबद्व
गराउँदैमा युद्ध जितेको र
आफ्नो पक्षमा धेरै
जनता रहेको देखाउनु
त्यो विद्रोहको जग नै कमजोर
थियो भन्ने धारणा हो।

म रूँदै रूँदै घर फर्किएँ।

किताबको चेपमा त्यो रसिद
घुसाएको थिए“ । हराउला भनेर
कति पिरोलिएँ।

मैले जोडसँग पक्डिएँ ।
अघि कक्षामा देखाइएका बन्दुक र
पेस्तोलका नालहरू सम्झिए“ ।
तप्पतप्प आँशु खसाल्दै हिँडेँ ।
मनभरि त्रासका बाछिटाहरू
छचल्किएर आए । सायद, त्यो रसिद
हराए म अपहरणमा पर्नेछु,
अन्यथा मारिन बेर लाग्ने छैन।

घर पुग्नेबित्तिकै किताब
फल्याकमा बिसाएँ । मेरो अनुहार
निन्याउरो बनेको रहेछ।

खाना खान भनेर भान्छा छिरें ।
अनायासै भक्कानिएछु । म रून थालेँ।
मेरो हविगत देखेर बुबाले भन्नुभयो, ‘के
भो सानु?’

‘स्कुलमा .... ।’

यति भन्नासाथ मेरो मन थामिन
सकेन।
घाँटीमै शब्द अड्किए । बाहिर
फुत्किन सकेनन् । बीचमै म
खाना छोडेर चुठ्न निस्किएँ ।
पछि बुबाले फकाइफुल्याइ गरेर
सोधेपछि माओवादी हर्कत
बताइदिएँ । माओवादी धम्की र
बुबाको सल्लाहअनुसार त्यो रसिद
भने सुरक्षितै राखेँ।

त्यसरी म/हामीलाई बन्दुक देखाएर
माओवादी बनाउन खोज्ने व्यक्तिहरू
अहिले मैले यदाकदा देखिरहेकै छु ।
उनीहरू विगतमा लहैलहैमा लागेर
आफूले गरेको अमानवीय
कार्यको पश्चाताप
गर्दा गहभरि आँशु झार्छन्।

जिरेलले किताबमा जति लेखेका छन्,
युद्धमा होमिनुपरेका कारण । विपन्न
म र मेरो परिवार सामाजिक
अवहेलनाले त्यतिकै
पिरोलिएका थियौं ।
त्यो अवहेलना विद्रोहले मात्रै चिर्न
सक्छ भन्थे माओवादीहरू ।
कहिलेकाहीँ म पनि ठीकै
हो कि भनेर सोच्थेँ, यथार्थमा युद्ध
मात्रै सामाजिक अवहेलनाको अचुक
औषधी हो भन्ने कुरामा म जहिल्यै
विमति नै राख्थेँ, राख्छु।

जिरेलले एक्लो महसुस गरे,
विद्रोहमा लागिहाले । तर
समाजमा रहेको कुनै पात्र
संघर्षमा एक्लो कहिल्यै हु“दैन ।
समाजको कुनै न कुनै तत्वको साथ
रहन्छ । यो समाजको सर्वमान्य
सिद्धान्त हो । सायद,
जिरेलको कलिलो बालमष्तिष्कले
त्यतिबेला युद्ध नै रोज्नमात्र सक्यो।

माओवादी युद्धमा होमिँदा दुश्मनसँग
छलेर ज्यान बचाएको, दुश्मनलाई
पराजित गरेको, त्यस
क्रममा आफ्ना सहकर्मीहरूलाई
आँखा अगाडि नै गुमाएको,
सेनाको प्रत्याक्रमणबाट जोगिन
खाली खुट्टा हिउँ छिचोलेको,
घाइते भएर
उपचारमा भौंतारिँदाका अनेकन
कष्टहरू भोग्नु परेका कुराहरूले
युद्धताको कठिन परिस्थिति बुझ्न
सघाउँछ ।
यत्रो संघर्षमा होमिएको एउटा सिपाही अन्त्यमा ‘क्यास’मा परिणत
हुनुपरेको कथाले झन् मन हुँडलिएर
आउँछ।

युद्धपछि शान्ति प्रक्रियामा आएपछिका माओवादी नेता र
तिनका गतिविधिले पक्कै
पनि युद्धका सारथी जिरेलजस्ता लडाकु
विरक्त हुनु स्वाभाविक हो ।
सम्पत्ति मोह, शालिन र सौखिन
प्रवृक्ति, अराजनीतिक संस्कार,
क्षणिक
सत्ताप्राप्तिका लागि आन्तरिक र
बाह्य शक्तिसँगको सम्बन्ध र
सम्झौताले दस वर्षे
युद्धमा होमिँदा मारिएका, घाइते
अपांग भएका जनताका आँशुले
माओवादी नेताहरूलाई
सरापिरहनेछन् । ती पात्र जिरेल
पनि हुन्, उनले युद्धमा दिएको साथ र
भोगाइको परिणाम ‘तीन लाख’ले
नुनचुक लगाइरहेका छन्, मन
गाँठो पारेर ।

एउटा कुशल लडाकु
बन्धुकको मात्र भाषा बुझ्दैन, ऊ लेखन
क्षमतामा पनि उतिकै दखल राख्दछ
भन्ने उदाहरण जिरेल हुन् ।
उनको साहसिक युद्धयात्रा बुझ्न
‘भीषण दिनहरू’ले सघाउँछ।

Sunday, January 18, 2015

बेश्यासंगको एक साँझ (नजिकबाट कसैको जिवन बुझ्दा)

होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै।
यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं
शाखाको सेमिनारमा गएका छन्। म भने
अलि बिसञ्चो भएको कारण गइन।
हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान
थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण
टिभी हेर्छु। र्स्पोटस, एएक्सएन र नेशनल
जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छि लाग्छ
र हेर्दिन। सबैभन्दा माथिल्लो तलामा छ
हामी बसेको रूम। यसो बेला–बेलामा बाहिर
निस्केर तल बाटोतिर हेर्छु ।
त्यहाँ पनि उही रिक्सा, उही गाडी वाक्कदिक्क।
पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु।
केहीक्षण निदाए जस्तो गर्छु तर निद्रा लाग्दैन।
ब्याग खोतल्छु र डाइरी निकाल्छु। केही लेख्न
खोज्छु अहँ फुर्दैन। त्यसलाई पनि थन्क्याउँछु।
केही नभएपछि आफुसंग भएको पुरानो गजल सङ्ग्रह
‘यात्रामा कतै निस्कँदा प्रायः बोक्छु’ निकाल्छु र
त्यति मज्जा नलागे पनि पढ्छु। यो होटल धेरै
तवरबाट चर्चित रहेछ। सबै सुबिधाहरूको ब्यवस्था छ।
भनेको अर्डर तुरून्त पूरा हुन्छ। यी भन्दा छुट्टै बिषय
पनि छ यहाँ। त्यो हो समाजले नामाकरण
गरेको बेश्याहरूको मुख्य थलो। चर्चित
भनाउँदा व्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण
स्टाफहरूसम्म, सेमिनारमा भाग लिन
आएका भलाद्मीदेखि धर्मका पण्डितसम्म,
विद्यार्थीदेखि लिएर शिक्षकसम्म,
कलाकारदेखि पत्रकारसम्म,
व्यापारीदेखि चिकित्सकसम्म सबै–सबै
यो स्थानबाट टाढा हुन सकेका छैनन्।
यहाँ १५–२०
जना युवतीहरू राखिएका छन्। कम उमेरकादेखि लिएर
अर्ध उमेरसम्मका पनि छन्। ५० देखि ५,०००।– सम्म
विविध मूल्यका।

समय दिनको दुई बजेको हुँदो हो। दुई जना युवतीहरू
बिना अनुमति मेरो रूममा पसे।
“एक्लै हुनुहुन्छ ?” एउटीले सोधिन्।
“जोडी छैनन् ” मेरो भनाई ।
“मिलाउँदा भै हाल्छ नि” सुझाव।
“आवश्यक छैन” प्रतिक्रिया। त्यसपछी केहीक्षण
मौनता।
“पत्रिका पढ्दा हुन्छ ?” थोरै
समयपछी एउटीको जिज्ञासा।
“किन नहुनु” मेरो भनाइ।
मलाई थाहा छ होटलको चापभन्दा उनीहरू धेरै छन्।
त्यसैले सकेसम्म ग्राहक फकाएर रकम जम्मा गर्नु
उनीहरूको पोलिसी हो।
मसँगको उनीहरूको उपस्थिति पनि यस्तै मात्र
हो भन्ने म बुझछ्।
मेरो प्रतिक्रिया केही नरहेपछि एउटी थपक्क उठेर
बाहिर जान्छिन्। अर्की बसी रहन्छिन्।
“तिम्रो नाम के हो ?” सोध्छु।
“निलिमा” एक क्षण सोचेर बोल्छिन्।
“आहा ! जस्तो काम त्यस्तै नाम” भन्छु।
“बिल्ला गर्नु भएको” पत्रिकाबाट नजर हटाएर
आँखा फार्दै भन्छिन्।
“के को बिल्ला गर्नु” म सफाया दिन्छु।
“यस्तो धन्दा गर्छ भनेर गिज्याउनु
भएको हो तपाईंले, म राम्ररी बुझ्छु”
दुःखेसो पोख्छिन्।
“मैले तिमीलाई कहाँ त्यस्तो सोचेको छु र। आफ्नै
जस्तो सम्झी रा’छु” कुटनीति प्रयोग गर्छु।
मेरो सम्वादले उनलाई केही भएजस्तो लाग्यो।
उनी खट्पट् गर्न लागिन्।
अनुहारमा एक्कासी बर्षा यामको पहाडको मौसम
झैँ परिवर्तन झल्कियो।
“तिम्रो हातमा यो के भा’को ?”
उनको पाखुरामा भएको घाउको खाटो देखाएर
सोध्छु। “यो सबै किन तँपाईलाई भन्नु”
उनी मप्रति शङ्का ओकल्छिन्।
“मैले तिमीलाई आफ्नो जस्तै सम्झेर पो सोधेको त”
भनें।
उनी एक क्षण मौन साथै गम्भीर भइन्।
“म अहिले जान्छु ल” यति भनेर उनले मेरो कार्ड
समेत राखेको पुस्तक हातमा लिएर फुत्त उठिन् र ओरालो झरिन्। मैले
प्रतिवाद गर्न सार्न्दभिक ठानिन।

निलिमा बाहिरिएपछि म
पनि केहीक्षणको लागि ओरालो झरेँ।
त्यो होटलको दोस्रो र
तेस्रो तला अलि अँध्यारो देखिन्छ
वा अँध्यारो देखियोस् भन्ने उद्देश्यले निर्माण
भएको लाग्छ। प्रायः त्यहाँ दिउँसै पनि यौन
क्रियाकलाप हुँदोरहेछ। सिँढी ओहोर दोहोर गर्ने
क्रममा त्यहाँको सम्पूर्ण क्रियाकलाप नदेखिए
पनि केहीभने अवश्य थाहा लाग्छ। यौन
क्रियाकलाप हुनुअघिका गाइँगुई। अर्मयादित
चुम्बनबाट उछिट्टिएका आवाजहरू मात्र हैन स–साना प्वालबाट दृश्य समेत बेला–बेला देख्न
सकिन्छ, भित्र बत्ति निभाएको छैन र
चिहायो भने।

एकघण्टा पछि नास्ता तलै गरेर फ्रेश भै म
उकालो चढ्दै थिएँ। हेटौंडाको एउटा केटाले
प्वालबाट यौनकार्य गरेको देखेपछि फोटो खिचेछ।
त्यसपछि समय निकै तनावग्रस्त भयो।
यौनकार्यमा संलग्न युवालाई बाहिर निकालेर सबैले
झपारियो। “के गर्नु जर्बजस्ती हैन, होटलवालाई
पैसा तिरेर सहमतिमा हो क्यारे” भनेर त्यो युवक
त्यहाँबाट फरार भयो। भित्र हेरेँ
कुनामा निलिमा लुकेर बसिरहेकी थिइन्। अनुहार
शिरकले छोपे पनि मैले
उनको हातमा भएको घाउको खोटबाट चिनेँ प्रष्ट।
“ल–ल साथी हो जाउँ के यस्तै हो” भनेर सबैलाई भनेँ।
क्रमशः भीड पनि पातलियो। होटलवालालाई
‘अली मर्यादाको ख्याल गर’ भनेर सम्झाएँ।
“के गर्ने सर ?” त्यसै आम्दानी हुँदैन क्यारे, सेवा पनि,
मेवा पनि क्यारे, धन्दा त गर्नै पर्यो।
फेरि जबरजस्ती पनि हैन क्यारे, स्वेच्छाले आउनेलाई
त दिनै पर्यो क्यारे।” भनेर
होटलवाला आफ्नो दारी मुसार्दै ओरालो लाग्यो।
म मास्तिर रूममा लागेँ।
यो घटनाले मलाई केही सोच्न बाध्य गरायो।
यो पेशामा खराब को हो भनेर। यौन
कार्यमा लाग्ने नारीहरू या यसमा सङ्लग्न पुरुषहरू।
या त यस धन्दाका सञ्चालकहरू
या फेरि यसकार्यलाई अपराध ठान्ने समाज। या त
यस्ता बिषयलाई प्रोपोगान्डा मच्चाउने लेखक,
पत्रकारहरू। के नारी मात्र बेश्या बन्न सम्भव छ ?
के बिनापुरूष नारीमात्रको उपस्थितिले
यस्तो हुन्छ ? कतै हाम्रै समाजको सङ्कीर्ण
दृष्टि कारणले यो घटना अपराध त भएको हैन ?
यावत् कुराहरू सोचेँ। अनि लाग्यो निलिमा अब म
कहाँ आउँदिनन्।

यस्तै के–के सोच्दै गर्दा अचानक
ढोका ढक्ढकियो। उठेर ढोका खोलेँ।
थाहा भयो निलिमा रहेछिन्। मैले बिना कुनै
बहाना उनलाई भित्र आउने इशारा गरेँ। उनी आइन् र
बसिन्। समय दिनको साढेचार बजेको थियो।
“अघिको घटनाले तपार्इंलाई
मप्रति घृणा जाग्यो होला हगि ?” बस्दा–बस्दै
सोधिन्। “कुन घटना ? मलाई त केही पनि थाहा छैन”
अन्जान बनें।
“जहाँ तपार्इंले मलाई चिनेर त्यो हल्ला साम्य
गराइदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो।”
प्रसङ्ग सम्झाइन्।
तीन छक्क परेँ म। कस्तो इज्जत ? देह सबैलाई
सुम्पिन्छिन् तर पनि इज्जतको सवाल। उसोभए
इज्जत कहाँ हुन्छ मान्छेको ? घोरिन्छु।
“किन नबोल्नु भा’को ?” ध्यान तोडिन्।
“त्यहाँ तिमी थियौ भन्ने मलाई थाहा थिएन”
बोलेँ।
“मलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गर्नु
भएको हो तपाईंले” खोतलिन्।
“हैन हैन” भनेँ।
“के गर्नु यस्तो त जहिले हुन्छ। आ छाड्दिऊँ
यस्ता कुरा बरू साँच्चै "हजुरको नाम सञ्जय
रहेछ नि” अचानक उनी आफैले प्रसङ्ग मोडिन्।
“अ हँ हैन त” छल्ने प्रयास गरेँ।
“फोटो तपार्इंकै छ, नाम तपाईंकै छ त” विवरण
बताइन्।
“मेरो कपाल छोटो छ, यो फोटोवालको कपाल
लामो छ” झुक्याउने प्रयास गरेँ।
“बरू हामी जस्तो खराब मान्छेलाई बताउँदा इज्जत
जान्छ भन्नुस् न” दह्रै उत्तर फर्काइन्।
अब भने मैले यथार्थ बताउनै पर्ने भयो। उसलाई अरूले
गरेभन्दा अलग व्यवहार गर्नैपर्ने भयो। नत्र प्रत्येक पुरुष
उनको नजरमा समान (यौन पिशासु) मात्र
हुन्थ्यो।
“मैले तिमीलाई खराब सम्झेकै छैन आफै
त्यस्तो कुरा सम्झन्छौ।”
“अनि किन ढाँट्नु हुन्छ त” भनिन्।
“हैन के भन्छौ भनेर नि” यति भनें
अनि "पहिलोपटक कुनै राम्रो मान्छेसँग सिधै बोल्न
पाएँ” उनले आफ्नो कुरा भनिन्।
“एउटा कुरा सोधुँ ?” भनेँ।
“हुन्छ” टाउको हल्लाइन् ।
“तिमी मान्छे त राम्री छ्यौ, बुझकी छौ, फेरि किन
यस्तो काम गर्छौ ?” सम्झाए जस्तो गरेँ।
“यसको बिस्तृत कथा भन्न यहाँ सम्भव छैन”
अन्कनाइन्।
“उसो भए कहाँ सम्भव छ त ?” कोट्याएँ कुरा।
यदी मलाई विश्वास गर्नु हुन्छ र यो कथा जान्न
चाहानु हुन्छ भने आज साँझ तपाई मसँग एक ठाउँ
हिँड्नोस्, म बताउँछु, तर तपार्इंलाई
अप्ठयारो लाग्दैन भने मात्र।”
बिनावहाना नहिच्किचाई केहीक्षण सोचेर
प्रस्ताव राखिन्। विकल्पको समेत ठाउँ छाडेर।
“हुन्छ” केहीबेर सोचेर मैलै भनेँ। त्यसपछि उनी भरै
भेटौँ ल भनेर तल झरिन्। यसपटक
उनको अनुहारमा थोरै खुशीको चमक देखा पर्यो।

साँझ पर्यो। समारोहमा गएका साथीभाईहरू सबै
फर्किए रुममा। निलिमा होटल मालिकले ग्राहक
थुप्रै छन् भन्दा पनि आज भ्याउँदिन भनेर
बिदा लिइन्। लगभग साँझ ७ बजेतिर उनी आइन् र
जाउँ भनिन्। एकक्षणमा आउने निधोका साथ म
साथीहरूबाट बिदा भएँ। साथीहरू “ल, ल
दह्रो गरी चित्त बुझाएर आइज” भन्दै थिए मलाई। मैले
हैन भनिरहन सार्न्दभिक ठानिन।
“सर माल त सोलिट छ क्यारे”
हिँड्नुअघि होटलवालले आँखा झिम्काएर मलाई
जिस्कायो। मैले अभिनयको मुस्कान मात्र फ्याँकेँ।
होटलबाट निस्केपछि उनले रिक्सा रोकिन् र
चढाइन्। रिक्सामा बसेपछि उनले आफ्नो मुहार सलले
पूरै ढाकेकी छिन्। लाग्छ उनी मुसलमान महिला हुन्।
रिक्सा दक्षिणतिर लाग्यो। मनमा भने थोरै त्रास
पनि पैदा भयो। पहिलो पटक समाजले नामाङ्करण
गरेको बेश्यासँग म हिँडिरहेछु यतिबेला।
रात अँध्यारो छ। भैरहवातिरबाट
आएका गाडिको लाइट बेला–बेलामा हामी तिर
पर्दा उनी अनुहार निहुर्याउँछिन्। हुन त मैले उनीसँग
गएको सम्पूर्ण स्थान वा चोकहरूको नाम उल्लेख
गर्दा पनि हुने तर उनको बसोबासको सवाल भएकोले
मैले उल्लेख गरिन। लगभग १५
मिनेटपछि एउटा खोलाको बगरमा अवस्थित
बाक्लो झुप्रा बस्तीमा पुग्यौँ। हल्ला–खल्ला छ
त्यहाँ। सायद सुकुम्बासी बस्ती हुनु पर्छ
मेरो नजरमा। त्यसो त नहुन पनि सक्छ कारण
रातको कुरो हो दृष्टिभ्रम पनि हुनसक्छ।
सो ठाउँमा हल्ला, आपसी झगडाहरू प्रशस्त
सुनिन्छन्। “सर यतै आउनोस् न” उनले मलाई भनिन्।
“ए भै हाल्छ नि” मैले सहजता पस्केँ।
यतिबेलासम्ममा उनले चेप बाटो हिँडाएर
एउटा झुपडीमा पुर्याइन्,
ढोका खोलीवरि कुपी जलाएर मलाई बोलाइन्। म
सरासर भित्र पसेँ। हतार–हतार उनले एउटा खाटबाट
छरिएका लुगाहरू उठाउँदै तन्ना मिलाएर राखिन्।
मैले अनुमान गरेँ त्यो उनी बस्ने घर रहेछ भनेर।
खरको टाटीले बारेको झुपडी। त्यसलाई दुई
कोठामा विभाजन गरिएको छ।
हामी पहिलो कोठामा छौँ। दोस्रोकोठा बन्द छ।
पहिलो कोठाको एक कुनामा चुला छ।
नमाझिएका भाडाकुँडाहरू छरिएका छन्। बिहानै
हतारमा हिँड्दा नभ्याई छाडेको हुनुपर्छ सायद।
त्यति चिटिक्क परेर हिँड्ने मान्छेको यो हालत देखेर
म आफैँमा अचम्म परेँ। मैले स्थिति अन्दाज लाउनै
सकिंन। म बस्दा–बस्दै उनले ती भाडाँकुडाँ माझेर
ल्याइन्। अनि हतार–हतार आगो सल्काउन थालिन्।
“केही दुःख नगर है” उनले केही पकाउन लागेको बुझेर
म सम्झाउँछु।
“सर जीवनमा राम्रो काम त गरिन तर आज भाग्यले
राम्रो काम गर्ने मान्छेसँग भेट भएको छ केही गर्न
नपाए पनि हजुरलाई यसो दुःख–सुख एकछाक
खाना खुवाउन पाए मेरो जीवन धन्य हुन्छ कि भन्ने
सोचमा छु। कृपया नाइ नभनी दिनुहोला” उनले
हतारमा चामल पखाल्दै मसँग अनुरोध गरिन्।
उनको यो शब्दलाई नाइ भन्न पनि सकिन, ल भन्न
पनि सकिन। मात्र म मौन बसेँ। संकालु मन बोकेर।
“सर चिया पिउनुहोस् ल” चिया बनाएर मेरोसामु
राख्दै भनिन्।
“हुन्छ–हुन्छ” मैले भनेँ।
चिया पिउनुभन्दा पनि मेरो ध्यान भने अरूतिर नै छ।
“निलिमा बरू गफ चाँही गरौँ न” प्रस्ताव राखेँ।
“भै हाल्छ नि सर” उनले भनिन्।
“गफ गर्नुभन्दा पहिला खाना चाहिँ खानै पर्छ
क्या सर” उनले थप अडान राखिन्। मैले नकार्न उचित
ठानिन। घडी हेरेँ साँझको ७:४५ भएको छ। दश
बजेभन्दा अगावै पुग्नु छ होटल। नत्र
गेटमा ताल्चा लाग्छ। यस्तै क्रममा चार पाँच पुरूषहरू
पनि आउँदै फर्के।
“हाताहाती हुन्छ हौ, किन नमानेको”
निलिमालाई भन्थे। बुझेँ उधारोमा पनि काम
चलाउँदी रहिछिन् उनी।
“आज हुँदैन भनेपछि हुँदैन” निलिमा भन्थिन् र
पठाउँथिन्। म बुझ्छु ती आउनेहरू ग्राहक हुन
निलिमाका ।
“सर माइन्ड नगर्नु ल, के गर्नु यस्तै छ” उनी मलाई
अप्ठ्यारो पर्यो कि भनेर सम्झाउँछिन्। म
प्रतिक्रियास्वरूप मुस्कानमात्र फ्याँक्छु।
यत्तिकैमा उनको बन्दकोठाबाट आवाज आउँछ
अचम्मको।
मान्छेको जस्तो पनि जनावारको जस्तो पनि।
दुईतीन पटकको आवाजले मलाई कता–कता भित्री त्रास र जिज्ञासा पैदा गरायो।
“निलिमा के को आवाज हो यो” सोधेँ।
“ए‘यो आवाज। हजुरलाई सबै भन्छु ,
पहिला खाना खाउँ” यति भनेर उनले खाना पस्की र
मेरो सामु राखि दिई। मलाई भने झन् शङ्काले घेर्यो।
“अनि तिमीलाई चाहिँ खोई त” मैले भने।
“म एकक्षिणमा खान्छु सर, पहिला तपार्इं लिनुहोस
न” उनले बताइन्।
कता–कता शङ्का लागे
पनि उनको अगाडि आफूलाई आदर्श
बनाउनको निम्ति मैले खाना खाएँ। मानवीय अह्म
पनि कहिलेकाही त
अप्ठ्यारो वाटोमा गुजार्दो रहेछ।
“ल सर यस्तै भयो है” उनले भनिन्।
“अति मिठो लाग्यो मलाई त”
जसोतसो औपचारिकता बताएँ। सम्झेँ
अघि होटलमा मसँग एकक्षण बिदा मागेर
उनी सपिङ गर्न गएकी रहेछिन्।
खानाको साथमा च्याउको तरकारी,
काक्राको अचार, खुवाइन्। खाना खाई
सिध्याएपछि केहीबेर आराम गरेँ खाटमै ढल्केर।

त्यसपछि उनले आवाज आइरहेको बन्द
कोठाको ढोका खोलिन्। ढोका खोल्नासाथ
नमिठो गन्ध आयो। मैले शङ्का गरे पक्कै कुनै
बिरामी हुनुपर्छ या जनावर पालेको हुनुपर्छ। नभन्दै
उनले कुपी पनि सल्काइन्। कुपीको उज्यालोले
बिस्तारै कोठाको अँध्यारो हट्दै गयो।
बस्तुहरूमाथि नजरको प्रभाव पर्दै गयो, म छक्क परेँ।
डर पनि लाग्यो। त्यहाँभित्रको दृश्य देखेर।
त्यहाँ एउटा बालक थियो। जसलाई सिक्रीले
बाँधिएको थियो। अघिको अपरिचित आवाज
त्यही बालकको रहेछ। दृश्य देखेपछि म बोल्नै सकिन।
शङ्का र अनुमानका बिचारहरू मभित्र
सागरको लहरभन्दा धेरै र उँचो भएर आयो।
“मैले केही बुझिन नि निलिमा” भनेँ।
“म बुझाउँछु सर” हिक्क‘हिक्क‘श्वासलाई
बसमा राख्दै उनले भन्न सुरू गरिन्।

“मेरो वास्तविक नाम शान्ती हो सर। मेरो घर
मकवानपुर जिल्लामा पर्छ। मलाई थाहा छ
त्यसबेला हाम्रो घरमा एउटा लाहुरे जस्तो मान्छे
आयो इन्डियाबाट। ऊ लगभग हप्ता दिन जति बस्यो।
उसले आमा–बासँग विवाह गर्ने भनेर मेरो हात
माग्यो। छोरी कसरी पन्छाउने भनेर
सोचिरहेको बखतमा सम्भावना भएर
आयो त्यो युवक मेरो आमा-बाकोलागि। मलाई
एकशब्द पनि नसोधी त्यो अपरिचित युवकसँग
जबर्जस्ती विवाह गरिदिनु भयो। कति रोएँ कराएँ
तर अहँ वहाँहरूले मेरो बिन्ती सुन्नु भएन। विवाह
गरेपछि त्यो युवकले मलाई साह्रै
माया गर्यो केहीदिन। त्यतिबेला म १३
बर्षको थिएँ। विवाह
गरेको हप्ता दशदिनपछि त्यो युवकले घर जाने भनेर
आमाबासँग बिदा माग्यो। आमाबा, साथीसंगी,
गाउँघर छाडेर जानु पर्दा म कति रोएँ–रोएँ। तर जानु
बाहेक मसँग अरू विकल्प थिएन। त्यो युवकले मलाई
इन्डियाको वानरहाट भन्ने ठाउँमा पुर्यायो।
त्यहाँ उसले मलाई डेरा खोजेर राख्यो। उसको नाम
हर्क रहेछ त्यहीँ थाहा भयो।
इन्डिया पुगेपछि अचानक
उसको व्यवहारमा परिवर्तन आयो।
नेपालमा गरेको उसको मायाममता सबै
देखावटी मात्र रहेछ भन्ने थाहा पाएँ। मलाई त्यसले
गर्नुसम्म जबर्जस्ती गर्यो। म कति चिच्याएँ तर उसले
मेरो मुख छोपेर मेरो इच्छा विपरित मलाई लुछ्यो।
“मसँग बस्ने विचार छ भने चुप लाग हैन भने हल्ला गर।
तँलाई यतिको लागि त तेरो बाउआमासँग किनेर
ल्याएको नि” भनेर हप्काउँथ्यो। आफू
बेचिएको कुरा विश्वाससम्म गर्न सकिन। पछि–
पछि त कुट्न पनि थाल्यो। मैले यसरी कैयौँ रात आफू
बलात्कृत भएर बाँच्न बिवश भएँ। पिडा र चोटको त
कुरा नै नगरौँ। सायद तीन महिना पछिको समय
हुँदो हो,
मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ।
त्यसपछि त झन् कुटे पनि गाली गरेपनि उसकै
माया लाग्न थाल्यो। पेटमा बच्चा छ भन्ने
जानकारी गराएँ उसलाई तर ऊ
खुसी हुनुको सट्टा अति आक्रोशित भएर आयो।
त्यो बच्चा फाल्नु पर्छ भन्न थाल्यो। मलाई
चुटाइको बजार पस्कियो। मैले
त्यो नासो बचाउनको लागी उसलाई हैन भनेर टारेँ।
एकदिन अचानक उसले मलाई नाटकीय
रुपमा माया गर्यो। नयाँ कपडा, मिठा–
मिठा खाने कुराहरू ल्याएर आफै बनाएर खुवायो। मैले
अनुमान लाउनै सकिन उसले के गर्न लाग्यो भनेर। एक
मनले उनको मन फर्किएछ भनेर दङ्ग परेँ।
त्यसको भोलिपल्ट हामी घुम्न जानुपर्छ भनेर उसले
मलाई कलकत्ता लिएर गयो। एकरात
रेलको यात्रापछि हामी कलकत्ता पुग्यौँ। सियालद
भन्ने रेलजक्सनमा उत्रियौँ। उसले मेरो दिदीको घर छ
जाऊँ भन्यो। त्यसपछि जक्सनबाट
मोलाली,चाँदनीचोक हुँदै एकदम भीडभाड
भएको ठाउँमा लिएर गयो। लाग्छ
त्यो जग्गा झुपरपट्टि हुनुपर्छ।
त्यहाँ अति मान्छेहरूको घुइँचो थियो। सबै मातेका,
मुखभरी पान चपाएका पुरूषहरू मात्र देखिन्थे।
बाटोहरू सबै–सबै थुकेर रातै रगत
पोखिएको टाटो जस्तै देखिन्थ्यो। आइमाईहरू
छिटपुट मात्र नजर पर्थे। दिउँसै पनि त्यो स्थान
अँध्यारो लाग्थ्यो कारण त्यो जग्गा बिशाल
पुलमुनिको थियो। मलाई मनमनै डर
चाहिँ अति लागिरहेथ्यो। तै पनि उसको भर थियो।
“नई मुर्गा आई” भनेर त्यहाँका मान्छेहरू भन्थे। म
भाषा बुझ्दिनथेँ । १५–२० मिनेट पछि चेपै–चेप हिँडेर
हामी एउटा पुरानो भव्य घरमा पुग्यौँ। त्यहाँभित्र
उसले मलाई लिएर गयो।
कोठामा एउटी मोटी आइमाई बसि रहेकी थिइन्।
हामीलाई देख्ने बित्तिकै “आऊ–आऊ, त
राम्ररी आयौ” भनेर भन्यो। त्यसपछि हामीलाई “ल
आराम गर” भनेर छुट्टै कोठामा लिएर गयो। मलाई
कोठामा राखेर “एक छिन है, म दिदीसँग गफ गरेर
आउँछु” भनेर ऊ बाहिर निस्कियो। एक
घण्टा बित्यो, दुई घण्टा बित्यो, तर अहँ ऊ आएन।
निकै बेरपछि एउटा भुसतिघ्रे कालेपुरूषसँग
अघिकी मोटी दिदी भन्ने आइन। “ल यो साहबलाई
तिमी चित्त बुझाऊ” भनेर भन्यो। त्यो भुसतिघ्रे
वंगाली मुसुमुसु हाँस्दै आफ्नो दारी मुसार्दै थियो।
“दिदी भाइ खोइ त ?” भनेर मैले सोधेँ। “अरे छोकरी, म
तेरो दिदी हैन। तँलाई अघिको केटाले १०
हजारमा बेचेर चल्यो। तैँले अब धन्दा सुरू गर्नुपर्छ बुझिस्”
भनेर भन्यो। मैले आफु
बेश्यालयमा पुगेको वास्तविकता थाहा पाएँ।
कयौँ पटक गुहार मागेँ। रोएँ, कराएँ, प्रतिवाद गर्न
चाहेँ तर सब असम्भव। आत्महत्या गर्न पनि कैयौँ पटक
सोचेँ तर उनीहरूको पलपलको निगरानीका बावजूद र
मेरो पेटको बच्चाको कारण सम्भव भएन।
हप्तादिनसम्म त हरसम्भव प्रयास गरेँ।
सट्टामा प्रत्येक दिन कोर्रा, भुत्ल्याई, खाइयो।
जबसम्म आफू राजी भइन तबसम्म भोकै राखे।
अन्ततः विवश भएर बाँच्नको लागि आफूलाई
जिउँदो लाश बनाइ बेश्या बनाउन बाध्य भएँ।
बिरामी, बिसञ्चो केही पनि भन्न पाइन्न रहेछ
त्यहाँ। उनीहरूको खटन मान्नै पर्ने।
दिनमा कम्तिमा आठ दश जनाभन्दा बढीसँग सम्पर्क
राख्नु पर्ने। यतिसम्म कि अरुलाई त
महिनावारी हुदाँ पनि धर हुन्नथ्यो। रक्सी खाएर,
पान खाएर, मनपरी गर्दै, बोल्दै, आउँथे र
आफूखुशी गर्थे। मानेन भने चुरोट वा अर्थोकले पोल्थे।
तँपाईले सोध्नु भएको मेरो पाखुराको घाउ
पनि त्यस्तै घटनाको चिनो हो।”
थप प्रसङ्गलाई अघि बढाइन् “त्यहाँ पुगेको दुई
महिनापछि म दुइज्यूकी छु भन्ने
कुरा त्यहाँको मालिक्नीले थाहा पाइन्।
त्यो थाहा पाउने बित्तीकै
“मेरो साँवा घाटा लाग्यो रे” भन्दै मलाई मरणाशन्न
हुने गरी चुट्यो। अन्तमा डाक्टर बोलाएर मेरो पेट
खुलाउन भन्यो तर डाक्टरले यो कुनै हालतले सम्भव
नहुने बतायो। त्यसपछि मलाई अति मानसिक र
शारिरिक यातना दिएर त्यहाँबाट निकाल्यो।
त्यहाँबाट भारतीय प्रहरीको सहयोगले म
पुनः वानरहाट फर्किएँ र हर्कलाई खोजेँ तर पाउन
सकिन। दुईतीन महिना अघिनै उसले त्यो ठाउँ
छाडेको कुरा बताए सबैले। त्यसपछि म
आफ्नो माइतघर फर्किएँ, बाटो–बाटोमा शरीर बेच्दै
र लुछाउँदै। भारत र नेपालका प्रहरीले
पनि सहयोगको सट्टा मेरो ज्यान लुछे।
माइतघरमा तीनचार महिना बसेँ।
त्यतिन्जेलसम्ममा यो पनि जन्मियो। सुरूका दिन त
गाउँमा राम्रै गरी बिताएँ। पछि आमा बाबालाई
आफ्नो सम्पूर्ण यथार्थ बताएँ।
मेरो कहानी थाहा पाएपछि अचानक बाबा–
आमाको, घरपरिवारको र क्रमशः छरछिमेको म
प्रतिको धारणा बद्लियो। “बेश्या भएर पो आएछ
यो त यसलाई गाउँमा राख्नु हुँदैन लोदर लाग्छ” भनेर
सबैले भन्न थाले। बाटो हिँड्ने, वल्लो गाउँ,
पल्लो गाउँ, सबैतिरकाले मलाई हेर्न आउँथे। एकदिन
समाज बस्यो र “कि यसलाई यहाँबाट खेद् कि आफू
गाउँ निकाला हु” भनेर मेरा परिवारलाई
अप्ठ्यारोमा पार्यो। त्यसपछि म आफैँ यसलाई
बोकेर त्यहाँबाट हिँड्न बाध्य भएँ।
अनि म नेपालगञ्ज गएँ। काम खोजेँ, बाँच्ने अन्यत्र
मेसो खोजेँ तर पाउन सकिन।
अन्ततः यो बच्चाको लागि भए पनि मैले आफुले
आफ्नो शरीर बेच्न बाध्य हुनुपऱ्यो,
सुत्केरी भएको महिना दिन देखिनै। लगभग छ
महिनापछि अलि अलि पैसा कमियो। त्यो पैसाले
सानो घुम्तीपसल खोलेँ नेपालगञ्जमा नै। साथै
त्यो बदनामी पेशा छाड्ने निधो गरेँ। एक
महिनाजस्तो के भएको थियो अचानक एकदिन
एउटा पत्रकार भनौँदा आएर मलाई यौन कार्य गर्न
खोज्यो मैले अस्विकार गरेँ। त्यसको भोलिपल्ट
एउटा अखवारमा चर्चित बेश्याले घुम्ती पसल
थाल्यो भन्ने शीर्षकमा समाचार छापियो।
त्यसपछि त त्यो क्षेत्रमा मलाई गिज्याउने,
घृणा गर्ने र बस्नै नदिने भन्न थाले।
मेरो पसलमा कोही पनि केही किन्न आउन छाडे।
घुम्तीको मालिकले पनि घुम्ती नदिने भन्न थाल्यो।
अन्तत हिँड्न करै लाग्यो। त्यहाँबाट
हिँडेपछि पोखरा, धरान, बिर्तामोड, बिरगञ्ज,
बिराटनगर, काठमाडौ, हेटौंडा, भैरहवा सबै–सबै
ठाउँमा यही पेशामा हिँड्न बाध्य भएँ। जहाँ गए
पनि मैले यो मेरो मुटुलाई फाल्न सकिन। कारण मलाई
त्यो अकल्पनीय नर्कबाट यसैले
मुक्ती दिलाएको थियो। म यहाँ (बुटवल)
आएको तीनमहिना जति भयो। यो अहिले पाँच
बर्षको भयो।” आफ्नो कहानी बताउँदा–बताउँदै
उसको आँखाबाट आँशुको नहर बग्न थाल्यो। आसुँ
नपुछी उनले पुनः भन्न थालिन्।
“यो जन्मदाँ राम्रै थियो सर तर जब यो तीनवर्ष
पुग्यो बाँच्नको लागि घृणित कार्य गर्ने
बेलामा यसले थाहा नपाओस र कतै देखेर
आमा शब्दप्रति घृणा नजागोस भनेर निद्रा लाग्ने
औषधी खुवाउन बाध्य भएँ। लगातार
औषधीको असरले गर्दा यो अपाङ्ग हुन पुग्यो। साँपे
हुनपुग्यो । तर पनि मैले यसलाई माया मार्न सकिन।
दुनियाँले वेश्या भने पनि आमा न परें। अनि आफुले
पनि मृत्युसँग सम्झौता गर्न सकिन।”

उनको यो कथाले मलाई पनि कतिबेला भत्काएछ–
भत्काएछ आँखाबाट भावनाले
हामफालेपछि थाहा लाग्यो।
प्रसङ्ग जोड्दै भनिन्।
“सर पहिलो पटक कसैले
मेरो जवानीभन्दा पनि मर्मलाई बुझ्ने कोशिस गर्यो।
देवता छ कि छैन थाहा छैन तर हजुर
मेरो नजरमा देवतासमान हुनुभयो। अन्तमा म
एउटा कुरा भन्न चाहान्छु”
“भनन्” भनें।
“आफैसँग पनि लुकाएको आफ्नै टर्रोकथा खै
कसरी हजुरलाई सुनाए आफैलाई थाहा छैन हुनत
यो कथाको पात्र म आफै भए पनि म यो मर्म सुन्न
लायकको मान्छे होइन। हजुरलाई दुःख विसाएँ माफ
पाउँ है।”। कुराको मेलो सारिन। “सर
नारी जातिलाई पनि पुरूष सरह एक
वा सो भन्दा बढीसँग सम्पर्क गर्न मन नलाग्ला भन्न
सक्तिन तर सत्य कुरो कुनै पनि नारीलाई बेश्या बन्ने
रहर हुँदैन” यति भनेर उनले कुरा टुङ्ग्याइन्। समबेदना र
मायाले थाम्दैन रहेछ। साँझ छिप्पिन लागेकाले मैले
उनीसँग बिदा मागेँ। उनले पनि अब केही उल्झन्
नगरी मलाई बाटोसम्म पुर्याउन आइन् र हात जोड्दै
भनिन्।
“सर फेरि भेट हुन्छ कि हुँदैन तर नर्बिसनु होला है”
“भै हाल्छ नि किन नहुनु” म यति भनेर उनीसँग
टाढा भएँ। रिक्सा लाग्यो उकालो।
निकैमाथि पुगेर फर्की हेरेँ। गाडीको उज्यालोले देखेँ,
उनी त्यहीँ उभिई रहेकी थिइन् हात हल्लाउँदै।
निलिमाको कहानी सुनेर होटल पुग्दा साढे
नौ बजेको थियो। “एक्लै भ्याएर आइस् होइन ?”
साथीहरूले गिज्याए।

भोलिपल्टको बिहान उनलाई होटलमा हेरेँ तर अहँ
देखिन। होटलवालालाई सोध्दा “हिजो तँपाईसँग
गएको आकी छैन क्यारे” भन्यो। आज म
पनि काठमाण्डौ फर्किने दिन।
फर्किनुभन्दा अघि उनलाई एकपटक भेट्छु भनेर
उनी बस्ने ठाउँ गएँ रिक्सामा।
त्यहाँ जाँदा त्यो घरमा ताल्चा लगाएको थियो।
छेउको एउटा दाइलाई सोधेँ। उनी राती नै त्यहाँबाट
अन्यत्र सरिन् तर कहाँ भन्ने थाहा भएन भन्ने
कुरा थाहा भयो।
“यो घर उनको आफ्नै होइन र” प्रश्न गरेँ।
“कहाँ हुनु नि, भाडामा बस्थिन् नि, तीन
महिनादेखि” जानकारी आयो।
गाडी छुट्ने हुनाले म पनि त्यहाँबाट फर्कें।

तीन बर्षपछि।
भाइटिकाको दिन बिहानै।
टेलिफोनको घण्टी बज्यो। उठाएँ। मैले
हेलो भनि नसकी स्वर गुञ्जियो निलिमाको।
तीनवर्ष भो यसरी उनले मलाई भाइटिकामा फोन
गरेकी। भनिन् “सर नमस्कार, आज
भाइटिकाको दिन। हजुरको याद आयो र फोन
गरेकी। म कहाँछु कृपया नसोध्नु होला। बस आज
भाइटिकाको दिन हो त्यसैले माइतिलाई
सम्झेकी हुँ। हजुर कहाँ आउने मन त नभएको होइन तर
मेरो उपस्थितिले हजुरको पवित्र छविलाई दाग
लगाउन सक्छ त्यसैले आउन असम्भव छ । लाग्छ
संस्कारले मानेको माइतिभन्दा मनले
मानेको माइति उच्च र वास्तविक हुन्छ।
यो अभागी चेलीले दुईमुठ्ठी सास भइञ्जेल
अरूबेला नगरे नि प्रत्येक भाइटिकामा यहाँलाई फोन
गर्छे। पक्कै झर्को मान्नु हुन्न होला।”
उनले नभने’नि कलर आइडिमा पोखराको कोड प्रष्ट
देखियो।
“बच्चालाई कस्तो छ ?” प्रश्न गरेँ ।
“५ महिनाअघि बिरगन्जमा मृत्यु भयो। ‘‘छाडौँ सर
यी कुराहरू यस्तै हो अहिले फोन राखेँ है।” मैले हुन्छ
भन्न नपाई उनले फोन राखिन् तर फोन राख्न
अघि उनको भक्कानीएको स्वर भने मैले प्रष्टसँग सुनेँ।

मान्छेबाट छलिएर बाँच्न मान्छेलाई कति कठिन
हुँदोरहेछ। निलिमाको कथा देखेपछि थाहा भयो। म
आज पनि सोच्छु, यति ठूलो संसारले किन लुकाउन
सकेन निलिमाको त्यतिसानो बाध्यात्मक कथा र
व्यथा ।